कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

थिंक पिंक, अफ द सोल्जर र मिडी स्कर्ट

सजना बराल

फिलिपिन्सकी फेसन ब्लगर जेनिफर बाचडिमले सन् २०१६ को सुरुवातमै भनेकी थिइन्– ‘यो साल अफ द सोल्जर ड्रेसको ट्रन्डे देखिनेछ ।

थिंक पिंक, अफ द सोल्जर र मिडी स्कर्ट

थिंक पिंक कायम रहेनेछ । टाई–डाई पहिरन हिप्पी आन्दोलन सम्झाउन सफल हुनेछन् ।’ जेनिफरको उक्त फेसन फोरकास्ट धेरै हदसम्म मिल्न गयो । टाई–डाई भने उतिसाह्रो चर्चामा आएन । 

क्रिटिक्सहरूका अनुसार फेसन ट्ेरन्ड कसरी, कुन बेला र ठ्याक्कै केले परिवर्तन गर्छ भन्ने यकिन हुँदैन । यद्यपि, कुन साल कस्तो ट्ेरन्ड सेट हुन्छ भन्ने कुरा अन्तर्राष्ट्रिय फेसन जगत्मा भने लगभग पहिले नै निश्चित हुन्छ । कुन रङ बढी चलाइन्छ, म्याटरियल के प्रयोग हुन्छन्, कस्तो कट्समा बढी चल्छन् जस्ता कुरा फेसन क्रिटिक्सले पहिले नै अनुमान लगाउन सक्छन् । 
आउँदो आइतबारबाट अङ्ग्रेजी नयाँ वर्ष यानी सन् २०१७ सुरु हुँदैछ । नयाँ सालको फेसन संसार कस्तो हुनेछ, त्यो त समयले देखाइहाल्ला । अहिलेलाई भने हामी पुरानै वर्षको गतिविधि पल्टाउनेछौं । फेसन क्षेत्रमा २०१६ लाई गुलाबी रङको वर्चस्व रहेको सालका रूपमा सम्झिनुपर्ने भएको छ । स्तन क्यान्सरविरुद्ध चेतना फैलाउने उद्देश्यले थालिएको ‘थिंक बिफोर यु पिंक’ अभियानलाई सेलेब्रिटीहरूले पहिरनमार्फत निकै बढावा दिए यसपालि । 
बेल्जियममा सन् २००२ बाटै सुरु भएको उक्त अभियान अहिले आएर अझै व्यापक बनिरहेको छ । थिंक पिंकका नाममा २०१६ मा थुप्रै च्यारिटी फेसन सोसमेत आयोजना गरिए । फेसन डिजाइनर एवं गायिका भिक्टोरिया बेकह्यामले गुलाबी रङलाई आफ्नै ‘ब्वाइइस’ (केटा शैलीको) लुक्समा पहिरिएकी थिइन् । बेलायती राजकुमारी केट मिडलटन, गायिका केटी पेरी आदि पनि गुलाबी पहिरनमा ठाँटिएको मनग्गे देखियो ।
अक्टोबर महिनामा थिंक पिंक व्यापक बनेको भए पनि वर्षको अन्त्यतिर सेलेब्रिटीहरूले रातो रङ बढी रुचाए । क्रिसमस, नयाँ वर्ष जस्ता चाडले गर्दा हुनुपर्छ पछिल्ला महिनामा आयोजित अवार्ड कार्यक्रमदेखि डिनर पार्टी र नाइट वाकमा निस्किँदासमेत विदेशी कलाकारलाई रातो पहिरनमा भेटिएको थियो । ‘संयोग हो कि के हो ?’ अमेरिकी म्यागजिन बिलबोर्डले लेखेको थियो, ‘कलाकारहरू रातो लुगा मात्रै लगाइरहेका छन् ।’
फेब्रुअरीमा सम्पन्न ५८ औं ग्रामी अवार्डदेखि डिसेम्बरसम्मका तस्बिर राखेर बिलबोर्डले कलाकारको रातो रङप्रतिको मोह देखाएको थियो । गायिका एरियाना ग्रान्डी, केटी पेरी, सेलेना गोमेजलगायतको तस्बिर उक्त म्यागजिनमा छ । 
कुनै बेला प्राय: सेलिब्रिटीहरूले मात्रै लगाउने गरेको अफ द सोल्जर टप अर्थात् कुम देखाएर लगाइने टप्सहरू यो साल स्ट्रिट फेसनकै रूपमा छाए । भारत, नेपाललगायत दक्षिण एसियाली मुलुकहरूमा समेत यस्तो गेट–अप प्रशस्त देखियो । फेसनको राजधानी मानिने पेरिस, न्युयोर्क, मिलान र लन्डनमा लेदर ज्याकेट, रकसाक झोला, हाई राइज जिन्स र किनोमो स्ट्रिट फेसन बनेका थिए । 
‘हामीकहाँ विदेशी फेसनको ठूलो प्रभाव छ,’ विगत २५ वर्षदेखि नेपाली फेसन क्षेत्रमा सक्रिय रहँदै मोडल एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले भने, ‘पहिले लाहुरे परिवारले फेसन भित्राउँथे । अहिले सबै फेसन कन्सस भइसकेका छन् ।’ दक्षिण एसियाली मुलुकहरूमा विश्व फेसनको प्रभाव परे पनि यहाँ विशुद्ध विदेशी फेसन भने देख्न नपाइने उनले बताए । 
प्रशान्तका अनुसार दक्षिण एसियाली देशमा विदेशी र स्थानीय फेसन मिक्स्ड भएर हाइब्रिड संस्कृति सिर्जना हुने गरेको छ । उनको भनाइलाई २०१६ मा खुबै चलेको ‘इन्डो–वेस्टर्न वेयर’ को ट्ेरन्डले प्रमाणित पनि गर्छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाजस्ता मुलुकमा पश्चिमा र स्थानीय पहिरनको फ्युजन गराउने चलन अहिले बढेको छ । सारी, ब्लाउज, कुर्ती, लेहेंगा जस्ता रैथाने लुगालाई गाउन, टनिक, वान पिस जस्ता अर्बान ड्ेरससँग फ्युजन गराइन्छ ।
अघिल्ला वर्षहरूमा झैं पार्टी वेयरका लागि यसपालि बढी नै इम्ब्रोइडर्ड लुगा रुचाइएको पाइयो । बलिउडमा यसपालि करिना कपुर खानको ‘म्याटरनिटी स्टाइल’ ले धमाका मच्चायो । पुक्क फुलेको पेटसहित उनले ल्याकमे फेसन विकको र्‍याम्पमा उत्रिएर मन्तव्य दिँदा निकै तारिफ पाएकी थिइन् । जुही चावला र सोफी चौधरीले लगाउने गरेका लामा कुर्ता यसपालि ‘रिभाइभ’ भए । यद्यपि कुर्तीको डिजाइन भने फरक छन् ।
०००
अमेरिकी गायिका बियोन्सेले फेब्रुअरीमा लन्च गरेको ‘फर्मेसन...’ म्युजिक भिडियोमा गुसी ब्रान्डको मिडी स्कर्ट लगाएकी छिन् । उनले झैं बलिउड अभिनेत्री दीपिका पादुकोणले पनि रातो ब्लाउज र स्कर्टमै गएको सेप्टेम्बरमा एक म्यागजिनका लागि फोटोसुट गराएकी थिइन् । वास्तवमा यो वर्षैभरि सेलेब्रिटीहरूले रेड कार्पेटदेखि व्यक्तिगत घुमफिरका क्रममा समेत थरीथरीका मिडी स्कर्ट लगाएको देखियो ।
भारतीय फेसन क्रिटिक्सहरूले २०१६ लाई बम्बर ज्याकेटको वर्षसमेत भनेका छन् । ट्राभल–वेयरका रूपमा गायिका रिहानादेखि अभिनेत्री आलिया भट्टले समेत यस्तो ज्याकेट लगाएको उनीहरूले उल्लेख गरेका छन् । कम्मरमा इलास्टिक भएको छोटो साइजको उक्त ज्याकेट लगाउनेमा ज्याकलिन फर्नान्डेज र प्रियंका चोपडासमेत थिए । 
एयरपोर्टमा भेटिँदा उनीहरू धेरैजसो बम्बर ज्याकेटमै हुने गरेको बताइन्छ । ‘यस्तो लाग्छ हरेक व्यक्तित्व, मुड र समारोहलाई मिल्ने गरी बम्बर बनाइएका छन्,’ भारतीय समीक्षकहरू भन्छन्, ‘यो वर्षको प्रिय पहिरन यसलाई मान्न सकिन्छ ।’ त्यसो त क्रप टप्स, पमपम र स्लोगन टिज पनि फेसनमै थिए यसपालि । द भोग म्यागजिनले गरेको सर्वेक्षणअनुसार सन् २०१६ को फेसन ट्ेरन्डमा अहिलेसम्म अफ द सोल्जर ड्रसे, थिंक पिंक, ओभर द नि बुट, किमोनोलगायत अग्रस्थानमा देखिन्छन् । 

प्रकाशित : पुस १५, २०७३ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?