मनोसामाजिक अपांगता पहिचानमा समस्या

काठमाडौँ — सामाजिक विभेद र कानुनी अवरोधका मनोसामाजिक अपांगता भएका व्यक्ति खुलेर आउन सकेका छैनन् । दीर्घकालीन रूपमा चिन्तामा डुब्ने, नरमाइलो लागिरहने, एक्लै बस्न मन लाग्ने, खुसी हुनै नसक्ने अवस्थालाई चिकित्सा विज्ञानले मनोसामाजिक अपांगता पहिचान गरेको छ ।

यस्तो अवस्थाका व्यक्ति सामान्य मानिससरह दैनिक जीवनयापन गर्न सक्दैनन् । पारिवारिक र सामाजिक भूमिका निर्वाह गर्न सक्दैनन् ।


यस्तो अपांगता भएका व्यक्तिमाथि हुने गरेको सामाजिक र पारिवारिक लाञ्छनाले उनीहरू विभिन्नखाले हिंसा र दुव्र्यवहारमा पर्ने गरेका छन् । यस्तै एक उदाहरण हुन् – बानेश्वरका शिवराम अछामी । ठूलो लगानी गरेको व्यवसाय घाटामा गएपछि उनी मानसिक बिरामी भए ।


रोगकै कारण उनी एक्लै बस्ने, घुलमिल हुन नसक्ने हुँदै गए । यही बीचमा ९ वर्षीय छोरा र २२ वर्षीया छोरीले आत्महत्या गरेपछि अछामी कडा मानसिक रोगको सिकार भए । उपचार गरेनन् । दुई पटक त आत्महत्याको प्रयास गरे । अहिले उपचार गराइरहेका उनी भन्छन्, ‘जिउमा मट्टीतेल खन्याएँ, सलाई नबलेका कारण मर्न सकिनँ, नांगो तार समातेँ करेन्ट लागेन ।’


मन भित्रभित्रै सल्किएको आगोको निष्कासन हुन नसक्दा उनी लामो समय ढोका थुनेर एक्लै बसे । आफ्नो यस्तो समस्याबारे छिमेकी र आफन्तले थाहा पाएमा ‘पागल’ भनेर हेप्लान् भन्ने डरका कारण कसैसँग खुल्न नसकेको उनी सुनाउँछन् ।


वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.सरोज ओझा भन्छन्, ‘समयमा रोग पहिचान गरी उपचार गरेमा यस्ता समस्या न्यूनीकरण हुन्छ, औषधि र परामर्शले बिरामी पहिलेकै अवस्थामा फर्किन पनि सक्छ ।’ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मानसिक वार्डमा यस्ता बिरामी रोग छिप्पिइसकेपछि मात्रै उपचार खोज्न आउने गरेको डा. ओझा बताउँछन् ।


उनका अनुसार यस्तो समस्या बालबालिकादेखि वृद्धवृद्धामा देखिन सक्छ । लामो समय डिप्रेसन भएको, मद्यपान र तनावले कुनै पनि व्यक्तिलाई मनोसामाजिक अपांगता बनाइदिन सक्ने मानसिक रोग विशेषज्ञ बताउँछन् ।


समाजमा मानसिक रोगबारे खुलेर भन्न सक्ने वातावरण भए बिरामीलाई आत्महत्याको बाटोसम्म पुग्नबाट जोगाउन सकिन्छ । यो रोगबारे समाजमा भएको भ्रम र नकारात्मक धारणा परिवर्तन गर्न व्यापक जनचेतनाको आवश्यकता रहेको उनीहरूको भनाइ छ । अपागंता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ ले मानसिक, बौद्धिक र इन्द्रिय रूपमा दीर्घकालीन अशक्तता नहुनु मनोसामाजिक अपांगता हो ।


यो अपांगताको विविधतामध्ये एक हो । यस्ता व्यक्तिलाई अन्य व्यक्ति सरह सोच्न, महसुस गर्न, निर्णय गर्न र व्यवहार गर्ने असहजता हुन्छ । उनीहरू अध्ययन र कामकाजमा सक्रिय हुन सक्दैनन् ।


राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०७३ ले २० प्रतिशत बालबालिका, ३३ प्रतिशत किशोरकिशोरीमा भावनात्मक र व्यावहारिक समस्या भएको आकलन गरेको छ । विशेषज्ञका अनुसार आत्महत्याको ९० प्रतिशत कारण मानसिक समस्या हो ।


नेपाल प्रहरीका अनुसार गत चार वर्षमा आत्महत्यादर १३ प्रतिशतले बढेको छ । नेपालमा गत वर्ष मात्रै ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका छन् । त्यस्तै दैनिक १५ जना आत्महत्याकै कारण ज्यान गुमाइरहेका छन् ।


अपांगता गराउने प्रमुख १० कारणमध्ये चार समस्या मानसिक रोगलाई मानिएको छ । स्वास्थ्य नीतिअनुसार भूकम्प, वैदेशिक रोजगारीले देशमा मनोसामाजिक अपांगता बढिरहेको छ । समाजमा रोगबारे गलत धारण भएकै कारण बिरामीलाई अझै बाँधेर राख्ने, थुन्ने, समुदायबाट लखेट्ने, घृणा गर्ने जस्ता गलत कार्य गरिन्छ ।

प्रकाशित : मंसिर १८, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?