१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रोग नबुझ्दा बिरामीमाथि दुर्व्यवहार

फातिमा बानु

काठमाडौँ — रामेछापका ३० वर्षीय शंकर भुजेल केही वर्षयता काठमाडौंको शान्तिनगरमा बस्दै आएका छन् । मजदुरी गर्ने उनी दुई वर्षदेखि हर्नियाको समस्यासँग जुधिरहेका छन् ।

रोग नबुझ्दा बिरामीमाथि दुर्व्यवहार

तर, उनको समस्यालाई टोलछिमेक र साथीभाइले यौनजन्य रोगसँग दाँजेर दुर्व्यवहार । ‘कतिले त रोगै नबुझी एचआईभी भनिदिन्छन्,’ उनले गुनासो गरे, ‘मेरो रोग अरूलाई सर्ने खालको होइन, कति सम्झाउँ, कसलाई मात्रै सम्झाउँ ?’


मांसपेशी आफ्नो ठाउँ छोडेर बाहिर निस्किने समस्या हो, हर्निया । यस्तो मांसपेशी पेट, तिघ्राको काप र यौनांगबाट बाहिर निस्कन्छ । हर्नियाको यौन रोगसँग कुनै सम्बन्ध छैन । तर, गुप्तांगमा डल्लो आउने, घाउ अण्डकोषसम्म फैलिने हुँदा समाजमा यसलाई यौनजन्य रोगसँग जोडेर व्याख्या गर्ने गलत प्रवृत्ति छ । बिरामीमाथि दुर्व्यवहारको कारण पनि यही हो ।


एचआईभी भनेर जिस्क्याउने साथीहरूसँग संगत नै गर्न मन लाग्दैन भुजेललाई । उनी भन्छन्, ‘काम दिने साहु एउटै हो, चाहेर पनि ती साथीसँग टाढा जान मिल्दैन ।’ आजभोलि उनी आफूलाई यौनजन्य रोग होइन भनेर प्रमाणित गर्न लागिपरेका छन् । कहिले अस्पतालका कागज देखाउँछन्, कहिले तीनै साथी बटुलेर डाक्टरकहाँ पुग्छन् । साथीहरू रोग सर्छ भनेर अलग भएकाले उनी कोठामा पनि एक्लै बस्छन् ।

‘टोलभरि म एचआईभी संक्रमित हुँ भनेर हल्ला फिँजाइएको छ, जो भेटे पनि एड्स लागेको हो भनेर सोध्छन्,’ उनले भने, ‘जवाफ दिँदादिँदा थाकिसकेँ ।’ अहिले उनी शल्यक्रियाका लागि खर्च जुटाउँदै छन् । रोगले भन्दा बढी दुर्व्यवहारले पिरोलेको छ ।


केही समय अगाडि यस्तै कुरामा साथीहरूसँग झगडै पर्‍यो । साथीहरूले उनीमाथि कुटपिट गरे । त्यसपछि भुजेलले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिए । तर दुर्व्यवहार गरेको प्रमाण जुट्न नसक्दा उनले न्याय पाएनन् । भन्छन्, ‘प्रमाण ल्याऊ, आफन्त चाहियो भन्छन्, हुँदै नभएको रोगी हो भनेर हेला गर्दा मनमा बिझ्ने काँडाको प्रमाण के हुन्छ ?’


उनका कोही आफन्त छैनन् । जन्म दिने आमाबाबुबारे केही पत्तो छैन । गाउँकै छिमेकीको घरमा हुर्किएका उनी । त्यहीँ भाँडा माझ्ने, सरसफाइ गर्ने काम गर्थे । छिमेकीको हेला सहन नसकेपछि उनी कामको खोजीमा सहर पसे । सहरमा काम त पाए तर सुखशान्ति पाएनन् ।

दुई वर्षअघि पेटको तल्लो भाग चिलाउने, कब्जियत हुने, कमजोरी भएर कामै गर्न नसक्ने भयो । आफ्नो समस्या सँगै काम गर्न मिल्ने साथीलाई सुनाएका थिए । छोटो समयमै टोलभरि उनलाई यौनजन्य रोग लागेको हल्ला फैलियो । घरबेटीको कानसम्म पनि पुगेपछि उनी कोठाबाट निकालिए । अझै पनि उनलाई कोठा पाउन गाह्रो छ ।


हर्नियापीडित महिला झन् बढी विभेद र र दुर्व्यवहार खेप्न बाध्य छन् । ओखलढुंगाकी ५३ वर्षीया एक महिलाको पेटमुनि दुई वर्षअगाडि गाँठो निस्कियो । काम गर्‍यो कि गाँठो बढ्ने भएपछि उनले गाउँका महिलालाई सुनाइन् । उनीहरूले यस्तो गाँठो आफैँ हराएर जान्छ भनिदिए । उनी उपचारमा गइनन् । भन्छिन्, ‘गाउँमा यस्तो धेरैलाई हुन्छ, उपचार गर्दैनन्, रोग मान्दैनन् ।’


कहिलेकाहीँ फार्मेसीबाट औषधि किनेर खान्थिन्, बस्थिन् । गत भदौमा भने हातखुट्टा गलिरहने, तारन्तार बान्ता हुने र सासै फेर्न गाह्रो भएपछि उनी अस्पताल गइन् । गाउँको अस्पतालबाट रेफर भएर अहिले उनी वीर अस्पतालमा उपचाररत छिन् ।

ढिलो भएकै कारण उनको आन्द्रासमेत कुहिएर कालो भइसकेको थियो । अहिले शल्यक्रिया भएको छ । अझै तीनवटा शल्यक्रिया गर्नुपर्ने भएको उनको उपचारमा संलग्न डा. सुशीलमोहन भट्टराईले बताए ।


उनले भने, ‘हर्नियाबारे जनचेतना छैन, उपचारमा चासो देखाउँदैनन्, खुल्न हिचकिचाउँछन् ।’ यो रोग जति लामो समयसम्म लुकायो उति धेरै जटिलता पैदा हुने उनले बताए । जटिल अवस्थाका बिरामीमा आन्द्रा फुलेर संक्रमण बढ्छ । मुटु, मृगौलालगायत सबै अंगले विस्तारै काम गर्न छोडेर बिरामी कोमामा पुग्छन् ।


‘बिरामीमाथि हुने विभेदकै कारण होला, समयमा उपचारका लागि आउँदैनन्, आए पनि आन्द्रा र घाउ कुहिएको अवस्थामा आउँछन्, बिरामी बचाउनै मुस्किल हुन्छ,’ डा. भट्टराई थप्छन् । अन्तिम अवस्थामा आएकै कारण वर्षमा दुईदेखि पाँच बिरामीको मृत्यु हुने गरेको उनले बताए । हर्नियाको समस्या हुँदा शल्यक्रिया नै गर्नुपर्छ । औषधिले यो रोग निको हुँदैन ।

प्रकाशित : आश्विन १, २०७५ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?