१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘भर्चुअल साइकोलजिस्ट’ बाट स्वास्थ्य सेवा 

नारायण खड्का

अस्ट्रेलिया — मानसिक स्वास्थ्य आफैंमा समस्या त हो नै, यसको उपचार खोज्न सबै पीडितलाई अन्य रोगको जस्तै सहज नहुन सक्छ । त्यसैले अस्ट्रेलियाका दुर्गम भेगका नागरिकलाई यसको सेवा पुर्‍याउने उद्देश्यले ‘भर्चुअल साइकोलजिस्ट’ स्वास्थ्य सेवा सुरु गरिएको छ । 

‘भर्चुअल साइकोलजिस्ट’ बाट स्वास्थ्य सेवा 

अस्ट्रेलियाको मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरूबाट सुरु गरिएको यो परामर्श स्वास्थ्य सेवा सम्पूर्ण रूपमा फोन म्यासेजमा केन्द्रित छ । चौबिसै घण्टा मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूबाट परामर्श दिइने यो सुविधा दुर्गम क्षेत्रमा बस्ने जोकोहीलाई उपलब्ध गराइन थालिएको छ । आफू समस्यामा परेको खण्डमा वा सहयोगको आवश्यकता परे उपलब्ध नम्बरमा म्यासेज गरेको खण्डमा स्वास्थ्यकर्मीहरूले फोन म्यासेजबाटै आवश्यक परामर्श उपलब्ध गराउँछन् ।


‘मानिसले प्रत्यक्ष भेटेर र फोन सम्पर्कमार्फत् कुराकानी गरेर आफ्ना समस्या राख्न असहज मान्ने भएकाले हामीले नयाँ सोच अघि सारेका हौं,’ २० वर्षसम्म साइकोलजिस्टका रूपमा काम गरिसकेकी डर्भला लोघनानले भनिन् । उनी ‘भर्चुअल साइकोलजिस्ट’ परामर्श सेवाको स्थापनाकर्ताका साथै प्रमुख हुन् ।


लोघनानका अनुसार यस सेवाबाट हालसम्म १ लाख ५० हजार पटक फोन म्यासेजमार्फत् परामर्श दिइसकिएको छ । लोघनान एक्लैले सुरु गरेको सेवामा हालसम्म ८ जना योग्य साइकोलजिस्टका साथै व्यवस्थापक तथा तालिमकर्ताको सहभागिता छ । कार्यक्रमलाई अस्ट्रेलियाली सरकारले समेत आर्थिक सहयोग गरेको छ ।


‘हामीले एउटा जीवन मात्र बचाउन सफल भयौं भने पनि राम्रो हुन्छ भन्ने सोचले सुरु गरेको कार्यक्रम सफल बनिरहेको छ,’ लोघनानले भनेकी छन् । उनका अनुसार आगामी दिनमा यो सेवा फोन म्यासेजबाट नभई फेसबुक म्यासेन्जेर, टीटर, र हाट्सएपबाट समेत उपलब्ध गराइने छ ।


अस्ट्रेलियामा साइकोलजिस्टसँग उपचार गराउनुअघि अन्य मेडिकल डाक्टरको सिफारिस आवश्यक पर्छ । त्यसका साथै साइकोलजिस्ट भेट्नसमेत समय पाउन मुस्किल छ । अर्कोतिर भेटिसकेपछि आफ्नो मनको कुरा सबै खुलस्त भन्न नसक्नेलगायत समस्याले उपचारमा कठिनाइ हुने गरेका यस क्षेत्रमा कार्यरत विज्ञहरू बताउँछन् ।


अस्ट्रेलियाको सरकारी तथ्यांकअनुसार हरेक ५ जनामा एक मानसिक रोग पीडित छन् । सरकारले मानसिक रोग पीडितहरूको स्वास्थ्योपचारका लागि बर्सेनि करोडौं डलर खर्चंदै आएको छ ।


आर्थिक वर्ष २०१७/१८ मा अस्ट्रेलियाका ४२ लाख जनताले मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिएका थिए । मानसिक रोगको समस्यामा पछिल्लो समयमा नेपालीसमेत पर्दै गएको नेपाली मानसिक रोग विशेषज्ञहरू बताउँछन् ।

प्रकाशित : श्रावण १८, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?