भाइरल हेपाटाइटिसको जोखिम

अतुल मिश्र

काठमाडौँ — तपार्ईंमा भाइरल हेपाटाइटिसको संक्रमण त छैन ? एक सामान्य परीक्षणले आफ्नो शरीरमा यो भाइरसको उपस्थितिबारे यकिन हुन्छ । धेरै नेपाली आफूलार्ई भाइरल हेपाटाइटिस छ वा छैन भन्ने जानकार छैनन् ।

कतिपय मानिसले बीदेश जानुअघि गराउनुपर्ने स्वास्थ्य परीक्षणका क्रममा हेपाटाइटिसकोभाइरस रहे/नरहेको थाहा पाउँछन् । तर तीमध्ये धेरैलार्ई यो संक्रमण कसरी भयो भन्नेबारे यकिन जानकारी हुँदैन ।

भाइरल हेपाटाइटिस नेपाललगायत दक्षिण पूर्व एसीयामा सन् २०३० सम्म मुख्य जनस्वास्थ्य समस्याको रूपमा देखिने आंकलन गरिएको छ । नेपालमा यो रोगबारे कुनै खास अध्ययनअनुसन्धान गरिएको छैन ।

विज्ञहरूका अनुसार नेपालमा पहिले केही निश्चित समुदायमा देखिएको हेपाटाइटिस ‘बी’ र ‘सी’ हाल सामान्य जनमानसमा देखिन थालेको हो । त्रिबी शिक्षण अस्पतालमा एक वर्षमा २१० हेपाटाइटिस ‘बी’ का बिरामी उपचारका लागि आएका ग्यास्ट्रोइन्ट्रोलजी विभागका कलेजो रोग विशेषज्ञ डा. रविन हमाल बताउँछन् । अस्पताल पुग्नेमा २ वर्षे शिशुदेखि ८५ वर्षे वृद्घसम्म छन् ।
हमालका अनुसार हेपाटाइटिस ‘सी’ को संक्रमण ‘बी’ को तुलनामा केही कम छ । गतवर्ष शिक्षण अस्पतालमा हेपाटाइटिस ‘सी’ का करिब ३० बिरामी उपचारका लागि आएका थिए ।

भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ कोसंक्रमण बढ्दै गएको औंल्याउँदै वरिष्ठ ग्यास्ट्रोइन्टरोलोजिस्ट डा. प्रदीप यादव भन्छन्, ‘कुल जनसंख्याको कम्तीमा ३ प्रतिशतलार्ई यसको संक्रमण भएको आंकलन छ ।’ उनका अनुसार काठमाडौं उपत्यका हेपाटाइटिस ‘ई’ भाइरसको संक्रमणका लागि समेत जोखिमपूर्ण क्षेत्र हो । तर केही वर्षअघिदेखि भने उपत्यकाबाहिरका केही स्थानमा समेत यो फैलिइसकेको छ ।

सन् २०१५ मा विश्वभर करिब ३२ करोड ५० लाख मानिस दीर्घकालीन हेपाटाइटिसपीडीत रहेका छन् । अन्य मुलुकको तथ्यांक तथा अध्ययनका आधारमा हाम्रो देशमा संक्रमितको अनुमानगरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), दक्षिणपूर्वी एसिया क्षेत्र कार्यालयका अनुसार यस क्षेत्रमा भाइरल हेपाटाएटिस ‘बी’ र ‘सी’ का कारण ४ लाख १० हजार मानिसको मृत्यु भइसकेको छ । विश्वमा भने यसबाट ज्यान गुमाउने बर्सेनि १४ लाख छन् ।

के हो हेपाटाइटिस ?
कुनै पनि प्रकारको कलेजो सुन्निने समस्या हेपाटाइटिस हो । यो स्थिति आफैंमा सीमित हुन सक्छ वा फाइब्रोसिस, सिरोसिस वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ ।

प्रारम्भिक अवस्थामा सुन्निने भए पनि संक्रमण बढ्दै जाँदा कलेजोको मांसपेशी नष्ट हुने भएकाले लिभर फाइब्रोसिस वा फ्याटी लिभर हुन सक्छ । योबाहेक गम्भीर स्थितिमा यसले कलेजोको क्यान्सरसमेत निम्त्याउन सक्छ ।

डब्लूएचओका अनुसार हेपाटाइटिस हुने सबैभन्दा सामान्य कारण हेपाटाइटिस भाइरस भए पनि केही अन्य संक्रमण, विषाक्त पदार्थ र अटोइम्युन रोगसमेत हेपाटाएटिस हुने कारण हुन सक्छ । यस्तै केही औषधि र रसायनको दुष्प्रभाव, फ्याट आदिसमेत कारक हुन सक्छ ।

प्रकार
भाइरल हेपाटाइटिसको संक्रमण ५ प्रकारको हुन्छ । जसलार्ई हेपाटाइटिस ए, बी, सी, डी र ई भनिन्छ । सबै संक्रमणको लक्षण, कारण र उपचार फरकफरक हुन्छन् ।

भाइरसले हुने सबैभन्दा सामान्य हेपाटाइटिस ‘ए’ हो । यो दूषित खाना र पानीले फैलिन्छ । हेपाटाइटिस ‘ए’ सामान्यतः संक्रमित व्यक्तिको दिसामा हुन्छ । यसको संक्रमणबाट बच्न खोप लगाउन सकिन्छ । सामान्य रूपमा यसको संक्रमणमा परेकाहरू छिट्टै स्वस्थ हुन्छन् । पीडितलार्ईर् कुनै विशेष औषधि, एन्टिभाइरल आदिको आवश्यकता पर्दैन ।

यसको संक्रमण भएका व्यक्तिलाई खाना नरुच्ने, पेट दुख्ने लगायतका समस्या देखिन्छन् । तर कलेजो रोग भएका, गर्भवती, बूढापाका, बालबालिकालार्ई कलेजो फेल गराउन सक्ने र ज्यान जोखिममा पर्ने सम्भावना बढी हुने डा.यादव बताउँछन् । यो समस्याले अस्वस्थ हुने व्यक्तिले १/२ सातादेखि ३ महिनासम्म जन्डिसले प्रभावित रहन सक्छन् ।

हेपाटाइटिस ‘बी’ दूषित रगत, विर्य, योनिबाट निस्किने तरल पदार्थ, असुरक्षित यौनसम्पर्क लगायतबाट फैलिन्छ । यो संक्रमित आमाबाट जन्मने शिशुमा समेत देखिन्छ । ससाना बालबालिकामा र्‍यालको माध्यमबाट समेत सर्ने गरेको पाइएको छ । लागूपदार्थ सेवनकर्तामा सिरिन्जको प्रयोगले समते यो रोग फैलिन्छ ।

त्यसैगरी दन्त चिकित्सामा उपयोग गरिने सामग्री, उपकरणहरू उपयुक्त रूपमा निर्मलीकरण नगरिएको अवस्थामा पनि यो सर्ने सम्भावना हुन्छ । प्रसूति अवस्था वा सानो उमेरमा यसको संक्रमण भएको खण्डमा ८० देखि ९० प्रतिशत दीर्घरोगको रूपमा विकसित हुन्छ । तर युवास्थामा भएको संक्रमण १५ देखि २० प्रतिशतमा मात्र दीर्घरोगको रूपमा देखा पर्न सक्छ ।

‘हेपाटाइटिस बी भाइरस हाम्रो कोषको डीएनएमा घुसेर बस्ने भएकाले पूर्णतः निर्मुल हुँदैन,’ डा. हमाल भन्छन्, ‘यसको औषधि वर्षौंसम्म दैनिक सेवन गर्नुपर्छ ।’ हेपाटाइटिस ‘बी’ ले कलेजोको सिरोसिस, कलेजो क्यान्सर आदि गराउन सक्छ । डब्लूएचओका अनुसार हेपाटाइटिस ‘बी’ को सुरक्षित र प्रभावकारी खोप उपलब्ध छ ।

हेपाटाइटिस ‘सी’ पनि ‘बी’ जस्तै दूषित रगत र शरीरको तरल पदार्थ, यौनसम्पर्क आदिका कारण एक व्यक्तिबाट अर्कोमा सर्छ । यसको संक्रमण भएपछि शरीरमा लक्षण देखिने सम्भावना कम हुन्छ । कहिलेकाहीँ यसको लक्षण अस्पष्टसमेत देखिन्छ ।

धेरैजसो व्यक्ति यसको भाइरससँग लडेर रोगमुक्त भए पनि वर्षौंसम्म शरीरमा भाइरस रहन सक्छ । यसलार्ई दीर्घकालीन हेपाटाइटिस ‘सी’ का रूपमा जानिन्छ । हेपाटाइटिस ‘सी’ ले समेत कलेजोको सिरोसिस, कलेजोका क्यान्सर आदि गराउन सक्छ । हेपाटाइटिस ‘सी’ प्रभावितको बाँच्ने अनुमानित आयु एक वर्षभन्दा केही बढी छ । यसको हालसम्म खोप विकसित भएको छैन ।

हेपाटाइटिस ‘डी’ संक्रमित व्यक्तिको रगत वा शरीरको अन्य तरल पदार्थको सम्पर्कमा आउनाले फैलिन्छ । हेपाटाइटिस ‘डी’ को संक्रमण एक्लै वा हेपाटाइटिस ‘बी’ सँगै उच्च संक्रमणको रूपमा समेत प्रकट हुन सक्छ । हेपाटाइटिस ‘बी’ सँगै हेपाटाइटिस ‘डी’ को संयुक्त संक्रमणले बढी गम्भीर स्थिति उत्पन्न गर्छ ।

हेपाटाइटिस ‘बी’ को खोपले हेपाटाइटिस ‘डी’ को संक्रमण हुनबाट पनि बचाउँछ । हेपाटाइटिस ‘ई’ समेत हेपाटाएटिस ‘ए’ जस्तै दूषित खाना र पानीबाट फैलिन्छ । डा. यादवका अनुसार सामान्यतः हेपाटाइटिस ‘ई’ दीर्घकालीन हुँदैन । डब्लूएचओका अनुसार हेपाटाइटिस ‘ई’ बाट जोगाउने सुरक्षित र प्रभावकारी खोप विकसित गरिए पनि सहज रूपमा उपलब्ध छैन ।

एड्सभन्दा बढी खतरनाक
हेपाटाइटिस ‘बी’ को भाइरसले एड्सको भाइरसले भन्दा सय गुणा बढी संक्रमण गर्ने क्षमता राख्छ ।एड्सका लागि ०.१ मिलिलिटर संक्रमित रगत आवश्यक रहे पनि मात्र ०.०००१ मिलिलिटर जस्तो सूक्ष्म मात्राले नै हेपाटाइटिस ‘बी’ फैलिन सक्छ ।एड्सले एक वर्षमा ज्यान गुमाउने मानिस बराबर हेपाटाइटिस ‘बी’ ले एक दिनमा मर्छन् । खोप लगाएर हेपाटाइटिस ‘बी’ बाट बाँच्न सकिन्छ तर एड्सको हालसम्म जनस्तरमा उपलब्ध खोप छैन ।

प्रारम्भिक लक्षण
  • मांसपेशी र जोर्नी दुख्नु
  • उच्च ज्वरो आउनु
  • टाउको दुख्नु
  • आँखा तथा छाला पहेँलो हुनु
  • आलश्यता बढ्नु
  • डिप्रेसन हुनु
  • जन्डिसको लक्षण देखिनु

‘मैले हेपेटाइटिस–बी जितेँ’

प्रख्यात बलिउडकर्मी अमिताभ बच्चन कुनै समय हेपाटाइटिस ‘बी’ पीडित थिए । हेपाटाइटिसको सद्भावना दूतसमेत रहेका ७५ वर्षीय अमिताभले केही समयअघि माल्दिभ्समा भएको डब्लूएचओ दक्षिण पूर्व एसियाको क्षेत्रीय सम्मेलनमा भनेका थिए, ‘यदि यो रोगको समयमै पहिचान हुन्छ र उपचार गरिन्छ भने भाइरसको वृद्घि रोक्ने औषधि छ । रोग पहिचान गरेर उपचार गर्दा हामी यसबाट बच्न सक्छौं ।’

अमिताभले आफू सद्भावना दूत नियुक्त हुँदाका समय संञ्चारमाध्यमसँग भनेका थिए, ‘म पनि हेपाटाइटिस ‘बी’ पीडित हुँ, यसले हुने पीडा र असुविधा म राम्ररी बुझ्छु ।’

सन् १९८२ मा ‘कुल्ली’ फिल्मको सुटिङका समय चोट लागेपछि अमिताभलार्ईर् दुर्ई सय व्यक्तिको ६० बोतल रगत चढाइएको थियो । यसमध्ये एक दाताको रगत हेपाटाइटिस ‘बी’ भाइरसले संक्रमित थियो । तर यो कुरा उनले १८ वर्षपछि थाहा पाएका थिए ।
अमिताभका अनुसार उनको ७५ प्रतिशत कलेजो संक्रमित भइसकेको छ । ‘म मात्र २५ प्रतिशत कलेजोको सहाराले बाँचेको छु,’ उनले भनेका थिए, ‘यसैले खोप घेरै आवश्यक छ ।’

प्रकाशित : श्रावण ११, २०७६ ०८:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रक्तचापपीडितलाई लसुन उपयोगी

कान्तिपुर संवाददाता

काठमाडौँ — अझै बूढापाकाहरू गाउँघरमा दिनहुँ लसुन खाने सल्लाह दिन्छन् । उहाँहरूको अनुभवलाई भने अव विज्ञानले समेत सही ठहराएको छ । 

लसुनको प्रभावकारिता देखेपछि हाल केही विशेषज्ञहरू दिनहुँ लसुनको एउटा पोको खाने सल्लाहसमेत दिन थालेका छन् । विज्ञान पत्रिका ‘मटुरिटास’ मा केही समयअघि प्रकाशित अनुसन्धानअनुसार लसुन उच्च रक्तचापको उपचारमा फाइदा गर्न सक्छ ।

यो अनुसन्धान गर्न आस्ट्रेलियाको चिकित्सकहरूले ५० यस्तो रोगीलाई भर्ना लिए जसको रक्तचाप उपचार गर्दा पनि कम हुने गरेको थिएन । अनुसन्धानमा सम्लग्नमध्ये केहीलाई औषधिसँगै लसुनको चारवटा क्याप्सुलसमेत ख्वाइयो । अध्ययनअन्तर्गत पाइयो कि औषधिसँगै लसुनसमेत सेवन गर्ने रोगीको रक्तचाप अन्य रोगीको दाँजोमा कम थियो ।

ब्रिटिस हार्ट फाउन्डेसनका अनुसार यो मामिलामा एउटा अझ अनुसन्धानको आवश्यकता छ । पहिले समेत मुटुका लागि लसुन फाइदाकारी रहेको कुरा भनिँदै आएको छ । ‘यो पहिलेदेखि नै थाहा थियो कि लसुन उच्च रक्तचापका रोगीहरूको दबाबलाई कम गर्न सहयोग गर्छ, अनुसन्धानकर्ता करिन रिड भन्छन्, ‘हाम्रो अनुसन्धानले सबैभन्दा पहिले यो बताएको छ कि लसुन ती व्यक्तिहरूका लागि कति फाइदाकारी हुन सक्छ जसको उपचार त जारी छ तर उनीहरूलाई यसको लाभ प्राप्त हुँदैन ।’

विशेषज्ञहरूका अनुसार लसुनको प्रयोगभन्दा अघि चिकित्सकको सल्लाह भने अवश्य लिनुपर्छ किनभने यसको उपयोगले रगत पातलो हुनु सक्छ । सँगै यो पनि भनिएको छ कि अनुसन्धान एउटा सानो समूहमा गरिएको उपचार छोडेर मात्र लसुनमा निर्भर नगर्नुस् ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT