कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

धूम्रपान र किशोर पुस्ता

काठमाडौँ — किशोर अवस्थामै धमनी कडा हुनु भनेको मुटु रोग निम्तिनु हो । एउटा अध्ययन अनुसार, अचेल किशोर पुस्तामा मद्यपान र धूमपानको अम्मलले जरो गाड्दै गएसँगै धमनीमा पनि कम उमेरमै कडापन आउँदै गएको छ । यसका कारण किशोर पुस्ता दिनानुदिन मुटु रोगको जोखिममा पर्दै गएको छ ।

धूम्रपान र किशोर पुस्ता

युरोपियन हार्ट म्यागाजिनमा प्रकाशित यो अध्ययन १ हजार २ सय ६६ किशोरकिशोरीमा गरिएको थियो, सन् २००४ देखि पाँच वर्षसम्म । १३–१७ वर्ष उमेर समूहमा व्याप्त धूमपानको बानीलाई लिएर गरिएको यो अध्ययन अनुसार चुरोट र मदिरा एकसाथ खाँदा मुटुलाई झन् धेरै असर परिरहेको छ । धूमपान र मद्यपान छुट्टाछुट्टै गर्नुभन्दा एकसाथ गर्दा स्वास्थ्यलाई बढी नोक्सान पुग्ने गर्छ । बयस्कहरूको दाँजोमा किशोरहरूको धमनीमा यस प्रकारको बढी समस्या निम्तिइरहेको उक्त अध्ययनले औँल्याएको छ ।

धुवाँछेउ बस्नु नै जोखिमपूर्ण
हालैको एउटा अध्ययन अनुसार, धूमपान गर्ने व्यक्तिनजिक एक घण्टा बस्नु किशोरकिशोरीका लागि धेरै हानिकारक हुन सक्छ । उनीहरूलाई सास फेर्न र व्यायाम गर्न असजिलो हुन सक्छ ।धूमपान नगर्ने ७ हजार ३ सय ८९ किशोरकिशोरीमा गरिएको यो अध्ययन ‘पिडियाट्रिक्स’ जर्नलमा प्रकाशित छ । उक्त अध्ययनमा सन् २०१४–२०१५ को एउटा सर्वेक्षणबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरिएको छ । यसमा अमेरिकामा १२ वर्ष वा त्योभन्दा बढी उमेरकाहरूमा धूमपानको अम्मल र यसले गर्दा हुने समस्यालाई हेरियो । अध्ययनको निचोड अनुसार, धूमपान गर्नेहरूको सम्पर्कमा रहने किशोरकिशोरीमा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न जोखिम पनि बढी हुने गर्छ ।

ई–सिगरेटले पनि बिग्रिन सक्छ फोक्सो
धूमपानका कारण निकोटिनले धेरै हानि गर्‍यो भनेर विकल्पमा आयो, ई–सिगरेट अर्थात् इलेक्ट्रोनिक सिगरेट । तर, फोक्सोको स्वास्थ्यका लागि यो विकल्प पनि शतप्रतिशत जोखिमरहित नहुने रहेछ । हालैको एउटा अनुसन्धानमा यस्तै दाबी गरिएको छ ।


त्यसअनुसार ई–सिगरेटमा तिनै विषाक्त रासायनिक पदार्थ हुन्छन्, जुन तमाखुको धुवाँमा पाइन्छन् । त्यस्ता रासायनिक पदार्थले फोक्सोको जीवाणुविरुद्घ काम गर्ने प्रतिरक्षा तन्त्रलाई धूमपान गरेपछि झैँ बेकामे बनाइदिन्छन् ।


यो अध्ययनको निष्कर्ष ‘जर्नल थोरेक्स’ मा प्रकाशित छ । इलेक्ट्रोनिक सिगरेटको बाफले गर्दा शरीरमा सबैभन्दा बढी नोक्सान फोक्सोलाई नै हुने गर्छ । ई–सिगरेटमा हुने सिन्नामेल्डिहाइड रसायनले गर्दा पनि सामान्य कोषिकालाई हानि पुग्ने गर्छ ।


अध्ययनमा ‘ई–सिगरेटको बाफबाट हुने असरको थप गम्भीरता बुझ्नको अनुसन्धान जारी राख्नुपर्ने आवश्यकता छ’ पनि भनिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?