कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्वस्थकर बानीले अनिद्रा

अतुल मिश्र

काठमाडौँ — तीव्र सहरीकरण, आधुनिक र अव्यवस्थित जीवनशैली, शारीरिक निष्क्रियता, तनाव, तीव्र प्रतिस्पर्धा र उच्च आकांक्षाले आम नेपालीको निद्रा भंग गरेकै छ । आधुनिक उपकरणहरु मोबाइल, कम्प्युटर र टीभीले पनि आम नेपाली अनिद्राको जोखिममा पर्दै गएका छन् ।

अस्वस्थकर बानीले अनिद्रा

हामीलाई स्वस्थ्य रहन सन्तुलित आहार, व्यायाम र निद्रा अति आवश्यक छ । यी तीनमध्ये एउटाको पनि कमि भए हामी अस्वस्थ हुन सक्छौं । हामी जति सुकै व्यस्त भएपनि यी विषयमा ध्यान दिनैपर्छ ।


तीव्र सहरीकरण, आधुनिक र अव्यवस्थित जीवनशैली, शारीरिक निष्क्रियता, तनाव, तीव्र प्रतिस्पर्धा, कोलाहल, उच्च आकांक्षाले हाम्रो स्वस्थ्य जीवनमा नकारात्मक प्रभाव पार्दै गएको छ । खासगरी यी कारणहरूले हामी अनिद्राको सिकार भई रहेका छौं । विज्ञहरूले आम नेपालीको निद्रा कम हुँदै गएको औंल्याएका छन् ।


अनिद्राका अन्य कारणहरू पनि छन् । तीमध्ये अहिलेका अत्याधुनिक उपकरणहरू मोबाइल, कम्प्युटर, टीभीलगायतका पनि हुन् । मोबाइलमा च्याटिङ गर्दा होस या आफूलाई मन पर्ने कार्यक्रम टीभीमा हेर्दा समय गएको पत्तो हुँदैन । फलस्वरूप मानिसलाई चाहिने निद्रा अपुग हुन सक्छ ।


कीर्तिपुरस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पसका प्रमुख डा. शिवमंगल प्रसादले अत्याधुनिक जीवनशैली, जुनसुकै रूपबाट हुने तनावलाई अधिकांश व्यक्तिमा देखिने अनिद्राको मुख्य कारण भएको बताउँछन् । उनका अनुसार शताब्दियौंदेखि जारी परम्परागत आयुर्वेदको प्रक्रियाबाट जीवनशैलीमा सकारात्मक परिवर्तन गरी अनिद्राको समस्याबाट केही हदसम्म मुक्त हुन सकिन्छ ।


आम नेपालीको व्यस्त जीवनशैलीका कारण अनिद्रा एउटा गम्भिर रोगको रूपमा देखा पर्न थालेको चिकित्सकहरू बताउँछन् । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा.सिद्धार्थ ठाकुरले पनि यसको पुष्टि गरेका छन् ।


उनी अनिद्राको प्रमुख कारण तनाव, खानपानको गलत बानीसँगै अस्वस्थकर जीवनशैली र मोबाइल, ल्यापटप, कम्प्युटर, टीभीलगायतलाई मान्छन् । डा.ठाकुर भन्छन्, ‘वात र पित्त बढनाले पनि अनिद्रा हुन सक्छ किनभने यी दुई मानिसमा तनावले गर्दा पनि बढ्न सक्छ ।’


डा. प्रसादले पनि अनिद्राबाट बच्ने उपाय सुझाएका छन् । उनी भन्छन्, ‘तपाईंले आफनो हातमा बाँध्ने घडीसँगै तपाइको शरीरभित्र प्राकृतिक रूपमा रहेको जैविक घडीबीच सन्तुलन कायम गरी केही हदसम्म अनिद्राबाट बच्न सकिन्छ । यसले शारीरिक अन्य थुप्रै समस्याबाट पनि हामीलाई जोगाउन सक्छ ।’


उनका अनुसार मानिसका शरीर भित्र सुत्ने र ब्युतिने समय निर्धारण गर्ने एउटा जैविक घडी (बायोलजिकल क्लक) रहेको हुन्छ । ‘यो घडीमा समस्या आए हामी अनिद्राबाट ग्रस्त हुन्छौं,’ उनी थप्छन्, ‘आयुर्वेदअनुसार व्यस्त जीवनमा हाल हामी भित्र रहेको जैविक घडीको समय परिवर्तित भइसकेको छ ।’


सूर्य उदाउनुभन्दा अघि वा बिहान ६ बजेबाटै मानिसले आफ्नो दिनचर्याको सुरु गर्नुपर्छ । त्यस्तै, राति १० बजेतिर सुत्न सके मानिसको शरीरभित्रको घडीले सही काम गर्न सक्छ । ‘सूर्योदयभन्दा पनि एक प्रहर (३ घन्टा) पहिले उठने र सूर्यास्तको प्रथम प्रहर भित्र खानुपर्छ,’ डा. प्रसादका भन्छन् । उनका अनुसार सूर्य ऊर्जार् भएकोले यसको उदय हुना साथ दैनिक काममा लाग्नुपर्ने र सुर्यास्तको ३ घन्टाभित्र खाएर सुत्नुपर्ने आयुर्वेदको मान्यता छ ।


करोडौं वर्षदेखि पृथ्वी सूर्यको परिक्रमा गर्दै आएको छ । पृथ्वीको परिक्रमा गर्ने गति, समय अनुसार नै मानिस, जीवजन्तु, रुखविरुवालगायतले जैविक रूपमा आफूलाई त्यस अनुकूल बनाउने गरेको डा. ठाकुरको भनाइ छ ।

थकित मानिस या सम्पूर्ण प्राणीजगत्को रिफ्रेसमेन्टको अवस्था नै प्राकृतिक निद्रा हो । प्राकृतिक जीवन शैली भएकाहरूको निद्रा प्राकृतिक रूपमै स्वाभाविक तवरले आउने गरेको उनी बताउँछन् ।


यति मात्र होइन, स्वस्थकर जीवनशैली अपनाउनेहरू तन्द्राभन्दा निद्राको अवस्थामा बढी समय रहेर शरीर, मन, मस्तिष्कलाई स्वस्थ राख्न सक्छन् । सामान्य एवं स्वस्थ सुताइ र निद्रा आउनुभन्दा पूर्वको थकाइजस्तो अवस्थालाई तन्द्रा भनिन्छ । आयुर्वेदको अनुसार निद्रामा तमो गुणको प्रधानता हुने भएकोले खाना खाएपछि स्वाभाविक प्राकृतिक निद्रा आउँछ । यसैले राम्रो निद्रा आऊने व्यक्ति स्वस्थ मानिने गरिन्छ ।


कति निद्रा ?

दिनहुँ ५ देखि ८ घन्टासम्मको निद्रालाई सामान्य मानिन्छ । निद्राको समयावधि व्यत्ति विशेषमा भर पर्न सक्छ । बालबालिका बढी निद्रा चाहिन्छ । बाल्यावस्थामा कफ बढी हुने भएकोले यसो भएको हो । यस्तै, वृद्घावस्थामा शरीरमा वात प्रकोपित हुने भएकोले निद्रा कम लाग्ने गर्छ ।


उपयुक्त परिवेश

हामी एक्कासि बाहिर जाँदा, नयाँ परिवेशमा रहेको अवस्थामा सुत्नमा समस्या हुने गर्छ । सुखद निद्राको लागि उपयुक्त परिवेशलाई पनि अति आवश्यक मानिन्छ । घरमा, परिवारसँग सुत्दाताका राम्रो निद्रा आउँछ ।


निद्राको लागि एउटा सुरक्षित, उपर्युक्त र सुविधाजनक वातावरण हुनु आवश्यक हुन्छ । सुत्ने कोठाको वातावरण शान्त एवं आरामदायक हुनुपर्छ । गर्मीयाममा चिसो एवं सर्दी याममा न्यानो रहनुपर्छ । सुत्नुभन्दा आधा घन्टा अघि टीभी, कम्प्युटर, मोबाइलबाट टाढा बस्नुपर्छ । पैतालाको मसाज गर्नु लाभदायक मानिन्छ । यसले शरीरको रक्त प्रपाह सही रहन्छ र थकान मेट्छ ।


सुत्ने समय निर्धारण

हामीले सुखद र स्वस्थ निद्राका लागि दिनहुँ सुत्ने उपयुक्त समय चयन गर्नैपर्छ । दैनिकी जतिसुकै व्यस्त भए पनि निर्धारित समयमै हामी ओछयाउनमा जाने बानी बसाल्नुपर्छ ।


यसले हाम्रो शरीरको सुत्ने र ब्युँतिने चक्रलाई सन्तुलनमा ल्याउँछ । सकारात्ममक जीवनशैली अपनाउँदै सुत्ने/ब्युँतिने प्रक्रियालाई हामीले आफनो दैनिकीको एउटा अंग बनाए हाम्रो शरीर समेत यसै प्रक्रियामा चल्न सक्छ । यसको फाइदा भनेको राति निर्धारित समयमै निद्रा लाग्नु र बिहान निद्रा चक्र पूरा हुना साथ आँखा खुल्छ । निद्रामा व्यवधान पनि उत्पन्न हुँदैन ।


सुत्ने कोठा

सुत्ने कोठा स्वच्छ हुनुपर्छ । यसले मन शान्त हुनुको साथै निद्रासमेत राम्ररी लाग्छ । आखाँमा तीव्र प्रकाश नआउने हुनुपर्छ । होहल्लाबाट टाढा हुनुपर्छ । कोठामा मधुरो स्वरमा इन्ट्रमेन्टल संगीत बजाउन सकिन्छ । यसले सुत्ने कोठाको वातावरण सुखद बनाउँछ । त्यस्तै, सुत्ने कोठा शान्ति प्रदान गर्ने खाल भएमा ‘साउन्ड स्लिप’ मा हामी जान सक्छौं ।

योग ध्यान

निद्राको मूल कारण मन हो । जबसम्म यो शान्त अवस्थामा आउँदैन, हामीलाई निद्रा लाग्दैन । त्यसैले उफयुक्त निद्राको लागि काम, त्रोध, लोभ, मोह, भय, मद, मात्सर्यबाट टाढिनुपर्छ ।


प्राणायामको मुख्य आधार श्वासप्रश्वासको नियन्त्रण हो । यसलाई नियन्त्रण गरेपछि मनसमेत नियन्त्रित हुन्छ । डा.प्रसादका अनुसार प्राणायाम, ध्यान, काउन्सेलिङसमेत निद्राको एउटा सहज माध्यम बन्न सक्छ ।


गाउँघरमा गरिने कीर्तन, भजन, सत्संग लगायत काउन्सेलिङकै एउटा पाटो रहेको औंल्याउँदै विज्ञहरूले यसले मन शान्त हुने र निद्रा आउनमा सघाउने बताउँछन् ।


घरेलु जडिबुटी

निद्रामा समस्या देखिए जीवनशैली परिवर्तनसँगै परम्परागत जडिबुटीले पनि फाइदा पुग्ने विज्ञहरू बताउँछन् । आयुर्वेदअनुसार स्नायुवर्धक मानिने अश्वगन्धाले एग्जाइटी कम गर्छ । यसले शरीरलाई चुस्त र फुर्तिलो बताउँछ । स्ट्रेस हार्मोन कार्टिसोलको स्तरलाई पनि कम गरिदिन्छ । फलस्वरूप तनावमा समेत कमी आउँछ ।


अनिद्राका समस्या भएकाहरूले राति सुत्ने बेला एक ग्लास मनतातो पानीमा ३ देखि ५ ग्राम अश्वगन्धा चूर्णको प्रयोग गर्दा लाभ हुने डा.प्रसादको भनाइ छ । यसैगरी, कुरिला (सतावरी) दुग्धवर्धक मानेरै गाईवस्तुलाई दिने चलन छ । किनभने यसमा धेरै पोषकतत्त्व पाइन्छ ।


आयुर्वेदमा यसलाई जीवनीय औषधि मानिन्छ । कुरिलोको चूर्ण ३ देखि ५ ग्राम राति मनतातो दुधसँग लिन सकिने उनी बताउँछन् । घोड टाप्रे (ब्राम्ही) लाई समेत चूर्ण वा हर्बल चियाको रूपमा लिन सकिन्छ । पानी तताएर त्यसमा ५ देखि १० ग्राम घोडटाप्रे राखेर राति सुत्ने बेलामा लिँदा अनिद्राबाट बच्न सहयोग पुग्छ ।


जैविक घडीको पालना

शरीरको जैविक घडी (बायोलजिकल क्लक) को कार्य प्रणाली बताएर गत वर्ष वैज्ञानिक त्रय जेफ्रे सहिल, माइकल रोसवास र माइकल यङले चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गरे ।


आफ्नो अनुसन्धानमा वैज्ञानिकहरूले यो जैविक घडीको प्रत्यक्ष तालमेल पृथ्वीको परिक्रमासँग हुने निष्कर्ष निकाले । यसैले शरीरभित्र भएको जैविक घडीलाइ दिन र रातिको पूर्ण अनुभूति हुने भएकोले हामीलाई राति निद्रा आउन थाल्छ र बिहान एउटा निश्चित समयमा निद्रा आफैं टुट्छ ।


अध्ययनअनुसार जैविक घडीको प्रत्यक्ष तालमेल पृथ्वीको गतिसँग हुन्छ । यो लयबद्घ पनि हुन्छ । राति ९ बजे ‘मेलाटोनिन’ को श्रावले निद्रा आउन थाल्छ । राति दुई बजे गहिरो निद्राको समय हुन्छ । बिहान साढे ४ बजे शरीरको तापक्रम सबैभन्दा कम हुन्छ । यस्तै, बिहान रक्तचापमा वृद्घि हुन थाल्छ, यसले निद्राबाट ब्युँतिन सहयोग गर्छ ।


वैज्ञानिक त्रयको खोजले पृथ्वीको परिवर्तनसँग सामन्जस्य कायम गर्न मानिस, बिरुवा, जनावरले कसरी जैविक लयअनुकूल बनाउँछन् भन्ने देखाएको छ । अध्ययनले हाम्रो जीवनशैली र बाहिरी पर्यावरणको कारणले जैविक घडीको दीर्घकालीन प्रबन्धन हुन नसक्दा रोगको खतरासमेत बढ्ने देखाएको छ ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?