ओलम्पिक, युरो र कोपा

वर्ष २०१६ विश्व फुटबलमा लेस्टरमय रह्यो । उसले इंग्लिस प्रिमियर लिग अविश्वसनीय रुपमा जित्यो ।

ओलम्पिक, युरो र कोपा

नेपालले पनि बंगबन्धु गोल्डकप, सोलिडारिटी कप जित्यो भने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदकसमेत हात पार्‍यो । २०१६ मा भएका तीन ठूला प्रतियोगिता, त्यसका हिरो र फ्लप स्टार :

‘ट्रिपल–ट्रिपल’
विश्वकै सबभन्दा तेज गतिका मानव जमैकन स्प्रिन्टर उसेन बोल्टले फेरि एकपल्ट आफूलाई ओलम्पिकमा सिद्ध गरे । उनले ब्राजिलको रियो डे जेनेरियोमा भएको ३१ औं समर ओलम्पिकमा तीन स्वर्ण पदक जिते । उनले १ सय, २ सय मिटर र चार गुणा १ सय मिटर रिलेमा लगातार तेस्रोपल्ट ओलम्पिक स्वर्ण जितेका हुन्, जुन अरू खेलाडीले बनाउन सकेका थिएनन् । त्यसैले यसपल्ट उनको ओलम्पिक उपलब्धिलाई ‘ट्रिपल–ट्रिपल’ भनिन्छ ।
संन्यास लिइसकेका अमेरिकी स्वीमर माइकल फेल्प्सले फेरि स्वीमिङ पुलमा फर्कंदै रियोमा ५ स्वर्ण र १ रजत जिते । उनी ओलम्पिक इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् । पाँच ओलम्पिकमा उनले कुल २३ स्वर्ण, ३ रजत र २ कांस्यसहित २८ पदक जितेका छन् ।
रियोका अर्का स्टार हुन्, सिमोनी बाइल्स । यी अमेरिकी टिनएजर्स जिम्न्यास्टिकमा चार स्वर्ण जित्ने पहिलो खेलाडी भइन् । रियोमा सिंगापुरका जोसेफ स्कुलिङ, बेलायती मो फराहले पनि तहल्का मच्चाए । समग्रमा अमेरिकी वर्चस्व कायमै रह्यो भने बेलायत पनि माथि उक्लियो । चीन भने स्वर्णको स्पर्धामा कमजोर देखियो । चर्को राजनीतिबीच सुरु भएको ओलम्पिक ब्राजिलले भव्य रूपमा सम्पन्न गरेको थियो । नेयमरको कप्तानीमा ब्राजिलले ओलम्पिक फुटबलमा पहिलो स्वर्ण पनि यसैपालि जित्यो ।

रोनाल्डोको भाग्य
क्रिस्टियानो रोनाल्डोका लागि २०१६ ‘गोल्डेन इयर’ नै बन्यो किनभने उनको टिम पोर्चुगल युरोपेली च्याम्पियन बन्यो । अविश्वसनीय रूपमा समूह चरण पार गरेको पोर्चुगलले फाइनलमा आयोजक फ्रान्सलाई अतिरिक्त समयमा १–० ले हराएर पहिलोपल्ट युरो कपको उपाधि जितेको थियो । फाइनलमा चोट बोकेपछि सुरुमै रोनाल्डोले मैदान छाडे पनि एडरले निर्णायक गोल गरेका थिए ।
पोर्चुगिज कप्तान रोनाल्डोले युरोमा ३ गोल गरेका थिए । उनको क्लब रियल म्याड्रिड पनि यही वर्ष युरोपेली च्याम्पियन बन्यो । रियलले यूईएफए सुपरकप र क्लब विश्वकप पनि जित्यो । उनले लियोनल मेसीलाई उछिन्दै २०१६ को बलुन डि’अर पनि कब्जा गरे ।
रियलमा रोनाल्डोका ‘पार्टनर’ गारेथ बेलले पनि वेल्सलाई युरोको सेमिफाइनल पुर्‍याए । युरोमा सर्वोत्कृष्ट खेलाडी चुनिएका फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजमनले सबभन्दा बढी ६ गोल पनि गरेका थिए । एट्लेटिको म्याड्रिडका लागि पनि उनी २०१६ मा ‘फर्म’ मै थिए ।
 
विचरा मेसी
बार्सिलोनाका सदावहार स्टार लियोनल मेसीका लागि अन्तर्राष्ट्रिय फुटबल करिअर सधैं ‘अभिसाप’ बन्दै आएको छ भनौं या उनले अर्जेन्टिनाका लागि उत्तिकै राम्रो खेल्न सक्दैन भनौं । उनका लागि वर्ष २०१६ पनि उस्तै रह्यो ।
मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई चिलीले पेनाल्टी सुटआउटमा हराएर ‘कोपा अमेरिका शतवार्षिकी’ को उपाधि जित्यो । त्यसमा मेसीले पनि पेनाल्टी गुमाएका थिए । अन्तर्राष्ट्रिय फुटबलमा मेसीको टिम चौथोपल्ट फाइनलमा हारेको थियो । त्यसबाट निराश बनेका उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा पनि गरे तर उनी फेरि अर्जेन्टिनी जर्सीमा फर्किइसकेका छन् । उनले गएको सिजन बार्सिलोनासँग ला लिगा, कोपा डेल रे र स्पेनी सुपर कप जितेको थियो । 

प्रकाशित : पुस १५, २०७३ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?