कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रिङरोडको रेल

-सुरज कुँवर

दीपाश्री निरौला निर्देशित ‘छक्कापञ्जा’ चलचित्रमा अञ्जु पन्त र राजनराज शिवाकोटीले स्वर दिएको, ‘पूर्वपश्चिम रेल...’ बोलको गीतको लोकप्रियता मापनका लागि रेलकै उदाहरण लिनुपर्ला ।

रिङरोडको रेल

मानौं चीनको सांघाई ट्रान्सर्‍यापिड ट्रेन । अचेल प्राय: यो गीत नबज्ने सायदै कुनै रमाइला कार्यक्रम होलान् । 

रेलको कुरा सुन्नेबित्तिकै ‘पूर्वपश्चिम रेल...’ को भाका मेरो दिमागमा दौडिहाल्छ । हालसालै कलंकीतिर जाँदा रेलको अर्को मीठो प्रसंगसँग साक्षात्कार भयो । सीतापाइलातर्फ जाने सडकको बायाँपट्टि मेरा आँखाले ‘काठमाडौं मेट्रो ट्ेरन’ देख्यो । नझुक्किनोस् काठमाडौंमा मेट्रो बनिसकेको छैन । 
अहिले चिनियाँ सरकारको सहयोगमा रिङरोड विस्तार मात्रै भइरहेको छ । मेट्रो निमार्णको चर्चा मात्र भइरहेको छ । कलंकीको रेल चाहिँ गएर टक्क बस्नुपर्ने तर गुड्न चाहिँ नगुड्ने खालको हो जसमा ३१ सिट छन् । यस्तो रेल खडा गर्ने चितवनका २८ वर्षीय सुजन तामाङ खासमा इन्जिनियर नभई होटल म्यानेजमेन्टका विद्यार्थी हुन् । 
यो खासमा भोजन गृह हो । ०६२ मा चितवनबाट एसएलसी सकेपछि काठमाडौं उक्लिएका उनले इन्जिनियरिङ विषय अध्ययन गर्ने मुड बनाएका थिए, तर एकाएक अतिथि सत्कारसँग जोडिएको हस्पिटालिटी विषय पढ्न पुगे । अनि मलेसिया पुगेर इन्टर्नसिप गरे । काठमाडौं फर्किए र कलंकीमा सुरु गरे पहिलो प्रोजेक्ट, बसमा रेस्टुरेन्ट । त्यसलाई कलंकी क्षेत्रमा चासोपूर्वक हेरियो । दुर्भाग्य, विनाशकारी भूकम्पले ध्वस्त बनाइदियो । उनले सुरु गरे गत जेठमा दोस्रो प्रोजेक्ट, जसको नाम राखियो काठमाडौं मेट्रो ट्रेन ।
कलंकीतिर पुगिहाल्नुभयो भने, चोकदेखि उत्तरतर्फ (सीतापाइला जाने मूल सडक) करिब ३ सय मिटर तल सुजनको रेल देखिन्छ । तेस्रो तलामा बसेको रेल आकारभित्र फोल्डिङ सिट देखिन्छन् । ‘यी कुनै बसका, कुनै कारका सिट हुन्,’ अविवाहित सुजनले भने, ‘केही खानुहोस् तर भिन्न तरिकाले भनेर यो मोडल अपनाएको हुँ ।’
यहाँभित्रै उनले सानो आर्टिफिसियल पोखरी बनाएका छन् जहाँ माछा पौडीरहेका देखिए । ‘कुन माछा खाने नेटमा समात्नुहोस्, हामी तयार पारिदिन्छौं,’ कमनकार्प माछा देखाउँदै सुजन भन्दै थिए । ७० लाख बढी लगानी भएको रेल रेस्टुराँमाथि उनले गेस्टहाउस, मुनि बैंकेट र म:म रेस्टुराँ पनि चलाएका छन् । यहाँको मेनु मध्यम वर्गले सजिलै अफोर्ड गर्न सकिने खाले छ । ह्विलचेयर प्रयोगकर्तालाई उक्लिने सुविधा नभएको यो रेलमा जो आउँछन्, उनीहरू मोबाइलको क्यामराबाट फोटो खिचेर फेसबुकमा अपलोड गरिहाल्छन् । रेलभित्र साउन्ड सिस्टम रेलकै जस्तो छ, अनि दीपाश्री निरौलाले निर्देशन गरेको छक्कापञ्जा चलचित्रको ‘पूर्वपश्चिम रेल...’ गीत पनि घन्किन सक्छ । 

प्रकाशित : पुस १५, २०७३ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?