रंगमञ्चमा तन्नेरी पुस्ता

प्रवीण बानियाँ

पूर्वको मुख्य सहर विराटनगर एकताका रंगकर्मले तातेको थियो । ०३८ सालमा आरोहण गुरुकुल स्थापना भएसँगै विराटनगरमा नाट्य गतिविधि ह्वात्तै बढे, आममानिस रंगमञ्चतर्फ तानिए । क्रमश: मोफसलको रंगकर्मले एक प्रकारको गति लियो । सर्वसाधारण पैसा तिरेर नाटक घरसम्म पुग्न थाले ।

रंगमञ्चमा तन्नेरी पुस्ता

त्यो उत्साह लामो समयसम्म टिकेन । नाट्य गतिविधि हुन छाडे, नाटक घरसम्म पुग्ने एक तहका दर्शकको लाइन पातलिँदै गयो । तर केही वर्षयता तन्नेरी पुस्ता आएसँगै यसले पुनर्जीवन पाएको छ । दर्शक नाटक घरतिरै फर्किन थालेका छन् ।
...
मोरङका अशोक गौतम (२२) कमर्सका विद्यार्थी हुन् । तर, उनको रुचि भने फरक छ– रंगकर्म । स्कुल पढ्दा बेला–बेला सडक नाटक खेल्ने उनको बिस्तारै नाटकप्रति लगाव बढ्यो । स्कुल पढ्दा विराटनगरमा नाटक घर छ भन्ने सुनेका रहेछन् । उच्च शिक्षा अध्ययन निम्ति विराटनगर आएपछि कति दिन गुरुकुल खोज्दै हिँडे । पछि एक जना रंगकर्मीले उनलाई त्यहाँसम्म पुर्‍याए । अब उनका लागि सबैभन्दा महत्त्वपूर्ण नाटक घर जानु हुन थाल्यो । 
०७० साल । आरोहण गुरुकुलमा ‘धोको’ नाटक मञ्चन हुँदै थियो । केही रंगकर्मीसँग हेलमेल बढाएका अशोकले त्यसबेला उक्त नाटकमा केही भूमिका मागे । सुरुमा उनलाई भूमिका दिने भने पनि अन्तिममा पाएनन् । उनी निराश बने । आन्दोलनको सिन रहेको उक्त नाटकमा पछि उनलाई समावेश गराइयो । ‘मेरो रंगकर्मको टर्निङ प्वाइन्ट त्यही थियो,’ उनले सुनाए । 
बुबाआमाले दिएको पैसा खर्चेर कलेज पढ्ने उमेरमा अहिले अशोकजस्ता थुप्रै युवा रंगमञ्चमा पसिना बगाइरहेका छन् । त्यसैमा उनीहरू भविष्यको रेखा कोर्न तल्लीन छन् । अहिले गुरुकुलमा मञ्चन हुने अधिकांश नाटकको लिड रोलमा उनीहरू नै हुन्छन्, कहिलेकाहीं विषय र चरित्रअनुसार आवश्यक परे बाहिरका रंगकर्मी बोलाइन्छ । अन्यथा, विराटनगरको गुरुकुल पछिल्लो समय उनीहरूलगायतको समूहले धानेको छ । 
गुरुकुलकी अर्की नाट्यकर्मी हुन्– गीता कोइराला (२६) । ०६६ सालबाटै सडक नाटक खेल्दै आएकी उनी पछि गुरुकुलसँग जोडिइन् । सडकबाट रंगीन मञ्चमा पाइला टेकेकी उनलाई दशक लामो नाट्यकर्ममा आजसम्म पछाडि फर्किएर हेर्नुपरेको छैन । बिहान कलेज जाने, दिउँसो निजी विद्यालयमा पढाउने अनि बेलुका डान्स सेन्टरमा नृत्य सिकाउने, यो कार्यसूची सकेर नाटक घरसम्म पुग्न केहीले छेक्दैन ।
तर, अन्य सहकर्मीभन्दा गीताले रंगकर्म निम्ति बढी संघर्ष गर्नु परिरहेको छ । उनलाई परिवारबाट स्वतन्त्र भएर हिँड्न, नाटक खेल्न छुट छैन । नाटक खेल्न परिवारले अनुमति नदिँदा–नदिँदै पनि उनी विद्रोह गरेर आफ्नो इच्छा पूरा गरिरहेकी छन् । ‘मलाई घरबाहिर निस्केर मञ्चसम्म आइपुग्न अनेक कुरासँग जुध्नुपर्छ, परिवारले मेरो काम नबुझ्दा कहिलेकाहीं असहजता आउँछ,’ गीता भन्छिन् ।
राजेश ठाकुर (२६) लाई ०६८ सालमा पहिलोपटक ‘महाकन्जुस’ (मैथिली) नाटक खेल्दाका दु:ख आज सपनाजस्तै लाग्छन् । रहरै–रहरमा रंगकर्ममा हामफालेका राजेशले नाट्य यात्राका सुरुआती दिनमा भोकभोकै काम गरे । कलेज जीवनमा न आफ्नो खल्तीमा नोट हुन्थ्यो, न नाटकबाटै आम्दानी हुन्थ्यो । तैपनि, उनी आफ्नो रहरको काम छाडेर भागेनन्, अनवरत लागिरहे । पछि विराटनगरको मैथिल नाट्य कला परिषद्सँग जोडिएपछि उनको नाट्यकर्मले गति पायो, दायरा फैलियो । आज उनी त्यसैको बलमा ठूलो मञ्चमा उभिएका छन् ।
अन्य सहकर्मीझैं राजेश पनि कमर्सकै विद्यार्थी हुन् । उनी विश्वविद्यालयमा व्यवस्थापन विषय लिएर पढ्दैछन्, कामचाहिँ नाट्य क्षेत्रमा गरिरहेछन् ।     विराटनगरकै सागर विश्वास (२२) गुरुकुलमा नाट्य चरित्र निभाउनेदेखि प्राविधिक पाटोसमेत सम्हालिरहेका अर्का तन्नेरी नाट्यकर्मी हुन् । उनी पनि अन्य सहकर्मीझैं रंगमञ्चमै भविष्य खोजिरहेछन् । 
विडम्बना रंगमञ्चमै भविष्य खोजिरहेका सागरहरूजस्ता तन्नेरी रंगकर्मी धेरैजसो चाहिँ फुर्सदमै हुन्छन् । कारण– गुरुकुलमा नियमित नाटक मञ्चन हुँदैन । दर्शक नहुनु, दर्शकमा पैसा तिरेर नाटक हेर्ने बानी नहुनु, नाटकमा लगानी गर्ने मान्छे नभेटिनु यसका कारण हुन् । तैपनि, गुरुकुलको प्रयासमा पछिल्लो समय यहाँको नाट्यकर्मले गति लिँदो छ । 
विराटनगरका तन्नेरी नाट्यकर्मी अहिले मोफसलको रंगमञ्चलाई पुन: ब्युँताउने सोचका साथ जुटेका छन् । तर, अपेक्षाअनुसार दर्शक हलसम्म नपुग्दा उनीहरू कहिलेकाहीं निराश हुन्छन् । ‘अहिले हामी कसरी नियमित नाटक गर्ने र दर्शकलाई कसरी नाटक घरसम्म ल्याउन सकिन्छ भन्नेमा लागेका छौं,’ अशोक गौतम भन्छन्, ‘हामीलाई अहिले लगानीकर्ताको खाँचो छ ।’ 

प्रकाशित : फाल्गुन १३, २०७३ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?