कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनीषा इज ब्याक

गोकर्ण गौतम

त्यसो त यो एक दशक मनीषा कोइराला ‘लाइमलाइट’ बाट बाहिर रहिनन् । सन् २०१० मा सम्राट दाहालसँग विवाह गरिन् । दुई वर्ष नबित्दै डिभोर्स भयो । अर्को वर्ष क्यान्सरले समात्यो । अलौकिक ढंगले दोस्रो जन्म पाइन् ।

मनीषा इज ब्याक

अनि ‘मोटिभेसनल स्पिकर’ का रूपमा ठाउँ–ठाउँमा पुग्न थालिन् । विस्तारै क्यान्सरविरोधी सामाजिक अभियन्ताको छवि बन्यो उनको । जीवनशैली पनि अत्यन्त सरल, सादगीपूर्ण र आध्यात्मिक रोजिन् । यी सबै घटनाले उनलाई ‘न्युजमेकर’ बनायो नै । 
तर मूलत: उनी हिरोइन हुन्, त्यो पनि ९० को दशकको बलिउडकी सर्वाधिक सुन्दर र सफल । तर ठ्याक्कै १५ वर्ष भएछ, मनीषा अभिनीत कुनै फिल्म हिट नभएको । सन् २००२ मा कम्पनी फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीको फिल्मफेयर क्रिटिक्स अवार्ड चुमेकी थिइन् । त्यही वर्ष रिलिज भएको एक छोटी सि लभ स्टोरीले पनि सकारात्मक प्रतिक्रिया बटुलेको थियो । त्यसपछि भने फिल्मी करिअर ओरालो लागेको लाग्यै । भलै यसबीचमा उनका फिल्मै रिलिज नभएको चाहीँ होइन । डेढ दर्जन फिल्म आए पनि कुनैले कमाल देखाउन सकेनन् । खासमा तीमध्ये अधिकांश गिनेचुनेका ब्यानर र स्टारसँग थिएनन् । 
तर यतिबेला मनीषा फेरि फिल्मवृत्तमा छाइरहेकी छन् । त्यसका दुई कारण छन्, एक उनको लिड रोल रहेको फिल्म डियर मायाको ट्रेलर । अर्को, सञ्जय दत्तको बायोपिक । राजकुमारी हिरानीले निर्देशन गरिरहेको यस फिल्ममा उनी सञ्जय दत्तकी आमा नर्गिस दत्तको भूमिकामा देखिँदै छिन् । फिल्ममा सञ्जयको भूमिकामा रणवीर कपुर छन् । अर्थात् मनीषालाई रणवीरकी ‘रिल मदर’ का रूपमा देख्न पाइने भएको छ । ब्यानर र फिल्ममेकरका हिसाबले पछिल्ला वर्षहरूमा मनीषा जोडिएको बिग प्रोजेक्ट 
हो यो । 
पहिले डियर मायाको कुरा गरौं । 
सुरुमा यो फिल्मका बारेमा खासै सुनिएको थिएन । तर २१ वैशाखमा युट्युबमा ट्रेलर सार्वजनिक भएसँगै एकाएक हाइप बटुलेको छ । यसको मुख्य कारणचाहिँ मनीषाको लुक्स नै हो, जुन उनको वास्तविकताभन्दा पूरै अलग छ । ट्रेलरमा उनलाई जीवन र समाजदेखि विरक्तिएकी वृद्ध महिलाका रूपमा देख्न पाइन्छ । निर्देशक सुनैना भटनाकरका अनुसार मनीषा (मायादेवी) २० वर्षदेखि एउटै घरमा लुकेर बसेकी छन् । जसलाई नजिकैका दुई टिनएजर केटीहरूले ‘प्रयांक’ गर्छन्, काल्पनिक प्रेमीका रूपमा प्रेमपत्र पठाएर । त्यसपछि मनीषाको जीवनमा आउने उतारचढाव नै फिल्मको केन्द्रीय विषयवस्तु भनिएको छ । भलै फिल्म १९ जेठमा प्रदर्शन हुँदै छ ।
सुनैनाले एकैपटक शक्तिहीन र शक्तिशाली भूमिकामा काम गर्न सक्ने कलाकार खोजेको र त्यो मनीषाबाट पाएको भन्दै खुसी व्यक्त गरेकी छन् । सुनैनाले यसअघि रकस्टार, जब वी मेट, लभ आजकललगायतका फिल्ममा इम्तियाज अलिको सहायक भएर काम गरेकी थिइन् । मनीषा पनि नयाँ पुस्तासँग काम गर्न पाउँदा दंग छिन् । चरित्रप्रधान भूमिकामा चिनिएकी मनीषाले डियर मायाको ट्रेलर लञ्च कार्यक्रममा भनेकी थिइन्, ‘कलाकारका रूपमा सधैं अब्बल र चुनौतीपूर्ण भूमिकाको भोकमा हुन्छु । त्यसैले यस्तो अवसर पाउनासाथ मिस गर्दिनँ । तर यसपटक अझ नर्भस छु । किनभने ब्रेकपछि फेरि एक्सनमा फर्किएकी छु ।’ निर्माण पक्षले पनि यस फिल्मलाई मनीषाको कमब्याकका रूपमा प्रचारप्रसार गरिरहेको छ । 
सञ्जय दत्तको बायोपिकमा खेल्न वा भनुँ, रणवीरकी आमा बन्न भने मनीषा सुरुमा हिचकिचाएकी थिइन् । फिल्मका कास्टिङ डाइरेक्टर मुकेश छब्राले प्रस्ताव राख्दा उनी नेपालमा थिइन् । पछि थाहा पाइन्, निर्देशक राजकुमार हिरानी मनीषालाई खेलाउन चाहन्छन् । ‘रणवीरकी आमा ? सुरुमा त म हल्का हिचकिचाएँ र अच्चमित पनि भएँ । किनभने हामीबीच जम्मा दस वर्षको अन्तर छ । फेरि भर्खरै ऐश्वर्या राय उनीसँग रोमान्टिक रोलमा देखिएकी थिइन् । त्यसैले म कसरी आमा बन्न सक्छु ? भन्ने लाग्यो,’ ४६ वर्षीया यी हिरोइनले इन्डो एसियन न्युज सर्भिससँग भनेकी छन्, ‘तर हिरानीलाई बुझाउनु भयो कि, यो नर्गिस दत्तको भूमिका हो, रणवीरकी आमाको भूमिका होइन । त्यसपछि मैले त्यही दृष्टिकोणबाट बुझें ।’ उनले नर्गिसको रोलका लागि विभिन्न चरणमा लुक्स टेस्ट गरिसकेकी छन् । यसको सुटिङ थाल्नु अगाडि उनी डियर मायाको प्रमोसनका लागि चर्चित टेलिभिजन कार्यक्रम द कपिल शर्मा शोमा सहभागी भइन् । क्यान्सरमुक्त भएपछि यत्ति लोकप्रिय र मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रममा उनी प्रत्यक्ष सरिक भएको यो पहिलो पटक हो । 
दुई वर्ष अगाडि यस पंक्तिकारसँगको कुराकानीमा मनीषाले फिल्मलाई प्राथमिकतामा नराखेको तर त्यसो भन्दैमा खेल्दै नखेल्ने चाहिँ होइन भनेकी थिइन् । ‘मलाई लाग्दैछ, फिल्मका लागि समय घर्किएको छैन । पहिले धेरै गरियो, पछि पनि गर्न सकिन्छ । आउँछ, जान्छ । तर क्यान्सर तथा अन्य घातक रोग लागेका बिरामीको मनोबल बढाउन जनजेतना जगाउने कार्यक्रममा बढी सक्रिय हुनेछ । तर फिल्मलाई पूरै बेवास्ता गर्ने भन्ने होइन,’ उनको भनाइ थियो, ‘जस्तो पायो त्यस्तै भूमिकामा चाहिँ काम गर्दिनँ ।’ डियर माया र सञ्जय दत्तको बायोपिकमा पक्का पनि उनको भूमिका चानचुने छैन । अनि सामाजिक कार्यमा त भ्याइनभ्याई नै । 
लाग्छ, मनीषा फेरि चम्कने पथमा छिन्, ‘रिल’ र ‘रियल’ सँगै । 

 

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?