जिका संक्रमण

‘हामी नेपालमा पनि टाउको सानो भएको शिशु जन्मिने क्षण कुरेर बसेका त छैनौं ? नत्र चिकित्साकर्मी, समाजलगायत गर्भधारण गर्ने महिला र निजका आफन्तहरु संवेदनशील हुन ढिलो भइसक्यो ।’
अतुल मिश्र

काठमाडौँ — भारत, बंगलादेशसहित विश्वका ८६ मुलुकमा जिका भाइरस रोगले दु:ख दिन थालेको छ  । यसको अर्थ हो– छिमेकमै आइसकेको रोगलाई लिएर नेपालले समेत थप सतर्कता अपनाउनुपर्ने भएको छ  ।

जिका संक्रमण

धन्न, हाम्रो मुलुकमा अहिलेसम्म जिका भाइरस रोग कसैलाई सरेको भेटिएको छैन । यो रोग लामखुट्टेले सार्ने गर्छ । हुन त यसले सबैलाई असर गर्छ, तैपनि गर्भवती वा गर्भधारण गर्न इच्छाएका महिलाहरूका लागि निकै जोखिमपूर्ण देखिएको छ । त्यस्ता महिलाका सन्तानमा जीवनभर स्वास्थ्यसम्बन्धी जटिलता आउन सक्ने सम्भावना भएकाले गर्भधारण गर्न रुचाएका वा गर्भपतीले अन्यको दाँजोमा बढी सावधानी अपनाउनुपर्ने आवश्यकता विशेषज्ञहरूले आंैल्याएका छन् ।

‘नवजात शिशुमा हुने माइक्रोसिफेली तथा अन्य न्युरोलजिकल सिन्ड्रोम (गिल्यानबार सिन्ड्रोम) लाई अस्थायी रूपमा जिका भाइरस संक्रमणसंँग जोडेर हेरिन्छ,’ स्नायु रोग विशेषज्ञ प्रा.डा. जगदीशप्रसाद अग्रवाल भन्छन्, ‘तापनि माइक्रोसिफेली र गिल्यानबार सिन्ड्रोमको थुप्रै आनुवांशिक तथा अन्य कारण हुन्छन् ।’

माइक्रोसिफेलीमा असामान्य रूपले सानो टाउकोले गर्दा शिशुको शारीरिक–मानसिक विकास असामान्य हुन सक्छ । स्नायु प्रणालीसम्बन्धी विकार गिल्यानबार सिन्ड्रोममा पक्षाघात हुन्छ ।

हाम्रो मुलुकमा हालसम्म स्थानीय लामखुट्टेद्वारा जिका भाइरस रोग सरेको पहिचान नगरिएको जनाउँदै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘बंगलादेशलगायत ८५ देशमा छँदै थियो, हाल भारतमा समेत जिका बढी मात्रामा देखिएपछि हामी थप जोखिममा परेका छौं ।’

हाम्रो मुलुकमा जिका भाइरस रोग मुख्य रूपमा सार्ने भनेर चिनिएको, दिउँसै टोक्ने एडिस एजिप्टी लामखुट्टे व्यापक मात्रामा पाइन्छ । त्यसैले गर्दा हाम्रोमा जिका विषाणुका लागि अनुकूल वातावरण छ । यही लामखुट्टेले डेंगु र चिकनगुनियासमेत सार्छ ।

जिका रोग लामखुट्टेबाट मात्र नभई यौन सम्पर्क र संक्रमित गर्भवतीबाट उनीहरूका नजन्मिएका शिशुमा समेत सर्न सक्छ ।

‘नेपाल जिका भाइरस संक्रमणबाट अछुतो रहन सक्दैन,’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. गणेश दंगाल भन्छन्, ‘यो रोगको विस्तार तीव्र गतिमा देखिएकाले बचाउको पूर्वतयारी
आवश्यक छ ।’

गर्भवतीलाई जिकाका कारण हुन सक्ने जटिलताले बढी जोखिम निम्त्याउँछ । यसबाट भ्रूण, बच्चा र आमा तिनैलाई असर पर्न सक्छ । सामान्य व्यक्ति वा महिलाभन्दा गर्भवतीलाई यो संक्रमणले बढी गम्भीर बनाउन सक्छ ।

जिका संक्रमण भारतमा भेटिएपछि यो संक्रमणबाट जोगिनु हाम्रा लागि थप चुनौती भएको जनाउँदै डा. दंगाल भन्छन्, ‘सबैभन्दा प्रमुख चुनौती गर्भवती वा गर्भधारणका लागि तयार महिलाहरूलाई यो संक्रमणबाट जोगाउनु हो । नेपालमा हामी सानो टाउको भएका शिशुहरूको जन्म कुरेर बसिरहन सक्दैनौँ । त्यस्ता शिशु जन्मिनुअगावै चिकित्साकर्मी, समाजलगायत गर्भधारण गर्ने महिला र निजका आफन्तहरू थप संवेदनशील हुनु जरुरी छ ।’

‘इन्डियन जर्नल अफ मेडिकल रिसर्च’ मा गत वर्ष प्रकाशित ‘जिका भाइरस करेन्ट अफेयर्स इन इन्डिया’ समीक्षा लेखमा जिका विषाणुको विस्तार स्थानीय रूपमा भएको र यसको फैलावट यात्रासँग नजोडिएको निष्कर्ष निकालिएको छ । उक्त समीक्षामा भारतमा जिका विषाणु लामो समयदेखि अस्तित्वमा रहेको संकेत पनि गरिएको छ । यति मात्र होइन, जिका विषाणु भविष्यमा सार्वजनिक स्वास्थ्यका लागि गम्भीर चिन्ताको विषय बन्न सक्नेसमेत जनाइएको छ ।

के हो जिका ?
पहिलो पटक जिका भाइरस सन् १९४७ मा युगान्डामा बाँदरमा भेटिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, यसपछि सन् १९५२ मा यो युगान्डा र तान्जानियामा मानिसमा पाइयो । हाल ८६ मुलुकमा यसको संक्रमण देखिएको छ ।

यो भाइरल रोग संक्रमित एडिस लामखुट्टेले टोक्दा फैलिन्छ । एडिस एजिप्टी लामखुट्टेले नै हाम्रो मुलुकमा केही वर्ष यतादेखि राखिएको डेंगु, चिकनगुनियाजस्ता संक्रमणलाई समेत फैलाइरहेको छ । यो लामखुट्टे राजधानी, तराई, पहाडलगायत मुलुकका प्राय: भूभागमा भेटिएको छ ।

लक्षण
संक्रमित लामखुट्टेले टोकेको तीन दिनदेखि दुई सातासम्म यो रोगको लक्षण देखिन्छ । तर जिका भाइरसले संक्रमित बहुसंख्यक व्यक्तिमा यो रोगको लक्षण विकसित नहुने डब्लूएचओले जनाएको छ ।

यसको लक्षण दुई दिनदेखि एक सातासम्म रहन सक्छ । यसअन्तर्गत ज्वरो, बिमिरा, कंजक्टिबाइटिस (आँखा रातो हुनु), मांसपेसी र जोर्नीको दुखाइ, शारीरिक बेचैनी, टाउको दुखाइ आदि यसका लक्षण हुन् ।

जटिलता
गर्भावस्थाको समय जिका भाइरस संक्रमण हुनु भनेको नवजात शिशुमा माइक्रोसिफेली र अन्य जन्मजात असामान्यताको कारक हो । डब्लूएचओका अनुसार, गर्भावस्थामा जिकाको संक्रमणले गर्दा गर्भ तुहिनु, मृत जन्म, समय अगावै जन्म आदि समस्या हुन सक्छन् । यो भाइरसको संक्रमण खास गरी वयस्क र ठूला बालबालिकामा गिल्यानबार सिन्ड्रोम, न्युरोप्याथी र माइलाइटिस उत्पन्न गराउन सक्ने (ट्रिगर) कारक हो ।

डब्लूएचओको अनुसार गर्भावस्थामा जिका भाइरस संक्रमणको प्रभाव, बालबालिका र वयस्कमा स्नायुसम्बन्धी समस्यालगायतका वारेमा अनुसन्धानहरू चलिरहेका छन् ।
रोग पहिचान
जिका भाइरसको संक्रमणको आशंका यो संक्रमण पाइएका मुलुकको भ्रमण गरेका व्यक्तिविशेषमा देखिएको लक्षणका आधारमा गरिन्छ । यो रोगको पहिचान रगत, पिसाब, वीर्य लगायतका शारीरिक तरल पदार्थको प्रयोगशाला परीक्षणबाट मात्र गर्न सकिन्छ ।

उपचार
जिका भाइरस संक्रमण र यो सम्बद्घ रोगको कुनै उपचार छैन । यसको लाक्षणिक उपचारअन्तर्गत ज्वरो र दुखाइका लागि सामान्य औषधि उपयोग गरिन्छ । तर लक्षण गम्भीर हँुदै गए चिकित्सा सहयोग आवश्यक हुन्छ । जिका भाइरस संक्रमण देखिएका मुलुकबाट फर्किएका गर्भवती महिलाहरूलाई चिकित्सकीय सहयोग आवश्यक हुन्छ ।

बच्चा जन्माउन चाहनेले के गर्ने ?
जिका भाइरस प्रभावित क्षेत्रबाट फर्केका पुरुषले बच्चा नपाउन कम्तीमा ६ महिनासम्म यौनक्रियामा कन्डम उपयोग गर्नुपर्ने आंैल्याउँदै डा. दंगाल भन्छन्, ‘यस्ता व्यक्तिले यात्रापछि गर्भधारणको योजना बनाइरहेका छन् भने कम्तीमा ६ महिना पर्खनुुपर्छ ।’

जिका प्रभावित क्षेत्रबाट फर्केका महिलाहरूले समेत कम्तीमा ६ महिनासम्म गर्भधारणको प्रयास गर्न हुन्न । अझ, जिका प्रभावित क्षेत्रमा गएर गर्भधारणको प्रयास गर्नु झनै जोखिमपूर्ण हुन्छ ।

थाहा पाउँदापाउँदै जिका प्रभावित क्षेत्रमा गएर वा त्यहाँबाट फर्केका पुरुषबाट गर्भवती भए त्यसपछि आफूलाई अस्वस्थ अनुभव नगरे पनि यो कुरा चिकित्सकलाई बताउनुपर्ने डा. दंगाल सुझाउँछन् । यस्ता सबै गर्भवती महिलाले सम्भावित जिका भाइरस संक्रमणको परीक्षण गराउनु आवश्यक मानिन्छ ।

गर्भवती महिला, सन्तानको चाहना राख्ने महिला वा पुरुषले जिका प्रभावित मुलुक वा क्षेत्रमा जाँदा मुख्य रूपमा दिउँसो टोक्ने लामखुट्टेबाट जोगिनुपर्छ । लामखुट्टेको टोकाइबाट जोगिन मस्क्युटो रिपलेन्ट क्रिम, झुलको प्रयोग, इलेक्ट्रोनिक मस्क्युटो रिपलेन्टलगायतको प्रयोग गर्नुपर्छ । शरीरका धेरैजसो भाग छोपिने गरी लुगा लगाउनुपर्छ ।

जिका रोगको जोखिम भएका मुलुक
(अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनजका अनुसार)

एसिया : भारत, बंगलादेश, म्यान्मार, पाकिस्तान, मालदिभ्स, थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, फिलिपिन्स, सिंगापुर, टिमोर–लिस्ट (इस्ट टिमोर), भियतनाम
मध्य अमेरिका : बेलिज, कोस्टारिका, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, निकारागुआ, पनामा
उत्तरी अमेरिका : मेक्सिको
प्रशान्त द्विप समूह : फिजी, पपुआ न्यु गिनी, समोआ, सोलोमन द्विप समूह, टोंगा
दक्षिण अमेरिका : अर्जेन्टिना, बोलेभिया, ब्राजिल, कोलम्बिया, इक्वाडोर, फ्रेन्च गुयाना, गुयाना, पराग्वे, पेरु, सुरिनाम, भेनेजुएला
क्यारेबियन : एंगुइला, अन्तिगुया, बार्बुडा, अरुबा, बोनैरे, ब्रिटिस भर्जिन आइल्यान्डस, क्युबा, कुराकाओ, डोमिनिका, डोमिनिकन गणराज्य, ग्रेनेडा, हैटी, जमैका, मोन्टेसेराट, पुएर्टो रिको, सबा, सेन्ट किट्स एण्ड नेभिस, सेन्ट लुसिया, सेन्ट मार्टिन, सेन्ट भिन्सेट एन्ड द ग्रेन्डिनेस, सेन्ट युस्टाटियस, सेन्ट मार्टन, ट्रिनिडाड एन्ड टोबैगो, तुर्कर्स एन्ड क्याकोज आइसल्यान्ड, यूएस भर्जिन आइसल्यान्ड
अफ्रिका : अंगोला, बेनिन, बुर्किना–फासो, बुरुन्डी, क्यामरुन, केप भर्दे, चाड, कंगो, आइभोरी कोस्ट, इक्वेटोरियल गिनी, गैबाँन, गाम्बिया, घाना, गिनी, गिनी–बिसाउ, केन्या, लाइबेरिया, माली, नाइजर, नाइजिरिया, रुवान्डा, सेनेगल, सिएरा लियोन, दक्षिण सुडान, सुडान, तान्जानिया, टोगो, युगान्डा

[email protected]

प्रकाशित : कार्तिक १०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?