कर्मचारी कटौतीले खोप प्रभावित

खोप भण्डारण तथा वितरण प्रदेश स्वास्थ्य निर्देशनालयको खरिद तथा आपूर्ति शाखाबाट हुने भनिए पनि पर्याप्त कर्मचारी नहुँदा समस्या
फातिमा बानु

काठमाडौँ — संघीय संरचना अनुसार कर्मचारी दरबन्दी नमिल्दा खोप व्यवस्थापन प्रभावित भएको छ । संरचनामा खोप अधिकृत, इन्जिनियर, प्राविधक र ढुवानी गर्ने कर्मचारीको दरबन्दी कटौती भएपछि केन्द्रदेखि स्थानीय तहमा खोप कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

केन्द्रमा पनि खोप वितरण तथा भण्डारण शाखा खारेज भएपछि कर्मचारी जिम्मेवारीविहीन भए र खोप व्यवस्थापन हुन सकेन । व्यवस्थापनका पुराना कर्मचारी नयाँ संरचानाको दरबन्दीमा नअटेपछि उनीहरू जिम्मेवारीविहीन (फाजिल) छन् ।

योग्यता अनुभव र योगदान हुँदाहुँदै पनि जिम्मेवारीविहीन बस्नुपर्दा नयाँ स्वास्थ्य संरचनाप्रति उनीहरूको गुनासो छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक मोहम्मद दाउद भन्छन्, ‘फाजिल भएका कर्मचारीलाई मन्त्रालयले काम सक्छ, नयाँ व्यवस्था नभएसम्म तिनै कर्मचारीको सदुपयोग गर्दा व्यवस्थापन सहज हुन्छ ।’

पुरानो संरचनाअनुसार पाँचै विकास क्षेत्रमा खोप र औषधि व्यवस्थापनका लागि मेडिकल स्टोर थियो । विराटनगर हेटौंडा, बुटवल, नेपालगन्ज र पोखरामा भएका स्टोरबाट नजिकका जिल्लामा खोप वितरण गरिन्थ्यो । त्यहाँ ६० कर्मचारीको दरबन्दी थियो । नयाँ संरचानमा यस्ता स्टोर खारेज भएपछि कर्मचारी दरबन्दी खुम्चिएको छ ।

संरचनाअनुसार अब खोप भण्डारण र वितरण प्रदेश स्वास्थ्य निर्देशनालयको खरिद तथा आपूर्ति शाखाबाट हुने भनिएको छ । कर्मचारी पर्याप्त नहुँदा शाखाले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । नयाँ संरचनाअनुसार ३७ वटा स्वास्थ्य कार्यालयबाट पनि खोप भण्डारण र वितरण भइरहेको छ ।

तीन जिल्लाका खोप एक ठाउँबाट वितरण हुनेगरी यसको व्यवस्थापन मिलाइए पनि व्यवस्थापन जटिल भएको कार्यरत कर्मचारीको अनुभव छ । प्रस्तावित संरचनामा सातै प्रदेशमा मेडिकल स्टोर हुनुपर्ने भनिएको छ । फेरिएको संरचनाबाट खोप व्यवस्थापनमा कठिनाइ भइरहेको विभागका खोप अधिकृत भरत भण्डारी बताउँछन् ।

उनी भन्छन्, ‘स्थानीय तहका नयाँ कर्मचारीलाई खोप भण्डारण वितरणको ज्ञान हुँदैन, उनीहरूलाई तालिम दिने सिकाउने गर्न लामो समय लाग्छ, खोपका व्यवस्थापनमा नयाँ र पुराना कर्मचारी मिसिने खालको संरचना चाहिन्छ ।’

स्थानीय तहमा जटिल बनिरहेको खोप व्यवस्थापन केन्द्रमा पनि सहज छैन । सीमित जनशक्तिको चलेको स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाले खोप व्यवस्थापन गर्न सकेको छैन । देशभर खपत हुने खोप सबै विदेशबाट आयात हुन्छन् । आयातित खोप विमानस्थलमा बुझ्न जानुपर्ने, खोप आगमन रिपोर्ट बनाउनुपर्ने कामका लागि विशेष जनशक्ति नहुँदा व्यवस्थापन कठिन भएको कर्मचारी सुनाउँछन् ।

सामान बोक्ने, यताउता सार्ने सहायक कर्मचारी (लोडर)को दरबन्दी छैन । युनिसेफको सहयोगमा खटिएका एक जना लोडर राखिएको छ । उनले महिनौंदेखि सेवासुविधा पाएका छैनन् । युनिसेफसँगको सहकार्य अवधि सकिएपछि ती कर्मचारीलाई तलब र सेवा सुविधा दिन नसकिएको आपूर्ति शाखाकी औषधि व्यवस्थापक सचिता जोशीले बताइन् ।

खोप व्यवस्थापनका लागि भएका १० कर्मचारी खुम्चिएर ४ जनामा सीमित भएको छ । विभागको व्यवस्थापन महाशाखाका एक कर्मचारी भन्छन्, ‘हाम्रो शाखामा खोप ढुवानी गर्न रेफ्रिजेरेटर भ्यान छ, गाडी छैन र ड्राइभरको पनि दरबन्दी छैन ।’ कर्मचारीका अनुसार जिल्लामा बिग्रिएका उपकरण मर्मत गर्नका लागि जनशक्ति र सामानसहित जानका लागि यातायातको सुविधा आवश्यक पर्छ ।

जिल्लामा खोप भण्डारणमा जटिल प्राविधिक समस्या हुँदा मर्मतसम्भारका लागि केन्द्रबाट इन्जिनियर जानुपर्ने हुन्छ । तत्कालै प्राविधक पुग्न नसके खोप बिग्रिन्छ । खोप संवेदनशील औाषधि भएकाले ढुवानी गर्दा आइपर्ने समस्या समाधान गर्न खोपबारे जानेबुझेको, तालिमप्राप्त ड्राइभर हुनुपर्ने कर्मचारी बताउँछन् ।

खोप व्यवस्थापनका लागि सुरक्षित भौतिक संरचना र पर्याप्त जनशक्ति हुनुपर्ने कर्मचारीको माग छ । खोप संवेदनशील भएकाले यसको व्यवस्थापनको जिम्मेवारी केन्द्रबाट नै हुनुपर्ने कर्मचारी बताउँछन् । एक कर्मचारी भन्छन्, ‘एयरपोर्टबाट खोप ढुवानी गर्दा निश्चित तापक्रम मिलाएर ल्याउनुपर्छ, सबै जिल्लामा अन्तर्राष्ट्रिय एयरपोर्ट छैन, स्थानीय तहबाट खोप व्यवस्थापनहुन सक्दैन ।’

खोप अधिकृत ओमप्रसाद उपाध्याय भन्छन्, ‘सुरक्षित भौतिक संरचना नहुँदा खोपको गुणस्तर खस्किन सक्छ, ४० वर्ष अघिको दरबन्दीले अहिलेसम्म खोप व्यवस्थापन धानेको थियो, दरबन्दी खुम्चिएपछि सेवा प्रभावित बनेको छ ।’ उनका अनुसार विमानस्थलमा खोपको आपूर्ति सहज र छिटोछरितो नहुँदा समस्या थपिएको छ । आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापा भन्छन्, ‘खोप भण्डारण सजिलो हुन सकेको छैन, संरचाना साँघुरो छ ।’

विभाग अन्तर्गतको खोप भण्डारण आधुनिक र मापदण्डअनुसारको बन्न सकेको छैन । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप भण्डारण हुन सकेको छैन । खोप आगमन प्रक्रिया, भण्डारण र ढुवानी तापक्रम नमिल्दा मापदण्ड पूरा नभएको विभागका कर्मचारी बताउँछन् ।

खोप खरिद सम्झौतामा ढिलाइ हुँदा अहिले जापानिजइन्सेफलाइटिसविरुद्धको खोप अभाव भइरहेको छ । महाशाखा निर्देशक दाउदले भने खोप व्यवस्थापनमा कुनै कठिनाइ नआएको दाबी गरेका छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:५१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बनेन कुमारी सिंहासन

कान्तिपुर संवाददाता

ललितपुर — नेवार संस्कार अनुसार कुमारीलाई तलेजु भवानी देवीको प्रतीकका रूपमा लिइन्छ । अहिले पाटनमा ५ वर्षीया निहिरा बज्राचार्य कुमारीमा रूपमा छिन् ।

ललितपुर पाटनकी कुमारी निहिरा बज्राचार्य टीका लगाइदिँदै । 

कुमारीका रूपमा रहेसम्म तोकिएको पूजापर्वबाहेक अन्य बेला घरबाहिर घुमफिर गर्न मिल्दैन । रातोबाहेक अन्य रङको लुगा लगाउन मिल्दैन ।

दैनिक सिंहासनमा राखेर पूजा गर्नुपर्ने परम्परा छ । कुमारीलाई देवी शक्ति प्राप्त हुने विश्वासले पूजा गर्न आउनेको भीड हुने गर्छ । यसले गर्दा धेरै समयसम्म सिंहासनमा बस्नुपर्छ । तर, पाटनमा कुमारीको सिंहासन भने बिग्रेको छ ।

कुमारीका बुवा निरोज भन्छन्, ‘पुरानो बिग्रेको सिंहासनमा काठको चुकुल समेत छैन । पानी पनि चुहिन्छ । यसले दैनिक नृत्य र बेलुका आरती पूजा गर्न मात्र नभई भक्तजनलाई समेत पूजा गर्न समस्या छ ।’

कुमारी निहिराअघि २०७० देखि २०७४ माघ २१ सम्म पाटनकै युनिका बज्राचार्य कुमारीका रूपमा थिइन् । निहिरा नियुक्त भएदेखि उनी बिग्रेको सिंहासन र छत्र बनाउन लागिपरेका थिए । निरोज भन्छन्, ‘छत्र बनाउन ४ लाख रुपैयाँ खर्च भयो । गुठी संस्थान ललितपुर शाखा कार्यालयबाट ७५ हजार, अक्षयस्वर महाविहारबाट केही रकम सहयोग प्राप्त भयो । बाँकी सिङ, गजुर र मूर्ति आफ्नै खर्चमा राखे ।’

उनका अनुसार सिंहासन मर्मत गर्न ललितपुर महानगरमा डेढ लाखको बजेट पेस गरेको छु । ‘१६ नम्बर वडा कार्यालयबाट केही सहयोग प्राप्त भयो,’ उनले भने । ललितपुरमा कुमारीको पालपोषण गर्न चिताइदारको व्यवस्था छैन ।

स्याहारसुसार, कुमारी घरमै पढाउन र उपचार गर्न अपुग रकम व्यवस्था अभिभावक आफैंले गर्नुपर्छ । पूर्वकुमारी युनिकाको पालादेखि कुमारीलाई रत्नाकर महाविहारस्थित कुमारी घरमा राख्ने व्यवस्था मिलाइएको थियो । युनिकाअघिका कुमारीहरू आ–आफ्नै घरमा राख्ने गर्दथे । कुमारीका लागि सधै चोखो गर्नुपर्ने र संयुक्त परिवारमा गाह्रो पर्ने गरेकाले महाविहारमा व्यवस्थापन गरिएको थियो ।

‘कुमारीका लागि भेटघाट, पूजा र सुत्ने गरी कम्तीमा तीनवटा कोठा आवश्यक पर्छ,’ निरोजले भने,
‘कुमारी घरलाई थप व्यवस्थित गर्दै लैजानुपर्छ ।’ विश्वमै अनौठो मानिने यो परम्परा नेपाली समाजमा हिन्दु र बौद्ध सम्प्रदायका बीचमा विद्यमान धार्मिक सहिष्णुताको उच्चतम नमुना हो ।

तर, कुमारीलाई स्याहारसुसार गर्दैमा घरका अभिभावकले अन्य काम गर्न भ्याउँदैनन् । पहिला कुमारी बन्न प्रतिस्पर्धा हुन्थ्यो । अहिले अभिभावक आफ्ना छोरीलाई कुमारी बनाउन नरुचाउने गरेको तलेजुका पुजारी निरण राजोपाध्याय बताउँछन् ।

तलेजुका पुजारीले कुमारीको छनोट ह:ख बहालस्थित रत्नाकर महाविहारमा आबद्ध बज्राचार्य कुलका पुत्रीहरूमध्येबाट ३२ लक्षणयुक्त कन्यालाई गर्ने परम्परा छ । कुमारी प्रथाको विरुद्धमा २०६६ मा पुनदेवी महर्जनले बालबालिका र महिलासम्बन्धी अधिकार हनन भएको विषय उठाई सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । महर्जनको विरुद्धमा कुमारी परम्परामा केही सुधार गर्नुपर्ने भए पनि परम्परा नै अन्त्य गर्न नहुने भन्दै प्राध्यापक चुन्दा बज्राचार्यले अर्को रिट दायर गरेका थिए ।

सर्वोच्चले कुमारी संस्कृतिको अन्त्य गर्ने नभई समयानुकूल सुधार गर्दै लैजान वाञ्छनीय देखिएको भनी संस्कृति मन्त्रालयको नाममा आदेश जारी गरेको थियो । त्यतिबेला सर्वोच्चले कुमारीको विद्यमान अवस्थाको पुनरावलोकन गरी हकहित, आर्थिक र सामाजिक सुरक्षा अभिवृद्धि गर्न निर्देशन दिएको थियो ।

पुजारी राजोपाध्यायले यसलाई कार्यान्वय गर्न तलेजु, रत्नाकर महाविहार, पूर्वकुमारी र सम्बन्धित सरकारी निकाय मिलेर संस्थागत रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘यसतर्फ कसैको ध्यान गएको छैन,’ उनले भने, ‘नत्र बकनिम्ह टोलको कुमारी र मिँखा बहालको सोनिम कुमारी जस्तै लोप हुन बेर छैन ।’ शिवकी शक्ति पार्वतीका अनेकौं नामहरूमध्ये कुमारी पनि एक हो । तैतरीय आरण्यकमा उनलाई कन्याकुमारी भनेर भनिएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT