१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

मस्तिष्क मृत्युपछि अंगदान

मस्तिष्कको मृत्यु भएका कोही व्यक्तिले अंगदान गरे धेरै जनाले पाउन सक्छन् पुनर्जीवन
मृत्युपछिका लागि अंगदान गरेका सांसद गगन थापा भन्छन्– कुनै अनपेक्षित घटनाबाट जीवन गुमाउने अवस्था आएका बेला मलाई काम नलाग्ने अंगहरूबाट कसैले पुनर्जीवन प्राप्त गर्न सक्छ भने मेरा लागि त्योभन्दा खुसीको कुरा अरू के हुन सक्छ र ?
अतुल मिश्र

काठमाडौँ — मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिले अंगदान गरेका कारण हाम्रो मुलुकमा हालै दुई जना व्यक्तिले जीवन पाएका छन् । ती दुवैले मिर्गौला प्रत्यारोपण गराएर जीवनको ‘सेकेन्ड इनिङ’ सुरु गर्न पाएका हुन् । मस्तिष्क मृत्यु भएका तीन व्यक्तिबाट, तिनले अंगदान गरेकै कारण, अहिलेसम्म मुलुकमा छ जनाले मिर्गौला प्रत्यारोपण गराएका छन् ।

मस्तिष्क मृत्युपछि अंगदान

हाम्रो मुलुकमा २०७४ वैशाख ३० गते पहिलो पटक उपर्युक्त अभ्यास सुरु भएको हो । दुर्घटनामा परेर मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट प्राप्त दुइटा मिर्गौलालाई दुई व्यक्तिमै प्रत्यारोपण गरिएपछि हामीकहाँ यो प्रक्रिया थालिए पनि यसले गति लिन भने अझै

सकेको छैन ।


नेपालमा जति व्यक्तिको मस्तिष्क मृत्यु हुन्छ, तिनले पहिले अंगदानको प्रतिबद्धता गर्ने भए पीडितले विभिन्न अंग प्रत्यारोपणका लागि जीवित दाताबाट खासै अंग लिनु नपर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । ‘यस्तो हुन सके हाम्रो मुलुक अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्ने थियो,’ उनी भन्छन्, ‘हालसम्म स्वैच्छिक अंगदानका लागि करिब २५ सय जनाले फर्म भरेर स्वीकृति दिएका छन् ।’


तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्र बर्सेनि एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको छ । यो हेर्दा हाम्रो मुलुकका लागि धेरैजसो आवश्यक अंग र तन्तुहरूको सहज आपूर्तिमा समस्या नहुनुपर्ने हो । मस्तिष्क मृत्युको पुष्टि सरकारले निर्धारित गरेको एउटा विशेष प्रक्रियाअन्तर्गत विशेषज्ञहरूद्वारा ६ घण्टाको अन्तरमा दुई पटक गरिएको परीक्षणद्वारा हुन्छ । प्रत्यारोपण केन्द्रले अंगदान गरेका मस्तिष्क मृत्यु भएकाको परिवारलाई उपचार/काजकिरिया खर्चका लागि एक लाख रुपैयाँ दिने गरेको छ । अस्पताललाई समेत ५० हजार रुपैयाँ दिन्छ ।


‘बेलायतमा काम गर्दाताका हामीलाई मस्तिष्क मृत्यु भएका बिरामीलाई अंगदान गर्न सकिनेबारे भन्नै पर्दैनथ्यो,’ डा. श्रेष्ठ भन्छन्, ‘उनीहरूमध्ये धेरैजसो स्वाभाविक रूपले अंगदान गर्न आफंै अघि सर्थे । दक्षिण कोरियामा अंगदानबारे पहिले हामीजस्तै नमान्ने स्थिति थियो तर जनचेतना वृद्घि भएपछि आजकल परिवारहरू आफैं अगाडि आउने गरेका छन् ।’


हाम्रो मुलुकमा चेतनाको कमीले गर्दा मस्तिष्क मृत्यु भएकाहरूको अंगदान हुन गाह्रो भइरहेको आैंल्याउँदै अन्नपूर्ण न्युरोलजिकल इन्स्टिच्युट एन्ड अलाइड साइन्सका अध्यक्ष एवं वरिष्ठ स्नायु शल्य चिकित्सक डा. वसन्त पन्त भन्छन्, ‘हाम्रो मुलुकमा पनि चिकित्सकले मस्तिष्क मृत्यु भएकाका आफन्तलाई कानुनी रूपले तपाईंहरू बिरामीको अंगदान गर्न चाहनुहुन्छ कि भनेर सोध्न पाउने व्यवस्था हुनुुपर्छ ।’


नेपालमा धार्मिक रूपले अंगदान जटिल स्थितिमा रहेको जनाउँदै उनी थप्छन्, ‘हामीले चिकित्सकीय प्रक्रियाअन्तर्गत बिरामीबाट झिकेको हाड उनीहरूको मृत्यु भएपछि त्यो हाडसँगै जलाउनुपर्छ भनेर माग्न आउनेसम्म गरेका छन् ।’


हामीले के बुझ्नु जरुरी छ भने मस्तिष्क मृत्यु भएकाबाट अंग वा तन्तु निकाल्नाले पारम्परिक दाहसंस्कार वा समाधिस्थ गर्ने प्रक्रियामा कुनै बाधा पर्दैन । शरीरको बनावटमा समेत कुनै परिवर्तन आउँदैन । ‘अत्यन्त कुशल शल्यचिकित्सकको टोलीले अंग वा तन्तु निकाल्छ, जसलाई अन्य बिरामीमा प्रत्यारोपण गर्न सकियोस्,’ डा. श्रेष्ठ भन्छन्, ‘शल्यचिकित्सकले शरीरलाई सावधानीपूर्वक सिउँछन्, जसले मृतकको शरीरमा कुनै विकृति देखिन पाउँदैन । अनि अन्तिम संस्कारका लागि सजिलै लैजान सकिन्छ ।’ मस्तिष्क मृत्यु भएकाबाट कसले, कसरी, कति छिटो अंग पाउने भन्नेबारे सरकारले पारदर्शी र स्पष्ट व्यवस्था गरेको आंैल्याउँदै उनी थप्छन्, ‘लैंगिक विभेद अन्त्य गर्न भनेर यस्ता अंग महिलाले बढी पाउने व्यवस्थासमेत गरिएको छ ।’


हाल मुलुकमा मिर्गौला, कलेजो, आँखाको नानी, छाला आदिको प्रत्यारोपण हुने गरेको छ । प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएकाबाट पाइने अंगको प्रत्यारेपण गराउन मिर्गौला फेल भएका ४ सय व्यक्तिले आफ्नो नाम दर्ता गराएका छन् । कलेजो प्रत्यारोपणका लागि २५ जनाले नाम लेखाएका छन् । डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएकाबाट पाइने अंगको प्रत्यारोपणका लागि समयमै नाम दर्ता गराउनुपर्छ ।


मस्तिष्क मृत्यु भएपछिको अंगदानका लागि उमेर बाधक हुन्न । बालबालिकादेखि बूढापाकासम्मले अंगदान गर्न सक्छन् । ‘मस्तिष्क मृत्युपछि साना बच्चाबाट दानमा लिइएका दुवै मिर्गौला ठूलो व्यक्तिलाई प्रत्यारोपण गर्दा हुन्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘एउटा पाको व्यक्तिलाई बच्चाहरूका दुइटै मिर्गौला प्रत्यारोपण गरेको अनुभव हामीले बेलायतमा लिइसकेका छौँ । हामीकहाँ पनि यस्तो गर्न सकिन्छ । बूढापाकाबाट दानमा लिइएको मिर्गौलाले पूर्ण क्षमतामा काम नगरे एक जनालाई दुइटा मिर्गौला प्रत्यारोपण गर्न पनि सकिन्छ ।’


मस्तिष्क मृत्यु भएकाहरूको अंगदानबारे आईसीयूका चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूको विशेष भूमिका रहने औंल्याउँदै डा. श्रेष्ठ अंगदान अभियानलाई बुद्घिजीवीदेखि सामान्य व्यक्तिसम्म गरेर जनस्तरमा फैलाउनुपर्ने औँल्याउँछन् ।


के हो मस्तिष्क मृत्यु ?

मानव शरीरलाई नियन्त्रण गर्ने सबैभन्दा महत्त्वपूर्ण अंग हो– मस्तिष्क (ब्रेन) । मस्तिष्कमा कुनै कारणले रगतको आपूर्ति नभएर अक्सिजन पुग्न सकेन भने यो मर्छ । मस्तिष्क मरेपछि व्यक्तिविशेषलाई समेत मृत मानिन्छ । मस्तिष्क मृत्युलाई सम्पूर्ण विश्वले स्वीकार गरेको छ । मस्तिष्क मृत्यु स्थायी हुन्छ, कुनै पनि उपचारबाट बिरामीलाई पहिलेको सामान्य अवस्थामा फर्काउन सकिन्न ।

‘ब्रेन स्टेम मृत्यु भनेको बदल्न नसकिने क्षतिका लागि ब्रेन स्टेमको काम सकिएको हो,’ डा. पन्त भन्छन्, ‘यस्तो भएपछि व्यक्तिको मृत्यु हुन्छ नै । ब्रेन स्टेम मरेको व्यक्तिले आफैं सास फेर्न सक्दैन । ब्रेन स्टेमको मृत्युपछि निश्चित समयसम्म मुटु धडकिइरहन्छ तर यसको अर्थ सम्बन्धित व्यक्ति जीवितै छ वा पुनर्जीवित हुने कुनै सम्भावना छ भन्ने होइन । मस्तिष्क मृत्यु भएकाहरूको टाउको खोलेर हेर्दा त्यहाँ पानी मात्र हुन्छ ।’


मृत्युको कारण पत्ता लगाउन आफूलगायत केही चिकित्सकले जापानमा गरेको अटोप्सीलाई सम्भँmदै डा. पन्त भन्छन्, ‘ब्रेन डेथ भएकाहरूमा मस्तिष्कका कोष, तन्तु आदि सबै अवयवको तरलीकरण भइसकेको हुन्छ ।’ नेपाललगायत विश्वका अन्य भागका प्रख्यात व्यक्तिको मस्तिष्क मृत्यु हुँदा विवादसमेत उब्जिने गरेको सुनाउँदै उनी थप्छन्, ‘हाम्रै पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पनि मस्तिष्क मृत्यु भएको थियो तर १३–१४ दिन अलमल भयो । तत्कालीन युवराज दीपेन्द्रको समेत ब्रेन डेथ भएको थियो । प्यालेस्टिनी नेता यासिर आराफातको समेत ब्रेन डेथ नै थियो ।’


हाल मुलुकमा समेत ब्रेन डेथको घटना बढदो छ । यहाँ ब्रेन डेथको पहिलो कारक स्ट्रोक र दोस्रो कारक दुर्घटनाले गर्दा हुने ‘हेड इन्ज्युरी’ (टाउकामा चोट) हुने गरेको छ । पहिलेपहिले कसैको मृत्यु हुन लाग्दा तिनलाई तुलसी मठ नजिक वा घाटतिर लाने चलन थियो । अचेल जस्तै बिरामी पनि अस्पताल पुर्‍याइएकै हुन्छन् । तिनलाई भेन्टिलेसनमा राखिन्छ, त्यो भनेको एक प्रकारले ब्रेन डेथ नै हो ।


नेपाल राजपत्रमा प्रकाशित ‘मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक’ अनुसार, कानुनअनुसार मस्तिष्क मृत्यु (ब्रेन डेथ) भन्नाले मस्तिष्क स्टेम (ब्रेन स्टेम) को मृत्युलाई सम्झनुपर्छ र सो शब्दले मस्तिष्कको ग्रहण गर्ने (रिसेप्टिभ) र प्रतिक्रिया दिने (रेस्पोन्सिभ) क्रियाकलापमा अप्रत्यावर्तनीय क्षति भएको अवस्थालाई समेत जनाउँछ ।


स्पष्टीकरण– ‘मस्तिष्क स्टेम (ब्रेन स्टेम)’ भन्नाले सेरेब्रम र स्पाइनल कर्डलाई जोड्ने बीचको मिड ब्रेन, पन्स र मेडुला अब्लङगेटा सम्झनुपर्छ ।


‘अप्रत्यावर्तनीय क्षति (इरिभर्सेबल डयामेज)’ भन्नाले मस्तिष्कको क्रियाकलाप पुन: काममा आउन नसक्ने गरी पूर्ण रूपमा क्षति भएको अवस्था सम्झनुपर्छ । मस्तिष्क मृत्यु र सामान्य मृत्यु सामान्य मृत्युमा शरीरका सबै अंगले काम गर्न बन्द गर्छन् । धेरैजसो मामिलामा सबैभन्दा पहिले हाम्रो मुटुले काम गर्न बन्द गर्छ । मुटु बन्द हुँदा मस्तिष्कसँगै शरीरका अन्य भागमा रगतको बहाव रोकिन्छ । यस्तो अवस्थालाई ‘कार्डियाक डेथ’ समेत भनिन्छ ।


घरमा सामान्य मृत्यु भएको अवस्थामा सम्बन्धित व्यक्तिका आँखा मात्र दान गर्न सकिन्छ । आँखामा रगतको नली नहुने भएकाले मृत्युको सुरुवाती केही घण्टामा तिनमा कुनै असर पर्न पाएको हुन्न ।


मानव मस्तिष्कले चोट लागेर काम गर्न छोड्दा मस्तिष्क मृत्यु हुन्छ । मस्तिष्क मृत्यु मुख्य रूपले दुर्घटनामा टाउकामा लाग्ने चोट, ब्रेन टयुमर, स्ट्रोकलगायतले गर्दा हुन्छ । यस्तो अवस्थामा बिरामीको मस्तिष्कको मृत्यु भए पनि शरीरका बाँकी केही अंगले काम गरिरहेका हुन्छन् तर यस्तो अवस्थाबाट सम्बन्धित व्यक्ति पुनर्जीवित हुँदैन ।


कोमा र ब्रेन डेथ

कोमा र ब्रेन डेथमा धेरै फरक हुन्छ । कोमामा गएकाहरू पुन: सामान्य अवस्थामा फर्कने सम्भावना हुन्छ । यो मृत्यु हैन, तर ब्रेन डेथमा जीवनको सम्भावना पूरै समाप्त हुन्छ । ब्रेन डेथमा पुगेका व्यक्तिले पुनर्जीवन पाउनै सक्दैनन् ।


के हो अंगदान ?

कुनै व्यक्तिको स्वस्थ अंग र तन्तुलाई आवश्यक परेका कुनै व्यक्तिका लागि काम लाग्न सक्ने स्वीकृति दिनु अंगदान हो । अंगदानबाट कुनै व्यक्तिको जीवनलाई जोगाउन सकिन्छ । सामान्यतया एक व्यक्तिको अंगदानले बढीमा ५० जना आवश्यक व्यक्तिलाई सहयोग पुग्ने डा. श्रेष्ठ बताउँछन् । अंगदान मृत्युपछि र कहिलेकाहीं जीवित अवस्थामै समेत हुन्छ ।


दुई प्रकारको अंगदान

जीवित दाताद्वारा अंगदान : आफ्नै जीवनमा आफ्नो एउटा मिर्गौला, कलेजोको केही खण्ड, प्यांक्रियाजको केही खण्ड, फोक्सोको केही भाग, आन्द्राको केही खण्ड, छाला आदि दान गर्न सकिन्छ ।


मृतक दाताद्वारा अंगदान : मस्तिष्क मृत्यु भएका दाताले मुटु, फोक्सो, प्यांक्रियाज, मिर्गौला, आन्द्रा, रक्तवाहिनी, तन्तु, कोर्निया, हाड, छाला, नसा, अस्थी बन्धन, मुटुको भल्भ, कार्टिलेज (नरम हाड) लगायतका मुख्य अंग र तन्तुहरू दान गर्न सक्छन् ।


के हो अंग र तन्तु ?

अंग शरीरको एउटा खण्ड हो जसले विशिष्ट काम गर्छ । फोक्सो, मुटु, मिर्गौला, कलेजो आदि अंग हुन् । तन्तु एउटा कोशिकाको समूह हो, जसले मानव शरीरमा एउटा विशेष काम गर्छ । हाड, आँखाको कोर्निया, मुटुको भल्भ, रगत नली, छाला, हाड आदि तन्तु हुन् ।


अंगदान ‘ब्रेन डेड’ व्यक्तिले गर्न सक्छन् । तन्तु दानचाहिँ प्राकृतिक रूपले मृत हरेक व्यक्तिले गर्न सक्छन् । सबैभन्दा सामान्य तन्तुदान ‘नेत्रदान’ अर्थात कोर्नियाको दान हो ।


मृत्युको कति समयसम्म अंगले काम गर्छ ?

मस्तिष्क मृत्यु भएका दाताको शरीरबाट जतिसक्दो चाँडो अंगलाई निकालेर समय खेर नफाली प्रत्यारोपण गर्नुपर्छ । अंग झिकेपछि जति छिटो प्रत्यारोपण हुन्छ, त्यति नै त्यो अंगले राम्ररी काम गर्ने सम्भावना बढी हुने डा. श्रेष्ठ बताउँछन् ।


यसैले हरेक अंगलाई प्रत्यारोपण गर्नका लागि समय निर्धारण गरिएको छ । जस्तै : कलेजो १०–१२ घण्टाभित्र, मिर्गौला २४ घण्टाभित्र, फोक्सो ४ देखि ६ घण्टाभित्र, मुटु ४ देखि ६ घण्टाभित्र र प्यांक्रियाज १० देखि १२ घण्टाभित्र ।


अंगदान गर्न चाहनेले...

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सम्पर्क गरेर जोसुकैले मस्तिष्क मृत्युपछि आफ्नो अंगदान गर्ने स्वीकृति दिन सक्छन् । यो मृत्युपश्चात् अंगदान दिन चाहने व्यक्तिले दिने मञ्जुरीनामा हो । यो मञ्जुरीनामा केन्द्रको वेबसाइटमा गएर समेत भर्न सकिन्छ ।


[email protected]

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?