१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युवामा मिर्गौला समस्या बढी

काठमाडौँ — राष्ट्रिय-अन्तर्राष्ट्रिय विशेषज्ञहरूले अंग प्रत्यारोपणको क्षेत्रमा नेपाल आधुनिक प्रविधिसहित तीव्र गतिले अघि बढिरहेको औंल्याएका छन् । राजधानीमा शनिबार सुरु पहिलो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा सहभागी उनीहरूले नेपालमा युवावस्थामै मिर्गौला फेल हुने समस्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

युवामा मिर्गौला समस्या बढी

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल र इन्डियन सोसाइटी अफ अरगेन ट्रान्सप्लान्टेसको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, सिंगापुर, श्रीलंका, भारत, नेपाललगायत करिब ३ सय ५० जना प्रत्यारोपण क्षेत्रका विशेषज्ञको सहभागिता छ ।


'नेपालमा बढी युवाको मिर्गौला फेल भइरहेको छ,' इन्डियन सोसाइटी अफ अरगेन ट्रान्सप्लान्टेसनका अध्यक्ष प्रा.डा.सन्दीप गुलरियाले कान्तिपुरसँग भने, 'यो रोगबाट बचाउका प्रयास राम्रो भएको मुलुकमा पाको उमेरका व्यक्तिको मात्रै मिर्गौला फेल हुन्छ ।'


पश्चिमा मुलुकमा मधुमेह, उच्च रक्तचापलगायत जटिल स्वास्थ्य समस्या भएका पाको उमेरका व्यक्तिमा मिर्गाैला प्रत्यारोपण गराउनुपर्ने अवस्था आउने गरेको छ । 'सन् २०१९ मा बेलायतमा बूढापाका, मुटुरोगी, उच्च रक्तचापलगायत कमजोरी भएकाहरू मिर्गौला फेल भएर प्रत्यारोपण गराइरहेका छन्,' बेलायतको न्युक्यास्टल विश्वविद्यालय नेप|mोलोजीका प्राध्यापक डा. नील सिरिनले भने, 'नेपालमा युवा, प्राथमिक ग्लोमेरुलोनेप|mाइटिस आदिले गर्दा मिर्गौला प्रत्यारोपण गराउने अवस्था छ ।'


एक दशकअगाडि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु गर्न सघाएका डा.गुलरियाले भारतमा मिर्गौला रोगबाट बचाउने प्रक्रिया राम्रो भएकाले त्यहाँ युवावस्थामा मिर्गौलाको समस्या कम आइरहेको बताए । विशेषज्ञका अनुसार सरकारले मधुमेह र उच्च रक्तचापको समयमै निदान र नियन्त्रणमा प्रयास गरे मिर्गौला फेल हुने समस्यामा कमी आउँछ ।


सम्मेलनका अध्यक्ष एवं प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द श्रेष्ठले नेपालमा बर्सेनि करिब ३ हजार जनाको मिर्गौला फेल भइरहेको र त्यसमध्ये करिब ९० प्रतिशत केही महिनामै मृत्युको मुखमा पर्ने गरेको जानकारी दिए । उनले बर्सेनि दुई सयदेखि अढाई सय मिर्गौला प्रत्यारोपण मुलुकमै हुन थालेको बताए । हालसम्म १ हजार ३ सय १७ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ ।


प्रकाशित : वैशाख ७, २०७६ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?