राजधानीमा डेंगु संक्रमण बढ्दै

अतुल मिश्र

काठमाडौँ — राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ । 

राजधानीमा डेंगु संक्रमण बढ्दै

‘ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दसैंअगावै त्यहाँ ७ जनामा डेंगु देखिएको रिपोर्ट गरेका थिए,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक विवेककुमार लालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलन सुरु भइसकेको छ ।’


ढुंगेधारा क्षेत्रका अनुप रानामगर दसैंमा डेंगुको उपचार गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । उनलाई रैथाने लामखुट्टेले टोकेको डा. शेरबहादुर पुनले बताए ।


‘राना पाँच महिनायता राजधानीबाहिर गएका छैनन् । उनमा स्थानीय लामखुट्टेबाट डेंगु सरेको हो,’ पुनले भने । उनले ढुंगेधारा क्षेत्रका ९ जनाजतिले टेकुमै उपचार गराइरहेको बताए ।


यसअघि राजधानीमा फाट्टफुट्ट डेंगु संक्रमण देखिँदै आए पनि एकै ठाउँ यति धेरै संख्यामा थिएन । राजधानीमा डेंगुविरुद्घ अभियान आवश्यक भइसकेको डा.लालको भनाइ छ ।


‘डेंगु सार्ने लामुखुट्टे एडिस एजेप्टाई राजधानीमा प्रशस्त पाइएको छ,’ उनले भने । काठमाडौंमा छतछतमा रहेका ट्यांकी र पानी राख्ने भाँडा यस्ता लामखुट्टे बढाउने कारक बनेका छन् । डेंगु सार्ने लामखुट्टेले सफा पानीमा प्रजनन गर्छ । डेंगु एडिस एजेप्टाई नामक पोथी लामखुट्टेबाट सर्छ जसले दिउँसो मात्र टोक्छ । संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा डेंगु सर्छ ।

सन् २०१८ को हालसम्म देशभरि डेंगुका ९३ जना बिरामी देखिएका छन् । एक जनाको मृत्यु भएको छ ।


भारतका केही सहरमा लामखुट्टे बढाउने वातावरण बनाउने घरधनीलाई ५० हजारसम्म जरिवानालगायत दण्डसजायको प्रावधान राखिएको डा.लालले बताए ।


‘समयमै चेत्नु आवश्यक छ । काठमाडौंजस्तो सहरमा डेंगुको प्रकोप देखिए नियन्त्रण गर्न धेरै गाह्रो पर्छ,’ उनले भने । डा. पुनका अनुसार डेंगुको खास उपचार छैन । यसले संक्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ । ‘सबभन्दा घातक अवस्थामा डेंगुले सम्पूर्ण शरीरमा रक्तस्राव गराइदिन्छ,’ उनले भने । नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए ।


ती विदेशी नागरिक थिए । २००६ मा चितवनमा भने यो प्रकोपकै रूपमा देखियो । २०१० मा सबभन्दा बढी ९ सय १७ बिरामी भेटिएका थिए । तीमध्ये पाँच जनाको मृत्यु भयो । विश्व स्वास्थ्य संगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले बढेको छ ।

प्रकाशित : कार्तिक ८, २०७५ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?