पहाडमा तीन प्रकारका कालाजार देखिए
काठमाडौँ — तराईमा वा तराईतिर भ्रमण गरी फर्केकाहरूमा मात्र देखिने कालाजारबाहेक पहाडी इलाकामा ‘क्युटेनियस’ र ‘म्युकोक्युटेनियस’, कालाजार पनि देखापरेको छ ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लालका अनुसार उच्च पहाडी जिल्लामा क्युटेनियस र म्युकोक्युटेनियस लिसमेनियासिस देखापरेको हो । नेपालमा भेसरल लिसमेनियासिस (कालाजार) मात्र पाइने मान्यता थियो ।
ईडीसीडीको तथ्यांकअनुसार सन् २०१६ मा तनहुँमा १ जना क्युटेनियस र त्रिवि शिक्षण अस्पतालमा १ जना म्युकोक्युटेनियसको लिसमेनियासिसका बिरामी भेटिएका थिए ।
यस्तै सन् २०१७ मा पाल्पा र बैतडीका एक–एक जनामा क्युटेनियस र सुनसरीका दुई जनामा म्युकोक्युटेनियस लिसमेनियासिसका बिरामी भेटिएका थिए ।
यो संख्या सन् २०१८ मा बढेको छ । डा. विवेकका अनुसार बैतडीका ३ जना र कैलाली, कञ्चनपुर, रौतहट, रामेछाप, स्याङ्जा, तनहुँ र कालिकोटका एक–एक जना गरी हालसम्म १० जना क्युटेनियस लिसमेनियासिसका बिरामी देखिएको सरकारी तथ्यांक छ ।
कालाजार छाला र म्युकस झिल्लीमा लाग्ने जानकारी विज्ञहरूले दिएका छन् । विज्ञहरूका अनुसार लिसमेनियासिस प्रोटोजोओन लेस्मानिया पारासाइट (परजीवी) ले गर्दा हुन्छ । संक्रमित पोथी फ्लिबोटोमिन भुसुनाको टोकाइले फैलिन्छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार लिसमेनियासिस प्रोटोजोवा परजीवीको करिब २० भन्दा बढी लिमेनिया प्रजातिले गर्दा हुन्छ । ९० भन्दा बढी भुसुनाको प्रजातिले लिसमेनियासिस परजीवी ओसारपसार गर्छ ।
सन् २०१६ पछि सुदूरपश्चिमका जिल्लामा धेरै मात्रामा क्युटेनियस लिसमेनियासिसको रिपोर्टिङ भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोला बताउँछन् । रोल्पा, कैलाली, बैतडी, महेन्द्रनगर, रामेछाप, तनहुँ, स्याङ्जा, कालिकोट, रौतहट लगायतका ठाउँबाट आएका १५ जनाभन्दा बढी क्युटेनियस लिसमेनियासिसको बिरामीको उपचार गरेको औंल्याउँदै डा. बाँस्तोला भन्छन्, ‘स्थानीय रूपमा नै यो रोग देखिने गरेको छ ।’
क्युटेनियस लिसमेनियासिससँग छालाको क्षयरोग मिल्ने जस्तो भएकाले मुलुकमा यो रोग पहिले मिस डाइग्नोज (गलत निदान) हुने गरेको दाबीसमेत डा. बाँस्तोला गर्छन् । कालाजारभन्दा क्युटेनियस लिसमेनियासिसको उपचार पद्घति फरक छ । यो भुसुनाले छालामा टोकेर दाग देखिने हो । यसको दाग करिब ६ महिनामा आफंै सञ्चो भएर जान सक्छ, अनुहारमा दाग देखिँदा उपचार गरिने डा. बाँस्तोला बताउँछन् ।
उनका अनुसार यसको उपचारअन्तर्गत विभिन्न प्रकारको मलम, औषधि र कलाजारको उपचारमा उपयोग गरिने औषधि ‘मिल्टिफोसिन’ वा ‘लिपोसोमल एम्फोटेरिसिन बी’ औषधिसमेत उपयोग गरिन्छ ।