तरकारीमा विषादी, सजक रहौं

अतुल मिश्र

काठमाडौँ — के तपाईं हामीले सेवन गर्ने तरकारीमा विषादीको उच्च मात्राको अवशेष त छैन ? तरकारीको नाममा हामी मन्द विष त सेवन गरिरहेका छैनौं ? यदि छ भने, यसले तत्काल केहि समस्या पैदा नगरेपनि कालान्तरमा यसले स्वास्थ्य सम्वन्धि जटिलता, क्यान्सर, बाझोपना तथा अन्य रोग निम्त्याउँछ । 

हाल तरकारीमा विषादीको उच्च अवशेषबारे राष्ट्रव्यापी चर्चा छ । विशेषज्ञहरूले विदेशबाट आउने मात्र नभइ मुलुक मै उब्जिएका तरकारी, फलफूलमा समेत उच्च मात्रामा विषादीको अवशेष रहेको भन्दै आम उपभोक्ताको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन् ।

‘हामी तरकारीको रुपमा दिनहुँ मन्द विष सेवन गरि रहेका छौं’, नेपाल प्वाइजन इन्फरमेसन सेन्टरका क्लिनिकल डाइरेक्टर एवं क्लिनिकल टक्सिकोलजिष्ट डा.श्यामप्रसाद लोहनी भन्छन्, ‘विस्तारै थोरैथोरै मात्रामा तरकारी लगायतबाट विषादीको अवशेष हाम्रो शरीरमा जम्मा भइरहेको छ ।’

मुलुकमा उत्पादितमध्ये केही स्थानका तरकारीमा मात्र विषादीको मात्राबारे अध्ययन गरिएको छ । तर विषादीको अवशेषले नेपालीको स्वास्थ्यमा कस्तो प्रभाव गरिरहेको वा गर्न सक्छ भन्नेबारे कुनै अध्ययन छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विषादी सम्भावित रूपले मानव स्वास्थका लागि प्रतिकूल हुनुका साथै दीर्घकालीन प्रभाव पार्छ । तर शरीरमा देखिने विषादीको प्रभाव यसको मात्रामा निर्भर गर्छ ।

विश्वमा करिब एक हजारभन्दा बढी प्रकारका विषादी उपयोगमा छन् । मुलुकमा देखिएको क्यान्सर, उच्च रक्तचाप, मृगौला/कलेजोसम्बन्धी समस्या, मधुमेह, नपुंसकता, बाझोपना, मस्तिष्कमा असर, स्मरणशक्तिमा ह्रास, डिप्रेसनलगायत नसर्ने रोगको एक मुख्य कारण शरीरमा बढदै विषादीको मात्रा पनि हो ।

‘नङ, कपाल मात्र हैन शरीरका हरेक अवयवमा तरकारी लगायतका खाद्य पदार्थमार्फत ग्रहण गरेको विषादीको अवशेष पाइन्छ,’ भेटनरी टक्सिकोलजी विज्ञ डा. शीतलकाजी श्रेष्ठ भन्छन्, ‘धेरैजसो विषादी बोसोसँग टाँस्सिने हुन्छन्, यसले स्तन क्यान्सरसमेत बढ्दो छ ।’

तरकारीमा विषादीको अवशेष देखिनेबित्तिकै खानै नहुने भने होइन । अधिकतम विषादीको अवशेष वैज्ञानिकद्वारा निर्धारित मात्राभन्दा कम छ भने खान सकिन्छ । तर दैनिक रुपमा एक व्यक्तिले जम्मा कति विषादी सेवन गर्ने भन्ने प्रश्नसमेत छ ।

डा. श्रेष्ठका अनुसार सकेसम्म तरकारीमा विषादीको अवशेष नहुनु उत्तम हो । तर अवशेष भएको खण्डमा कति मात्रा शरीरका लागि अनुपयुक्त हुँदैन भन्नेबारे सचेत हुनु आवश्यक छ । मुलुकमा नभए पनि अन्य देशमा भएका अध्ययनका आधारमा तरकारीलगायतका खाद्यान्नमार्फत मानिसको शरीरमा विषादीको अवशेष थुप्रिँदै जाँदा नसर्ने प्रकृतिका रोग बढेको अनुमान लोहनीको छ । उनका अनुसार मुलुकमै उब्जाइएका तरकारीमा विषादी छर्किएको दोस्रो दिन नै बजार पठाइन्छ । जुन मानव स्वास्थका लागि निकै घातक छ ।

‘यही उमारिएको वा अन्य देशबाट आएको सागसब्जी होस्, विषादीको मात्रा अन्य देशका तुलनामा नेपालमा बढी देखिएको छ,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वातावरण स्वास्थ्य विशेषज्ञ डा. मेघनाथ धिमाल भन्छन्, ‘आफनै कृषकले विषादी छर्केर केही दिनमै बजारमा पठाउने चलनले नेपालीको शरीरमा विषादीको अवशेष वृद्घि भइरहेको छ ।’

तरकारीमा छर्केपछि विषादीको अवशेष एकदेखि दुइ सातासम्म रहन्छ । नेपाल कृषि अनुसन्धान परिषद्, बागवानी अनुसन्धान महाशाखा प्रमुख डा.ईश्वरीप्रसाद गौतम भन्छन्, ‘कृषकले विषादी उपयोग गरेपछि तरकारी बजारमा नपठाउन निर्धारण गरिएको समयको पालना गरे समस्या विकराल हुँदैन ।’

मुलुकमा बर्सेनि आउने करिब ६ सयदेखि ६ सय ५० मेट्रिक टन विषादीमध्ये करिब ८० प्रतिशत तरकारीमै उपयोग हुने गर्छ । यो तथ्यांकले तरकारीमा विषादीको उपयोग भयावह रहेको देखिन्छ । लोहनी भन्छन्, ‘तरकारीलाई जतिसुकै पकाउँदा वा तताउँदा यसमा रहेको विषादीको अवशेष नष्ट हुँदैन ।’ केही अध्ययनले नेपालीको रगतमा अरग्यानोक्लोरिन डीडीटीको अवशेषसमेत पाइएको छ ।

‘डीडीटीको अवशेष पहिलेदेखिकै हो वा भारतबाट आयात गरिएको तरकारीका कारण हो प्रस्ट छैन,’ लोहनी भन्छन्, ‘नेपालमा दुई दशकअघि डीडीटी प्रतिबन्धित भए पनि भारतमा अझै यसमा प्रतिबन्ध लगाइएको छैन ।’

अझै पनि तरकारीमा देखिने डीडीटी, बीएचसी, लिन्डेन, इन्डो सल्फान विषादी नेपालमा प्रतिबन्धित छन् । अध्ययनअनुसार नेपालमा पाइने टिम्मुरमा समेत विषादीको अवशेष पाइएको छ । तर नेपालमा टिम्मुका बोटमा विषादी उपयोग गरिँदैन । अध्ययनका अनुसार जलवायु परिवर्तनले समेत विषादी प्रयोगको मात्रा बढेको छ ।

सागसब्जी फल, अनाजमा कुनै गम्भीर रोग, कीरा नलागोस् भनेर किसानलाई सन्तुलनमा रहेर वैज्ञानिक विधिको पालना गर्दै विषादी उपयोग गर्ने सल्लाह दिइन्छ । विषादीले कृषि उत्पादनलाई कीरा तथा रोगबाट रोकथाम गर्नुका साथै कुहिनबाट समेत जोगाउँछ । तर विषादीको यही खुबीको उत्पादकले गलत उपयोग गरेका कृषि विज्ञ समेत स्विकार्छन् ।

कौसीमा तरकारी
तरकारी, साग, फलफूलमा हुने मिसावट तथा विषादीबाट बच्न आफ्नै घरमा सागसब्जी उमार्ने चलनसमेत बढ्दो छ । परिवारमा सबैले शुद्घ, उच्च गुणस्तरको तरकारी खान करेसाबारी, छत, कौसीलगायत खाली स्थानमा अर्गानिक किचेन गार्डेन बनाउन सकिन्छ । सहरी क्षेत्रमा टेरेस गार्डेनिङप्रतिको आकर्षणसमेत बढ्दै गएको छ । यो बगैंचामा उपयोग गर्ने मलसमेत आफ्नै भान्सामा बचेका खाद्यपदार्थ, तरकारीका टुक्रालगायतका को माध्यमले बनाइन्छ ।

बगैँचामा काम गर्दा तपाईंले विषादीरहित उच्च गुणस्तरको अर्गेनिक तरकारी मात्र खान पाउने नभई तनावबाट मुक्ति मिल्छ । तपाईंको मस्तिष्क तरकारी उत्पादनमा व्यस्त हुने भएकाले अन्य विषयमा ध्यान जाँदैन ।

बेमौसमीमा विषादी बढी
बिनामौसमको हरियो, आकर्षक तरकारी हेर्नासाथ हामी किन्न तम्सन्छौं । तर प्रकृतिविरुद्घ गएर उमारिएका यी तरकारीको साइड इफेक्ट कम भयावह छैन । यसैले वेमौसमी भन्दा मौसमी तरकारमिा विषादीको मात्रा कम हुन्छ । अफ सिजन तरकारीमा रोग, कीरा बढी लाग्छ ।

डा.गौतमको अनुसार यसैले यस्ता बेमौसमी तरकारीमा बढी मात्रामा विषादी छरेको पाइन्छ । यसैले बेमौसमी तरकारी पकाउन लाग्दा यसबाट विषादी न्यूनीकरण गर्नेप्रक्रिया अपनाउनुपर्छ ।

तरकारीसँगै विषादी र धातु
तरकारीमा पाइने विषादी र मेटल (धातु) बारे अन्य मुलुकमा विभिन्न अनुसन्धान गरिएको छ । यसअनुसार तरकारीसँगै हामीहरू थुप्रै प्रकारको विषादी र धातु खाने गरेका छौं ।

‘यसअन्तर्गत एन्डोसल्फान, एचसएच, एल्ड्रिनजस्ता घातक विषादी हुन्छन् भने कपर, लिड, केडमियम, क्रोमियमजस्ता खतरनाक धातु हुन्छन्’, त्रिवि रसायन शास्त्र केन्द्रीय विभाग, रसायन शास्त्री, प्रा.डा.विनय झा भन्छन् । तरकारीसँगै शरीरमा गएर यी विषादी तथा धातुले नोक्सान पुर्‍याउँछन् । तरकारी पचेर गए पनि विषादी र धातुको रूपमा पुगेको विष शरीरका विभिन्न सम्वेदनशील अंग, बोसो तथा तन्तुमा थुप्रिन्छ ।

यसले मृगौला, फोक्सो, मुटु, कलेजोलगायत विभिन्न स्वास्थ्यसँग सम्बन्धित समस्यासँगै क्यान्सर लगायतको जटिल रोग निम्त्याउँछ ।

कस्तो तरकारी खाने ?
हेर्दा ताजा देखिने, टल्किने वा लोभ लाग्दो तरकारीको सट्टा हल्का कीरा लागेको, मध्यम आकारको, सामान्य टलक भएको तरकारी उपयोग गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । पालक, गोलभेडा, बैगन, भेडेखुर्सानी, काउली, बन्दा, लौका, सागलगायतका तरकारीमा व्यापक मात्रामा पेस्टिसाइड उपयोग गरिन्छ । बढी कीरा लाग्ने सम्भावना भएको सागसब्जीमा कृषकहरूले बढी मात्रामा विषादी उपयोग गर्ने गरेका छन् ।

यस्तै, बेमौसमी तरकारीमा रोग, कीरा बढी लाग्ने भएकोले किसान धेरै बढी मात्रामा विषादी छर्ने गरेको पाइएकाले यस्ता तरकारीभन्दा मौसमअनुसारका तरकारी राम्रो मानिन्छ । ‘बेमौसमी तरकारी फलफूलमा धेरै बढी कीरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी उपगोग गरेको पाइएको छ,’ नेपाल कृषि अनुसन्धान परिषद्, बागवानी अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतम भन्छन्, ‘बेमौसमी कृषि उत्पादन सम्भव भए नखाऔं खानै परे नुनपानीमा आधा घण्टासम्म डुबाएर त्यसपछि सफा पानीमा पखालेर खाऔं, नुन पानीको घोलले धेरैजसो विष सोस्छ ।’

यदि तपाईं बजारमा राखिएको गोलभेडाको बाहिर सेतोसेतो दाग देख्नुहुन्छ भने त्यो एक दुई दिन अघि विषादी छरेर बिक्री गर्न ल्याइएको संकेत हो ।

तराई र सिमापारिबाट आएको भान्टालाई अत्यन्त टल्किने बनाउन र लामो समयसम्म ताजा राख्न विषादीको झोलमा डुवाउँछन् । अत्यन्त टल्किने राम्रो देखिन यस्ता भान्टा उपयोग नगर्नु नै स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यसैगरी, सागसमेत सुरक्षित छैन । रायो लगायत सागलाई सुरक्षित राख्न ‘डाएथेनिय ४५’, फंगिसाइडको झोलमा डुबाएर बजारमा पठाइन्छ । यसले गर्दा रायोलगायत सागमा लामो समयसम्म ताजापन कायम रहन्छ ।

‘तरकारी किनेर ल्याएपछि १(२ दिन फ्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु राम्रो हुन्छ,’ गौतम भन्छन् । तरकारीको बोक्रा ताछदा केही मात्रामा विषादी कम हुन्छ तर भित्र पसेको विषादी जाँदैन ।

काटेको तरकारीलाई भिनेगरमा डुबाउनुस्
तरकारीमा विषादीको प्रभाव कम गर्न काटेको तरकारीलाई २/४ थोपा भिनेगर हालिएको पानीमा आधादेखि एक घण्टा डुबाएर राख्दा यसको विषादीको प्रभाव धेरै हदसम्म हट्छ । ‘भिनेगर छैन भने कागतीको रसको समेत उपयोग गर्न सकिन्छ,’ त्रिवि रसायन शास्त्र केन्द्रीय विभागका रसायनशास्त्री प्रा.विनय झा भन्छन् । आधादेखि एक घण्टासम्म भिनेगर हालिएको पानीमा काटेको तरकारी डुबाएर राखेपछि सफा पानीमा धोएर उपयोग गर्नुपर्छ ।

रसायनशास्त्री झा सकेसम्म शंकास्पद विषादी हालिएको सम्भावना भएको तरकारी बजारबाट ल्याउनेबित्तिकै उपयोग नगर्ने सल्लाह दिन्छन् । घरमै तरकारीलाई एकदुई दिन राखेर उपयोग गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

बेकिङ सोडा प्रयोग गर्नुस्
जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एक अनुसन्धानअनुसार बेकिङ सोडाको उपयोगले कीटनाशकको असर कम हुन्छ । सोडालाई पानीमा हालेर फल र सब्जीलाई एक मिनेटसम्म पानीमा डुबाउँदा पेस्टिसाइडको असरमा कमी आउँछ । धेरै बढी पेस्टिसाइड उपयोग गरिएको भए बेकिङ सोडाको घोलमा १५ मिनेट डुबाएर राख्नुपर्छ । बेकिङ सोडामा डुबाएको फलफूल तथा तरकारी राम्ररी धोएर उपयोग गर्नुपर्छ ।

वेकिङ सोडामा एक प्रकारको सोडियम बायोकार्बोनेट हुन्छ जसले कीटनाशक सफा गर्छ । पेस्टिसाइडको सबैभन्दा प्रचलित रूप थायबेंडाजोल र फस्फेटलाई यो सजिलै सफा गर्न सक्छ ।

प्रकाशित : असार २८, २०७६ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एन्टिबायोटिक सेवनले हृदयाघातको खतरा 

कान्तिपुर संवाददाता

काठमाडौँ — हालै गरिएको एउटा अध्ययनको दाबीअनुसार लामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्ने महिलालाई उनीहरूलाई हृदयाघात वा स्ट्रोक आउने खतरा बढ्छ । 

यो अनुसन्धान युरोपियन हर्ट जर्नल मा प्रकाशित छ । अध्ययनअन्तर्गत नसैृज हेल्थ स्टडीमा सरिक हुने ३६ हजार ४ सय २९ महिलाको अध्ययन गरियो ।

अध्ययनअनुसार ६० वर्ष वा योभन्दा बढी उमेरका महिला जो दुई महिना वा योभन्दा बढी समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्छन् उनलाइ मुटु रोगको खतरा सबभन्दा बढी हुन्छ ।
४० देखि ५९ वर्ष उमेर भएकी महिलामा समेत एन्टिबायोटिकको लामो समयसम्म उपयोग गर्नाले यसको जोखिम बढ्छ ।

अनुसन्धानकर्तालाई २० देखि ३९ वर्षको महिलामा एन्टिबायोटिकको उपयोगले जोखिम बढ्ने कुनै संकेत देखिएन ।

एन्टिबायोटिकको उपयोग मुटु रोगको बढ्दो जोखिमले जोडिएको सम्भावित कारण छ किनभने एन्टिबायोटिक आन्द्रामा सूक्ष्म वातावरणको सन्तुलन लाई परिवर्तित गर्छ ।

आन्द्रामा सूक्ष्म जीवनको सन्तुलनलाई परिवर्तन गर्न एन्टिबायोटिकको उपयोग सबैभन्दा महत्त्वपूर्ण कारक हो ।

पछिल्लो अध्ययनमा आन्द्राको माइक्रोबायोटिक वातावरणमा परिवर्तन र रगतको नलीको संकुचन र सुन्नाइ, स्ट्रोक र मुटु रोगको बीच एउटा सम्बन्ध देखिएको थियो ।

प्रकाशित : असार २८, २०७६ १०:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT