हिलो लाग्ला

किसानलाई बढी सताउने यो समस्या फङगस (ढुसी) र ब्याक्टेरिया (जीवाणु) को संक्रमण, फोहोर पानीका कारण हुने गर्छ
अतुल मिश्र

काठमाडौँ — वर्षायाम सुरु भएसँगै कतिपय मानिस खुट्टाका औंलाका कापमा घाउ हुने समस्याबाट पीडित हुन्छन् । खासगरी खेती किसानीमा लाग्नुपर्नेलार्ई यो समस्याले बढी सताउने गर्छ । त्यसैले यसलार्ई बोलीचालीको भाषामा यसलार्ई हिलोले खानु भनिन्छ । 


हिलोले खाँदा खुट्टाको औंलाको कापमा घाउ हुनुका साथै चिलाउनु, पानी/पिप बग्नु, सुन्निनु, फोका आउनु, छाला उप्किनु, गनाउनुलगायत समस्या देखिन्छन् । चिकित्सकीय भाषामा भन्ने हो भने यो समस्या फङगस अर्थात् ढुसी र ब्याक्टेरिया (जीवाणु) को संक्रमणले गर्दा हुन्छ ।

‘यो फोहोर पानीको सम्पर्कमा आउनाले, स्थान विशेषमा हुने विशेष घर्षण, खुम्चिएको छाला आदिले हुन्छ,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार यो मौसममा सडकमा जमेको पानी वा हिलोले गर्दा संक्रमण हुने आशंका बढी हुन्छ । वर्षायाममा वातावरणमा गर्मीसँगै ओसिलोपना बढी हुने भएकाले छालामा ब्याक्टेरिया र फङगसको संक्रमण बढी हुन्छ । यो मौसममा ब्याक्टेरिया र फङगसलार्ई बाँच्न अनुकूल हुन्छ ।

धेरै समय पानी, खेतबारीमा काम गर्नेहरू, वर्षायाममा खाली खुट्टा हिँडनेहरू वा चप्पल आदि लगाउँदा औंला निरन्तर पानी, हिलो, फोहोर आदिको सम्पर्कमा रहनेहरूमा यो समस्या बढी देखिन्छ ।

कहिलेकाहीँ लामो समयसम्म निरन्तर जुत्ता लगाउनेहरूमा समेत यो समस्या देखिने गरिएको डा. कर्ण बताउँछन् । उनका अनुसार छालामा फङगसको उपचार समयमा नगरे यसले छालालार्ई फुटाउन थाल्छ । प्रायः कुर्कुच्चा चिरा पर्ने समस्या यसै कारण हुने गर्छ ।
यस्तो चिरा समयसमयमा खुल्दा निरन्तर रगत बग्छ । ‘छालामा हुने यो फङगसले सबै व्यक्तिलाई भने संक्रमित गर्दैन । रोग प्रतिरोधक क्षमता कम भएकाहरू, डिसब्याक्टेरियोसी, मधुमेह आदि भएकाहरूलाई बढी प्रभावित पार्छ,’ डा. कर्ण भन्छन् ।

यस्तै कस्सिएको जुत्ता लगाउनेहरूलाई समेत यस्तो समस्याले दुःख दिन सक्छ । जुत्ता आरामदायी हुनुको साथै हावा खेल्ने खालको हुनुपर्छ । यो मुख्य रूपले फोहोरले गर्दा हुने संक्रमण हो । बढी समयसम्म पानी, माटो, हिलोको सम्पर्कमा रहनाले छाला कमलो भएर त्यसमा फङगस र संक्रमण फैलिन थाल्छ ।

‘फङगसको उपचार धेरैजसोले आफ्नो साथीभाइ, छिमेकी आदिको सल्लाहअनुसार आफैंले गर्ने प्रयास गर्छन्,’ डा. कर्ण भन्छन्, ‘तर यदि बिरामीले समयमै छाला रोग विशेषज्ञसँग उपचार गराउँछन् भने एक महिनाको औषधिले समेत निको हुन सक्छ ।’ यसको उपचार धेरै लामो समयसम्म गर्न सक्नुपर्छ । कहिलेकाहीँ त वर्ष दिनसम्म समेत यसको उपचार चल्छ ।

यसरी जोगिनुस्
वर्षायाममा खुट्टालार्ई सफा र सुक्खा राख्नुपर्छ । खुट्टा सफा गर्दा दुई औंलाबीचको भागलार्ई राम्ररी सफा गर्नुपर्छ । दिनहुँ बिहानबेलुका खुट्टालार्ई डिटोल आदि हालेर बनाइएको कीटनाशक घोलले धुँदा निकै फाइदाजनक हुन सक्छ ।

यो समस्याबाट जोगिन कृषकले खुट्टामा पानी लाग्न नदिन र सुक्खा राख्न रबरको जुत्ताको उपयोग गर्न सक्छन् । कृषि कर्म सकाएपछि खुट्टालार्ई राम्ररी धोएर सुकाउँदासमेत यो समस्याबाट जोगिन सकिन्छ ।

भिजेमा वा ओसिलो भएपछि तुरुन्तै सुक्न सक्ने खालको जुत्ता/चप्पल उपयोग गर्नुपर्छ । वाटर प्रुफ चप्पल/जुत्ताको प्रयोग गर्नुपर्छ ।
दिनहुँ घर आएपछि साबुन पानीले खुट्टा सफा गरेर सुक्खा पार्नुपर्छ । मुख्यतः औंलाको कापलार्ई सुकाउनु धेरै आवश्यक छ । यो संक्रमणको उपचारमा एउटा महत्त्वपूर्ण कुरा भनेको तपाईंले लगाउने जुत्ता, मोजा, चप्पललार्ई किटाणु मुक्त राख्नुसमेत हो ।

उपचार
समयमै उपचार गर्नाले यो समस्या निको हुन्छ । डा. कर्णको अनुसार, यदि औंलाको कापमा पिप आइसकेको छ भने चिकित्सकले एन्टिबायोटिकऔषधिसमेत सेवन गर्न प्रस्तावित गर्न सक्छ । यति मात्र नभए ब्याक्टेरिया/फङगस निरोधी औषधि संक्रमण भएको स्थानमा लगाउन समेत प्रस्तावित गर्न सक्छ ।

समस्या सामान्य भए जेनसन भ्वाइलेट औषधि लगाउनु समेत फायदाकारी हुन सक्छ । प्रभावित व्यक्तिले पानी न पस्ने रबरको जुत्ता लगाएर काम गर्नुपर्छ । यसका साथै साथै खुट्टालार्ई सफा र सुक्खा राख्नुपर्छ । यस समस्याको बेलैमा उपचार नगरे ब्याक्टेरियाको संक्रमण फैलिदै जाँदा पिप जम्ने अवस्था (एब्सेस) समेत हुनसक्छ । डा. कर्णका अनुसार एब्सेस हुँदा सामान्य शल्यक्रियाको अवस्थासमेत निम्तिन सक्छ ।

पेडिकेयर गर्नुस्
पेडिकेयर गर्न सबैभन्दा पहिलेहलुका मनतातो पानी लिनुस् । यसमा आधा चम्चा हाइड्रोजन पेरोक्साइड राम्ररी मिसाउनुस् ।
उक्त पानीमा ५–७ मिनेट खुट्टालार्ई डुबाएर राख्नुस् । कम्तीमा यति मात्र गरे पनि हुन्छ तर यसपछि पेडिकेयरअन्तर्गत गरिने विभिन्न प्रक्रियासमेत गर्न सक्नुहुन्छ । तर सफा गरेपछि खुट्टालार्ई सुक्खा राख्नका लागि राम्ररी पुछ्नुपर्छ ।

घरेलु उपचार
तोरी, तेलसँगै बेसारको उपयोगप्राचीनकालदेखि नै गाउँ घरमा यस्तो समस्या हुँदा बेसारको उपयोग गर्ने गरिएको छ । बेसारमा एन्टिसेप्टिक गुणसँगै यसले घाउलाई भर्न सघाउँछ । तोरीको तेलले भने चिलाइको समस्यालाई कम गर्छ ।

तोरीको तेललार्ई तताएर त्यसमा अलिकति बेसार हालेर यो लेपलाई औंलाको बीच घाउ भएको ठाउँमा दिनहुँ तीन/चार पटक लगाउँदा राहत पुग्छ ।

लसुन
लसुनमा ब्याक्टेरियल र एन्टिबायोटिक गुण हुन्छ । यो कुनै पनि प्रकारको फङगल, ब्याक्टेरियल संक्रमणका लागि धेरै प्रभावकारी छ ।

यो समस्या धेरै कडा रूपमा नदेखिएको अवस्थामा लसुनको उपयोग गर्दासमेत फाइदा पुग्न सक्छ ।नेपाली समाजमा परम्परागत रूपमै यस्तो समस्याका लागि लसुनको उपयोग हुँदै आएको औंल्याउँदै डा. कर्ण भन्छन्, ‘तर यदि समस्या धेरै कडा रूपमा देखिएको छ वा परम्परागत उपचार प्रक्रिया गर्दा झन् बढ्ने, बल्झिने आदि भए तुरुन्त छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।’

औंलोको बीचमा दुई पोटी लसुनको पेस्ट बनाएर यसलार्ई तोरीलगायत कुनै तेलमा मिसाएर औंलाको कापलगायत प्रभावित क्षेत्रमा लगाएर एक घण्टापछि मन तातो पानीले धोएर छालालार्ई विस्तारै सुक्खा पार्नु फाइदाजनक हुन सक्छ ।

औंलाको कापमा घाउ भए
लामो समय पानीमा खुट्टा नराखौं
खुट्टा पानीमा राखे वा धोएपछि तुरुन्त पुछौं
नुन हालेको मनतातो पानीले खुट्टा धोऔं
औंला बढी नकन्याऔं

प्रकाशित : श्रावण ४, २०७६ ०८:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फोक्सोको क्यान्सर 

डा. रक्षा पाण्डे

काठमाडौँ — फोक्सोको क्यान्सर विश्वभर नै मृत्युको प्रमुख कारक मानिन्छ । सन् २०१८ मा संसारभर लगभग १७ लाख मानिसले यसैका कारण ज्यान गुमाए । विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्यांकअनुसार नेपालमा पनि पुरुषहरूमा देखिने क्यान्सरमा फोक्सोको क्यान्सर नै प्रमुख रहेको छ ।

यस्तै महिलामा पनि पाठेघरको क्यान्सरपछि फोक्सोको क्यान्सर समस्याका रुपमा रहेको छ । जब फोक्सोमा रहेका सामान्य कोषहरू असामान्य कोषमा रूपान्तरित भएर अनियन्त्रित रूपमा विकसित हुन थाल्छन् त्यस्तो अवस्थालाई क्यान्सर भनिन्छ ।

फोक्सोका क्यान्सर हुने कारक तत्त्व केके हुन् ?
धूमपान नै फोक्सोको क्यान्सरको प्रमुख कारण हो । धूमपान गर्नेलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसभन्दा १० देखि ३० प्रतिशत बढी हुन्छ । दैनिक कति धूमपान गरिन्छ र कति वर्षसम्म निरन्तर गरिन्छ भन्ने आधारमा क्यान्सरको जोखिम बढ्दै जान्छ । जति वर्षदेखि धूमपान गरिरहेको भए पनि धूमपान गर्न छोडेपछि क्यान्सर हुने जोखिम पनि कम हुन्छ । धूमपान छोडेको ५ देखि १० वर्षभित्रमा क्यान्सर हुने जोखिम कम भएर जान्छ तर, धूमपान छोडेकाहरू धूमपान नै नगरेकाहरूभन्दा बढी जोखिममा हुन्छन् । धूमपान नगरे पनि धूमपान गर्ने व्यक्तिको छेउमा बस्नेलाई पनि क्यान्सर हुने जोखिम रहन्छ ।

फोक्सोको क्यान्सरको अर्को प्रमुख कारक भनेको फोक्सोको दीर्घरोगहरू सीओपीडी, फोक्सोको सतहको कडापन, एस्बेटोस जस्तो वस्तुसँगको संसर्ग, वायु प्रदूषण तथा वंशाणुगत कारण पनि हुन् । बढ्दो उमेरसँगै क्यान्सर हुने जोखिम पनि तुलनात्मक रूपमा बढदै जान्छ ।

फोक्सोका क्यान्सरका कति प्रकार हुन्छन् ?
फोक्सोको क्यान्सरका दुई प्रकार हुन्छ । नन्स्मल सेल लंग्स क्यान्सर (एनएससीएलसी) फोक्सोको क्यान्सर हुने ८० देखि ८५ प्रतिशत रोगीहरूमा एनएससीएलसी देखिन्छ । एनएससीएलसीको सामान्य प्रकार भनेको एडिनोकार्सिनोमा र स्क्वामोस सेल कार्सिनोमा हो ।

स्मल सेल लंग्स क्यान्सर (एससीएलसी) १० देखि १५ प्रतिशत रोगीमा भने एससीएलसी देखिन्छ । एससीएलसी एनएससीएलसीभन्दा छिटो विकसित हुन्छ । तसर्थ यो प्रकारको क्यान्सर भएको पत्ता लाग्नु पूर्व नै बिरामीको मृत्यु पनि हुन सक्छ । केही निकै सुस्त ढंगमा विकसित हुने कार्सिनोयड ट्युमरजस्तो फोक्सोको क्यान्सर पनि हुन्छ ।

फोक्सोको क्यान्सरको भएको लक्षण के हुन् ?
विभिन्न रोगीमा क्यान्सरको लक्षण पनि भिन्न हुन्छन् । कुनै रोगीमा पनि अन्तिमसम्म पनि कुनै पनि लक्षण नै देखिँदैन । तर, धेरैमा भने अरू नै कुनै कारणले छातीको एक्सरे गर्दा क्यान्सर भएको पत्ता लाग्ने गर्दछ । लामो समयसम्म खोकी लाग्नु, खकारमा रगत देखिनु, श्वास लिँदा कठिन हुनु, श्वास फेर्दा छाती कराउनु, आवाजमा परिवर्तन आउनु, मुख सुन्निनु, घाँटीमा गिर्खा आउनु, छाती र हात दुख्नु, कसैकसैमा अनियन्त्रित रूपमा वजन घट्ने समस्या पनि लक्षणको रूपमा देखिन सक्छ ।

फोक्सोको क्यान्सर भएको निर्क्योल कसरी गरिन्छ ?
पहिला त चिकित्सकले सामान्य परीक्षण र बिरामीको इतिहासलाई मध्यनजर गर्दै फोक्सोको क्यान्सर भएको आशंका गर्छन् र एक्सरेलगायतका परीक्षण गर्छन् । त्यसमा केही अस्वाभाविक विकास भएको देखिए थप परीक्षणहरू गर्नुपर्ने हुन्छ ।

सामान्यतः फोक्सो क्यान्सर भएको आशंका भए त्यसलाई निर्क्योल गर्न सिटीस्क्यान गरिन्छ र क्यान्सर रहेको भए त्यसको अवस्थिति र आकार हेरिन्छ । सिटीस्क्यानले छातीमा रहेको लिम्फ नोड्सको अवस्था पनि देखाउँछ । सिटीस्क्यानमा ट्युमर भएको स्थान पत्ता लगेपछि त्यो ट्युमरको बायप्सी गरेर क्यान्सर भए/नभएको र त्यसको प्रकारको निर्क्योल गर्नुपर्छ । त्यो ब्रोन्कोस्कोपीको माध्यमबाट गर्न सकिन्छ । फोक्सोभन्दा बाहिर ट्युमर फैलिएको छ/छैन भनेर हेर्नका लागि पेट स्क्यान गर्ने गरिन्छ ।

कुन तहको क्यान्सर हो भनेर कसरी थाह हुन्छ ?
क्यान्सरको तह मापन गर्ने भनेको क्यान्सर कतिसम्म फैलिएको छ भनेर निर्क्योल गर्ने हो । एनएससीएलसीमा ट्युमरको आकार, लिम्फ ग्ल्याण्ड्स र ट्युमर बाहिर कति फैलिएको छ भनेर हेरिन्छ । यसको चार तह हुन्छन् । पहिलो तहको क्यान्सर भनेको सुरुवाती चरणमा हुन्छ भने चौथो तहको क्यान्सर पूर्ण रुपमा विकसित भइसकेको अवस्था हो । जुन फोक्सो बाहिर पनि फैलिसकेको हुन्छ । एससीएलसीमा भने ट्युमर फोक्सो भित्र छ वा बाहिर छ भनेर तह निर्धारण गरिन्छ ।

क्यान्सरको तह निर्धारणले उपचारमा कसरी सहयोग गर्छ ?
क्यान्सरको तह निर्धारणले कस्तो प्रकारको उपचार पद्धति अपनाउने भन्ने निर्णय लिनलाई सहयोग गर्छ । यस्तै उपचारका क्रममा बिरामीमा देखिन सक्ने समस्यालाई पनि निर्धारण गर्न सहयोग गर्छ । पहिलो चरणको क्यान्सर भएका बिरामीहरू उपचार सुरु गरेको पाँच वर्षभन्दा बढी बाँच्ने गर्छन् भने चौथो चरणको क्यान्सर देखिएकाहरू भने ५ प्रतिशत पाँच वर्षभन्दा बढी बाँच्छन् । यसले क्यान्सर भए/नभएको समयमै किन पत्ता लगाउनुपर्छ भन्ने पुष्टि गर्छ ।

फोक्सोको क्यान्सरको उपचार प्रक्रिया के हो ?
फोक्सोको क्यान्सरको उपचार प्रक्रिया क्यान्सर कुन चरणमा छ भन्ने कुराले निर्धारण गर्छ । एकपटक क्यान्सर भएको निर्क्योल भइसकेपछि बिरामीलाई क्यान्सर विशेषज्ञ कहाँ थप उपचारका लागि पठाइन्छ । त्यसपछि क्यान्सरको प्रकार, चरण, बिरामीको शारीरिक अवस्थाका आधारमा उपचार अगाडि बढ्छ । सामान्यतः क्यान्सरको उपचार प्रक्रिया भनेको किमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया नै हो ।

पहिलो चरणको क्यान्सरका लागि शल्यक्रिया उपयुक्त हुन्छ । शल्यक्रिया गर्न नमिल्ने बिरामीलाई रेडियोथेरापीले पनि फाइदा गरेको देखिन्छ । विकसित क्यान्सर देखिएका बिरामीलाई भने किमो र रेडियोथेरापी दुवै आवश्यक हुन सक्छ ।

यदि माथि उल्लेखित कुनै पनि उपचार प्रक्रिया बिरामीको अवस्थाले धान्न सक्दैन भने के उपाय बाँकी रहन्छ ?
यदि विभिन्न कारणवश बिरामीको माथि उल्लेखित प्रक्रियाद्वारा उपचार गर्न नमिल्ने अवस्था भए पनि बिरामीले पीडा भोग्नुपर्छ भन्ने छैन । उनीहरूको पीडा कम गर्नका लागि विभिन्न सहयोगी उपचार पद्धति उपलब्ध छन् । जसलाई चिकित्सकीय भाषमा प्यालेटिभ केयर भनिन्छ । उनीहरूको खोकी, दम र पीडा कमगर्नका लागि चिकित्सकले विभिन्न औषधि दिन्छन् ।

प्याटेलिभ केयर भनेको रोग निको पार्नका लागि नभई रोगका लक्षणबाट बिरामीलाई थप पीडा हुन नदिनका लागि हो । यस प्रकारको उपचार दिनका लागि नेपालमा केही हस्पिस सेन्टरहरू पनि छन् ।

(डा. पाण्डे श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञ हुन् ।)

प्रकाशित : श्रावण ४, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT