कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फोक्सोको क्यान्सर 

डा. रक्षा पाण्डे

काठमाडौँ — फोक्सोको क्यान्सर विश्वभर नै मृत्युको प्रमुख कारक मानिन्छ । सन् २०१८ मा संसारभर लगभग १७ लाख मानिसले यसैका कारण ज्यान गुमाए । विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्यांकअनुसार नेपालमा पनि पुरुषहरूमा देखिने क्यान्सरमा फोक्सोको क्यान्सर नै प्रमुख रहेको छ ।

यस्तै महिलामा पनि पाठेघरको क्यान्सरपछि फोक्सोको क्यान्सर समस्याका रुपमा रहेको छ । जब फोक्सोमा रहेका सामान्य कोषहरू असामान्य कोषमा रूपान्तरित भएर अनियन्त्रित रूपमा विकसित हुन थाल्छन् त्यस्तो अवस्थालाई क्यान्सर भनिन्छ ।


फोक्सोका क्यान्सर हुने कारक तत्त्व केके हुन् ?

धूमपान नै फोक्सोको क्यान्सरको प्रमुख कारण हो । धूमपान गर्नेलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसभन्दा १० देखि ३० प्रतिशत बढी हुन्छ । दैनिक कति धूमपान गरिन्छ र कति वर्षसम्म निरन्तर गरिन्छ भन्ने आधारमा क्यान्सरको जोखिम बढ्दै जान्छ । जति वर्षदेखि धूमपान गरिरहेको भए पनि धूमपान गर्न छोडेपछि क्यान्सर हुने जोखिम पनि कम हुन्छ । धूमपान छोडेको ५ देखि १० वर्षभित्रमा क्यान्सर हुने जोखिम कम भएर जान्छ तर, धूमपान छोडेकाहरू धूमपान नै नगरेकाहरूभन्दा बढी जोखिममा हुन्छन् । धूमपान नगरे पनि धूमपान गर्ने व्यक्तिको छेउमा बस्नेलाई पनि क्यान्सर हुने जोखिम रहन्छ ।


फोक्सोको क्यान्सरको अर्को प्रमुख कारक भनेको फोक्सोको दीर्घरोगहरू सीओपीडी, फोक्सोको सतहको कडापन, एस्बेटोस जस्तो वस्तुसँगको संसर्ग, वायु प्रदूषण तथा वंशाणुगत कारण पनि हुन् । बढ्दो उमेरसँगै क्यान्सर हुने जोखिम पनि तुलनात्मक रूपमा बढदै जान्छ ।


फोक्सोका क्यान्सरका कति प्रकार हुन्छन् ?

फोक्सोको क्यान्सरका दुई प्रकार हुन्छ । नन्स्मल सेल लंग्स क्यान्सर (एनएससीएलसी) फोक्सोको क्यान्सर हुने ८० देखि ८५ प्रतिशत रोगीहरूमा एनएससीएलसी देखिन्छ । एनएससीएलसीको सामान्य प्रकार भनेको एडिनोकार्सिनोमा र स्क्वामोस सेल कार्सिनोमा हो ।


स्मल सेल लंग्स क्यान्सर (एससीएलसी) १० देखि १५ प्रतिशत रोगीमा भने एससीएलसी देखिन्छ । एससीएलसी एनएससीएलसीभन्दा छिटो विकसित हुन्छ । तसर्थ यो प्रकारको क्यान्सर भएको पत्ता लाग्नु पूर्व नै बिरामीको मृत्यु पनि हुन सक्छ । केही निकै सुस्त ढंगमा विकसित हुने कार्सिनोयड ट्युमरजस्तो फोक्सोको क्यान्सर पनि हुन्छ ।


फोक्सोको क्यान्सरको भएको लक्षण के हुन् ?

विभिन्न रोगीमा क्यान्सरको लक्षण पनि भिन्न हुन्छन् । कुनै रोगीमा पनि अन्तिमसम्म पनि कुनै पनि लक्षण नै देखिँदैन । तर, धेरैमा भने अरू नै कुनै कारणले छातीको एक्सरे गर्दा क्यान्सर भएको पत्ता लाग्ने गर्दछ । लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, श्वास लिँदा कठिन हुनु, श्वास फेर्दा छाती कराउनु, आवाजमा परिवर्तन आउनु, मुख सुन्निनु, घाँटीमा गिर्खा आउनु, छाती र हात दुख्नु, कसैकसैमा अनियन्त्रित रूपमा वजन घट्ने समस्या पनि लक्षणको रूपमा देखिन सक्छ ।


फोक्सोको क्यान्सर भएको निर्क्योल कसरी गरिन्छ ?

पहिला त चिकित्सकले सामान्य परीक्षण र बिरामीको इतिहासलाई मध्यनजर गर्दै फोक्सोको क्यान्सर भएको आशंका गर्छन् र एक्सरेलगायतका परीक्षण गर्छन् । त्यसमा केही अस्वाभाविक विकास भएको देखिए थप परीक्षणहरू गर्नुपर्ने हुन्छ ।


सामान्यतः फोक्सो क्यान्सर भएको आशंका भए त्यसलाई निर्क्योल गर्न सिटीस्क्यान गरिन्छ र क्यान्सर रहेको भए त्यसको अवस्थिति र आकार हेरिन्छ । सिटीस्क्यानले छातीमा रहेको लिम्फ नोड्सको अवस्था पनि देखाउँछ । सिटीस्क्यानमा ट्युमर भएको स्थान पत्ता लगेपछि त्यो ट्युमरको बायप्सी गरेर क्यान्सर भए/नभएको र त्यसको प्रकारको निर्क्योल गर्नुपर्छ । त्यो ब्रोन्कोस्कोपीको माध्यमबाट गर्न सकिन्छ । फोक्सोभन्दा बाहिर ट्युमर फैलिएको छ/छैन भनेर हेर्नका लागि पेट स्क्यान गर्ने गरिन्छ ।


कुन तहको क्यान्सर हो भनेर कसरी थाह हुन्छ ?

क्यान्सरको तह मापन गर्ने भनेको क्यान्सर कतिसम्म फैलिएको छ भनेर निर्क्योल गर्ने हो । एनएससीएलसीमा ट्युमरको आकार, लिम्फ ग्ल्याण्ड्स र ट्युमर बाहिर कति फैलिएको छ भनेर हेरिन्छ । यसको चार तह हुन्छन् । पहिलो तहको क्यान्सर भनेको सुरुवाती चरणमा हुन्छ भने चौथो तहको क्यान्सर पूर्ण रुपमा विकसित भइसकेको अवस्था हो । जुन फोक्सो बाहिर पनि फैलिसकेको हुन्छ । एससीएलसीमा भने ट्युमर फोक्सो भित्र छ वा बाहिर छ भनेर तह निर्धारण गरिन्छ ।


क्यान्सरको तह निर्धारणले उपचारमा कसरी सहयोग गर्छ ?

क्यान्सरको तह निर्धारणले कस्तो प्रकारको उपचार पद्धति अपनाउने भन्ने निर्णय लिनलाई सहयोग गर्छ । यस्तै उपचारका क्रममा बिरामीमा देखिन सक्ने समस्यालाई पनि निर्धारण गर्न सहयोग गर्छ । पहिलो चरणको क्यान्सर भएका बिरामीहरू उपचार सुरु गरेको पाँच वर्षभन्दा बढी बाँच्ने गर्छन् भने चौथो चरणको क्यान्सर देखिएकाहरू भने ५ प्रतिशत पाँच वर्षभन्दा बढी बाँच्छन् । यसले क्यान्सर भए/नभएको समयमै किन पत्ता लगाउनुपर्छ भन्ने पुष्टि गर्छ ।


फोक्सोको क्यान्सरको उपचार प्रक्रिया के हो ?

फोक्सोको क्यान्सरको उपचार प्रक्रिया क्यान्सर कुन चरणमा छ भन्ने कुराले निर्धारण गर्छ । एकपटक क्यान्सर भएको निर्क्योल भइसकेपछि बिरामीलाई क्यान्सर विशेषज्ञ कहाँ थप उपचारका लागि पठाइन्छ । त्यसपछि क्यान्सरको प्रकार, चरण, बिरामीको शारीरिक अवस्थाका आधारमा उपचार अगाडि बढ्छ । सामान्यतः क्यान्सरको उपचार प्रक्रिया भनेको किमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया नै हो ।


पहिलो चरणको क्यान्सरका लागि शल्यक्रिया उपयुक्त हुन्छ । शल्यक्रिया गर्न नमिल्ने बिरामीलाई रेडियोथेरापीले पनि फाइदा गरेको देखिन्छ । विकसित क्यान्सर देखिएका बिरामीलाई भने किमो र रेडियोथेरापी दुवै आवश्यक हुन सक्छ ।


यदि माथि उल्लेखित कुनै पनि उपचार प्रक्रिया बिरामीको अवस्थाले धान्न सक्दैन भने के उपाय बाँकी रहन्छ ?

यदि विभिन्न कारणवश बिरामीको माथि उल्लेखित प्रक्रियाद्वारा उपचार गर्न नमिल्ने अवस्था भए पनि बिरामीले पीडा भोग्नुपर्छ भन्ने छैन । उनीहरूको पीडा कम गर्नका लागि विभिन्न सहयोगी उपचार पद्धति उपलब्ध छन् । जसलाई चिकित्सकीय भाषमा प्यालेटिभ केयर भनिन्छ । उनीहरूको खोकी, दम र पीडा कम गर्नका लागि चिकित्सकले विभिन्न औषधि दिन्छन् ।


प्याटेलिभ केयर भनेको रोग निको पार्नका लागि नभई रोगका लक्षणबाट बिरामीलाई थप पीडा हुन नदिनका लागि हो । यस प्रकारको उपचार दिनका लागि नेपालमा केही हस्पिस सेन्टरहरू पनि छन् ।


(डा. पाण्डे श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ हुन् ।)

प्रकाशित : श्रावण ४, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?