कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढंग पुर्‍याएर खानुपर्छ औषधि

‘औषधि शरीरमा राम्ररी अवशोषित हुन पेटमा के छ भन्ने कुराले निकै अर्थ राख्छ । कुन औषधि खाली पेटमा वा कुन औषधि केही खाएर खाने भन्ने चिकित्सकको सल्लाह राम्ररी पालना गर्नुपर्छ ।’
अतुल मिश्र

काठमाडौँ — शारीरिक समस्या हुँदा चिकित्सकसँग आफ्नो लागि औषधि प्रस्तावित गराएर दबाई किनेर खान थाल्नुले मात्र उपचार प्रक्रिया पूरा हुँदैन । कति वटा वा मात्रा, कसरी, कति खेर, केसँग, कति समयसम्म खाने लगायतका विभिन्न विज्ञानसम्मत प्रक्रिया अनुसार औषधि खानुले मात्र सहज रूपमा निको हुन धेरै सघाउँछ ।

हालका दिनमा औषधि बिक्री, वितरण गर्ने फर्मासिस्टको सेवालाई खासै महत्त्व दिइएको देखिँदैन । बिरामीले चिकित्सककहाँ गएर औषधि लेखाएपछि उपचार प्रक्रिया सकिएको ठान्छन् ।


‘कति वटा, कति मात्रामा, कसरी निल्ने वा चपाउने, पेट खाली छ वा भरेको अथवा के खाएको आदिले औषधिले शरीरमा देखाउने प्रभाव निर्भर गर्छ,’ वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईं बताउँछन्, ‘औषधिको समुचित प्रभावका लागि तपाईंले औषधि किन्ने पसलमा भएका फर्मासिस्टको सल्लाह राम्ररी पालना गर्नुस् ।’


औषधिमा मात्रा महत्त्वपूर्ण छ । चिकित्सकले प्रस्तावित गरेको मात्राअनुसार नै औषधि सेवन गर्नुपर्छ ।

कतिपय औषधि चपाएर त कतिपय निलेर खाने खालका हुन्छन् । निल्ने औषधिलाई चपाएर वा चपाउनुपर्ने औषधिलाई निलेर खानु उपयुक्त हुँदैन । यसैले तपार्इंको पुर्जामा औषधि निल्ने वा चपाउने जे प्रस्ताव गरिएको हुन्छ त्यसअनुसार नै सेवन गर्नु उपयुक्त हुन्छ । अझ औषधिलाई सहजताका लागि टुक्रा गरेर, फुटाएर पिसेरसमेत खानुहुन्न ।


यति मात्र नभई तपाईंले खाने औषधि शरीरमा राम्ररी अवशोषित हुनुलाई तपाईंको पेटमा के छ भन्ने कुरामा समेत भर पर्छ । चिकित्सकले तपाईंलाई कुनै औषधि खाली पेटमा त कुनै केही खाएर खाने

सल्लाह दिएको हुन्छ र त्यसलाई राम्ररी पालना गर्नुपर्छ ।


हरेक औषधिको शरीरमा घोलिने क्षमता फरक हुन्छ । यसैले कुनै औषधिलाई खानाभन्दा अघि, कसैलाई खाने समय त कसैलाई खाना खाए पछि लिन भनिन्छ ।


‘अधिकांश औषधि खाली पेटमा खाए राम्रो असर हुन्छ, अर्थात् यो शरीरमा राम्ररी अवशोषित हुन्छ,’ हुमागाईं भन्छन्, ‘समाजमा भने केही खाएर औषधि सेवन गर्नु राम्रो हुन्छ भन्ने आम धारणा छ ।’

प्रभावकारिताका लागि खाली पेटमा औषधि सेवन गर्नु राम्रो मानिन्छ । तर त्यो औषधिले ग्यास्ट्रिक, वान्ता आदि हुन्छ भने त्यस्ता औषधि खाना खाए पछि खानु सहज हुन्छ ।


चिकित्सकले तपाईंलाई औषधि सेवन गर्ने समय प्रस्तावित गर्छ । दिनमा एक, दुई, तीन, चार आदि पटक औषधि खान प्रस्तावित गरिन्छ । तर तपाईंको जीवनशैलीलाई हेरेर फर्मासिस्टले औषधि कुन–कुन समयमा खाने भन्ने सल्लाह दिनुपर्छ ।


पिसाब लगाउने औषधि बिरामीलाई सामान्यत: बिहान खान भनिन्छ । तर कुनै व्यक्ति रातभर डयुटी गर्ने र दिनमा सुत्ने गर्छन् भने तिनलाई उक्त औषधि साँझमा खाने सल्लाह फर्मासिस्टले दिनुपर्ने आवश्यकता हुमागाईं आंैल्याउँछन् ।


यति मात्र नभएर हरेक औषधिको प्रतिअसर (साइड इफेक्ट) पनि हुन्छ । औषधिको प्रतिअसरबारे बिरामीलाई जानकारी दिनुपर्छ । बिरामीले आफूमा औषधि सेवनपछि प्रतिअसर देखे कहाँ, कसलाई सम्पर्क गर्ने तत्काल कुन प्रक्रिया अपनाउने आदिबारे जानकारीसमेत फर्मासिस्टबाट लिनुपर्छ ।

अझ यदि आफूले औषधि खान बिर्से, के गर्ने र यदि औषधि निर्धारित मात्राभन्दा बढी खाए के गर्ने भन्नेबारे समेत फर्मासिस्टसँग सोध्नुपर्छ ।


औषधिहरूको पारस्परिक प्रभाव

अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) का अनुसार औषधिहरूको पारस्परिक प्रभावसमेत हुने गरेको छ ।


औषधि–औषधिबीच पारस्पारिक प्रभाव देखिन्छ जब दुई वा योभन्दा बढी औषधिहरू एकआपसमा प्रतिक्रिया गरेर न चाहिने प्रभाव दिन्छ । यस्तो खाले पारस्परिक प्रभावले एउटा औषधिलाई राम्ररी काम गर्न दिंदैन भने अर्को औषधिलाई त्यसको क्षमताभन्दा बढी प्रभावकारी बनाउन सक्छ । उदाहरणका लागि, तपाईंलाई चिकित्सकले प्रस्तावित नगरेसम्म यदि तपाईंले रगत पातलो गर्ने वारफिनिन औषधि लिइराख्नुभएको छ भने तपाईंले एस्पिरिन लिनुहुन्न ।


औषधिको अवस्थासम्बन्धी पारस्पारिक प्रभाव तब देखिन्छ, जब तपाईंको चिकित्सकीय अवस्थाले केही खास औषधिलाई तपाईंका लागि सम्भावित हानिकारक बनाएको हुन्छ । उदाहरणका लागि, यदि तपाईंलाई उच्च रक्तचाप वा दम छ भने तपाईंले नाक खोल्ने (नोजल डिकन्जेस्टेन्ट) औषधि लिनुभयो भने नचाहिँदो प्रतिक्रिया हुन सक्छ । रक्तचाप बढ्न सक्छ ।


औषधिले खाना वा पेय पदार्थसँग प्रतिक्रिया गर्दा औषधि–खानाबीचको प्रतिक्रिया देखिन सक्छ । केही अवस्थामा पाचनतन्त्रमा भएको खाद्य पदार्थले औषधि अवशोषणको प्रक्रियालाई प्रभावित गर्न सक्छ । केही औषधिले शरीरमा पोषकतत्त्वको अवशोषण र उपयोगलाई समेत प्रभावित गर्न सक्छ ।


तपाईंले खानुभएको औषधि मदिराजन्य पदार्थसँग प्रतिक्रिया गर्दा औषधि र मदिराबीचको पारस्पारिक प्रभाव देखिन्छ । केही औषधिलाई मदिरासँग मिसाउँदा तपाईंलाई थाकेको र विस्तारै प्रतिक्रिया जनाउने बनाउन सक्छ ।


धेरै औषधि मदिरासँग राम्ररी मिश्रित हुँदैनन् । जति तपाईं पाको हुँदै जानुहुन्छ, तपाईंको शरीरले त्यति नै फरक प्रकारले मदिरासँग प्रतिक्रिया गर्न सक्छ । यस्तै मदिरा र औषधिको मिश्रणसँग गर्न सक्छ । स्मरण रहोस्, केही समस्या औषधिसँग सम्बन्धित भएको हुन सक्ने तपाईं सोच्न सक्नुहुन्छ । जस्तो, समन्वयको अभाव, स्मृतिको हानि, चिढिनु आदि तपाईंको औषधि र मदिराबीचको मिश्रणको परिणाम हुन सक्छ ।


औषधि सामान्य पानीसँग लिऔं

मुख्य रूपमा अमिलो फलवाला जुससँग औषधि सेवन गर्नु हुँदैन । अमिलो जुससँग औषधि सेवन गरेपछि यसको प्रभाव कम हुन्छ । अंगुर, सुन्तला, स्याउ आदिको जुसले हाम्रो शरीरको औषधि सोस्ने क्षमतालाई प्रभावित गर्न सक्ने हुमागाईं बताउँछन् ।


अनुसन्धानहरूका अनुसार स्याउ, अंगुर, सुन्तलाको रस क्यान्सरको औषधि एटोपोफोस, बिटा ब्लकर औषधि, एटेनोलोल र एन्टिट्रान्सप्लान्ट रिजेक्सन औषधि सिस्लोस्पोरिन, सिप्रोफलोक्सासिन, लिवोफलोक्सासिन, इन्ट्राकामाजोल जस्ता एन्टिबायोटिकको असर कम गर्छ ।


औषधिलाई पानीसँग सेवन गर्नु उपयुक्त र सुरक्षित हुन्छ । ताजा पानीले कुनै पनि प्रकारको औषधिलाई अवशोषित हुनमा बाधा उत्पन्न गर्दैन । अझ चिसो पानीको सट्टा कोठाको तापक्रमको पानी उपयुक्त हुन्छ । तर क्याप्सुलहरू सामान्य तापक्रम भएको पानीसँग लिनु नै उपयुक्त मानिन्छ ।


औषधि सेवन गर्दाताका पहिले एक घुडकी पानी खानुपर्छ । यसले औषधि घाँटीमा अडकिने डरसमेत रहँदैन । यसले सुक्खा घाँटीलाई ओसिलो बनाउँछ । त्यसपछि औषधिसँगै पानी खाएर निल्नुपर्छ ।


डाक्टरी पुर्जामा लेखिने भाषा

एलोपेथिक पद्घतिको जन्म ल्याटिन अमेरिकामा भएकोले चिकित्सकहरूले बिरामीलाई लेख्ने पुर्जामा ल्याटिन शब्दको प्रयोग गर्छन् । यो शब्द औषधिसँग सम्बन्धित सांकेतिक भाषा हुन्छ ।

एसी : खाना खानुभन्दा अघि

पीसी : खानापछि

ओडी : दिनमा एक पटक

बीडी/बीडीएस : दिनमा दुई पटक

टीडी/टीडीएस : दिनमा तीन पटक

क्यूआईडी : दिनमा चार पटक

ए/डी : एक दिन बिराएर

एचएस : राति सुत्नु अघि

बीबीएफ : बिहानको खाजाभन्दा अघि

एसओएस : आवश्यक परेको बेला

एडी लिव : जति आवश्यक छ, त्यति

ओएम : प्रत्येक बिहान

ओएन : प्रत्येक राति

ओएच : प्रत्येक घण्टा

एसटीएटी : तुरुन्त खाने

टीएसएफ : करिब ५ मिलिलिटर

टीबीएसफ : करिब १० मिलिलिटर

एसएल : जिब्रोमुनि राखेर चुस्नुपर्ने

आईएम : मांसपेशीमा दिइने सुई

आईबी : नसामा दिइने सुई

पीओ : खाने औषधि

टीएबी : टयाबलेट

एसवाईपी : सिरप

सीएपी : क्याप्सुल

ओइन्ट : ओइन्टमेन्ट

आईएनजे : इन्जेक्सन

प्रकाशित : मंसिर १, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?