२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बढी शल्यक्रिया एपेन्डिसाइटिसको

अतुल मिश्र

काठमाडौँ — त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा दिनहुँ औसत दुइटा एपेन्डिसाइटिसको शल्यक्रिया हुने गरेको छ । यद्यपि हाम्रो मुलुकमा दिनहुँ यो शल्यक्रिया कति हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान छैन ।

बढी शल्यक्रिया एपेन्डिसाइटिसको

अझ राजधानीमा दैनिक औसत एक सयभन्दा बढी एपेन्डिसाइटिसको शल्यक्रिया हुने आकलन शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल एवं कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको छ ।

‘यसबारे कुनै अध्ययन–अनुसन्धान छैन, यो हाम्रो अनुमानमात्र हो, तर यसले सहजै एपेन्डिसाइटिसको शल्यक्रियाको अवस्था बुझ्न सकिन्छ,’ डा. भण्डारी भन्छन्, ‘एपेन्डेक्टोमी पेटको शल्यक्रियाअन्तर्गत सबैभन्दा बढी हुने हो ।’

यो समस्या लिएर आउनेहरूमा धेरैजसो २०–४० वर्ष उमेर समूहका हुने गरेका छन् । तर, बालबालिका र बूढापाकालाई समेत यसले दु:ख दिने गरेको छ ।

‘हामीकहाँ शल्यक्रियाका लागि आउने एक सय जनामध्ये करिब ४ जना बालबालिका र ५–१० जना बूढापाका हुने गरेका छन्,’ डा. भण्डारी भन्छन्, ‘दुई वर्षभन्दा मुनिका बालबालिकामा यो रोग धेरै कम हुन्छ ।’

उनका अनुसार, एपेन्डिसाइटिसको उपचारमा मुख्य रूपमा शल्यक्रिया गर्नुपर्छ ।कहिलेकाहीँ एन्टिबायोटिक औषधिले पनि निकोहुने गरेको छ । अमेरिकन कलेज अफ सर्जन्सको तथ्यपत्र अनुसार, तपाईंमा एपेन्डिसाइटिसको सामान्य लक्षण देखिएको छ भने शल्यचिकित्सकले सुरुमा एन्टिबायोटिक चलाएर राम्रो भए/नभएको हेर्न सक्छन् । एपेन्डिसाइटिसको सामान्य संक्रमणमा एन्टिबायोटिक प्रभावकारीसमेत हुन सक्छ । तर समस्या पुन: बल्झिने सम्भावना हुन्छ नै ।

के हो एपेन्डिक्स ?
एपेन्डिक्स हाम्रो शरीरमा ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा भएको एउटा अंग हो । यसैमा संक्रमण भएर पेट मर्ने गरी दुखेपछि ‘एपेन्डेसाइटिस’ रोग भएको मानिन्छ ।

पहिले चिकित्सकहरू एपेन्डिक्सलाई नचाहिने अंग मान्थे । तर पछिल्ला अध्ययनमा, स्वस्थ शरीरका लागि एपेन्डिक्ससमेत आवश्यक अंग हो भन्ने पत्ता लाग्यो । यो अंगमा पाचनलाई सघाउन राम्रो ब्याक्टेरिया जम्मा हुन्छ ।

लामो रोगले गर्दा ब्याक्टेरियाको कमी हुँदा यही एपेन्डिक्सले पाचन प्रणालीलाई ठीक राख्छ ।

एपेन्डिक्समा संक्रमणको यकिन कारण हालसम्म थाहा भएको छैन । आन्द्रामा संक्रमण, पेटमा खराब ब्याक्टेरियाको वृद्घि आदि कारणले एपेन्डिक्स नलीमा अवरोध पुग्ने वा सुन्निने भएर एपेन्डिसाइटिस हुन्छ ।

के हुन्छ ?
एपेन्डिसाइटिसको समस्या भएकाहरूमध्ये ३०–४० प्रतिशतमा एक्कासि नाइटो दुख्न थाल्छ । यो पीडा ६–७ घण्टापछि दाहिनेतिरको तल्लो पेटमा सर्छ ।

‘यो खास एपेन्डिेसाइटिसकै दुखाइ हो,’ डा. भण्डारी भन्छन्, ‘कसैकसैको सीधै दाहिने पेटसमेत दुख्न थाल्छ ।’

यो दुखाइ हरेक व्यक्तिमा फरकसमेत हुन सक्छ, किनभने एपेन्डिक्सले फरकफरक अंगलाई छुने गरेको छ । यसैले प्राय: चिकित्सकहरू एपेन्डिसाइटिस पहिचान गर्न अलमलिन्छन् ।
हिँड्दा, कुरा गर्दा अझ दुख्छ । यो दुखाइसँगै बिरामीलाई खान मन नलाग्ने, वान्ता हुने, ज्वरो आउने हुन्छ । एपेन्डिसाइटिस बढ्दै जाँदा कामज्वरोसमेत आउँछ । यस्तो लक्षण ८० प्रतिशत बिरामीमा देखिन्छ ।

गर्भावस्थामा एपेन्डिक्स पेटको माथिल्लो भागमा बस्छ । यसैले त्यस्तो बेला यस्तो पीडा पेटको माथिल्लो भागमा हुन सक्छ ।

जटिलता
एपेन्डिसाइटिसमा कहिलेकाहीँ जटिलता समेत हुने गर्छ । यस्तो समस्या भएका १०–१५ प्रतिशतमा एपेन्डिक्स बिस्तारै कुहिने, फुट्ने आदि हुन्छ । यो अवस्थामा पेटभरि संक्रमण सर्छ । यसमा मुख्य जटिलता एपेन्डिक्समा पिप बग्नु र फुट्नु हो ।

यस्तो अवस्था भए पनि समयमै उपचार गरे बिमार निको हुन्छ । तर समयमै उपचार नगरे संक्रमण फैलिएर बिरामी नबाँच्ने सम्भावनासमेत हुन्छ ।

पहिचान
यो रोगको पहिचान मुख्य रूपमा बिरामीमा देखिने लक्षणका आधारमा गरिन्छ । चिकित्सकले बिरामीको बाहय परीक्षण र सामान्य रगत जाँच गरेरसमेत करिब ८० प्रतिशत केसमा निक्र्योल गर्न सक्ने अवस्था रहेको डा. भण्डारी बताउँछन् ।

तर कुनै बिरामीमा चिकित्सकलाई रोग पहिचान गर्न अलमल भए अल्ट्रासाउन्ड परीक्षण र अत्यन्त न्यून केसमा सिटी स्क्यान परीक्षण गर्ने गरिन्छ ।

दुई प्रकारका शल्यक्रिया
एपेन्डिसाइटिसको शल्यक्रिया दुई प्रकारले गरिन्छ । पेटलाई चिरेर वा ल्याप्रोस्कोपिक विधिले सानो प्वाल पारेर । हाम्रो मुलुकमा ८०–९० प्रतिशत शल्यक्रिया चिरेरै हुने गरेको छ । धेरै सामान नचाहिने, जहाँ पनि गर्न सकिने भएकोले यो शल्यचिकित्सकले सबैजसो संरचनामा गर्न सक्छन् ।

ल्याप्रोस्कोपिक विधिले गरिने शल्यचिकित्सामा आधुनिक उपकरण चाहिन्छ । पेटमा ३–४ प्वाल पारेर एपेन्डिक्स झिक्न पेटमा क्यामेरा र औजार पठाइन्छ । यस्तो शल्यक्रियाले छिटो स्वास्थ्य लाभ हुन्छ । कम दुख्छ, पेटमा सानो दाग हुन्छ ।

बच्चामा एपेन्डेसाइटिस
५–१० वर्ष उमेर समूहका बालबालिकामा एपेन्डिसाइटिसको समस्या बढी देखिन्छ । वरिष्ठ बाल शल्यचिकित्सक प्रा. आरपी चौधरीका अनुसार एपेन्डिसाइटिसको लक्षण वयस्कभन्दा बच्चामा केही फरक हुन्छ ।

बच्चाहरू कुन ठाउँमा दुखिरहेको छ,भनी ठम्याउन सक्दैनन् । यसैले यो रोगको ढिलो पहिचान हुन्छ र एपेन्डिसाइटिस फुट्ने सम्भावना बढी हुन्छ ।

यति मात्र नभई, बच्चाहरूलाई ग्यास्ट्रिक, कब्जियत आदि भएको ठानेर समेत रोगको ढिलो पहिचान हुन्छ । रोग पहिचानका लागि देखिने लक्षणसहित रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण र कहिलेकाहीँ सिटी स्क्यानसमेत गर्नुपर्छ । ‘रेसा नभएको खाद्यपदार्थ नखानु, जंक फुड बढी खानु बच्चाहरूमा यो समस्या देखिने प्रमुख कारण हो,’ डा. चौधरी भन्छन् ।

१५ प्रतिशतलाई एन्टिबायोटिकले आराम
धेरै कडा रूपमा र जटिल अवस्था नभएका केही एपेन्डिसाइटिसका बिरामीलाई उपयुक्त ‘एन्टिबायोटिक दिएर पनि उपचार गर्न सकिन्छ । ‘हामीकहाँ आउने सयमध्ये १५ जनासम्मलाई अस्पतालमा भर्ना गरेर एन्टिबायोटिकद्वारा उपचार गर्दा पनि निको भएको छ,’ डा. भण्डारी भन्छन्, ‘औषधिले उपचार गर्दा बीचमा कुनै जटिलता देखिए शल्यक्रिया गर्छौं ।’

भाइरल संक्रमणले एपेन्डिसाइटिस हुने दाबी
केही समयअघि गरिएको एउटा अध्ययनको दाबीअनुसार एपेन्डिसाइटिस संक्रमण ‘फ्लु’ जस्तो भाइरसको संक्रमणले हुन्छ । तर अध्ययनमा त्यो रहस्यमय भाइरसको पहिचान हुन
सकेको छैन ।

यो अध्ययनको निष्कर्ष ‘अर्काइभ्ज अफ सर्जरी’ जर्नलमा प्रकाशित छ । अध्ययन गर्ने त्यो अन्तर्राष्ट्रिय दलको मान्यताअनुसार, भाइरल संक्रमणको कारण थाहा पाएपछि, केही वर्षयता गर्मी याममा एपेन्डिसाइटिस आम रोगका रूपमा किन आइरहेको छ भन्ने पनि बुझ्न सकिन्छ ।

अध्ययनमा पछिल्ला ३६ वर्षमा एपेन्डिसाइटिस, इन्फ्लुएन्जा र ग्यास्ट्रिक भाइरल संक्रमणको मामिलामा छलफल गरियो । त्यसको निष्कर्ष अनुसार, सन् १९७७, १९८१, १९८४, १९८७, १९९४ र १९९८ मा एपेन्डिसाइटिसले सबैभन्दा बढी दु:ख दिएको थियो । तिनै वर्ष भाइरल संक्रमणको समेत प्रकोप भएको थियो ।

मुख्य लक्षण
-नाइटोमा पीडा सुरु भएर पेटको दाहिनेतर्फ सर्नु
-भोक कम लाग्नु
-वान्ता हुनु
-कब्जियत हुनु वा पखाला लाग्नु
-ज्वरो आउनु

[email protected]

प्रकाशित : भाद्र १६, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?