कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हनीगाइड

विजय तिमल्सिना

काठमाडौं — हनीगाइड चराको नाम हो । तर, यहाँ चर्चा गर्न लागिएको मोबाइल एपको हो । यस्तो एप जसले ट्रेकिङ गर्नेहरूलाई रुटको मात्र होइन, सबै थोकको जानकारी दिन्छ । सबै थोक भन्नाले ? भन्नाले ट्रेकिङ गएको ठाउँको सम्पूर्ण जानकारी, त्यसको इतिहास र संस्कृति, त्यसअघि गर्नुपर्ने पूर्वतयारी र आपत्विपत् परे सम्पर्क गर्न सकिने ठाउँको सबै जानकारी ।

हनीगाइड

घुम्न जान सिफारिस गर्ने र घुम्ने ठाउँको रुटको जानकारी दिने बुक, म्यागेजिन र वेबसाइट धेरै पाइन्छ । 

हनीगाइडका एप तीभन्दा किन फरक छ ? हनीगाइडका संस्थापकमध्येका एक अभिषेक पाण्डे भन्छन्, ‘यो अफलाइन चलाउन मिल्छ र एउटा एपमा एक ठाउँको मात्र जानकारी छ ।’ हनीगाइडका तीन एपहरू गुगल र आईओएस स्टोरमा उपलब्ध छन् । तीनै एप फरक फरक ट्रेकिङ रुटको लागि हुन् । एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण बेस सर्किट र घोरेपानी पुन हिल ट्रेकिङ रुटका लागि छुट्टाछुट्टै एप तयार छन् ।
संस्कृति र इतिहासमा रुचि राख्ने पाण्डे चरा र प्रकृतिप्रेमी साथी आशिष श्रेष्ठसँगको सहकार्यले ट्रेकिङ र टुर गाइडबुक एप योजना साकार भएको हो । उनीहरूको दुवैले खोलेको कम्पनी हनीगाइड प्रालिको नामबाट एपको ब्रान्डिङ गरिएको छ । एपमा राखिएको जानकारी हेर्दा जोकोही पनि प्रभावित हुन सक्छ । कसरी बटुलियो जानकारी ? पाण्डे भन्छन्, ‘हरेक ठाउँमा दुई–तीन पटक पुगेर तथ्यांक संकलन गरिएको हो ।’


हनीगाइडमा राखिएको ट्रेकिङ रुटबारेको जानकारी किन पनि विशेष छ भने यसमा सरसर्ती रुट र बस्नेखाने ठाउँको मात्र जानकारी छैन । हरेक ट्रेकिङ रुटको छुट्टाछुट्टै रुट, त्यसका लागि लाग्ने समय, त्यहाँको मौसम, बाटोमा पर्ने हरेक हिमाल र गाउँको जानकारी, ती गाउँमा पाइने वनस्पति, जनावर र तिनको जानकारी साथै हरेक ठाउँमा भएका होटल र त्यहाँ भएका सुविधा अनि त्यसलाई सम्पर्क गर्ने माध्यम एपमा समावेश छन् ।
जस्तो : एभरेस्ट बेस क्याम्प ट्रेक गर्नेले एपको मेनुमा गएर आइटीनेरी छान्न सक्छन् । जसमा चार वटा ट्रेक रुटको जानकारी छ र लुक्लापछि आउने चेप्लुङ, ठाडोकोसी, घाटजस्ता सबै ठाउँको पालैपालो जानकारी एपमा छ र हरेक ठाउँबाट देखिने हिमालको तस्बिर र त्यसको जानकारी, त्यो ठाउँको खाना, संस्कृति, किंवदन्तीसहित स–साना कुराको समेत जानकारी राखिएको छ । स्मार्टफोनको जीपीएस अन गरेर ट्रेकिङ रुटमा हिँड्नेहरूलाई अर्को सुविधा पनि छ । 
रुटभन्दा गलत बाटोमा २ सय मिटर पर गएपछि यसले गलत बाटो हिँडेको नोटिफिकेसन प्रयोगकर्तालाई दिन सक्छ । जसले गर्दा लामो यात्रा गर्दा बाटो भुलिने र हराउने डर भएन । ट्रेकिङ जाँदा आवश्यक पर्न सक्ने औषधि, सुरक्षा किटदेखि आपत्मा परे उद्धार गर्ने निकायको सम्पर्क नम्बरसमेत राखिएकाले यो उपयोगी बनेको छ । एभरेस्ट बेसक्याम्प, अन्नपूर्ण बेस सर्किट र घोरेपानी पुनहिल घुमेर र ती ठाउँको संस्कृति र इतिहासबारेको जानकारी समेटेर एप तयार पारिएको पाण्डेले बताए । 
भन्छन्, ‘एप प्रयोग गर्नेहरूलाई गाइडको कम आवश्यकता हुन्छ ।’ ट्रेक रुटमा पर्ने ठाउँमा २०७१ वैशाख १२ गतेको भूकम्पले पारेको प्रभावबारेको अपडेट पनि एपमा समावेश छ । आगामी वर्ष मनास्लु र लाङटाङ ट्ेरकिङ रुटको एप तयार पारिसक्ने हनीगाइडको योजना छ । पाण्डे भन्छन्, ‘नेपालको ट्रेकिङ रुटबाहेक भारतको सिक्किम र लद्दाक साथै युरोपको वेल्सका ट्रेकिङ रुटबारे यस्तै गाइडबुक एप बनाउने योजना छ ।’ साथै, सिटी टुर एपको योजना पनि उनीहरूसँग छ ।


गत वर्षको अक्टोबरमा रिलिज भएका हनीगाइडका तीन एप अहिले नि:शुल्क डाउनलोड गर्न मिल्छ । तर, अर्को महिनादेखि पेड एप बनाउने योजना भएको पाण्डे सुनाउँछन् । यही उनको रेभेन्यू मोडल पनि हो । एप सार्वजनिक भएको एक वर्ष नपुग्दै एभरेस्ट बेसक्याम्पमा खुलेका नयाँ होटल र लज सञ्चालकहरूले आफ्नो होटलको जानकारी पनि एपमा राख्न अनुरोध गर्दै गरेको फोनले उत्साहित छन् पाण्डे । भन्छन्, ‘एप बनाउन सोचेभन्दा धेरै मिहिनेत गर्नुपर्‍यो । राम्रो रेस्पोन्सले खुसी छौं ।’ 

प्रकाशित : असार १०, २०७३ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?