चुम्बन गर्दा पनि लाग्न सक्छ रोग

‘कसैलाई चुम्बन गरेपछि धेरै घाँटी दुख्यो, ज्वरोले छोडेन र अत्यधिक थकाइजस्ता लक्षण देखिए भने चिकित्सकसँग परामर्श गर्नु आवश्यक हुन्छ । कहिलेकाहीँ संक्रमण भएकाहरूमा फियो र कलेजो सुन्निने समस्यासमेत देखिन सक्छ ।’
अतुल मिश्र

काठमाडौँ — चुम्बन आदानप्रदान गरेको महिनादिनमै महिलामित्रलाई थकाइ, ज्वरो, घाँटीमा तीव्र पीडाजस्ता समस्या देखिएपछि युवक चिन्तित भए । केही दिनको अन्तरमा अन्य तीन जना महिलामित्रसँग पनि ती युवकले चुम्बन साटासाट गरे ।

चुम्बन गर्दा पनि लाग्न सक्छ रोग

अलि पछि तिनले पनि त्यस्तै समस्या देखिएको गुनासो गरे । उनी आत्तिएर चिकित्सककहाँ पुगे । चिकित्सकले आवश्यक परीक्षण गरे । पत्ता लाग्यो— ती युवकलाई मोनो न्युक्लिओसिसको संक्रमण रहेछ र उनले ओठमा चुमेका महिलामित्रहरूलाई बोलचालमा चुम्बन रोग (किसिङ डिजिज) भनिने त्यही संक्रमण सरेको रहेछ ।


मोनो न्युक्लिओसिसको संक्रमण अर्थात् ग्लान्डुलर ज्वरो । यो संक्रमण हुने सबैभन्दा सामान्य कारण एपेस्टिन वार भाइरस (ईबीभी) हो । यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । तर आफूभित्र यो भाइरस संरक्षित रहे पनि सम्बन्धित व्यक्तिलाई कुनै समस्या परेको हुँदैन । ती युवकलाई जस्तै । त्यस्ता व्यक्तिले अरूलाई भने नराम्ररी प्रभावित पार्ने गर्छन् । ती युवकले जस्तै ।


‘मोनोन्युक्लिओसिसको संक्रमण भएकाहरू टन्सिल, घाँटी दुख्ने, ज्वरो आउने, ग्ल्यान्ड बढेको आदि समस्या भएको भन्दै हामीहरूकहाँ पुग्छन्,’ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. तोरण केसी भन्छन्, ‘यो समस्या स्कुल जानेहरूमा बढी देखिएको छ भने ६–७ वर्षदेखि २४–२५ वर्ष उमेर समूहका बढी प्रभावित हुने गरेका छन् ।’


हाम्रो मुलुकमा यो संक्रमणबारे खासै कुनै विस्तृत अध्ययन भएको छैन । यो संक्रमणबाट बचाउका लागि हालसम्म कुनै खोपसमेत बनेको छैन । डा. केसीका अनुसार, जुनसुकै माध्यमबाट भए पनि यो भाइरसको सम्पर्कमा आएको ४ देखि ६ सातासम्म रोगको लक्षण देखिन सक्छ ।


यो भाइरल संक्रमण भएकोले यसमा खासै औषधि आवश्यक नहुने औंल्याउँदै वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. भाष्करमान कायस्थ भन्छन्, ‘कडा रूपमा सक्रमितहरू आफूलाई घाँटीसम्बन्धी समस्या भएको ठानेर सबैभन्दा पहिले फिजिसियन वा नाक कान, घाँटी विशेषज्ञकहाँ पुग्ने गरेका छन् ।’


यो भाइरस शरीरबाहिर रहँदा घण्टौंसम्म बाँच्न सक्छ भने खोक्दा मुखबाट निस्किने पानीका ससाना थोपा (ड्रपलेट) का माध्यमले समेत एकबाट अर्कोमा सर्न सक्छ ।


अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार यो संक्रमण किशोरकिशोरी र युवा वयस्कमा सामान्य छ । चार जनामध्ये न्यूनतम एक जना किशोरकिशोरी वा युवा वयस्क (जो ईबीभीले संक्रमित छन्) मा संक्रामक मोनोन्युक्लिओसिस विकसित हुन सक्छ ।


मुख्य रूपमा र्‍यालको माध्यमले एकबाट अर्कोमा सर्ने यो संक्रमणसँगै एउटै थालमा खानाले, जुठो खानाले, एउटै ग्लासमा पानी पिउनाले सर्ने गरेको छ । लिपस्टिक, लिपवाम, टुथब्रस आदि साझा गर्नाले समेत यो संक्रमण हुन सक्छ ।


यो आफैं निको हुने संक्रमण भएकाले यसले त्यस्तो समस्यामा नपार्ने जनाउँदै डा. केसी भन्छन्, ‘धेरै घाँटी दुख्यो, ज्वरोले छोडेन र अत्यधिक थकाइजस्ता लक्षण देखिए भने चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।’


केही अवस्थामा भने यो संक्रमणमा जटिलता आउने सम्भावनासमेत हुन्छ । ‘कहिलेकाहीँ संक्रमण भएकाहरूमा फियो र कलेजो सुन्निने समस्यासमेत हुन सक्ने औंल्याउँदै डा. केसी भन्छन्, ‘यस्तो स्थितिमा चिकित्सकको सल्लाह विशेष आवश्यक हुन्छ ।’


अमेरिकन एकेडेमी अफ फयामिली फिजिसियन (एएएफपी) का अनुसार यसमा देखिन सकिने अन्य जटिलता भने स्नायु प्रणालीसम्बन्धी समस्या, रक्तअल्पता, जन्डिससँग हेपाटाइटिस आदि हो ।


यसले गर्दा तपाईंलाई सास फेर्न कठिनाइ, निरन्तर १०१ डिग्रीभन्दा बढी ज्वरो, कडा टाउको दुखाइ, हात र खुट्टामा कमजोरी, जण्डिस र निल्न समस्या जस्ता लक्षण देखिन सक्छन् ।


फियो बढेकाहरूलाई चिकित्सकले करिब एक महिनासम्म खेल र कडा शारीरिक गतिविधिबाट बाँच्ने सल्लाहसमेत दिन्छन् । बिरामीमा अस्थायी रूपले फियो बढेकाले कडा परिश्रम, चोट आदिले फियो फाटेर आन्तरिक रक्तस्राव र पेट दुखाइ निम्तिन सक्छ । यस्तो स्थितिमा आकस्मिक शल्यक्रियासमेत आवश्यक हुन्छ । तर यो स्थिति निकै कम बिरामीहरूमा मात्र देखिन सक्ने डा. केसी औंल्याउँछन् ।


यो संक्रमण भएका धेरैजसो दुईदेखि चार सातामा राम्रो अनुभव गर्छन् । तर थकाइ भने थुप्रै सातासम्म रहन सक्छ । एएएफपीका अनुसार केही केसमा लक्षण ६ महिना वा अझ बढी समयसम्म यो रोग रहन सक्छ ।

उपचार
यसको कुनै खास उपचार छैन । यसमा लाक्षणिक उपचार गरिने जनाउँदै डा. केसी भन्छन्, ‘यदि तपाईंमा कडा लक्षण देखिएको छ भने चिकित्सकले ‘स्टेरोइड’ औषधि प्रस्तावित गर्न सक्छ ।’


एन्टिभाइरल औषधि (जस्तै : ऐसिक्लोभिर) सेवन गर्दा पनि कम वा कुनै फाइदा नहुन सक्ने जनाउँदै डा. केसी नुनपानीले कुल्ला गर्ने, प्रशस्त तरल पदार्थ खाने, पर्याप्त आराम गर्ने र चिकित्सकीय सल्लाहअनुसार ज्वरो र दुखाइका लागि पेनकिलर सेवन गर्न सकिने बताउँछन् ।


यो संक्रमण भाइरसले गर्दा हुने भएकोले यसमा ‘एन्टिबायोटिक’ औषधि प्रभावकारी हुँदैन । यसैले घाँटी दुखेर ज्वरो आउँदा आफूखुसी एन्टिबायोटिक खानु नहुने डा. केसी बताउँछन् ।


परीक्षण
यो संक्रमणमा परीक्षणहरूको कुनै महत्त्वपूर्ण भूमिका हुँदैन । तर अन्य रोगहरूबाट छुट्टयाउन केही परीक्षण गर्न सकिने डा. केसी बताउँछन् । यसअन्तर्गत ‘ब्लड काउन्ट’ गराउँदा त्यसमा ‘लिम्फोसाइट’ देखिन्छ । यस्तै अल्ट्रासाउन्ड परीक्षण गराउँदा बिरामीको फियो र कलेजो बढेको देखिन सक्छ । घाँटीको अल्ट्रासाउन्ड परीक्षण प्रतिवेदनमा पिप भरिएको नभई ग्ल्यान्डहरू बढेको पत्ता लाग्न सक्छ । यसको टुंगो गर्न ‘मोनोस्पट’ परीक्षणसमेत गराउन सकिन्छ ।


बचाउ
-हात नियमित रूपमा साबुनपानीले धुने
-अरूलाई चुम्बन नगर्ने
-तौलिया वा कुनै पनि भाँडाकुँडा अरूसँग साझा नगर्ने

रोग कसरी सर्छ ?
-कसैसँग चुम्बन गर्नाले
-र्‍यालको सम्पर्कमा आउनाले
-कसैको जुठो खानाले
-एउटै भाँडामा खानाले
-खोक्दा मुखबाट निस्किने पानीका ससाना थोपा (ड्रपलेट) ले
-शरीरको तरल पदार्थले
-यौनसम्पर्कताका रगत र वीर्यले
-रगत चढाउनाले
-अंग प्रत्यारोपणले

लक्षण
-अत्यधिक थकाइ लाग्नु
-घाँटीमा खसखस वा पीडा हुनु
-ज्वरो आउनु
-टाउको वा जीउ दुख्नु
-काखी र घाँटीको ग्ल्यान्ड सुन्निनु
-कलेजो वा फियो सुन्निनु वा दुवै सुन्निनु
-छालामा डाबर देखिनु


[email protected]

प्रकाशित : आश्विन २०, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?