संरक्षणमा युवा

विमल खतिवडा

चितवन रत्ननगर नगरपालिका १ स्थित सौराहा चोकका सुराजन श्रेष्ठ २१ वर्षका भए । सहिद स्मृति बहुमुखी क्याम्पसमा बीबीएम आठौं सेमेस्टरमा पढ्दै गरेका श्रेष्ठ फुर्सदको समयमा प्राय: संरक्षणको कार्यमा जुट्छन् । उनी पढाइमा ह्याम्पर नहुने गरी संरक्षणमा सक्रिय हुन्छन् ।

चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु पाइन्छन् । ती राष्ट्रको सम्पत्ति संरक्षणमा सबै जुट्नुपर्ने सन्देश दिन उनी साथीहरूसँग मिलेर स्कुल–स्कुल पुग्छन् । घर–गाउँमा सचेत गराउँछन् ।
उनले सन् २०१४ मा कानुनी रूपमा एनिमल राइट्स क्लब दर्ता गराए । जसमा ९ जनाको कार्यसमिति छ । ‘मैले फरक विषय पढे पनि वाइल्ड लाइफमा मनैदेखि लागेर काम गर्दै आएको छु,’ उनी भन्छन्,
‘यसलाई निरन्तरता दिँदै जानेछु ।’ उनको क्लबले सौराहामा आयोजना हुने हात्ती दौडविरुद्ध आवाज उठायो । हात्तीलाई कुदाएर अरूलाई मनोरञ्जन दिने काम राम्रो नहुने क्लबको जिकिर थियो ।
उनको संस्थाले पशु बलिविरुद्ध अभियान नै चलायो । यस्तो अभियानमा उनी एक्लै छैनन् ।
वान फुट फरवार्ड संस्थामार्फत वन र वन्यजन्तु संरक्षणसम्बन्धी प्राय: कार्यक्रममा नारायणगढकी सुष्मा पुरीको उपस्थिति रहन्छ । गुरुकुल कलेजबाट प्लस टु पास गरेकी उनी अहिले संरक्षण गतिविधिमा सक्रिय छिन् । यस्ता कार्यक्रम प्राय: पर्यटकीय क्षेत्र सौराहा आसपास हुन्छन् । कार्यक्रम हुने सुइँको पाउनासाथ उनी साथीसँग सौराहा
दौडिहाल्छिन् । ‘स्ट्ेर डगको उपचारमा सहयोग गर्दै यस्तो कार्यमा हात हालें,’ उनी भन्छिन्, ‘आफ्नै खुसीले लागेको हो, परिवारबाट राम्रो सहयोग मिलेको छ ।’
गत चैत २५ गते तस्करले गैंडा मारे । तेस्रो शून्य चोरी सिकार वर्ष मनाउन २६ दिन बाँकी छँदा अत्याधुनिक हतियार प्रयोग गरी गैंडा मारियो । चितवन निकुञ्जअन्तर्गतको बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वनमा यस्तो घटना भएपछि जिल्लावासी स्तब्ध बने । गैंडा मार्ने तस्करलाई कारबाहीको माग गर्दै युवाहरूले विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा साथ दिए । यसमा सुष्मा पनि साथीहरूसँग सौराहा पुगिन् ।
सौराहामा संरक्षणसम्बन्धी कार्यक्रमबारे सबैलाई वाइल्डलाइफ फोटो ग्राफर सागर गिरीले खबर गर्छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना प्रवाह गर्छन् । आई क्लिक फर कन्जर्भेसन संस्थाका फाउन्डर रहेका गिरी संरक्षणमा युवा एक जुट भए सबैमा जनचेतना जगाउन सकिने बताउँछन् । ‘ दुर्लभ वन्यजन्तुले चितवनलाई मात्र चिनाएको छैन, सिंगो मुलुकलाई चिनाएको छ,’ उनी भन्छन् । उनको अधिकांश समय दुर्लभ वन्यजन्तुको फोटो खिच्न र संरक्षण कार्यक्रममा सहभागिता जनाउँदैमा बित्छ । उनी अस्ट्रेलियामा ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट पढेर आएका हुन् । उता प्रेरणा माविबाट बायो साइन्स लिएर प्लस टु गरेकी १९ वर्षीया अस्मिता शाही ठकुरी पनि संरक्षणसम्बन्धी कार्यक्रममा छुट्दिनन् । नारायणगढ बेलचोकका माधव अधिकारी ब्याचलर इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी पढिरहेका छन् । उनी पनि छुट्टीको सदुपयोग साथीहरूसँगै मिलेर संरक्षणको कार्य गर्छन् ।
‘युवा पुस्ता अग्रसर हुँदा संरक्षणको क्षेत्रमा ठूलो सहयोग मिल्छ,’ नारायणगढ क्षेत्रपुरकी प्रज्ञा श्रेष्ठ भन्छिन् । कक्षा १२ मा अध्ययनरत उनले भोलेन्टियर भएर संरक्षणको क्षेत्रमा सघाउन तयार रहेको बताइन् । वान फुट फरवार्डका मेम्बर १५ जना भए पनि ७ जना एक्टिभ भएर यस्ता कार्यमा उपस्थित हुन्छन् । त्यस्तै एनिमल राइट्सका मेम्बर ३५ जना भए पनि ११ जना एक्टिभ छन् । पछिल्लो समय संरक्षणमा युवाहरूको आकर्षण बढेकोमा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख अभिनय पाठक दंग छन् । ‘पहिलाभन्दा कन्जर्भेसनमा युवा सहभागिता बढ्दै गएको छ,’ उनी भन्छन्, ‘यो सकारात्मक पक्ष हो ।’

प्रकाशित : वैशाख ८, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भोलेन्टियर टिचर्स

गणेश राई

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०६४ मा कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भए । तीमध्ये ४ लाख ६४ हजार ७ सय ४३ मात्रै भर्खरै सम्पन्न एसईई (स्कुल एजुकेसन एक्जाम) मा सहभागी भए । ६५ प्रतिशत विद्यार्थी कक्षा १० नपुग्दै कता लागे त ? राज्यका लागि ठूलो च्यालेन्ज रहेको यो प्रश्नमाथि धेरै बहस हुन्छ ।

तर केही सय युवाचाहिँ यो समस्यालाई आफ्नै कर्मको माध्यमबाट चिर्न गाउँ–गाउँमा गएर पढाउँदै छन्, स्वयम्सेवी शिक्षकका रुपमा । टिच फर नेपाल (टीएफएन) नामक संस्थाले २०७० देखि ललितपुर, सिन्धुपाल्चोक र धनुषा जिल्लाका ४० वटा सरकारी स्कुलमा युवालाई खटाउँदै आएको हो । टीएफएनका प्रबन्ध निर्देशक शिशिर खनालका अनुसार यो अभियानमा दुई सय युवा सहभागी छन् । सामान्य निर्वाह खर्च लिएर गाउँका नानीहरुको भविष्य कोर्न हिँडेकाहरुमध्ये केही प्रतिनिधि पात्र आफ्नो अनुभव निकै उत्साहसाथ पोख्छन् : 

किशोर सुवेदी
कास्कीबाट मैले फर्मासुटिकल साइन्समा ब्याचलर्स गरेको छु । एमबीए पनि सकें । पहिलेदेखि दुर्गम क्षेत्रमा गएर समाजसेवा गर्ने लक्ष्य थियो । हामीजस्ता युवा आफ्नो कम्फोर्ट जोनभन्दा बाहिर आएर काम गर्नुपर्छ भन्ने लागेको थियो । टीएफएनले जुरायो । म ललितपुरको दक्षिणी सिम्ले भन्ने गाउँमा रहेको चण्डेश्वरी माविमा पढाउन जाँदै छु । म विज्ञान विषय पढाउँछु । दुई वर्ष त्यहीं रहनेछु । त्यो नितान्त तामाङ बहुल बस्ती हो । त्यो समुदायमा जन्मेर केही गर्न सक्छौं भन्ने भावनाको विकास गराउने, कक्षा कोठामा राम्रोसित पढाउने र समुदायले भोगेका समस्यामा विवेकले सकेजति समाधान निम्ति सहयोग गर्ने मेरो प्रयास हो । 

अमिता शर्मा
मेरो घर विराटनगर हो । मैले नेपाल ल क्याम्पसबाट बीएएलएलबी ग्राजुयट गरेको छु । धनुषाको मिथिलेश्वरको स्कुलमा अंग्रेजी विषय पढाउन जाँदै छु । सोसल इन्जस्टिसबारे काम गर्ने लक्ष्यले ल पढेको थिएँ । ग्रासरुटको एजुकेसन महत्त्वपूर्ण हो । कताबाट त्यहाँ पुग्ने भन्ने मात्रै थियो । म कमनवेल्थ युथ नेटवर्कमा पनि छु । वर्कसपमा सहभागी भइयो । मैले रिफुजी स्कुलका बच्चालाई पढाउने मौका पाएको थिएँ । त्यतिखेर कक्षा ८ को विद्यार्थीले एउटा वाक्य लेख्न नआउँदा समस्याबारे महसुस गरें । शिक्षा क्षेत्रमा मैले कन्ट्रिब्युट गर्नुपर्छ भन्ने लाग्यो ।

स्नेहा वज्राचार्य
मैले सोसल वर्क र आरडीमा ब्याचलर्स गरेको छु । अहिले दुई महिला र एक पुरुष कलिगसँगै श्री मावि मिथिलेश्वर धनुषामा अंग्रेजी पढाउन जाँदैछौं । काठमाडौंमै जन्मे, हुर्केकोले बाहिरका जिल्लाबारे खासै थाहा छैन । मधेस भनेपछि कहिल्यै नगएको ठाउँ हो । आफूलाई अलि च्यालेन्ज गरौं भनेर नै जान लागेको हो । दुई वर्षको कमिटमेन्ट छ । आफूमा र कम्युनिटीमा सोसल चेन्जेज ल्याउन कति सक्छु भनेर जान लागेको छु । टिचिङ भनेको कोर्स पढाउनेभन्दा पनि एक जना विद्यार्थीले सिकेको कुरा व्यवहारमा उतार्न सिकाउने हो । म प्रतिबद्ध छु । 

मन्दिरा रिजाल
म काठमाडौंमा जन्मे, हुर्कें । मैले यूएसबाट ब्याचलर्स एकाउन्टिङ सकाएर फर्कें । मलाई धेरैले किन नेपाल फर्केको भनेर सोध्नुहुन्छ । तर, मलाई आफ्नै देशमा फर्किनु पनि अवसर खोजिरहनुपर्छ र भन्ने लाग्छ । सबैले यूएस राम्रो भन्छन् । हो, राम्रो छ । तर हाम्रै देशमा धेरै पोसिबिलिटिज छन् । यो किन नदेखेको अचम्म लाग्छ । म गत वर्षदेखि सिन्धुपाल्चोकको कालिका उच्च माविमा अंग्रेजी पढाइरहेकी छु । पहिला जाँदा सामान्य टिचर त हो भन्थे । म र मेरो साथी ज्योतिजीले केही परिवर्तन ल्याएका छौं । हामीले पढाउनुको अतिरिक्त फोहरसम्बन्धी प्रोजेक्ट गर्दैछौं । विद्यार्थीका साथ फोहरजन्य सामग्री बटुलेर रियुज गरेका छौं । भर्खरै सम्पन्न एउटा मेलामा ती सामग्री बेचेर पाँच हजार पाँच सय रुपैयाँ संकलन गर्‍यौं । म सोसल इन्टरप्रेनरका रूपमा चिनिन चाहन्छु । 

विशाल न्यौपाने
मेरो घर नेपालगन्ज हो । म मेकानिकल इन्जिनियर हुँ । सिन्धुपाल्चोकको मानेखर्कमा एक वर्षदेखि म्याथमेटिक्स पढाइरहेको छु । सानैदेखि देशको विकाससँग रिलेटेड काम गर्छु भन्ने थियो । इन्जिनियरिङ गरेपछि केही चेन्ज हुनुपर्छ भन्ने लाग्यो । यसो हेर्दा एउटा स्कुलमा गएर पढाइरहेको छु । अझै ध्यान दिएर हेर्ने हो भनेचाहिँ म पूरै मानेखर्क नै बनाइरहेको छु जस्तो लाग्छ । मेरा विद्यार्थी तामाङ र ह्योल्मो समुदायका छन् । एउटा क्लास रुममा एक जना बच्चा असल विद्यार्थी बन्न सक्नु देशले एक असल नागरिक पाउनु हो । सुरुदेखि यसरी लाग्न सक्यौं भने देशप्रति प्रेम, फरक–फरक जातजाति, भाषा, वेशभूषा भए पनि आदरसम्मान गर्न सक्छ । एकता भावनाको विकास हुन सक्छ ।

रोशन ढुंगेल
मेरो घर सर्लाही लालबन्दी हो । आईएस्सीपछि त्रिचन्द्रबाट म्याथमेटिक्समा ब्याचलर गरें । ललितपुरको चौघरेमा पढाउँदै छु । त्यो ९८ प्रतिशत तामाङ बस्ती हो । त्यहाँ दुई वर्ष पूरा गरें । मैले एक वर्ष थप्ने निर्णय गरें । पहिलो वर्ष भूकम्पको अवरोध । दोस्रो वर्ष शिक्षकको अभाव । हामीले डेलिभरी गर्नुपर्ने नलेज बाँकी छ । समुदायको अनुरोधमा दोहोरिँदै छु । टिचिङ, स्टुडेन्ट लिडरसिप र सोसाइटीमा सहयोग मुख्य हो । भर्खरै श्रमदान गरेका थियौं । त्यसबाट समुदायले आर्थिक लाभ गर्‍यो । 

प्रकाशित : वैशाख ८, २०७४ ०८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT