देशव्यापी फैलिँदै डेंगु

हालसम्म नेपालका २८ जिल्लामा डेंगु फैलिसकेको छ । विश्वका १२८ मुलुकका ३ अर्ब ९० करोड मानिस यसको जोखिममा छन् ।
अतुल मिश्र

काठमाडौँ — शरीर र जोर्नीमा धेरै दुखाइ भई ‘हाड तोड ज्वरो’ को रूपमा चिनिने दिउँसो टोक्ने लामखुट्टेले हुने डेंगु संक्रमण बिस्तारै मुलुकभर फैलिँदै गएको छ । समयमै रोकथामका उपाय नगरिए यसले भविष्यमा भयावह रूप लिन सक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन् । 

हाल यो मौसममा डेंगु मुलुकका धनकुटा, सुनसरी, मोरङ, झापा, महोत्तरी, चितवन, धनुषा, नवलपरासी, कैलाली र सप्तरी गरी १० जिल्लामा देखा परिसकेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का डिजिज कन्ट्रोल सेक्सन् प्रमुख घनश्याम पोखरेलले बताए । उनी भन्छन्, ‘यो वर्ष डेंगु संक्रमण थप क्षेत्रमा फैलिन सक्छ ।’

यो वर्ष (सन्् १९९६) को शुक्रबारसम्म डेंगुको प्रयोगशाला प्रमाणित केस ७ सय ९२ पुगेको छ । सन्् २०१८ मा ८११, सन्् २०१७ मा २११२ र सन्् २०१६ मा १५२९ केस देखिएको थियो ।

यस्तै, सरकारी तथ्यांकअनुसार यो रोगबाट सन् २०१० मा ५, २०१५ मा १, २०१६ मा २, २०१७ मा ४, २०१८ मा ३ जनाको मृत्यु भइसकेको छ । यो वर्ष हालसम्म डेंगुले कसैको ज्यान नगए पनि संक्रमितको संख्या बढेको स्वास्थ्य अधिकारीले बताएका छन् ।
डेंगुको पहिलो रिपोर्टेड केस मुलुकमा सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको थियो । यो संक्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै देखिएको थियो ।

हालसम्म मुलुकमा तराईको सबै २० जिल्ला र भित्री मधेसको केही जिल्लासहित २८ जिल्लामा डेंगु देखा परिसकेको पोखरेलले जनाएका छन् ।

तर, राजधानीको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले अस्पतालको तथ्यांक औंल्याउँदै डेंगु मुलुकको ४० जिल्लामा देखा परिसकेको दाबी गर्छन् ।

मुलुकमा डेंगु फैलाउने ‘एडिस एजेप्टाई’ र ‘एडिस एल्वोपेक्टस’ गरी दुई प्रकारको लामखुट्टे पाइएको पोखरेलले बताए । हाल धरानमा डेंगु फैलिएको ठाउँमा समेत यी दुई थरीकै लामखुट्टे पाइएको छ । अघिल्लो वर्ष झापामा समेत दुई प्रकारकै लामखुट्टे फेला परेको थियो । कुनै ठाउँमा ‘एजेप्टाई’ त कुनै ठाउँमा ‘एल्वोपिक्टस’ लामखुट्टे बढी देखिएको हो ।

तपाईंलाई कुन प्रकारको डेंगु संक्रमण भएको हो, समयमै पहिचान हुनु अत्यावश्यक रहेको टेकु अस्पतालका डा. शेरबहादुर पुनले बताए । ‘क्लासिकल डेंगु ज्वरो’ मानिसको ज्यानै लिने नभए पनि अन्य डेंगु ‘हेमोरेजिक’ ज्वरो वा ‘डेंगु सक सिन्ड्रोम’ भए तत्कालै उपचार नगरे मानिसको मृत्युसमेत हुन सक्ने उनको भनाइ छ ।

हेमोरेजिक ज्वरो
यसमा ‘क्लासिकल डेंगुको सबै लक्षणसँगै शरीरका अंगहरूबाट आन्तरिक रक्तश्राव हुन सक्छ । यसअन्तर्गत नाक, गिजाबाट रगत आउनु, दिसा वा वान्तामा रगत देखिन सक्छ । त्यस्तै, छालामा गहिरो नीलो कालो रंगको सानो वा ठूलो दाग देखिनुजस्ता लक्षण देखा पर्न सक्छ ।

सक सिन्ड्रोम
यसमा ‘डेंगु हेमोरेजिक’ ज्वरोको लक्षण देखिनुको साथै ‘सक’ को अवस्थाका केही लक्षणसमेत देखा पर्न सक्छ । यसअन्तर्गत रोगी धेरै बेचैन हुनु, तीव्र ज्वरो भएपछि बिरामीको छाला चिसो भएको अनुभव हुन्छ । बिरामीले विस्तारै होस् गुमाउन सक्छ । बिरामीको नाडी छाम्दा यो तीव्र र कमजोर अनुभव हुन्छ । बिरामीको रक्तचापसमेत कम हुन थाल्छ ।

के हो डेंगु ?
डेंगु दिउँसो टोक्ने ‘एडिस एजेप्टाई’ र ‘एडिस एल्वोपेक्टस’ नाम गरेको लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यी लामखुट्टेले नै चिकेनगुनिया, यल्लो फिभर, जिका संक्रमणसमेत फैलाउँछ ।

चिकित्सकीय भाषामा भन्ने हो भने, डेंगु फलैवीभाइरस जिनसअन्तर्गत सिंगल स्ट्रैन्डको आरएनए युक्त विषाणुद्वारा फैलिने रोग हो । हाल डेंगु ‘डेन २’ सेरोटाइपको भाइरसले फैलाइरहे पनि यो संक्रमण फैलाउने ‘डेन १, डेन २, डेन ३, डेन ४’ गरी चारै प्रकारका भाइरस मुलुकमा बेलाबखतमा देखिने गरेका छन् । डेंगु विषाणुको ४ सिरोटाइप्स (‘डेन १, डेन २, डेन ३, डेन ४) मा अमिनो एसिड स्तरमा करिब ६० देखि ७५ प्रतिशतसम्म समानता भेटिन्छ ।

डेंगु विस्तार
डेंगु ज्वरो सबैभन्दा पहिले सन् १७८५ मा दक्षिण अफ्रिकामा पाइएको थियो । त्यसपछि एसियाको दक्षिण पूर्वी मुलुकमा फैलिन सुरु भएको हो ।

सन् १९६० सम्म यो रोग विश्वको ४० देशमा मात्रै सीमित भए पनि हाल यसको विस्तार १२८ मुलुकमा भइसकेको छ ।‘लोस नेग्लेक्टेड ट्रपिकल डिजिज’ मा प्रकाशित एक अध्ययनअनुसार १२८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छन् ।

उपचार
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार डेंगुका लागि कुनै विशिष्ट उपचार छैन । तर, छिटो रोग पत्ता लागेर सही चिकित्सकीय हेरचाह भए मृत्युदर १ प्रतिशत भन्दा कम हुन्छ ।

डेंगु संक्रमण ७० प्रतिशतलाई आफैं निको हुन्छ । केही केशमा मात्र लक्षण देखिने औंल्याउँदै पोखरेल भन्छन्, ‘डेंगु संक्रमितमध्ये कडा लक्षण देखिने करिब ५ प्रतिशत मात्र हो ।’

‘क्लासिकल डेंगु’ ज्वरो हुँदा बिरामीको उपचार र हेरचाह घरमा समेत गर्न सकिन्छ । यो आफैं निको हुने रोग भएकाले यसमा मात्र लाक्षणिक उपचार आवश्यक पर्ने डा. पुनको भनाइ छ ।

डेंगुका बिरामीलार्ई ‘डिस्प्रिन’ वा ‘एस्प्रिन’ दिनु हुँदैन । स्वास्थ्यकर्मीको सल्लाह लिएर पारासिटामोल उपयोग गरेर ज्वरो नियन्त्रणमा राख्नुपर्छ । ज्वरो १०२ डिग्री फरेनहाइटभन्दा बढी भए कम गर्न पानीपट्टीसमेत दिन सकिने डा.पुनले बताए । उनी भन्छन्, ‘बिरामीलार्ई आराम गर्न दिनुको साथै सामान्य रूपले खाना दिने प्रक्रियाजारी राख्नुपर्छ, ज्वरोको अवस्थामा शरीरलार्ई झन् बढी खानाको आवश्यकता पर्छ ।’

यदि रोगीमा ‘डेंगु हेमोरेजिक’ ज्वरो वा ‘डेंगु सक सिन्ड्रोम’ तर्फ संकेत गर्ने एउटा पनि लक्षण देखिएको अवस्थामा तत्कालै अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने डा.पुन औंल्याउँछन् । यसको उपचारअन्तर्गत प्लेटेलेटस कोषिकालार्ई नसाको माध्यम चढाइने स्थितिसमेत आउन सक्छ । समयमै रोग पहिचान गरी उचित उपचार सुरु गरे ‘डेंगु हेमोरेजिक’ ज्वरो वा ‘डेंगु सक सिन्ड्रोम’ को समेत सम्पूर्ण उपचार सम्भव रहेको उनी बताउँछन् ।

कसरी फैलिन्छ ?
डेंगु एक व्यक्तिबाट अर्कोमा सिधा प्रसारित हुँदैन । डेंगु विषाणुको जीवनचक्र रोगबाहकका रूपमा लामखुट्टे र मुख्य पीडित एवं संक्रमण स्रोतको रूपमा मानिस नै हो ।

डेंगु विषाणुको प्रसारण पोथी एडिस एजेप्टाई वा एडिस एल्वोपिक्टस लामखुट्टेको माध्यमले हुन्छ । सामान्यतः पोथी लामखुट्टेले डेंगु ज्वरोले पीडित व्यक्तिको रगत चुसेर यो विषाणु संक्रमित हुन पुग्छ ।

सामान्य रूपमा डेंगुले संक्रमित व्यक्ति रोगको सुरुवातभन्दा अघिदेखि नै लामखुट्टेप्रति संक्रामक हुन्छ र रोग देखिएको ३ देखि ५ दिनसम्म संक्रमकता कायम रहन्छ ।

संक्रमित व्यक्तिको रगत चुसेको ८ देखि १० दिनको ओथार अवधि (इन्क्युवेसन पिरियड) पछि लामखुट्टे संक्रमित भएर टोकोइका माध्यमबाट व्यक्तिमा यो रोग सार्छ ।

यति मात्र नभई प्रत्यक्ष प्रसारणअन्तर्गत संक्रमित लामखुट्टेबाट डेंगुको विषाणु अण्डाका माध्यमले दोस्रो पुस्तामा प्रसारित हुन्छ ।

'एडिस एजेप्टाई’ लामखुट्टे
यो लामखट्टे कालो रंगको हुन्छन् जसमा सेतो थोप्लो बनेको हुन्छ ।दिनमा मुख्य रूपले सूर्योदयदेखि सूर्यास्त हुँदासम्म यो लामखुट्टे बढी सक्रिय रहन्छ । यसले घर भित्र/बाहिर सफा/स्थिर पानीमा फुल पार्छ । पानी सुकेपछि पनि यसको फुल एक वर्षसम्म जीवितै रहन सक्छ ।

यो लामखुट्टे प्रजनन् क्षेत्रको १०० देखि २०० मिटर वरपर उड्ने गर्छ । तर बढी उचाइसम्म यो उड्न सक्दैन ।

'एडिस एल्वोपेक्टस’ लामखुट्टे
‘एडिस एजेप्टाई विश्वव्यापी रूपमै डेंगु सार्ने मुख्य भेक्टर(किट) हो । यो घरभित्र वा बाहिर टोक्नुका साथै फुलसमेत पार्ने गर्छ । तर, ‘एडिस एल्वोपेक्टस’ केही क्षेत्रमा डेंगु सार्ने मुख्य भेक्टर भए पनि धेरैजसोसेकेन्डरी भेक्टर हो । यो धेरैघरबाहिर र बगैंचा पाइने
लामखुट्टे हो । यसलार्ई एसियन टाइगर मस्क्युटोसमेत भनिन्छ ।
रोग सार्ने लामखुट्टेको पहिचान
डेंगु रोग सार्ने पोथी लामखुट्टेले स्थिर, सफा पानी रहेका भाँडाकुडा, बट्टा, खोल लगायतका वस्तुमा पारेको फुल करिब ४०० दिनसम्म जीवित रहन्छ ।

सामान्य रूपमा एउटा पोथी लामखुट्टेले करिब एक सयसम्म फुल पार्छ । एडिस लामखुट्टेले सिधा पानीमा फुल नपारेर पानी भएको बाटा, भाँडाकुँडाको आन्तरिक पर्खालमा टास्सिने गरी फुल पार्छ ।

यो फूल पानी नपाउने अवस्थामा समेत ४०० दिनसम्म बाँच्न सक्छन् भने त्यो खाली भाँडाकुँडामा पानी परेपछि फुल तत्कालै लार्भामा परिणत हुन्छ । यस्ता भाँडाकुँडा, बट्टा, खोल फोहोर आदि ठाउँमा रहिरहँदासमेत वर्षायाममा डेंगु उत्पन्न गर्ने लामखुट्टे हुर्किन थाल्छ ।

रोकथाम र बचाउ
  • घरवरपर सफा राखौं
  • दिउँसो शरीर छोप्ने लुगा लगाऔं
  • पानीका भाँडाकुँडा, ट्यांकी छोपेर राखौं
  • अनावश्यक पानीको चुहावट रोकौं
  • पाँच दिनभन्दा बढी पानी एकत्रित गरेर नराखौं
  • घरमा कोही डेंगु संक्रमित भएमा उसलार्ई झुलभित्र सुताउने गरौं
  • लार्भा नष्ट गरौं,
  • डेंगु संक्रमित व्यक्तिले आफ्नो हेरचार गर्नुको साथै अन्यलार्ई सर्न नदिन सचेतता अपनाऔं

क्लासिकल डेंगुका लक्षण
  • चिसो लाग्नुको साथै अचानक ज्वरो बढ्नु
  • धेरै कमजोरी महसुस हुनु
  • मुखको स्वाद बिग्रनु
  • भोक नलाग्नु
  • बढी वाकवाकी लाग्नु
  • टाउको, मांसपेशी र जोर्नीमा दुखाइ हुनु
  • आखाँको पछिल्लो भाग (गेडी) दुख्नु
  • घाँटीमा हलुका दुखाइ हुनु
  • शरीरमा रातो गुलाफी बिमिरा (रैस) हुनु
  • रोगी धेरै दुःखी वा बिरामी भएको महसुस गर्नु

प्रकाशित : असार १४, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

अध्यागमन नियम फेर्दै बेलायत

पूर्वविदेशमन्त्री तथा प्रधानमन्त्रीका दाबेदार बोरिस जोन्सन ‘पोइन्ट’ मा आधारित अस्ट्रेलियन प्रणालीको पक्षमा
नवीन पोखरेल

लन्डन — बेलायती प्रधानमन्त्रीका लागि बलियो दाबेदार ठानिएका बोरिस जोन्सनले अध्यागमन नियन्त्रणमा जोड दिएका छन् । प्रधानमन्त्री टेरेजा मेको राजीनामापछि कन्जरभेटिभ दलको नेता चयन प्रक्रियामा उनी निकै बलियो देखिएका छन् ।

प्रधानमन्त्री चयनको दौडमा पहिलो स्थानमा रहेका पूर्वविदेशमन्त्री जोन्सनले ब्रेक्जिटपछि अध्यागमन नियन्त्रण गर्न अस्ट्रेलिया जस्तो पोइन्टमा आधारित प्रणाली ल्याउने अठोट गरेका हुन् ।

सत्तारुढ दल कन्जरभेटिभको नेता बन्न प्रतिस्पर्धामा रहेका जोन्सन र जेरमी हन्ट अहिले विभिन्न बहसमा व्यस्त छन् । दलको नेता नै करिब महिना दिनपछि बेलायतको नयाँ प्रधानमन्त्री हुने निश्चित छ । पूर्वविदेशमन्त्री जोन्सनले बेलायतमा ‘पोइन्ट’ मा आधारित अस्ट्रेलियन अध्यागमन प्रणाली अवलम्बनबारे राम्ररी हेर्न माइग्रेसन एड्भाइजरी कमिटीलाई आहृवान गर्ने बताएका हुन् । माइग्रेसन एड्भाइजरी कमिटी सरकारलाई अध्यागमनसम्बन्धी राय सुझाव दिने एक स्वतन्त्र निकाय हो ।

युरोपेली संघबाट बेलायतको बहिर्गमनबारेको जनमतसंग्रहको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेका जोन्सनले ‘अस्ट्रेलियाली प्रणालीबाट बेलायतले सिक्नुपर्ने’ बताएका छन् । तर, जोन्सनले अस्ट्रेलियन सिस्टमको कस्तो पक्ष अंगाल्न खोजेका हुन् भन्ने प्रस्ट भइसकेको छैन । बोरिसले उच्च शिक्षा अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थी र बेलायतमा भइसकेकाका परिवार झिकाउन कस्तो नियम चाहेका हुन्,त्यो स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

अस्ट्रेलियन प्रणालीमा उमेर, सिप, शैक्षिक योग्यता, अंग्रेजी भाषा ज्ञान, जागिर अफर आदिका आधारमा पोइन्ट दिइन्छ र उच्च स्कोर प्राप्त गर्न सक्नेले भिसा पाउँछन् । त्यसो त बेलायतमा यसअघि नै ईयूबाहेकका नागरिकका हकमा पोइन्टमा आधारित भिसा प्रणाली लागू भइसकेको छ । पढ्न ‘टियर फोर’ छ भने ‘टियर टु’ भिसाअन्तर्गत बेलायतमा जागिर अफर र तलब ‘थ्रेसहोल्ड’ पूरा भए काम गर्न अनुमति (वर्क परमिट) हुनेछ ।

ब्रेक्जिट जनमतसंग्रह हुनु करिब ३ साताअघि जुन २०१६ मा पनि जोन्सन, प्रीति पटेल, माइकल गोभलगायत नेताले अस्ट्रेलियन सिस्टमको समर्थन गरी विज्ञप्ति निकालेका थिए । त्यतिबेला ब्रेक्जिट पक्षधरले अर्को आमनिर्वाचनसम्म पोइन्टमा आधारित अस्ट्रेलियन अध्यागमन प्रणाली अवलम्बन गर्ने बताउँदै ईयू नागरिकहरूको निर्बाध रूपमा बेलायत बस्न र काम गर्न पाउने अधिकारसहित ईयूले बेलायतको सामाजिक सुरक्षा प्रणालीमा जमाएको नियन्त्रण अन्त्य हुने जिकिर गरेका थिए ।

बेलायत सरकारको अहिलेको नीतिमा ब्रेक्जिटपछि दक्ष कामदारहरूले रोजगारदाताबाट स्पोन्सरसिपसहित वार्षिक न्यूनतम ३० हजार पाउन्ड तलब हुनुपर्ने प्रावधान छ । न्यून सिप भएका कामदारलाई पनि बेग्लै स्किम छ तर उनीहरूका लागि एक वर्षको मात्र भिसा हुने जनाइएको छ ।

बेलायत ईयूबाट बाहिरिनुपर्ने अभियान (लिभ क्याम्पियन) को प्रमुख मुद्दा नै अध्यागमन नियन्त्रण थियो । कन्जरभेटिभ नेतृत्वको सरकारले सन् २०१० देखि नै खुद आप्रवासन (मानिस बेलायतआउने र छाड्नेबीचको अनुपात)बर्सेनि एक लाखमा झार्नेप्रतिबद्धता व्यक्त गर्दै आएको छ ।यद्यपि, सरकारको यस योजना सोचेजस्तो भएन ।

बेलायत सरकारले ब्रेक्जिटपछि ईयू नागरिकलाई अहिले जस्तो बेलायत आउन र काम गर्न बन्देज लगाउने यसअघि नै घोषणा गरिसकेको छ । ब्रेक्जिट संक्रमणकाल सन् २०२१ पछि दक्ष कामदारहरूका लागि कस्तो अध्यागमन प्रणाली ल्याउने भन्नेबारे पनि परामर्श भइरहेको छ ।

प्रकाशित : असार १४, २०७६ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्