२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भित्री सौन्दर्य

मधु शाही

तपाईं काली हुनुहुन्छ । र पनि मिस नेपाल हुनु भो नि ?’ मैले सुरुमै उनलाई रिस उठ्ने खालको प्रश्न सोधेकी थिएँ । फोनमा यस्तो कुरा गर्दा उनको जवाफमा आक्रोश निस्केला कि जस्तो पनि लाग्यो । भर्खरै मिस नेपालको ताज पहिरिएकी २० वर्षीया निकिता चन्दकले त्यसो गरिनन् । अंग्रेजी, हिन्दी र नेपाली तीन भाषाको मिसमास गरेर उनले जवाफ दिइन्– ‘कसैले मेरो रंगमाथि कुरा गर्‍यो भने म भारतीय पूर्वराष्ट्रपति अब्दुल कलामको भनाइ सम्झिन्छु ।’

भित्री सौन्दर्य


‘आई एम नट अ हेन्डसम मेन बट, आई क्यान गिभ माई हेन्ड्स टु समवन’ अब्दुलको यही भनाइमा निकिताले बुझेको सौन्दर्य अर्थ झल्किन्छ । उनको विचारमा बाहिर देखिने गोरो या कालो रंग क्षणिक र भ्रम हुन सक्छ । भित्री सुन्दरताले धेरैको मन जित्न सकिन्छ । जहाँ मन सुन्दर हुन्छ, सौन्दर्यको आयु पनि लामो हुन्छ । निकिताले मिस नेपाल भएदेखि गाइँगुइँ सुनेका दुई वटा प्रतिक्रिया हुन्– काली केटी पनि मिस नेपाल भइछ, अनि मारवाडी समुदायकी युवतीलाई सौन्दर्य उपाधि ।
यस्तो प्रतिक्रिया पाउँदा उनी आफूलाई अझ विशेष भएको महसुस गर्छिन् । मिस नेपालमा आउने मोरङकी निकिताको पुरानो सपना होइन । उनले पढाइका लागि भारतमा बस्दादेखि नै मोडलिङ सुरु गरेकी थिइन् । झन्डै डेढ वर्षको र्‍याम्प मोडलिङले उनको व्यक्तित्वलाई तिखार्दै थियो । केही वर्ष पहिले फेसन शोकै लागि उनी नेपाल आएकी थिइन् ।
धेरैले उनलाई मिस नेपालको फर्म खुलेको छ भनेर भर्न आग्रह गरे । ‘त्यसबेलासम्म ब्युटी प्याजेन्टको अर्थ सामान्य रूपमा लिएकी थिएँ,’ उनी भन्छिन्, ‘सहभागी भइदिनु जस्तो लाग्यो, विजयी हुँदासम्म मनमा विश्वास थिएन ।’
मिस नेपालको सुरु र अन्तिम नतिजा आउँदासम्म निकिताको अनुहारमा खुसी र दु:खको उतारचढाव देखिएन । उनी एकैनास थिइन् । यो बानी उनको पहिलेदेखिकै रहेछ । यसको अर्थ निकितालाई डर नलाग्ने होइन । उनी पनि नर्भस हुन्छिन् तर, बाहिर देखाउँदिनन् । ‘खै त्यो मेरो अद्भुत गुण छ, बाहिर कहिल्यै नर्भसनेस शो अप गर्दिनँ,’ उनी भन्छिन्, ‘सायद गड गिफ्ट नै मान्नुपर्छ ।’ निकिता मिस नेपालको तामिल अवधिमा माइती नेपाल पुगेकी थिइन् । त्यहाँको दृश्य अवलोकन गरेपछि उनको मनमा समाजसेवाको भावना पलाएछ । त्यसै दिन घर फर्केपछि पर्सनल डायरी पल्टाइन् । र, मिस नेपाल भएँ भने पुरस्कारस्वरूप पाएको आधा रकम माइती नेपाललाई सहयोग गर्ने लेखिन् । ‘आज वाचा पूरा गर्ने दिन आएको छ,’ निकिताले थपिन्, ‘एक लाख पाएकी थिएँ, ५० हजार माइती नेपाललाई दिनेछु ।’
ब्युटी प्याजेन्टले उनको जीवनमा के प्रभाव पार्‍यो भनेर सोध्नेलाई निकिता यसैको उदाहरण दिन्छिन् । भारतमा करियर खोज्न संघर्ष गरिरहेकी निकितालाई कहिल्यै अरूबारे सोच्नुपर्छ भन्ने लागेन । मोडलिङमा रम्दासम्म उनलाई परिवारकै कमाइले थेगेको थियो । शिरमा मिस नेपालको ताज पहिरिएपछि निकिताले जीवनको सुरुवात भर्खर हुन थालेको महसुस गरिन् । उनलाई व्यक्तिभन्दा माथि उठेर समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध हुन थालेको छ ।
एक वर्षको मिस नेपाल टार्गेट पूरा गरेपछि उनी फेरि मोडलिङमै सक्रिय हुने बताउँछिन् । ‘बलिउडमै गएर मोडलिङमा एक्टिभ हुन सक्छु भविष्यमा,’ उनी भन्छिन्, ‘अन्तर्राष्ट्रियस्तरमा नाम कमाउने सुरुदेखिको चाहना हो, सफल नहुँदासम्म लागिपर्छु ।’

प्रकाशित : जेष्ठ २६, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?