जीवनशैली नसुधार्दा बिग्रन्छ मिर्गौला

अतुल मिश्र

काठमाडौँ — सबैलाई जानकारी छ, उपयुक्त मात्रामा पानी खानुपर्छ, मर्निङ वाक गर्नुपर्छ, चुरोट, खैनी, मदिरा खानु हुन्न, सकेसम्म नियमित स्वास्थ्य जाँच गराउनुपर्छ, स्वस्थकर खानपानसँगै सकारात्मक जीवनशैली अँगाल्नुपर्छ । यस्तो जानकारी हुँदाहुँदै धेरैको दैनिक कार्यशैली भने उल्टो छ । 

जीवनशैली नसुधार्दा बिग्रन्छ मिर्गौला

यही उल्टो गराइले मिर्गौला रोगीको संख्या बढिरहेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका निर्देशक डा. ऋषि काफले भन्छन्, ‘ज्ञान छ तर व्यवहारमा उत्रिएको छैन, यो बढदो मिर्गौला रोगको कारक हो ।’


विभिन्न अध्ययनले नेफालमा करिब ३० लाख व्यक्तिलाई मिर्गौलाको समस्या रहेको देखाएका छन् । अध्ययनअनुसार यसमध्ये ३ लाख जना रगतमा त्रिएटिनिनको मात्रा बढी भए पनि आफूलाई स्वस्थ ठानिरहेकाहरू छन् । यो ३ लाखमा ३० हजारजतिको मिर्गौला नराम्रोसँग बिग्रिएर पुन: कार्यक्षमता फर्काउन नसकिने स्थितिमा छ ।


यसमध्ये बर्सेनि ३ हजार जनाको मिर्गौला फेल भइरहेको छ । डा. काफलेका अनुसार हाल करिब ४ हजार ५ सय जना डायलासिस गराएर बसेका छन् ।


मुलुकमा हाल मधुमेह र उच्च रक्तचापका रोगीमा भइरहेको वृद्घिले समेत मिर्गौला रोगीको संख्या बढ्दो रहेको त्रिवि शिक्षण अस्पताल, नेफ्रोलजी तथा प्रत्यारोपण चिकित्सा विभागका मिर्गौला रोग र प्रत्यारोपण विशेषज्ञ प्रमुख प्रा.डा. दिव्यासिंह शाह बताउँछिन् । उच्च रक्तचापले मुटुलाई मात्रै होइन, मिर्गौलालाई समेत छुन्छ । मिर्गौला रोगले पनि रक्तचाप बढाउँछ । उच्च रक्तचाप र मिर्गौला रोग एकअर्काबाट प्रभावित हुने गरेका छन् । कुनै व्यक्तिलाई कम उमेरमै उच्च रक्तचापको समस्या छ भने मिर्गौला प्रभावित हुने जोखिम बढ्छ ।


‘मधुमेहको समयमै पहिचान र नियन्त्रण भएन भने मिर्गौला र आँखामा समस्या देखापर्छ,’ डा. साह भन्छिन्, ‘मधुमेह ३०(४० वर्षमै देखिनु र वयस्क, युवामा समेत उच्च रक्तचाप देखिनु मिर्गौलाका लागि जोखिम हो ।’

अस्वस्थकर खानपान, मदिरा, खैनी, चुरोटको अत्यधिक उपयोग, सहरीकरण, व्यायाम/शारीरिक सक्रियताको कमी, तनावमा अत्यधिक वृद्घि, अस्वस्थकर जीवनशैलीलगायत कारणले मिर्गौला रोगको जोखिम बढ्दो छ । ‘कति खाने, कहाँ खाने, के खाने ठेगान छैन, भद्रगोल किसिमले खाइरहेका छन्,’ डा. काफ्ले भन्छन्, ‘खाद्यपदार्थ, तरकारी, फलफूल आदिमा विषादी, रासायनिक मल आदिको अत्यधिक उपयोगले मिर्गौलालाई हानि गरिरहेको छ ।’ विशेषज्ञहरूका अनुसार मदिराको अत्यधिक उपयोगले समेत नेपालीको मिर्गौला प्रभावित भइरहेको उनले औंल्याए । ‘समयमै रोग पत्ता लागे औषधि गरेर मिर्गौलालाई थप बिग्रनबाट जोगाउन सकिन्छ,’ डा. शाह भन्छिन् ।

प्रकाशित : चैत्र १, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?