दाँत कुहिएर हैरान

फातिमा बानु

गोरखा — ‘न चिया खान मिल्याछ न भात खान मिल्याछ, रमितैसित दुख्या मात्रै छ ।’ गोरखा को  उखुबारीकी ७५ वर्षीया हिरा देवकोटाले गालामा हात राख्दै दाँतका पीडा सुनाइन् । मुखमा केही खानेकुरा हालेकी दाँत सिरिङग हुने, चपाउने नमिल्ने भएपछि झोल पदार्थको भरमा बाँच्ने गरेको उनले सुनाइन् । 

उनको मुखमा केही दाँतका ठूटा मात्रै थिए । गिजा पनि पाकेर पीप भरिएका थिए । उनले भनिन्, ‘दुखेर मर्नु न बाँच्नु छ, मुखमा केही हाल्की बान्ता आइहाल्छ, सास गन्हाउने समस्या उस्तै ।’

Yamaha


दन्त चिकित्सकले हेर्दा उनका दाँत कमजोर भएर सबै फुटिसकेका थिए । ठूटाहरू जरैदेखि निकालेर नफालेसम्म उनको पीडा कम नहुने देखियो । लामो समयदेखि उच्च रक्तचापको औषधि खाइरहेकी हुँदा दाँत निकाल्न पनि मिलेन, उनी झनै आत्तिइन् ।

आइतबार गोरखास्थित पालुङटार र खोप्लाङमा पालुङटार नगरपालिका र रियल मेडिसिन फाउन्डेसन नेपालको आयोजनामा भएको निशुल्क दन्त शिविरमा अधिकांश बिरामी दाँत सडेको अवस्थामा भेटिए । संक्रमणले गिजा पाकेको, किराले दाँत टुक्रेको, दुखेको, बेस्सरी श्वास गन्हाउने लगायत अनेक समस्या लिएर बिरामी आइपुगे । बालबालिकादेखि पाकासम्म सबैका समस्या थिए– दाँत कुहिएको र गिजा सडेको ।

‘बरु सुत्केरी व्यथा खप्न सजिलो रैछ, दाँत दुखेको सहन धेरै अप्ठेरो,’ पनिरटारकी ४५ वर्षीया मीराकुमारी रानाभाटले सुनाइन् । केही समय अघि गर्भवती अवस्थामा हल्लिएको दाँत निकाल्ने उपाय नपाएपछि उनले आफै आँट गरिन् । मोटो सियो गिजामा घुसारेर दाँत निकालिन् । उनले सम्झिइन्, ‘रातभरि रगत बगेको थियो, त्यसपछि दुख्न चाहीँ दुखेन ।’

हल्लिएको दाँत निकाल्न टाढाको अस्पताल पुग्न नसक्दा उनी आफैले यस्तो उपाय निकाल्नु परेको थियो । सियोले घोचेको भाग दुखिरहने समस्या लिएर उनी शिविर आइपुगेकी थिइन् । अन्य दाँत पनि स्वस्थ थिएनन् । कुनै टुक्रिएका र कुनै हल्लिएका ।

दन्त चिकित्सकका अनुसार दाँत निकालेर फाल्नु अन्तिम विकल्प हो । लामो समयसम्म दाँत स्वास्थ्यमा हेलचक्र्याई गर्दा यस्तो अवस्था आउने दन्त चिकित्सक आस्था बिष्ट बताउँछिन् । उनी भन्छिन्, ‘जसरी घर सुरक्षित राख्न ढोका बलियो चाहिन्छ, त्यस्तै शरीर स्वस्थ राख्न मुख सफा राख्नुपर्छ ।’

सुगमका बिरामी समयमै अस्पताल पुग्ने हुँदा दाँत बचाउन सकिने तर दुर्गमका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने कारण दाँत निकाल्नुपर्ने हुने उनले बताइन् । दाँत र मुखको समयमा उपचार नहुँदा पेट र मुटु सम्बन्धी गम्भिर रोग लाग्न सक्ने विशेषज्ञ बताउँछन् । गाउँमा सुर्तीचुरोट बढी प्रयोग गरिने हुँदा उनीहरूको दाँतमा दाग बस्ने, ती दागले गिजामा संक्रमण भएर रगत र पीप बग्ने समस्या बढी भोगिरहेका छन् ।

बालबालिकाको दुधे दाँत फुक्लेर जाने हो यसको सुरक्षा आवश्यक छैन भन्ने मानसिकता कारण पनि उनीहरू दाँत सम्बन्धी विभिन्न समस्या भोगिरहेका छन् । दन्त चिकित्सक रोशनी श्रेष्ठ भन्छिन्, ‘दुधे दाँत जथाभावी हल्लाएर निकाल्दा पछि आउने दाँत बाङगोटिङगो हुन्छ, बाङगोटिङगो दाँत हेर्दा नराम्रो र खानेकुरा चपाउन असजिलो बनाउँछ ।’ बाङगोटिङगो दाँत मिलाउने उपचार पनि महँगो छ ।

ग्रामीण क्षेत्रमा दाँत दुख्दा अझै धामीझाक्रीबाट उपचार गराउने चलन छ । कतै त दाँत हल्लिदा आरनमा गएर तातो चिम्टाले दाँत निकाल्ने गर्छन्, कतै पेन्चस प्रयोग गरि आफै निकाल्छन् । विशेषज्ञका अनुसार यस्तो परम्परागत उपचार कुनै पनि हिसाबले सुरक्षित छैन ।

आम जनमानसमा दाँतको समस्यालाई गम्भिर रुपमा लिइदैन । अधिकांश बिरामी समस्या भएपछि मात्रै अस्पताल पुग्छन् । गाउँका अस्पताल र स्वास्थ्य चौकीमा दन्त स्वास्थ्यको उपचार पनि सहज र सुलभ हुन सकेको छैन । जसले गर्दा बिरामी दाँत फुकाल्नुपर्ने अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् । दाँत स्वस्थ राख्न फ्लोराइडयुक्त मन्जन प्रयोग गरि बिहानबेलुका दाँत माझ्नुपर्छ । प्रत्यक ६ महिनामा एक पटक विशेषज्ञलाई दाँत देखाएर उपचार गर्नुपर्छ ।

डेन्टल हाइजेनिष्ट माइकल देवकोटा भन्छन्, ‘सरकारले सातै प्रदेशमा दन्त सेवाका लागि अस्पताल खोल्न आवश्यक छ, कम्तीमा स्वास्थ्य चौकीमा दन्त सहायकको दरबन्दी मात्रै भएपनि बिरामीले धेरै राहत पाउँथे ।’

Esewa Pasal

प्रकाशित : भाद्र २५, २०७५ १२:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एकता हुन नदिने प्रवृति नै अन्तरघात : देउवा

रासस

नेपालगञ्ज — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताएका छन् ।

जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा साेमबार नेपालगञ्जमाआयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ विषयक अन्तक्रिया एवं प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात प्रवृतिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।

'बिपी कोइरालाले थिति बसाएको पार्टीमा अहिले बेथिति बढेको छ, अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ, स्वार्थी जमातको वर्चश्व क्रमशः हाबी हुँदै गएको छ, म अब चुप लागेर बस्दिन । यस्ता प्रवृति भएका कार्यकर्तामाथि निष्कासनसम्मको कारवाही हुन्छ ।' उनले भने, ‘हामी अरुका कारणले चुनाव हारेका होइन, आफ्नै कारणले हारेका हौँ । आफ्नाले नै दुश्मन देख्ने प्रवृति हारको कारण बन्यो ।'

सरकार मुलुकका सबैखाले संरचना भत्काउने षडयन्त्रमा लागेको आरोप लगाउँदै उनले लोकतान्त्रिक पद्दतिको बाटो बिराउदै जानेको आयु छोटो हुने भन्ने कुरा सरकार सञ्चालनकर्ताले बुझ्नुपर्ने उनले बताए । नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रमका सहभागिलाई महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य डा रामशरण महत लगायतका नेताले प्रशिक्षण दिनेजनाइएकाे छ ।

प्रकाशित : भाद्र २५, २०७५ १२:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT