१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

भिटामिन ‘ए’ ले घटाउँछ छालाको क्यान्सर

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको एक अनुसन्धानअनुसार, ‘भिटामिन ए’ को सेवनले छालाको क्यान्सरलाई १७ प्रतिशतसम्म कम गर्न सकिन्छ । यो भिटामिनले छाला र शरीरको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । 

भिटामिन ‘ए’ ले घटाउँछ छालाको क्यान्सर

छालाको क्यान्सरअन्तर्गत ‘स्क्वैमस सेल कार्सिनोमा’ लाई रोक्न निकै गाह्रो हुने गर्छ । अध्ययनअनुसार, खानपानमा भिटामिन ‘ए’ को प्रयोग गर्नाले उक्त क्यान्सरको समेत जोखिम कम गर्न सकिन्छ । भिटामिन ‘ए’ लिनाले सूर्यको प्रकाशबाट शरीरमा हुने नकारात्मक असर कम हुन्छ ।


अमेरिकन मेडिकल एसोसिएसन डर्मेटोलजीका अनुसार, यो अनुसन्धान धेरै लामो समयसम्म चलेको थियो ।

सन् १९८४ देखि सन् २०१२ सम्म एक लाख २१ हजार सात सय महिलामा उक्त अनुसन्धान गरिएको थियो । यसबाहेक सन् १९९६ देखि सन् २०१२ को बीचमा ५१ हजार पाँच सय २९ जना पुरुषलाई पनि अनुसन्धानमा सामेल गरिएको थियो ।


अनुसन्धानमा संलग्नहरूको आहारमा भिटामिन ‘ए’ युक्त फलफूल र सागसब्जी सामेल गरिएको थियो । अनुसन्धानमा संलग्न महिला र पुरुषमा छालाको क्यान्सर बीच हुने सम्बन्धलाई बुझ्ने प्रयास गरिएको थियो ।


अनुसन्धानमा एक लाख २३ हजार श्वेत व्यक्तिलाई सामेल गरिएको थियो जसको पछिल्लो पुस्तामा क्यान्सरको कुनै संकेत थिएन । ती व्यक्तिमा छालाको क्यान्सरको खतरा अन्यभन्दा बढी हुने गर्छ ।


अनुसन्धानमा संलग्न एक हजार नौ सय ७८ व्यक्तिमा स्क्वैमस सेल कार्सिनोमा (क्यान्सर) को मामिला देखियो । यो छालाको क्यान्सरको एउटा प्रकार हो । जसमा क्यान्सरको कोषिका यति तीव्र गतिले बढ्छन् कि नियन्त्रण गर्न मुस्किल हुन्छ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?