कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मिडिया टु फिल्म

सञ्चारमाध्यमको प्रोलिफिक अनुभवबाट प्रेरित धेरै जना स्लिभरस्क्रिनमा चम्कँदै छन् । व्यापक इन्टरर्‍याक्सन हुने फिल्डमा उनीहरुले बटुलेको कन्फिडेन्स अभिनयमा पोखिँदै छ ।
सजना बराल

नम्रता श्रेष्ठ, प्रियंका कार्की, रीमा विश्वकर्मा, सुरजसिंह ठकुरी, ऋचा शर्मा, आसिफ साह, निशा अधिकारीजस्ता नामहरू अहिले कलाकारितासँग सम्बन्धित छन् । उनीहरू फिल्म खेल्छन्, मोडलिङ गर्छन् ।

मिडिया टु फिल्म

तर, यो उनीहरूको सेकेन्ड फेजको करियर हो भन्दा फरक पर्दैन । यसअघि यी सबै एक्टर–एक्ट्रेस रेडियो/टेलिभिजनमा कार्यक्रम चलाउँथे । कोही त अझै पनि मिडियामै छन् ।
सन् २००८ मा आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ मा खेल्नुअघि नम्रता श्रेष्ठ कान्तिपुर एफएमकी आरजे थिइन् । उनले टीभीमा पनि कार्यक्रम चलाइन् । फिल्ममा जम्न थालेपछि नम्रताले मिडिया लाइन छोडेकी हुन् । प्रियंकाको स्टोरी पनि उस्तै छ । सन् २००५ मा ‘मिस टिन’ भएपछि उनले कान्तिपुर टेलिभिजनमा भीजेका रूपमा काम गरिन् । ‘सेलुलइड’, ‘ग्लाम फ्याक्टर’, ‘कल एन्ड विन’ जस्ता कार्यक्रमकी सञ्चालक उनी सन् २००७ मा अमेरिका गइन् । उताबाट फर्केपछि मिडिया लाइन रोजिनन् । 
च्यानल नेपाल, इमेज च्यानल, नेपाल वान र कान्तिपुर टीभीमा प्रोग्राम प्रेजेन्टर बनिसकेपछि आसिफ साह फिल्मतिर लागे । हुन त उनी बीच–बीचमा मोडलिङ गरिरहन्थे, म्युजिक भिडियो बनाउँथे, गायक पनि हुन् । सन् २०१३ मा ‘कर्कश’ फिल्म निर्देशन गरेका उनी केही फिल्ममा अभिनेताका रूपमा समेत देखा परे । पछिल्लो पटक ‘लभ सासा’ मा उनको भूमिका थियो भने अहिले सुटिङमा रहेको ‘दुई रुपैयाँ’ मा उनी निश्चल बस्नेतसहित लिड रोलमा छन् ।
मिडिया हुँदै फिल्ममा लाग्नुलाई आसिफ ‘समयको माग’ भनिदिन्छन् । ‘मान्छेलाई जति भए पनि पुग्दैन नि,’ उनले भने, ‘कार्यक्रम चलाएँ । भिडियो बनाएँ । गीत गाएँ । त्यसपछि के त ? फिल्म बाँकी रह्यो । आफूले आफैंलाई एक्सप्लोर गर्दै लगेको हुँ ।’ उनी मिडिया र फिल्म लाइन बिलकुल फरक कुरा रहेको बताउँछन् । क्यामरा फेसिङबाहेक सबै कुरा भिन्न हुँदा फरक अनुभव हुने उनको भनाइ छ । 
अभिनेत्री रीमा विश्वकर्मा त पत्रकारिताकै विद्यार्थी हुन् । कक्षा ६/७ तिर पढ्दा नै उनले ‘जाँदा–जाँदै’ नामक टीभी कार्यक्रम चलाएकी थिइन् । नेपाल टेभिजनमा भीजे र समाचार वाचिकाको अनुभव बटुलेपछि उनी सिल्भर स्क्रिनतिर लागिन् । रीमालाई म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले ‘स्वर’ फिल्ममार्फत अभिनय जगत्मा भित्र्याएका थिए । अहिले उनलाई ‘नेपाली तारा’ मा होस्टका रूपमा देख्न सकिन्छ । 
सुरजसिंह ठकुरीले ‘नाई नभन्नु ल’, ‘जंगे’, ‘खुड्किलो’, ‘कर्कश’ जस्ता फिल्ममा अभिनय गरेका छन् । एक्टर बन्नुअघि उनी कान्तिपुर टेलिभिजनमा ‘कल कान्तिपुर’ चलाउँथे । सबैभन्दा लामो टेलिभिजन टक शो भनिएको कल कान्तिपुरपछि उनले ‘परिवर्तन’ नामक अर्को शृंखला सुरु गरेका थिए । म्युजिक भिडियो निर्देशन गर्नुका साथै आफैं मोडलका रूपमा समेत देखा परेका उनी अझै पनि कान्तिपुर टीभीमा आबद्ध छन् । 

दोस्रो पुस्ता
अभिनत्री छुल्ठिम गुरुङ आफू बल्ल असली प्रोफेसनमा आइपुगेको बताइहिँड्छिन् अचेल । हुन त उनले सानोमा ‘हिरोइन’ बन्छु भन्ने सपना देखेकी थिइनन् । तर, यो पेसामा लागेपछि आफ्नो गन्तव्य यही रहेको आभास भयो । ‘मेरो डेस्टिनेसन नै फिल्म रैछ,’ उनले भनिन्, ‘लामो समय आरजे/भीजे भएर काम गरें । त्यसमा पनि छुट्टै मजा थियो ।’
छुल्ठिमले सुरुमा एबीसी रेडियोमा काम गरिन् । त्यसपछि गोरखा एफएम हुँदै नेपाल १ मा च्यानल र एनटीभीमा भीजेका रूपमा देखिइन् । सन् २०१४ बाट उनी अभिनेत्री बनेकी हुन् । डेब्यु फिल्म ‘नोभेम्बर रेन’ बाटै राम्रो प्रतिक्रिया पाएकी छुल्ठिम अब त प्रोड्युसरकै रूपमा पनि बाहिर आउँदै छिन् । शुक्रबार प्रदर्शन हुने फिल्म ‘डायरी’ मा उनले निर्मात्री र अभिनेत्री दुवैको भूमिका निर्वाह गरेकी छन् । 
सन्ध्या केसी, सहाना वज्राचार्य, यसराज गराच, शिशिर भण्डारी, सुरक्षा पन्तजस्ता भीजेहरू अहिले फिल्मतिर आकर्षित छन् । सन्ध्याले भुवन केसी निर्देशित ‘ड्रिम्स’ मा काम गरिन् भने सहानाको केमियो रहेको ‘गुडबाई काठमाडौं’ प्रदर्शन हुनै बाँकी छ । नेपाल वान, एनटीभी र टीभी फिल्मीमा शो होस्ट रहेका यसराजले ‘स्वर’, ‘नागबेली’ ‘मायाको बारीमा’, ‘सन्त्रास’ लगायत थुप्रै फिल्म खेलिसकेका छन् ।
‘प्रोग्राम प्रेजेन्टर हुने प्यासन अझै छ,’ अभिनेत्री सुरक्षा पन्तले हेलो शुक्रबारसँग भनिन्, ‘तर, अहिले फिल्ममै व्यस्त छु । दुईमध्ये एउटा छान्नुपर्ने भएपछि फिल्म रोजें ।’ भीजेइङ हुँदै फिल्ममा लाग्दा धेरै सहज हुने सुरक्षाको अनुभव छ । मान्छेको व्यवहार र आफूलाई पर्सिभ गर्ने तरिका नै फरक हुने उनले बताइन् । छुल्ठिमलाई पनि आफ्नो पूर्व पेसाले धेरै ज्ञान दिलाएको महसुस हुन्छ । भनिन्, ‘लाइभ टक शोमा अनेक थरीका कलरसँग बोल्नुपथ्र्यो । छिनको छिनमै आफ्नो एक्प्रेसन बदल्न जान्नुपथ्र्यो । ती कुरा फिल्ममा काम लागे ।’ 
टीभी फिल्मीमा ‘डुप्लिकेट’ कार्यक्रम चलाउने शिशिर ‘शो सिम्पल’, ‘होस्टेल’, ‘बिर्खेलाई चिन्छस्’ जस्ता फिल्ममा देखिए । उनी अभिनीत ‘प्रेम गीत २’ र ‘लालटिन’ प्रदर्शोन्मुख छन् भने बाँकी १० फिल्म बाहिर आइसकेका छन् । ‘तीतो सत्य’ जस्ता केही टेलिशृंखलामा पनि उनी देखिएका थिए । ‘मिडियामा भएकाले फिल्म खेल्न सजिलो हुन्छ,’ उनले भने, ‘तर, फिल्म खेल्ने भएकाले मिडियामा काम गर्नचाहिँ कहिलेकाहीँ गाह्रो हुन्छ ।’ सबैसँग सुमधुर सम्बन्ध बनाउनुपर्ने भएकाले भनेजस्तो कन्टेन्ट दिन अप्ठ्यारो परेका अनुभव उनीसँग टन्नै छन् । 

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?