स्न्यापको उत्साह

हेलो शुक्रबार

केही साताअघि सेयर बिक्री खुला गरेको स्न्यापच्याट भ्यालुका हिसाबले चल्तीका सोसल मिडिया कम्पनीको सूचीको अग्रस्थानमा अटाउन सफल भएको छ । तर, यसका आगामी दिन चुनौतीरहित भने हुने छैन ।

फेसबुकले २०१२ मा पहिलो पटक सेयर खोल्दा एकैपटक कम्पनीको बजार मूल्य १ सय ४ बिलियन डलर पुगेको थियो । त्यही दिन सबैले फेसबुकको सफलताको आकलन गरे किनकि त्यसअघि नयाँ कम्पनीले सेयर खोल्दा यस्तो भएकै थिएन । ५ वर्षअघि फेसबुकले वाहवाही पाउँदा स्न्यापच्याट भर्खरै जन्मिएको थियो । यसले चर्चा गर्नलायक केही गरेकी थिएन ।
संसारकै सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया कम्पनीले २०१३ मा स्न्यापच्याटलाई तीन अर्ब डलरमा किन्ने प्रस्ताव गरेको थियो । तर, स्न्यापच्याटका संस्थापक इभान स्पेगलले त्यसलाई लत्याइदिए । फेसबुकको त्यति राम्रो मूल्यको प्रस्ताव नमान्ने स्न्यापच्याट संस्थापकको निर्णयले धेरैले आश्चर्यमा पार्‍यो । 
तर, ४ वर्षपछि इभान स्पेगलले आफ्नो निर्णय सही भएको प्रमाणित गरेका छन् । उनको कम्पनीको बजार मूल्य एकाएक २८ बिलियन डलर पुगेको छ । दुई साताअघि स्न्यापच्याटले पब्लिक सेयर खोल्दा धेरैले २०१२ को फेसबुक सम्झिए । १७ डलरमा बिक्रीमा राखिएको स्न्यापच्याटको सेयर पहिलो दिन नै ४१ प्रतिशत बढेर प्रतिसेयर मूल्य २४ डलरमा पुग्यो । भ्यालुका हिसाबले यो संसारकै ठूला सोसल मिडिया कम्पनीको सूचीमा अटाएको छ । तर, यो मूल्यमा आइपुग्न स्न्यापच्याटले ६ वर्षमा कमाएको प्रयोगकर्ताबीचको लोकप्रियता भने भनिसाध्य छैन ।
स्न्यापच्याटले यो २०१७ मा करिब हजार मिलियन आम्दानी गर्ने अनुमान छ । अहिले भ्यालुको हिसाबले पनि यो धेरै अघिदेखि सक्रिय ट्वीटरभन्दा दोब्बर ठूलो भएको छ । कम्पनीसँग अहिले दैनिक एक सय ५८ मिलियन सक्रिय प्रयोगकर्ता छ जसले दैनिक २५ लाख फोटो आदानप्रदान गर्छन् । नयाँ पुस्तामाझ स्न्यापच्याट यति लोकप्रिय बनेको छ कि दशकौं अघि कोडाकले फोटो खिच्नुलाई ‘स्न्याप’ भनी चलनचल्तीमा ल्याएको शब्द अहिले कम्पनीको पर्याय बनेको छ । प्रयोगकर्ताले स्न्यापच्याटमार्फत आदानप्रदान गर्ने तस्बिरलाई स्न्याप भन्न थालेका छन् । 
सेयर खुला गरेलगत्तै यसलाई धेरैले फेसबुकसँग किन पनि तुलना गरेका हुन् भने यसका अधिकांश प्रयोगकर्ता ३० वर्षभन्दा कम उमेरका छन् र करिब दुई अर्ब प्रयोगकर्ता भएको दाबी गर्ने फेसबुकमा सक्रिय कम उमेरका प्रयोगकर्ताको संख्यामा कमी आइरहेको छ । नयाँ पुस्तामा लोकप्रिय भएकाले यसको प्रयोगकर्ता बढिरहेका छन् र यसले सक्रिय प्रयोगकर्तामा कुनै दिन फेसबुकलाई जित्नेछ भन्ने तर्क गर्नेहरूको कमी छैन । 
यसका लागि स्न्यापच्याटले आफूलाई ‘सेक्सटिङ’ एप बन्नबाट बचाउनै पर्छ । स्न्यापच्याटले नयाँ पुस्तामाझ लोकप्रियता कमाउनुको एकमात्र कारण यसमा पठाएका ‘फोटोहरू’ लक्षित व्यक्तिले हेरेपछि स्वत: डिलिट हुने फिचर थियो । जसका कारण किशोरकिशोरीहरू स्न्यापच्याटमा आफ्ना संवेदनशील स्न्यापहरू पठाउन धक मान्दैन थिए । पछिल्लो समय स्न्यापच्याटले आफ्नो यो गलत ब्रान्डिङबाट बच्न हरसम्भव प्रयास गरिरहेको छ र एपबाहेकका व्यवसायमा पनि हात हाल्ने योजना बनाइरहेको छ । 
सायद स्न्यापच्याटको यो इमेज विस्तारै मेटिने पनि छ किनकि अहिले प्राइभेसीको नाम दिएर अन्य एपहरूले पनि स्न्यापच्याटको सिको गर्दैछन् । र, यसो भएमा स्न्यापच्याटको यो फिचर सामान्यझैं बन्नेछ । स्न्यापच्याट चाहन्छ बढी उमेरका प्रयोगकर्ताले पनि आफ्नो एप प्रयोग गरुन् । त्यसैले उसले ठूला मिडिया कम्पनीहरूसँगको सहकार्यमा डिस्कभर फिचर केही अघि सुरु गरेको छ जसमा मिडिया कम्पनीले तयार पारेका कन्टेन्टहरू यसका प्रयोगकर्ताले पढ्न पाउने छन् ।
केही अघि मात्र स्न्यापच्याटले छोटो–छोटो भिडियो फुटेज खिच्न सक्ने चस्मा सार्वजनिक गरेको थियो र भविष्यमा ऊ ३६० डिग्री भिडियो खिच्न सक्ने डिभाइस बनाउने तयारीमा रहेको खबरहरू सार्वजनिक भएको छ । 
पछिल्लो समय स्न्यापच्याटले आफू चल्तीका सोसल मिडियाभन्दा भिन्न हुनुको प्रमाण पनि छाडिदिएको छ किनकि सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल मिडिया कम्पनी फेसबुकदेखि लोकप्रिय म्यासेजिङ एप भाइबरसम्मले उसको जस्तै फिचरहरू कपी गरी प्रयोगकर्ता आकर्षित गर्न सक्रिय छन् । 
फेसबुकले आफ्नो म्यासेन्जरमा मात्रै नभई आफूअन्तर्गतको इन्स्टाग्राम र ह्वाट्सएपमा समेत स्न्यापच्याटको जस्तै फिचरहरू कपी गरिरहेको छ । यसबाट सबैभन्दा धेरै फाइदा भने इन्स्टाग्रामले पाएको छ । फोटो सेयरिङ साइट इन्स्टाग्रामले स्न्यापच्याटको जस्तै ‘स्टोरी’ फिचर सुरु गरेपछि प्रयोगकर्ताकाबाट राम्रो रेस्पोन्स पाएको थियो । र भनिन्छ, इन्स्टाग्रामले स्टोरी सुरु गरेपछि स्न्यापच्याटमा स्टोरी फिचरमा प्रयोगकर्ता केही घटे । 
फिचर कपी गर्ने काममा एक धेरै अघि बढेको फेसबुकले म्यासेन्जरलाई ठ्याक्कै स्न्यापच्याटझैं बनाइसकेको छ । इन्स्टाग्रामको उदाहरणलाई सत्य मान्ने हो भने म्यासेन्जरमा कपी गरिएको फिचरले स्न्यापच्याटलाई नै घाटा पुर्‍याउनेछ किनकि धेरै प्रयोगकर्ता म्यासेन्जरसँगै छ ।
यसका लागि स्न्यापच्याटले आगामी दिनमा झन् धेरै सिर्जनाशीलता देखाउन सक्नुपर्छ किनकि प्रयोगकर्ताले सधैं एउटै कुरा मन पराइरहँदैनन् भन्ने उदाहरण खोज्न अन्त जानु पर्दैन, पछिल्लो समय ट्वीटरले नयाँ प्रयोगकर्ता आकर्षित गर्नुपरेको संघर्षलाई हेरे पुग्छ । 

प्रकाशित : चैत्र ४, २०७३ १०:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

लभ वाग्मती !

सुरविन्द्रकुमार पुन

२०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ अभियानले यही फागुन २८ मा २०० औं साता पूरा गर्‍यो । उक्त अवसरमा आयोजना गरियो ‘वाग्मती पदयात्रा’ । वाग्मती अभियानले राजधानी सहरको सुवास खोज्न भौंतारिरहेका युवालाई निकै आकर्षित गरेको देखिन्छ । पदयात्रामा सहभागी युवा संख्या त्यसको प्रमाण हो ।

चाहे त्यो स्कुल, कलेजका स्काउट टोली हुन् या विद्यार्थीको स्वयंसेवी गु्रप, वाग्मती क्लिनिङमा कलिला मनहरूको कन्ट्रिब्युसन सबैभन्दा अग्रणी पाइन्छ । ‘वाग्मती सफाइ अभियानमा युवाको हातेमालो प्रशंसनीय छ,’ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी बोर्ड मेम्बर माला खरेल भन्छिन् ।
दक्षिण कोरियाको राजधानी सियोलको मध्य भाग हुँदै बहने छङगेछङ नदीले पुनर्जीवन पाएको धेरै भएको छैन । अहिले उक्त नदी कोरियाको प्रमुख पर्यटकीय आकर्षण बनिसकेको छ । सूचना क्रान्तिको युगमा नेपाली युवाहरू संसारका हरेक चर्चित घटनाबारे जानकार छन् । तर आफ्नै देशका धरोहरहरूको बिजोगले उनीहरूको मन कटक्क खान्छ ।
मानव सभ्यताको सम्बन्ध नदी किनारसँग अन्योन्याश्रित छ । काठमाडौंको वाग्मती सभ्यताको इज्जत राख्न यतिबेला नयाँ जागरण देखिएको छ । तर यसमा युवाबाहेक अन्य वर्गले कत्तिको गम्भीरता देखाएका छन् त ? सिनामंगल निवासी अंकिता घिमिरे प्रश्न गर्छिन्– ‘हामी त हप्तैपिच्छे वाग्मतीको फोहोर उठाउँछौं तर वाग्मती छेवै बस्नेहरूचाहिँ घरको नाला र ढल सोझै मिसाइरहेका छन् । यो त बालुवामा पानी हाले बराबर होइन र ?’
उद्गम विन्दु बागद्वारदेखि चोभारसम्मको भ्याली सेगमेन्ट ३५ किमि छ । यसको ब्युटी जोगाउनु खासमा वाग्मती सभ्यताको खास संरक्षण हो । प्रा.डा. अभि सुवेदी लेख्छन्– ‘तर समस्या नदीमा छैन, समस्या हामीमा छ ।’

प्रकाशित : चैत्र ४, २०७३ १०:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT