मोतियाविन्दु दुर्गममा बढी

अतुल मिश्र

काठमाडौँ — दुर्गम क्षेत्र, पिछडा वर्ग, सीमान्तीकृत समुदाय तथा महिलामा मोतियाविन्दुको समस्या अधिक छ । थोरै मात्रामा बालबालिका पनि यो रोगबाट पीडित छन् । 

समग्र जनसंख्याको करिब शून्य दशमलव २ प्रतिशत मोतियाविन्दुले ग्रस्त छन् । ६० वर्षमाथिका करिब आधाजति जनसंख्यामा यो समस्या छ । आँखाको लेन्समा सेतोपन देखिने भएकाले मोतियाविन्दु प्रभावितहरू राम्ररी हेर्न सक्दैनन् ।

‘मुलुकमा मोतियाविन्दुले अन्धै भएका करिब १ लाख र यो रोगले छोएका ५–६ लाख हुने आकलन गरिन्छ,’ तिलगंगा इन्स्टिच्युट अफ अप्थेल्मोलोजीका कार्यकारी निर्देशक डा.सन्दुक रुइतले भने । उनले करिब १ लाख २० हजार मोतियाविन्दुको शल्यक्रिया गरिसकेका छन् । सन् २०१०–११ मा भएको सर्वेक्षणले मुलुकको ०.३५ प्रतिशत जनसंख्यामा अन्धोपन रहेको देखाएको छ । सम्पूर्ण अन्धोपनको करिब ६५ प्रतिशत कारण मोतियाविन्दुलाई नै मानिएको छ ।
उमेरसँगै लाग्ने यो रोग घाममा बढी बिताउने, घरीघरी झाडापखाला भएर शरीरमा असन्तुलन भएका, मधुमेह भएका र अन्य औषधि सेवन गर्नेहरूमा बढी देखिन्छ । घरभित्रको वायुप्रदूषणले समेत यो समस्या हुन सक्ने अध्ययनहरूमा देखिएको छ ।

मोतियाविन्दुको शल्यक्रियालगायत आँखाको उपचार सेवा छिमेकी मुलुकको दाँजोमा नेपालमा अझ राम्रो रहेको औंल्याउँदै डा. रुइतले साधारण तरिकाले शल्यक्रिया गर्दा करिब २ हजार रुपैयाँ र अन्य प्रविधि जोडेर गर्दा करिब ९–१० हजार लाग्ने गरेको बताए ।

मोतियाविन्दुको शल्यक्रियापछि आँखामा लाग्ने लेन्स नेपालमै उत्पादन हुनुका साथै सस्तो भएकाले प्रभावित व्यक्तिहरूलाई सहज भएको छ । नेपाल यो लेन्स उत्पादनमा आत्मनिर्भर छ ।

नन फोल्डेबल (मोड्न नसकिने) लेन्सको मूल्य ३ सय र फोल्डेबल लेन्सको मूल्य १३ सयजति पर्छ । बच्चाहरूमा हुने जन्मजात मोतियाविन्दुको शल्यक्रिया भने अर्कै खालको प्रविधिले गरिन्छ । बच्चामा हुने मोतियावन्दुको कारणसमेत थाहा पाउन गाह्रो हुन्छ ।

‘बच्चामा टेडोपन देखियो, जन्मेको केही पछि उसको आँखामा प्रकाश पर्दा गाह्रो अनुभव गरे तुरुन्त देखाउनुपर्छ,’ डा. रुइतले भने । तिलगंगाका प्रोजेक्ट म्यानेजर मोहनकृष्ण श्रेष्ठका अनुसार मुलुकमा हाल दुई लाखभन्दा बढी व्यक्तिमा मोतियाविन्दुको समस्या छ । मोतियाविन्दुमा आँखाको दृष्टि बिस्तारै कम हुन थाल्छ र धमिलो देखिन्छ । यसमा कुनै दुखाइ हुँदैन । घाममा चस्मा लगाउँदा मोतियाविन्दुको प्रभाव कम गर्न सकिन्छ ।

प्रकाशित : असार १९, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

रोशनले संसार देखेपछि भने, ‘अब म स्कुल जान्छु’

प्रताप विष्ट

(हेटौंडा) — डा. सन्दुक रुइतले जब आँखाको पट्टी खोलिदिए, रोशन थिङ चिच्याए, ‘मैले सबैलाई देखें ।’ डा. रुइतको अनुहार र टाउको मुसारे । डा. रुइतले औंला देखाएर सोधे, उनले फटाफट गने । डा. रुइत दंग देखिए । थिङको अनुहारमा पनि खुसी छचल्किरहेको थियो । 

हेटौंडा उपमहानगरपालिका–१४ स्थित उत्तरपानीका १३ वर्षीय थिङका दुवै आँखा तीन वर्षदेखि बन्द थिए । आँखाले देख्न छाडदा उनी स्थानीय विद्यालयमा २ कक्षामा अध्ययन गर्दै थिए । हेटौंडा सामुदायिक आँखा अस्पतालले एक साताअघि सञ्चालन गरेको नि:शुल्क आँखा शिविरमा हजुरआमा माइलीमाया थिङले रोशनलाई पिठ्युँमा बोकेर ल्याएकी थिइन् । चिकित्सकले परीक्षण गर्दा दुवै आँखा मोतियाविन्दु भएको पत्ता लाग्यो । मंगलबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनको शल्यक्रिया गरियो । उनका दुवै आँखाको शल्यक्रिया डा. रुइतले नै गरेका थिए । उनको आँखाको पट्टी बुधबार खोलिएको हो ।

आँखा देख्नेबित्तिकै थिङले हजुरआमालाई खोजे । हजुरआमा नजिकै आएपछि दुवै मजाले हाँसे । उनलाई हजुरआमाले नै हुर्काउँदै आएकी छन् । ‘अब म स्कुल जान्छु,’ थिङले भने, ‘आँखा नदेखेर मात्र पढ्न जान नसकेको हो ।’

थिङसँगै शल्यक्रिया गरिएकी ९७ वर्षीया फूलमाया श्रेष्ठ आँखा देख्न थालेपछि खुसीले रोइन् । ‘म २ वर्षदेखि कुजो भएर बसेकी थिएँ,’ उनले डा. रुइतको हात समाउँदै भनिन्, ‘अहिले दुवै आँखा देखें, तिमी भगवान रहेछौं ।’ उनका दुवै आँखाको शल्यक्रिया मंगलबार डा. रुइतले नै गरेका थिए ।

बारा मधुवनकी श्रेष्ठलाई दुवै आँखाको शल्यक्रिया गर्न अस्पताल नै ल्याइएको थियो । हेटौंडा उपमहानगरपालिका–१४ का ७९ वर्षीय वीरबहादुर थोकर पनि आँखा देख्न थालेपछि खुसी छन् । उनले चार वर्षपछि आँखा देख्न पाएका हुन् । ‘घर भित्रबाहिर गर्न पनि सक्तिनथेँ,’ उनले भने, ‘अब बाहिरी संसार देख्ने भएँ ।’

मंगलबार र बुधबार गरेर २ सय जनाको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गरिएको थियो । दुवै आँखाको शल्यक्रिया भने रोशन, फूलमाया र वीरबहादुरको मात्र गरिएको हो ।

मोतियाविन्दुका रोगी खोजी गर्न हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको उत्तरपानी, भार्ता, कालिकाटार, बाराको लालरतनपुर र सर्लाहीको रामानगर नि:शुल्क शिविर सञ्चालन गरेको थियो । शिविरमा एक हजार २ सय जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये २ सय जना मोतियाविन्दुका रोगी रहेको अस्पतालका प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले बताए । रोगीहरूलाई नि:शुल्क शल्यक्रिया गर्न अस्पतालले बसमा हेटौंडा ल्याएको थियो ।

‘अस्पतालले आँखाका बिरामीको मन जितेको छ, अब हाम्रो चुनौती उपलब्धिलाई जोगाउनु र नयाँ उपकरण थप्दै सम्पूर्ण आँखारोगीको उपचार हेटौंडामा हुने व्यवस्था मिलाउनु हो,’ अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठले भने । अस्पतालमा तीन जना नेत्ररोग विशेषज्ञसहित ४० जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत् छन् । अस्पतालले मासिक १६ लाख रुपैयाँ बराबरको रकम शुल्कबापत संकलन गर्ने गरेको छ । अस्पतालमा आँखा परीक्षण गराउन आएका बिरामीमध्ये नयाँसँग दर्ता शुल्क ९० रुपैयाँ र पुरानोसँग ७० रुपैयाँ मात्र दर्ता लिने गरिएको छ । अन्य रकम अस्पतालले लिँदैन ।

प्रकाशित : असार १९, २०७६ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्