१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रयोगविहीन स्वास्थ्य उपकरण

पुरानो उपकरणका भरमा चलेका सरकारी अस्पतालमा करोडौं मूल्य पर्ने नयाँ उपकरण प्रयोगमा छैनन्
फातिमा बानु

काठमाडौँ — सरकारी अस्पतालका नयाँ उपकरण प्रयोगबिनै थन्किएका छन् । पुरानो उपकरणका भरमा चलेका सरकारी अस्पतलमा करोडौं मूल्य पर्ने नयाँ उपकरण प्रयोगविहीन बनेका छन् । हालै प्रकाशित महालेखा परीक्षकको प्रतिवेदनमा देशभरका १२ अस्पतालमा यस्ता उपकरण थन्किएको उल्लेख छ ।

राजधानीको वीर अस्पताल, टेकुस्थित सरुवारोग अस्पताल, भक्तपुर अस्पताल, सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र र देशका अन्य जिल्लास्तरीय, अञ्चल, क्षेत्रीय, उपक्षेत्रीय र प्रतिष्ठानमा यस्ता उपकरण थन्किएका छन् । महँगो लगानीमा भित्रिएका यस्ता उपकरण प्रयोगमा नआउँदा यसले स्वास्थ्य सेवा प्रवाहमा असर पुर्‍याएको छ ।


वीर अस्पतालमा क्यान्सर रोगको उपचारका लागि भित्रिएको अत्याधुनिक टोमोथेरापी उपकरण प्रयोगमा छैन । यस ४७ करोड ९० लाख रुपैयाँमा खरिद गरिएको उपकरण प्रयोगमा आउन नसक्दा बिरामी अन्य अस्पतालमा रिफर भएर उपचार लिन बाध्य छन् । वार्षिक १५ देखि २० हजार क्यान्सर बिरामी आउने वीर अस्पतालमा बिरामी रेडियोथेरापी लिनबाट वञ्चित भइरहेका छन् ।


उपकरण चलाउने दक्ष जनशक्ति अभावका कारण अस्पतालमा महँगो उपकरण थन्किएका छन् । एक वर्षदेखि आईसीयू कक्षमा प्रयोग हुने भेन्टिलेटर सञ्चालनमा छैन । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरी थन्किएको उपकरणबारे आफूलाई जानकारी नभएको बताउँछन् । उनी भन्छन्, ‘म भर्खरै नेतृत्वमा आएको छु । यसबारे बुझेर उपकरण सक्दो चाँडो सञ्चालनमा ल्याउन पहल गर्छु ।’


भक्तपुर अस्पतालको जेनेरेटर अस्पताल परिसरमा अलपत्र छ । दुई वर्ष पहिले दस हजार तिरेर खरिद गरिएको यो उपकरण प्रयोगमा आउन सकेको छैन । अस्पतालकी मेडिकल सुपरिडेन्टेड यो उपकरण मर्मत गर्दा पनि नभएपछि चलाउन नसकिएको बताउँछिन् । उनी भन्छिन्, ‘सामान नयाँ हुँदै बिग्रियो, बनाउन खोज्दा बनेन । अर्को नयाँ किनेर काम चलाइरहेका छौं ।’


कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा पनि एक्सरे र अल्ट्रासाउन्ड उपकरण उपयोगमा छैन । चीन सरकारको सहयोगमा भित्रिएको यो उपकरण प्रयोगमा नआउँदा बिरामीले बाहिरबाट सेवा लिनुपर्ने अवस्था छ । भक्तपुरस्थित सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा बिजुलीको ट्रान्सफर्मर प्रयोगमा छैन ।


ठाउँ अभावका कारण ट्रान्सफर्मर चलाउन नसकिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘ठूलो ट्रान्सफर्मर राख्ने ठाउँ नहुँदा सानो उपकरणले काम चलाएका छौं । ठाउँ साँघुरो भएकै कारण अन्य सेवा पनि प्रभावित भइरहेको छ ।’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा ४ करोड ५४ लाख रुपैयाँको सीटी स्क्यान मेसिन बिग्रिरहन्छ भने डिजिटल एक्सरे प्रयोगमा छैन ।


यो उपकरण पटकपटक बिग्रने समस्याका कारण मासिक करिब २ हजार बिरामी बाहिर रिफर भएर उपचार लिन्छन् । अस्पतालका प्रशासकीय अधिकृत गंगाराम गिरीका अनुसार उपकरण पुरानो भएकाले कहिलेकाहीँ सेवा ठप्प हुनेगरी बिग्रिन्छ ।


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ वटा हेमोडाइलासिस उपकरण भण्डारमा थन्किएका छन् । फोहोर प्रशोधनका लागि चाहिने अटोक्लेभ मेसिन गुणस्तरहीन भएको भन्दै अस्पतालले थन्काएको छ । अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार थन्किएका उपकरण वैकल्पिक प्रयोगका लागि हुन् । उनी भन्छन्, ‘चलेका उपकरण बिग्रिँदा सेवा प्रभावित नहोस् भनेर २ वटा हेमोडायलासिस प्रयोग नगरी राखेको हो । अटोक्लेभ मेसिनको पनि विकल्प छ ।’


प्रतिवेदनअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक वर्षदेखि सीटी स्क्यान उपकरण बिग्रिएको छ । उपकरण अभावका कारण बिरामी अन्यत्र रिफर हुने गरेका छन् । यो अस्पतालमा १ लाख ६२ हजारमा खरिद गरिएको एमआरआई उपकरण पनि प्रयोगमा छैन । धौलागिरी अञ्चल अस्पतालमा २ वटा हेमोडाइलोसिस मेसिन थन्किएका छन् । यस्तै, ३६ लाख ९७ हजार मूल्यका हेमोडाइलेसिस मेसिन सञ्चालनमा छैनन् ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?