कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाँत कुहिएर हैरान

फातिमा बानु

गोरखा — ‘न चिया खान मिल्याछ न भात खान मिल्याछ, रमितैसित दुख्या मात्रै छ ।’ गोरखा को  उखुबारीकी ७५ वर्षीया हिरा देवकोटाले गालामा हात राख्दै दाँतका पीडा सुनाइन् । मुखमा केही खानेकुरा हालेकी दाँत सिरिङग हुने, चपाउने नमिल्ने भएपछि झोल पदार्थको भरमा बाँच्ने गरेको उनले सुनाइन् । 

दाँत कुहिएर हैरान

उनको मुखमा केही दाँतका ठूटा मात्रै थिए । गिजा पनि पाकेर पीप भरिएका थिए । उनले भनिन्, ‘दुखेर मर्नु न बाँच्नु छ, मुखमा केही हाल्की बान्ता आइहाल्छ, सास गन्हाउने समस्या उस्तै ।’


दन्त चिकित्सकले हेर्दा उनका दाँत कमजोर भएर सबै फुटिसकेका थिए । ठूटाहरू जरैदेखि निकालेर नफालेसम्म उनको पीडा कम नहुने देखियो । लामो समयदेखि उच्च रक्तचापको औषधि खाइरहेकी हुँदा दाँत निकाल्न पनि मिलेन, उनी झनै आत्तिइन् ।


आइतबार गोरखास्थित पालुङटार र खोप्लाङमा पालुङटार नगरपालिका र रियल मेडिसिन फाउन्डेसन नेपालको आयोजनामा भएको निशुल्क दन्त शिविरमा अधिकांश बिरामी दाँत सडेको अवस्थामा भेटिए । संक्रमणले गिजा पाकेको, किराले दाँत टुक्रेको, दुखेको, बेस्सरी श्वास गन्हाउने लगायत अनेक समस्या लिएर बिरामी आइपुगे । बालबालिकादेखि पाकासम्म सबैका समस्या थिए– दाँत कुहिएको र गिजा सडेको ।


‘बरु सुत्केरी व्यथा खप्न सजिलो रैछ, दाँत दुखेको सहन धेरै अप्ठेरो,’ पनिरटारकी ४५ वर्षीया मीराकुमारी रानाभाटले सुनाइन् । केही समय अघि गर्भवती अवस्थामा हल्लिएको दाँत निकाल्ने उपाय नपाएपछि उनले आफै आँट गरिन् । मोटो सियो गिजामा घुसारेर दाँत निकालिन् । उनले सम्झिइन्, ‘रातभरि रगत बगेको थियो, त्यसपछि दुख्न चाहीँ दुखेन ।’


हल्लिएको दाँत निकाल्न टाढाको अस्पताल पुग्न नसक्दा उनी आफैले यस्तो उपाय निकाल्नु परेको थियो । सियोले घोचेको भाग दुखिरहने समस्या लिएर उनी शिविर आइपुगेकी थिइन् । अन्य दाँत पनि स्वस्थ थिएनन् । कुनै टुक्रिएका र कुनै हल्लिएका ।


दन्त चिकित्सकका अनुसार दाँत निकालेर फाल्नु अन्तिम विकल्प हो । लामो समयसम्म दाँत स्वास्थ्यमा हेलचक्र्याई गर्दा यस्तो अवस्था आउने दन्त चिकित्सक आस्था बिष्ट बताउँछिन् । उनी भन्छिन्, ‘जसरी घर सुरक्षित राख्न ढोका बलियो चाहिन्छ, त्यस्तै शरीर स्वस्थ राख्न मुख सफा राख्नुपर्छ ।’


सुगमका बिरामी समयमै अस्पताल पुग्ने हुँदा दाँत बचाउन सकिने तर दुर्गमका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने कारण दाँत निकाल्नुपर्ने हुने उनले बताइन् । दाँत र मुखको समयमा उपचार नहुँदा पेट र मुटु सम्बन्धी गम्भिर रोग लाग्न सक्ने विशेषज्ञ बताउँछन् । गाउँमा सुर्तीचुरोट बढी प्रयोग गरिने हुँदा उनीहरूको दाँतमा दाग बस्ने, ती दागले गिजामा संक्रमण भएर रगत र पीप बग्ने समस्या बढी भोगिरहेका छन् ।


बालबालिकाको दुधे दाँत फुक्लेर जाने हो यसको सुरक्षा आवश्यक छैन भन्ने मानसिकता कारण पनि उनीहरू दाँत सम्बन्धी विभिन्न समस्या भोगिरहेका छन् । दन्त चिकित्सक रोशनी श्रेष्ठ भन्छिन्, ‘दुधे दाँत जथाभावी हल्लाएर निकाल्दा पछि आउने दाँत बाङगोटिङगो हुन्छ, बाङगोटिङगो दाँत हेर्दा नराम्रो र खानेकुरा चपाउन असजिलो बनाउँछ ।’ बाङगोटिङगो दाँत मिलाउने उपचार पनि महँगो छ ।


ग्रामीण क्षेत्रमा दाँत दुख्दा अझै धामीझाक्रीबाट उपचार गराउने चलन छ । कतै त दाँत हल्लिदा आरनमा गएर तातो चिम्टाले दाँत निकाल्ने गर्छन्, कतै पेन्चस प्रयोग गरि आफै निकाल्छन् । विशेषज्ञका अनुसार यस्तो परम्परागत उपचार कुनै पनि हिसाबले सुरक्षित छैन ।


आम जनमानसमा दाँतको समस्यालाई गम्भिर रुपमा लिइदैन । अधिकांश बिरामी समस्या भएपछि मात्रै अस्पताल पुग्छन् । गाउँका अस्पताल र स्वास्थ्य चौकीमा दन्त स्वास्थ्यको उपचार पनि सहज र सुलभ हुन सकेको छैन । जसले गर्दा बिरामी दाँत फुकाल्नुपर्ने अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन् । दाँत स्वस्थ राख्न फ्लोराइडयुक्त मन्जन प्रयोग गरि बिहानबेलुका दाँत माझ्नुपर्छ । प्रत्यक ६ महिनामा एक पटक विशेषज्ञलाई दाँत देखाएर उपचार गर्नुपर्छ ।


डेन्टल हाइजेनिष्ट माइकल देवकोटा भन्छन्, ‘सरकारले सातै प्रदेशमा दन्त सेवाका लागि अस्पताल खोल्न आवश्यक छ, कम्तीमा स्वास्थ्य चौकीमा दन्त सहायकको दरबन्दी मात्रै भएपनि बिरामीले धेरै राहत पाउँथे ।’

प्रकाशित : भाद्र २५, २०७५ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?