२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बीपी प्रतिष्ठानमा ‘फाइब्रोस्क्यान’बाट कलेजोको उपचार सुरु

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो सम्बन्धी उपचारमा बिहीबारदेखि आधुनिक उपकरण ‘फाइब्रोस्क्यान’ प्रयोग गर्न थालिएको छ । उक्त उपकरण प्रयोग गर्न थालेपछि पूर्वका कलेजो रोगीलाई उपचारमा सहज हुने भएको छ ।  

बीपी प्रतिष्ठानमा ‘फाइब्रोस्क्यान’बाट कलेजोको उपचार सुरु

स्वीटजरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले फाइब्रोस्क्यान मेसिन उपलब्ध गराएकाले प्रतिष्ठानमा कलेजो सम्बन्धि रोगको उपचार आधुनिक प्रविधि प्रयोग गर्न थालिएको हो । उक्त उपकरणको अभावमा यसअघि चिकित्सकहरुले अल्ट्रासाउण्ड र वायोप्सी गरेपछि मात्र कलेजोको अनुमानित अवस्थाका आधारमा उपचार गर्दै आएका थिए ।


आधुनिक उपकरण उपलव्ध भएपछि बायोप्सी नगरी नै सबै प्रकारका हेपाटाइटिस र अल्कोहोलिक बिरामीहरुको कलेजोमा भएको संक्रमणबारे सहजै परीक्षण हुने भएको प्रतिष्ठानको ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी डिभिजनका प्रमुख डा. विक्रम प्रधानले बताए ।


उनले भने, ‘मानव शरिरमा कलेजो अति नै कोमल अंग भए पनि धेरै कामहरु गर्छ । तर हेपाटाइटिस बी र सी भएका र मादक पदार्थ बढी सेवनले कलेजो खराब भएर आउनेहरुको संख्या अत्यधिक बढ्न थालेको छ,’ उनले भने, ‘कलेजोमा समस्या आएपनि बिस्तारै कडा बन्दै जान्छ । सही तथ्य देखाउने उपकरण नहुँदा परम्परागत उपचार विधिले ‘फ्याटी लिभर’ छ भन्ने मात्र थाहा हुन्थ्यो । अब फाइव्रोसिस उपकरणले कति कडा भएको छ भनेर भन्न सकिन्छ । सोही अनुसार उपचार गर्न सकिने भएको छ ।’ अब कलेजो कुन अवस्थामा छ भन्ने थाहा पाउन सकिने भएकाले उपचार प्रभावकारी हुने उनले बताए ।


जेनेभावाट प्रतिष्ठान आएका डा. लउरेन्ट स्फरले नेपालको महत्वपूर्ण स्वास्थ्य शैक्षिक संस्थासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउंदै नेपालका बिरामीलाई धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले कलेजोको उपचारमा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘प्रतिष्ठानमा फाइब्रोसिस उपलव्ध भएकाले पुर्वका कलेजोका विरामीहरु अव अन्त जानु नपर्ने भएको छ ।’ उक्त उपकरणको भारतमा १ लाख ४५ हजार यूरो मुल्य रहेको बताइएको छ ।

प्रकाशित : मंसिर २०, २०७५ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?