कपनमा अर्गानिक रिसोर्ट

प्याकेज : नाइट स्टे रु. १५०० (वेलकम ड्रिङ्क/डिनर/टेन्टको बसाइ/ब्रेकफास्ट)
सुरज कुँवर

आँखाले हेरेर नभ्याउने बारीभरि लटरम्म थुप्रै प्रजातिका तरकारी हुर्किरहेका छन् । छेउमै गोठ छ । गोठमा गाई र भैंसी बाँधिएका छन् । बारीकै डिलमा टाट्नु बनाइएको छ । यहाँ खसी, बोका र बाख्रा घाँस खाइरहेका देखिन्छन् । खोरमा लोकल कुखुरा गिरिराजका ब्रिड पनि पालिएका छन् ।

कपनमा अर्गानिक रिसोर्ट

यहाँ वर्णन गरिएको दृश्य सहरबाट धेरै टाढाको गाउँको जस्तो लाग्न सक्छ । तर, यो ठाउँ राजधानीको चक्रपथस्थित सुकेधारा चोकदेखि डेढ किलोमिटर उत्तरपूर्वमा रहेको कपनटारको हो । कपन गुम्बादेखि मुन्तिरको यो ठाउँमा चार वर्षदेखि चलिरहेको छ, ‘अर्गानिक फार्म हाउस रिसोर्ट ।’ यसका सञ्चालक हुन् ताप्लेजुङका पेम्बा शेर्पा र उनकी पत्नी बन्दी शेर्पा ।
शेर्पा दम्पती अर्गानिक फुड र भिलेज टुरिजममा लागेर रासायनिक मल र विषादी हालेको होइन, अर्गानिक खानेकुरासहितको रिसोर्ट सञ्चालन गरिरहेका छन् । यहाँ पुग्नेले रहरअनुसार के खाने ? बन्दी शेर्पालाई भन्नुहोस् । ३४ वर्षीया बन्दी बारीमै पुगेर फलेको रायो, बन्दा, काउली, चेरी टमेटो, पिँडालु, तरुल, गाँजर, केराउ, ब्रो काउली, बासमती रायो, बकुल्ला आदि इत्यादि टिपेर ल्याइदिन्छिन् । अनि अगेनामा दाउरा बालेर पकाउँदै स्वादिलो मेनु बनाइदिन्छिन् । बारीमै माहुरी घार छन् । मह खाने रहर भएकाहरूका लागि त्यहींको मह प्रयोग गरिन्छ ।
२५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा सोफा, कुर्सी छैनन् । गुन्द्री, राडीमा बसेर खानुपर्छ । पुरानो गोठलाई सुधारेर भान्सा र अतिथि बस्ने आँगन बनाइएको छ । लुङ्दाले बेरेको यो परिवेश हेर्दा पूर्वी पहाडको कुनै लिम्बू घरमा पुगेको जस्तो आभास मिल्छ । पेम्बा जो पर्यटन व्यवसायी पनि हुन्, उनले अतिथिका लागि बस्न रेस्टुरेन्ट/बार नभई सिकुवा बनाएका छन् । सिकुवाको भित्तोमा सुँगुरको पाठो बोक्ने पेरुङ्गो, लालटिन छन् । काठका मुढाले बनाएका टेबुल र कुर्सी छन् । ‘सहरमा होइन, कुनै जंगलमा बसेको छु भन्ने महसुस गराउन यस्तो गरेको हुँ,’ ताप्लेजुङ साँघुमा जन्मेर संखुवासभामा हुर्केका ३७ वर्षीय पेम्बाले भने ।
तुम्बा पारखीहरूलाई लक्षित गर्दै खानपिन गर्न रुचाउनेका लागि उनले बारीका डिलहरूमा छुट्टाछुट्टै स–साना घर बनाएका छन् । यिनमा सोल्टिनीको घर, देउराली घर, दौंतरी घर, ठूल्दाइको घर आदि छन् । ‘साथीहरूसँग रमाइलो गर्न आउनेहरूलाई अभिभावक वा कसैले फोन गरेर कता हो भनी सोध्दा, सोल्टिनीको घरमा छु वा सुरक्षित महसुस गर्दै ठूल्दाइको घरमा छु भनेर आनन्द लिऊन् भनेर घरको नाम टिपिकल राखें,’ फेसबुकमा संगम शेर्पा नाममा एकाउन्ट खोलेर अर्गानिक अभियानमा लागेका पेम्बाले भने ।
महिनाको ५० हजार रुपैयाँ भाडा तिर्ने सर्तमा २५ रोपनी जग्गा लिजमा लिई फार्म हाउससहितको रिसोर्ट सञ्चालन गरिरहेका शेर्पा दम्पतीले यहाँ दिने खान्की मेनु हिमाली भेगमा आधारित छ ।
५० लाख लगानी गरेको बताउने यो रिसोर्टमा एक रातमा १० जना अतिथि बस्न सक्ने क्षमताका टेन्ट र छाप्रा छन् । प्रतिव्यक्ति १५ सय रुपैयाँको प्याकेज रहेको बताउने शेर्पाले ‘एक्साइटिङ डे–ट्रिप’ नामको हाइकिङ पनि उनैले चलाएका छन् । यसमा सहभागी हुनेलाई उनी बूढानीलकण्ठ, नागी गुम्बा, फुलारी गुम्बा, तारेभीर, कपनगुम्बा हुँदै आफ्नो फार्म हाउससम्म हाइकिङ गराउँछन् । १५ सय रुपैयाँको यो मेनुमा शेर्पाले आफ्नै बारीमा उत्पादन भएको धानको भात, अर्गानिक तरकारीसहितको खाना पनि राखेका छन् । युवाहरूलाई गाउँले जीवन, अर्गानिक खानेकुराबारे जानकारी गराउँदै भिलेज टुरिजम प्रोमोट गर्न यस्तो गरिरहेको पेम्बाले बताए ।
नाइट स्टेमा बस्न चाहनेहरूलाई अर्को कम्प्लिमेन्ट भनेको वर्ड वाचिङ हो । रिसोर्टभित्र थुप्रै वाइल्ड बोटबिरुवा छन् । यी बोटबिरुवामा मात्रै होइन, बारीभरि पनि थुप्रै प्रजातिका चराहरूको ओहोरदोहोरको मज्जा आँगनमै बसेर अर्गानिक खानेकुरा खाँदै लिन सकिन्छ । घुम्न जाने आन्तरिक पर्यटकहरूले बारीमा फलेका अर्गानिक तरकारी यहीं पनि किन्न सक्छन् ।

(रिसोर्टबारे थप जानकारी www.himalayanorganicfarm.com)

प्रकाशित : पुस १०, २०७२ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?