२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सफल खेलाडी

२०१५ खेल
हेलो शुक्रबार

विश्वकप क्रिकेट, दक्षिण अमेरिकी क्षेत्रको फुटबल प्रतियोगिता कोपा अमेरिकालगायत केही ठूला प्रतियोगिता सन् २०१५ मा आयोजना भए । अरू नियमित प्रतियोगिता त निरन्तर रहे नै । सबै किसिमका प्रतियोगितामा गरिएको प्रदर्शन र नतिजाको आधारमा २०१५ का सर्वाधिक सफल ५ खेलाडी

सफल खेलाडी

:

लियोनल मेसी, फुटबल

विश्व फुटबलमा लियोनल मेसीले सनसनीपूर्ण प्रदर्शन गर्न थालेको आठ वर्ष भइसकेको छ । उनको गोल गर्ने र गोलको अवसर सिर्जना गर्ने कौशलमा कुनै कमी आएको छैन । उनले बार्सिलोनाका लागि २०१४–१५ को सिजनमा ५८ गोल गरे । च्याम्पियन्स लिग, स्पेनी ला लिगा, कोपा डेल रे, यूईएफए सुपरकप र क्लब विश्वकपको उपाधि बार्सिलोनाले कब्जा गर्दाका मुख्य हिरो मेसी नै हुन् । कीर्तिमान चारपल्टका फिफा बेलन डि’अरका विजेता उनले अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पुर्‍याउन पनि सहयोग गरे ।

युसेन बोल्ट, एथलेटिक्स
अहिले एथलेटिक्स ‘डोपिङ’ ले संकटमा छ । बेइजिङमा भएको १५ औं विश्व एथलेटिक्स च्याम्पियनसिपमा १ सय मिटरको फाइनलमा नौ धावकमध्ये जस्टिन ग्याटलिन, माइक रोजर्स, असफा पावेल र टाइसन गे पहिले डोपिङमा परिसकेका थिए । चोटमुक्त हुँदै फर्किएका जमैकन युसेन बोल्टले उनीहरूलाई पन्छाउँदै स्वर्ण पदक जिते । यसलाई असत्यमाथि सत्यको जित मानिएको छ । १ सय, २ सय मिटर र चार गुणा १ सय मिटर रिलेमा उनले स्वर्ण जिते । उनले बेइजिङ र लन्डन ओलम्पिकमा पनि स्वर्ण जितेका थिए । यसमा कीर्तिमान उनैको नाउँमा छ ।

फ्लोएड मेवेदर, बक्सिङ
मनी मेकर बक्सर हुन्, मेवेदर । यी अमेरिकी बक्सर र फिलिपिनो म्यानी पाक्वियोबीच मेमा लास भेगासमा भएको खेललाई ‘फाइट अफ दि सेन्चुरी’ पनि भनिन्छ । यस पुस्ताका सर्वाधिक सफल बक्सरबीचको बहुप्रतीक्षित भिडन्तमा बाजी मारे मेवेदरले । ६० करोड डलरको फाइटबाट मेवेदर २०१५ मा सर्वाधिक कमाउने खेलाडी पनि हुन् । उनको यो वर्षको कमाइ ४२ करोड डलर रह्यो । उनले सेप्टेम्बरमा आन्द्रे बेर्तोलाई हराएर अपराजित रूपमा करिअर टुंग्याए । फाइभ डिभिजन वल्र्ड च्याम्पियन पनि भएका उनले ४९ मध्ये २६ फाइटमा विपक्षीलाई नकआउट गरे ।

नोभाक जोकोभिच, टेनिस
‘द जोकर’ का रूपमा पनि ख्याति कमाएका सर्बियाली टेनिस स्टार जोकोभिचको सफल यात्राले २०१५ मा पनि निरन्तरता पायो । फ्रेन्च ओपनको फाइनलमा स्टान वावरिन्कासँग चुके पनि उनले यो वर्ष बाँकी तीन ग्रान्डस्लाम (यूएस ओपन, अस्ट्रेलियन ओपन र बिम्बल्डन) को उपाधि कब्जा गरे । यो वर्ष ११ उपाधि जितेका उनले थप चारको फाइनल पनि खेले । नम्बर १ वरीयताका उनले १० ग्रान्डस्लामसहित ५९ टाइटल हात पारेका छन् ।

लेविस ह्यामिल्टन, फर्मूला वान
फर्मूला वान वल्र्ड च्याम्पियन ड्राइभर हुन्, लेविस ह्यामिल्टन । यी बेलायती लगातार दोस्रो वर्ष वल्र्ड च्याम्पियन भएका हुन् । समग्रमा तेस्रोपल्ट च्याम्पियन भएका उनले यसअघि पहिलो सफलता २००८ मा प्राप्त गरेका थिए । उनले २०१५ का १९ मध्ये १० रसको टाइटल जितेर च्याम्पियनसिपमा सबभन्दा बढी ३ सय ८१ अंक जोडे । उनको टिम मर्सिडिज वल्र्ड कन्स्ट्रक्टर च्याम्पियन भयो । उनी ४३ ग्राँ प्री टाइटलसँगै सर्वाधिक सफल फर्मूला वान ड्राइभरको सूचीमा तेस्रोमा छन् । 

प्रकाशित : पुस १०, २०७२ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?