रक्त क्यान्सरका एकै बिरामीलाई २१ लाखको औषधि

कान्तिपुर संवाददाता

चितवन — क्यान्सर रोगको नाम सुन्दै धेरै तर्सन्छन् । कुनै–कुनै रोगको उपचार जटिल र महँगो छ । त्यसैमध्ये पर्छ, रक्त क्यान्सरअन्तर्गत सीएमएल । भरतपुरका विष्णुप्रसाद पौडेललाई यस्तो क्यान्सर भएको २० वर्ष भयो । अहिलेसम्म उनी स्वस्थ छन् । सधैं हँसिला देखिने चितवन डिभिजन वन कार्यालय प्रमुख पौडेल भन्छन्, ‘अझै २० वर्ष त पक्कै बाँच्छु ।’

रक्त क्यान्सरका एकै बिरामीलाई २१ लाखको औषधि

रोग पत्ता लागेपछि पौडेलको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भयो । तर मिल्ने बोनम्यारो भेटिएन । त्यसपछि उनले औषधि खान थाले । पौडेलले सन् २००२ यता नियमित औषधि सेवन गर्दै आएको बताए । त्यो औषधि सामान्य खालको होइन । महिनामा २ लाख रुपैयाँभन्दा बढीको खानुपर्छ । पैसा तिर्नुपरेको भए सम्भव थिएन । उनले नि:शुल्क पाएको सुनाए ।


उनीमात्र होइन, नेपालमा सीएमएल भएर नि:शुल्क औषधि सेवन गर्नेको संख्या हजार नाघिसकेको छ । अमेरिकाको म्याक्स फाउन्डेसनले यो औषधि नि:शुल्क उपलब्ध गराउँछ । सन् १९७३ मा जन्मेर १९९१ मा मृत्यु भएका म्याक्स भन्ने किशोरको सम्झानामा उनका परिवारले यो संस्था खोलेका हुन् । म्याक्सको सीएमएलका कारण मृत्यु भएको थियो । त्यो बेला सीएमएलका लागि आवश्यक औषधिमाथि अनुसन्धान हुँदै थियो ।


‘म्याक्स बितेकै वर्ष गिल्भिक नामको औषधिमाथि अनुसन्धान भयो । त्यो औषधि जब तयार भयो उनका परिवारले औषधि अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर एउटा अठोट गरे । औषधि किन्न नसक्ने, स्वास्थ्य बिमा नभएका देशमा सहयोग गर्ने योजना बनाए,’ फाउन्डेसनको दक्षिण एसिया संयोजक बिजी बैंकटेशले जानकारी दिइन् । नेपालमा सन् २००२ मा यो औषधि आयो । पौडेल पहिलो प्रयोगकर्ता हुन् ।


सन् २००४ मा भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यो औषधि आयो । अस्पतालले सोमबार गिल्भिक खाँदै आएकाको भेला गराएको थियो । सोही भेलामा पौडेलले आफ्नो अनुभव सुनाए । फाउन्डेसनका प्रतिनिधिले औषधि किन आयो, कसरी खान पाउने जस्ता विषय जानकारी गराए ।


क्यान्सर अस्पताल प्रशासनबाट प्राप्त जानकारीअनुसार त्यसयता अहिलेसम्म १ हजार २२ जनाले प्रयोग गर्दै आएका छन् । ‘जसमध्ये ६ सय ३० जना अहिलेसम्म नियमित छन्,’ मेडिकल अंकोलोजी विभाग प्रमुख डा. जया श्रेष्ठले भने । उनका अनुसार सन् २०१८ अर्थात् १ वर्षमा १ अर्ब ३६ करोड ४७ लाख ५० हजार ५ सय ९८ रुपैयाँ बराबरको गिल्भिक आएको छ ।


अर्थात् पैसा तिर्नुपरेको भए एक बिरामीको भागमा वर्षमै २१ लाख ६६ हजार २७० रुपैयाँ खर्च गर्नुपथ्र्यो । क्यान्सरका बिरामीलाई दिइने नियमित केमो थेरापीजस्तै हो यो । अरू केमो थेरापी नसाबाट दिइन्छ भने यो सीधै मुखबाट दिइन्छ । ‘इन्जेक्सनबाट दिइने औषधिको चरण सकिएपछि गिल्भिक खान सुरु हुन्छ,’ अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले भने ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?