कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

४० वर्षभन्दा कम उमेरका एक चौथाइमा उच्च रक्तचाप

अतुल मिश्र

काठमाडौँ — मुलुकमा काठमाडौँको सहरी क्षेत्रका स्वस्थ मानिने चार दशक नकाटेका जनसङ्ख्याको एक चौथाइ भन्दा बढी उच्च रक्तचापले ग्रस्त छन् । त्यसमध्ये करिब ५० प्रतिशत त उच्च रक्तचापको पूर्व अवस्था(प्रि हाइपरटेन्सन)को सिकार छन् । महिला भन्दा पुरुषमा बढी रक्तचापको समस्या देखिएको छ । 

४० वर्षभन्दा कम उमेरका एक चौथाइमा उच्च रक्तचाप

उच्च रक्तचाप र उच्च रक्तचाप हुनै लागेको अवस्थालाई जोड्ने हो भने शहरिया समाजको स्वस्थ युवा मानिने करिब ७५ प्रतिशत जनसङ्ख्या रक्तचापको समस्याले गाँजिएका छन् । यो ५ हजार ५ सय ३० जना स्वस्थ मानिएका काठमाडौँका सहरी वयस्क जनसंख्यामा गरिएको अध्ययनको निचोड हो ।


अध्ययनले स्वस्थ सहरियामा मुटु र रक्तनलीको रोग सम्बन्धी जोखिम कारक अत्यधिक देखिएको औँल्याएको छ भने भविष्यमा रोग लागेको जनसंख्यामा अध्ययन गरिए झन् धेरै मुटु र रक्तनली सम्बन्धी समस्या देखा पर्ने समेत जनाएको छ ।

मुटु रोग विशेषज्ञ डा.ओम मुर्ति अनिल प्रमुख अनुसन्धानकर्ता रहेको यो अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को जर्नलमा प्रकाशित छ । सन २०१४ मा काठमाडौको स्वस्थ मानिने बहुसंख्यक ४० नकटेकाहरूमा गरिएको यो अध्ययनको विश्लेषण सहितको अनुसन्धान पत्र सन २०१९ मा एनएचआरसीको जर्नलमा प्रकाशित भएको हो ।


‘काठमाडौको स्वस्थ सहर वयस्क जनसंख्यामा मुटु रोगको जोखिमको कारक’ सम्बन्धी डा.ओममुर्तिको यही अनुसन्धान पत्रलाई ‘जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल वेस्ट पेपर अवार्ड’, द्वारा स्वास्थ्य र जनसङ्ख्या वैज्ञानिकहरूको पाँचौँ शिखर सम्मेलनमा शुक्रवार सम्मानित समेत गरिएको छ । सहभागी मध्ये ३२ सय ९८ जना अर्थात् ५९.६ प्रतिशत पुरुष र ४०.४ प्रतिशत अर्थात् २२ सय ३२ जना महिला थिए । यस मध्ये मुख्य जनसङ्ख्या ३० देखि ३९ वर्ष उमेर समूहका थिए ।


अध्ययनमा सहभागीहरू मध्ये २६.४ प्रतिशतलाई उच्च रक्तचाप देखिएको थियो । यस्तै ४७.१ प्रतिशतलाई पूर्व उच्च रक्तचाप र २६.५ प्रतिशतलाई मात्र सामान्य रक्तचाप देखिएको थियो ।

स्वस्थ भन्न रुचाउने सहरियाहरु व्यायाम समेत कम गर्ने र स्वस्थकर खानपानमा खासै ध्यान नदिने अध्ययनले औँल्याएको छ । अध्ययनमा सहभागी ६१.१ प्रतिशत कम शारीरिक गतिविधि गर्नुको साथ, मोटोपना र अत्यधिक तौल भएका ४१.३ प्रतिशत थिए । ७४.४ प्रतिशतले कम फलफुल र तरकारी सेवन गरेको समेत पाइएको थियो ।


‘उच्च रक्तचाप एउटा जटिल सुप्त समस्याको रूपमा हाम्रो जस्तो मुलुककोको शहरिया क्षेत्रमा समेत देखिदैछ’, डा.ओममुर्तिले भने–‘आफूलाई स्वस्थ, स्वास्थ्य प्रति जागरुक ठान्ने काठमाडौँको ४० भन्दा कम उमेरको शहरिया उच्च रक्तचापको पासो मा परेको अवस्थाले स्पष्ट रूपमा यो रोग प्रति सरकारी र निजी क्षेत्रबाट व्यापक जनजागरणको आवश्यकता देखिएको छ ।’

प्रकाशित : चैत्र २९, २०७५ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?