नेपाली एप्सको ग्लोबल मार्केट

नेपालीले बनाएका मोबाइल र वेबबेस एप्लिकेसनहरु अहिले विश्व बजारमा पुग्न थालेका छन् । आईटी रिभोलुसनमा इनोभेसन नै सबैभन्दा शक्तिशाली चीज हो । यसमा भूगोलको खास मतलव छैन ।
विष्णु पोखरेल

फोटोलाई भिडियोमा ‘कन्भर्ट’ गर्ने र ‘सेयरिङ’ मा सहयोग गर्ने मोबाइल एप्स ‘पिकोभिको’ का प्रयोगकर्ता नेपाली मात्र छैनन् । यो एप्स नेपालीले नै बनाएका हुन् ।

यो एप्सको ‘पेड भर्सन’ त नेपालीले किन्दै किन्दैनन् भन्दा पनि हुन्छ । त्यसो भए यो एप कसले किनेर चलाइरहेका छन् त ? ‘विश्वभरका मानिसहरूले,’ पिकोभिकोका अमित अग्रवाल भन्छन्, ‘ग्लोबल मार्केटलाई टार्गेट गरिएकाले हाम्रा प्रयोगकर्ता कुनै जोग्राफीमा मात्र सीमित छैनन् ।’
पिकोभिकोको ‘फ्री भर्सन’ को एप्स नेपालीसहित विदेशीमाझ लोकप्रिय छ । अग्रवालको समूहले यसको ‘वेब भर्सन’ समेत विकास गरेको छ । यसबाट एकदमै कम प्राविधिक ज्ञान हुनेले फाइदा लिन सक्छन् । यसै कारण यो विश्वभरकै उपभोक्ताको रोजाइमा परेको छ । ‘हामीले फ्री भर्सनबाहेक प्रिमियम र प्रो भर्सन पनि बनाएका छौं,’ अग्रवालले भने, ‘प्रिमियमका लागि १२ र प्रोका लागि २८ अमेरिकी डलर तिर्नुपर्छ ।’ 
पिकोभिको मात्र होइन, नेपालीले बनाएका मोबाइल र वेबबेस एप्लिकेसनहरूसमेत अहिले विश्व बजारमा पुग्न थालेका छन् । पहिले नेपाली वा विदेशमा बस्ने नेपालीलाई मात्र लक्षित गरेर आईसीटी ‘प्रोडक्ट’ विकास गर्ने नेपाली युवा र व्यवसायीले अहिले विश्व बजारलाई हेरेर यस्तो उत्पादन ल्याउनसमेत थालेका छन् । ‘पहिले विदेशबाट आएको काम मात्र गर्ने चलन थियो, विस्तारै नेपाली र विदेशमा बस्ने नेपालीलाई टार्गेट गरेर आईसीटी प्रोडक्ट आउन थाले,’ अग्रवाल भन्छन्, ‘अब हामी विदेशमा बस्ने नेपाली मात्र होइन, ग्लोबल मार्केट हेरेर प्रोडक्ट ल्याउन थालेका छौ ।’ पिकोभिकोका प्रयोगकर्ता विदेशी धेरै भएको त्यसलाई विश्व बजारमा त्यस्तै खाले ‘प्रोडक्ट’ सँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गर्दै लगिएको अग्रवाल बताउँछन् । 
केही वर्षअघि एफवानसफ्ट समूहले ‘क्यास अन एड’ मोबाइल एप्स बनाएको थियो । कल आउँदा प्रसारण भएको विज्ञापनका आधारमा पैसा पाइने यो एप्ससमेत विश्व बजारमा जान सक्ने खालको थियो । तर, नेपालमा भने यो सफल हुन सकेन । अहिले एफवानसफ्ट समूहले अरू मुलुकमा त्यही एप्सलाई त्यहाँका कम्पनीसँग मिलेर फरक नाममा चलाइरहेको छ । ‘अहिले क्यास अन एडकै प्लेटफर्ममा ल्याटिन अमेरिका र मलेसियामा एप्सहरू चलेका छन्,’ एफवान सफ्टका सुवास शर्माले भने, ‘त्यसबापत हामी रोयल्टी पाउँछौं ।’ 
अहिले इक्वेडरमा क्यास अन एडकै प्लेटफर्मबाट ‘चेकिया’ नामक एप्स चलिरहेको छ । झन्डै १ लाख हाराहारीमा डाउनलोड भइसकेको यो एप्सबाट ग्राहकले कल आउँदा बजेको विज्ञापनका आधारमा रकम पाउँछन् । त्यसबापत नेपाली डेभलपरले रोयल्टी कमाउँछन् । मलेसिया र कोलम्बियामा पनि यसको ‘लोकल भर्सन’ चाँडै लन्च हुँदैछ । ‘अहिले विस्तारै नेपाली आईसीटी डेभलपरमा पनि ग्लोबल मार्केट टार्गेट गरेर जानुपर्छ भन्ने सोच विकास हुँदै गएको छ,’ शर्मा भन्छन्, ‘त्यसले गर्दा नयाँखाले इनोभेसन भइरहेका छन् ।’ 
सूचना प्रविधिको विकासले विश्वको जुनसुकै कुनामा भएका इनोभेसनलाई समेत एउटै प्लेटफर्ममा ल्याउन सजिलो पारिदिएकाले समेत सजिलो भएको शर्माको तर्क छ । ‘अहिले प्लेस्टोरमा कुनै एप्स बनाएर राखिदियो भने त्यसको प्रयोग जहाँसुकैबाट हुन सक्छ,’ उनले भने, ‘नेपालीलाई मात्रै फोकस गरेका बाहेक एप्स धेरै विदेशीले समेत प्रयोग गरिरहेका छन् ।’
ग्लोबल मार्केटलाई फोकस गरेर अहिले नेपालभित्रै अनि बाहिरबाट समेत नेपालीले मोबाइल र वेबबेस एप्लिकेसनहरू बनाइरहेका छन् । ‘विदेशमा बस्ने आईसीटी डेभलपरले समेत धेरैखाले प्रोडक्ट ल्याएका छन्,’ अग्रवाल भन्छन्, ‘तर नेपालभित्रैबाट बनेका प्रोडक्टले समेत ग्लोबल मार्केटमा उपस्थिति देखाइसकेका छन् ।’ 
गुगल प्लेस्टोरमा एन्ड्रो नेपाल नामक कम्पनीले बनाएर राखेको ‘पासपोर्ट आईडी फोटो मेकर’ एप्स १ लाखभन्दा बढी डाउनलोड भइसकेको छ । यसको ‘रिभ्यु सेक्सन’ मा ‘रिभ्यु’ लेख्ने र ‘कमेन्ट’ गर्नेहरू पनि विदेशी धेरै छन् । यसले नेपालीले बनाएका एप्लिकेसनहरू विदेशीमाझ समेत लोकप्रिय हुँदै गएको देखाउँछ । विभिन्न मुलुकका पासपोर्ट र भिसाका लागि आवश्यक पर्ने फोटो एकदमै सजिलो तरिकाले यसमा बनाउन सकिन्छ । सबैले सजिलै प्रयोग गर्न सक्ने भएकाले नै यो एप्सको लोकप्रियता बढेको हो । 
कतिपय एप्लिकेसन ‘डेभलपर’ ले नेपालीलाई मात्र टार्गेट गरेर सुरु गरेका ‘प्रोडक्ट’ समेत विदेशीमाझ लोकप्रिय बनेका छन् । नेपालीलाई टार्गेट गरिए पनि विदेशीले मन पराएपछि नेपालीहरू ग्लोबल मार्केटलाई उपयुक्त हुने प्रोडक्ट बनाउन लागिपरेका छन् । विद्यार्थीलाई सहयोग पुग्ने गरी ‘ई–क्लास’ विकास गरेको ‘कुलल्याब्स’ ले पहिले नेपालीलाई मात्र टार्गेट गरेको थियो । तर, वेबसाइट र मोबाइल एप्लिकेसन प्लेटफर्महरूमा विदेशीले धेरै प्रयोग गरेको देखिएपछि यो समूहले समेत विदेशीलाई लक्षित गर्न थालेको छ । 
‘अहिले हाम्रा प्रयोगकर्तामध्ये ४० प्रतिशत मात्र नेपाली छन्, ६० प्रतिशत त विदेशी छन्,’ ‘कुलल्याब्स’ का अधिव पौडल भन्छन्, ‘विदेशीले धेरै मन पराएकाले हामी एप्स र वेबबेस क्लासलाई अझै ग्लोबल मार्केटसँग कम्पिटिटिभ बनाउँदै छौं ।’ कक्षा ८ देखि ब्याचलरसम्मका कोर्सलाई सहयोगी ‘ई–क्लास’ बनाएको ‘कुलल्याब्स’ ले यस्ता क्लासहरूको अडियो भिडियोसमेत बनाउने गरेको छ । 
केही वर्ष अघिसम्म धेरै नेपाली आईसीटी व्यवसायीहरू ‘डाटा इन्ट्री’, ‘कल सेन्टर’ जस्ता परम्परागत सेवामा सीमित थिए । विदेशी आईटी प्रोडक्टहरूलाई नेपाली ‘क्लाइन्ट’ सम्म ल्याउने काम गर्थे । तर, अहिले इनोभेटिभ ग्रुप बढ्दै गएको र सहजखाले प्लेटफर्म बढेकाले धेरैले नेपालमा डेभलप गरेका एप्लिकेसनहरूसमेत विश्व बजारमा पुर्‍याइरहेका छन् । ‘अहिले हामीले हेर्ने भनेकै ग्लोबल मार्केट हो,’ पिकोभिकोका अग्रवाल भन्छन्, ‘ग्लोबल मार्केट हेरेर काम गर्न सकियो भने हाम्रा प्रोडक्टले समेत स्थान पाउन सक्छन् ।’ 

प्रकाशित : पुस ८, २०७३ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्

चटपटेवाला बने हिरो आलोम

सुशील पौडेल

भारतमा चियावाला र नेपालमा तरकारीवालीले सोसल मिडिया हुँदै संसारभर तहल्का मच्चाए । उनीहरूले पाएको चर्चाकै भरमा फिल्म खेल्ने अफर पनि आए ।

तर यतिबेला बंगलादेशका एक हिरो भने ‘सुपरस्टार’ भइसकेपछि सोसल मिडियामा छाएका छन् । असरफुल अलोम सइद नाम गरेका युवक यतिबेला हिरो आलोम नामले भाइरल बनेका छन् । कतिपय मिडियाले त उनलाई सिधै भारतका रजनीकान्तसँग समेत दाँजेर बंगलादेशी रजनीकान्त भनेका छन् ।

हिरो आलोमले पाँच सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । सन् २००१ देखि ग्ल्यामर दुनियाँमा करिअर सुरु गरेका उनी हिरोको प्रचलित मान्यताअनुसार न गुड लुकिङ छन्, न त मसलबन्द बडी नै । कालो वर्णका यी हिरोका दाँत केही बाहिर निस्केका छन् भने ज्यान मरनच्याँसे प्रकृतिको छ । उनको देख्नमा एउटै राम्रो भनेको कपाल सर्लक्क परेको छ । बंगलादेशमा ठूलो फ्यान फलोइङ कमाइसकेका हिरो आलोमसँग सेल्फी फोटोका लागि बंगाली टिम क्रिकेटरसमेत लालायित भएको तस्बिर बाहिरिएपछि चर्चा चुलिँदै गएको हो ।
हिरो आलोमलाई भाइरल बनाउने काम भने भारतीय सोसल साइट प्रयोगकर्ताले गरिदिएका हुन् । सिक्स र एट प्याक हिरोमा विश्वास गर्ने बलिउड र भारतका लागि उनको सानो जीउडाल र कालो वर्णको हिरो छवि अनौठो लाग्नु स्वाभाविक नै हो । हिरो आलोमलाई खिसिटिउरी गर्ने लहर यतिबेला नेपालसम्मै छाएको छ । तर ती सबै व्यंग्य र कटाक्षलाई उनको लगातारको मिहिनेत र लगनशीलताले खण्डन गरिदिन्छ ।
कुनै बेला हिरो आलोम सडक छाप थिए । उनी दस वर्षको छँदा बाबुले आमासहित उनलाई घरबाट निकालिदिए । सडकमा आएका आलोमले त्यसपछि बाबुकै धन्दा चनाचटपटे बेच्ने काम थाले । पढाइ त उनको त्यसपछि ब्रेक लागि नै हाल्यो । तर आशा र हिम्मत भने उनले रोकेनन् । दिनभरि चनाचटपटे बेचेपछि आलोम साँझ एक भिडियो पार्लरमा आएर बस्थे । पछि उक्त पार्लर आलोमले किने । दिनमा चटपटे बेच्ने आलोम साँझ फिल्म र गीतका डीभीडी बेच्थे । एक दिन अब्दुर रज्जाक नाम गरेका एक व्यक्तिले उनलाई केबल टीभीमा कामका लागि अफर गरे ।
सीडी र डीभीडीका चक्का बेच्दाबेच्दै आलोमलाई भित्री मनमा हिरो बन्ने इच्छा पलाइसकेको थियो । केबल टीभीमा काम गर्ने भएपछि यसले मूर्त रूप लिई नै हाल्यो । सन् २००८ मा हिरो आलोमले पहिलो म्युजिक भिडियोमा मोडलिङ गरे । उक्त भिडियोलाई उनले आफ्नै केबल टीभीबाट रिलिज गरे । दर्शकले भिडियो खुबै रुचाए । त्यसपछि आलमबाट उनी हिरो आलोमको बाटो खन्दै अघि बढे ।
‘पहिले केटीहरू मसँग काम गर्न हिचकिचाउँथे’ हिरो आलोमलाई आफू हिरो जस्तो लुक्स नभएकै कारण युवतीहरू स्क्रिन जोडी बन्न नचाहेको थाहा थियो । तर आलोमले यसमा लज्जाबोध गरेनन् । बरु आफ्नो उद्देश्यमा अडिग रहे र अघि बढ्दै गए । अहिले युट्युबमा उनका म्युजिक भिडियो लाखौंले हेर्न थालेका छन् । युट्युब हिट भएपछि भने हिरो आलोमलाई अहिले फिल्म र सिरियलबाट पनि अफर आउन थालेको छ । यतिबेला उनले हिरो हुनुको पुरानो मान्यतालाई समेत तोड्न सफल भएका छन् । आलोमलाई यतिबेला गरिब निम्न वर्गका दर्शकले आफ्नो हिरो मान्न थालेका छन् भने उनी केही गर्न चाहनेका लागि प्रेरक पनि बनेका छन् । 
(एजेन्सीको सहयोगमा)


 

प्रकाशित : पुस ८, २०७३ १०:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्