कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बर्ड फ्लुले मृत्यु

फातिमा बानु

काठमाडौँ — बर्ड फ्लु (एच फाइभ एन वान) संक्रमणबाट मुलुकमा पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि अस्पताल भर्ना भएका २१ वर्षे युवकको उपचारका क्रममा चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बर्ड फ्लुले मृत्यु

इन्फ्लुएन्जा संक्रमणको शंका लागेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ती युवकको घाँटीको र्‍याल परीक्षण गराइएको थियो ।


‘परीक्षण रिपोर्ट आउनुअघि नै बिरामीलाई औषधि सेवन गराइएको थियो,’ यसबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले भनिन्, यहाँबाट भाइरस पत्ता नलागेपछि हामीले नमुना जापान पठाएका थियौं । तर रिपोर्ट आइनपुग्दै बिरामीको मृत्यु भयो ।’


उनका अनुसार तीन दिनअघि रिपोर्ट आएपछि बर्ड फ्लु संक्रमण पुष्टि भएको हो । यसबारे मन्क्रालयले नियमित निगरानी गरिरहेको र हालसम्म अन्य व्यत्तिमा संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् ।


विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९९६ मा पत्ता लागेको यो भाइरसका कारण हालसम्म विश्वभर ८६० जनामा संक्रमण देखिएको छ । तीमध्ये ४५४ जनाको मृत्यु भएको छ । बर्ड फ्लु भन्नेबित्तिकै जनमानसमा त्रास फैलिने भए पनि आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।


विशेषज्ञका अनुसार यो एक प्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो । यसले

विशेषगरी चराचुरुङ्गीमा श्वासप्रश्वासको समस्या गराउँछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लाल झन्छन्, ‘कहिलेकाहीँ माक्रै मानिसमा संत्रमण गर्छ ।

संक्रमित मानिसबाट अर्को मानिसमा सर्दैन ।’


मानिसमा संत्रमण भइसकेपछि बिरामीको मृत्य हुने सम्भावना ६० प्रतिशत हुन्छ ।


सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुसार संक्रमित पन्छीको प्रत्यक्ष सम्पर्कमा आउँदा र्‍यालको माध्यमबाट मानिसमा संक्रमण हुने सम्भावना ज्यादा हुन्छ । संक्रमित पन्छीलाई छोएका हातले आँखा मिच्ने, नाक, मुखमा पुर्‍याउने गर्दा भाइरस शरीरमा पस्छन् ।


खासगरी कुखुरापालनका व्यवसायी, कुखुरा काट्ने र मासु बेच्नेहरू बढी सचेत हुनुपर्ने उनले बताए । संक्रमण भएपछि विभिन्न अंगले काम गर्न छाड्छन् । निमोनियाँ हुन्छ । रोगका लक्षण फरक–फरक देखिने भएकाले बर्ड फ्लुको संक्रमण चुनौतीपूर्ण हुँदै गइरहेको छ । ‘कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर खाँदा जोखिम छैन,’ डा. बाँस्तोलाले भने, ‘सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रूपमा मर्छ ।’


उच्च ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, मांसपेशीहरू दुख्नु, छाती दुख्ने र पखाला लाग्नेसमेत हुन सक्छ । संक्रमण फैलिसकेपछि सास फेर्न गाह्रो हुन्छ । दम र निमोनियाँ हुन्छ । संक्रमण भइसकेपछि बिरामीको अवस्था गम्भीर हुने भएकाले सुविधायुक्त अस्पतालको आकस्मिक कक्ष वा आईसीयूमै राखेर उपचार गर्नुपर्छ । उपचार क्रममा एन्टिभाइरल औषधि दिइन्छ ।


नियमित रूपमा साबुनपानीले हात धुने, वरिपरिको वातावरण सफा राख्ने गर्नाले संक्रमणको सम्भावना घट्छ । मरेका कुखुरा र चराचुरुङ्गीबाट टाढै रहनुपर्छ । कुखुराको काँचो मासु काँटछाँट गर्ने र पकाउने मानिसले नांगो हातले नाक, मुख छुनु हुँदैन । छुनै परे हातमा पञ्जा र मुखमा मास्क प्रयोग गर्नुपर्छ । एप्रोन लगाएर मात्रै मासुको काम गर्नुपर्छ । मरेका पन्छीको सुलीबाट टाढै रहनुपर्छ । इन्फ्लुएन्जाको शंका लाग्नेबित्तिकै स्वास्थ्य संस्था पुगेर चिकित्सकको सल्लाहअनुसार औषधि लिइहाल्नुपर्छ ।

प्रकाशित : वैशाख २०, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?