२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लक्जरी मल्बेरी

#क्याफे
सुरज कुँवर

काठमाडौं — अव्यवस्थित सहरीकरण नियाल्दै आइरहेका कसै–कसैलाई काठमाडौंको मध्यविन्दुबाट पूरै उपत्यका आँखाले हेर्न असम्भव लाग्न सक्ला । तर, यो कल्पना सम्भव छ है । पत्याउनु भएन भने, ठमेलको मल्बेरी होटलमा पुग्नुहोस् । त्यहाँबाट देखिने सुन्दर दृश्यले तपाईंलाई लठ्ठै बनाउनेछ ।

 लक्जरी मल्बेरी

अझ आठौं तलामा ४८ वर्गमिटरमा फैलिएको नीलो स्विमिङ पुलमा पौडिँदै पूरै काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुर सहरलाई ‘बर्डआई भ्यु’ लेन्सले झैं आँखाले हेर्दा मोहनी नै लाग्छ । ठमेलको ज्याठामार्गमा प्राय: टुरिस्ट लक्षित बजेट होटल दर्जनौं छन् । यही भीडमा वैशाखदेखि सञ्चालनमा ल्याइएको मल्बेरी छुट्टो छ । भीडभाड, हल्लीखल्ली अनि अत्यासिलो ठमेलमा प्राय: पार्किङ अर्को ठूलो समस्या हो । तर, मल्बेरीमा यी कुनै समस्या छैनन् ।


ठ्याक्कै उपराष्ट्रपति कार्यालय र निर्वाचन आयोग रहेको बहादुर भवनको पछाडिको पर्खालसँगै जोडिएको यो भेन्यु शान्त छ । यहाँबाट देखिने स्वयम्भू, चोभार, चन्द्रागिरि, नगरकोट, कीर्तिपुर, साँगाको दृश्य सायद अरू केही थोरै ठाउँका केही छानाबाट मात्रै देखिन्छ ।
स्विमिङ पुलको डिलबाट सीमा नभएको आकाश अनि काठमाडौं उपत्यकाको छेउटुप्पो कता जोडिएको होला भनी अनुमान गर्दै कफी, बेरी फ्लेभरको मोजितो, डिटक्स आदि बेभरेज पिउँदै सूक्ष्म अध्ययन गर्नुमा पनि बेग्लै ऐयासी हुने रहेछ ।
नेपाली कार्पेट व्यवसायी कालस्याङ शेर्पा, साँगे शेर्पा अनि यिनकै परिवारले ५५ करोड लगानीमा सञ्चालनमा ल्याइएको यो होटलको मेनु खासमा आर्थिक हैसियत राम्रै भएका ‘उच्च र मध्यम’ वर्ग लक्षित छ । अझ काठमाडौं घुम्न वा आफन्तजनलाई भेट्न आउनेहरूका लागि यो डेस्टेनी उचित हुन सक्ला । ‘अहिले धेरै नेपालीहरू आफन्त/इष्टमित्रको घरमा पाहुना लाग्न जाने चलन हट्दै गइसक्यो, त्यस्ताहरू यस्तै बजेट होटल खोज्छन्,’ मल्बेरीका महाप्रबन्धक अमिरकृष्ण प्रधानाङ्गले भने, ‘यस्तैखाले राजधानी बाहिरबाट काठमाडौंमा छोटो बिदाका लागि आउने नेपालीलाई हामीले फोकस गरेका हौं ।’
चार रोपनीमा फैलिएको अनि डिलक्सदेखि प्रेसिडेन्ट सुइटसम्म ६७ वटा कोठा भएको यो थलोमा एक रातको बसाइका लागि कम्तीमा १० हजारदेखि ४० हजार रुपैयाँ पर्छ । यसको व्यवस्थापनले आठौं तलाको पुल छेवैमा कोया लाउन्जबार र भुइँ तलामा किम्बु रेस्टुरेन्ट चलाइरहेको छ । यसमा मल्टी कुजिन मेनु छ । एक्जुकेटिभ सेफ ज्ञानेन्द्र पौडेलको नेतृत्वमा इन्डियन, चाइनिज, कन्टिनेन्टल, नेपाली रेसिपीको स्वाद पाइन्छ । ‘नेपाली खाना (७५० रुपैयाँ) र बिरियानी यहाँ खुबै रुचाइएका आइटम हुन्,’ महाप्रबन्धक प्रधानाङ्गले भने । उनले रेस्टुरेन्टमा पस्ने एक जना अतिथिले १५ सयदेखि २ हजार रुपैयाँले भोक मेटाउन सक्ने बताए । सरसफाइ, सर्भिस, कर्मचारीको व्यवहारमा खोट लगाउने ठाउँ छैन । नेपाली पर्यटन बजारमा आएको यो अपांगमैत्री तथा नौलो सदस्यको इन्टेरियर लुक्स नेपाली थिममा आकर्षक नै छ । रिल्याक्सका लागि आउनेहरूले समय बितेको पत्तै पाउँदैनन् । फेमेलीको तुलनामा यो फ्रेन्ड/कपल, कर्पोरेट ग्यादरिङ सुहाउँदो छ ।
फरक अनुभव लिन चाहनेहरूले अझ बेलुकीपखमा रुफटपमा रहेको इन्फिनिटी पुलसाइडमा बस्दा देखिने अस्ताउँदो सूर्यको दृश्य बेजोड छ ।
परापूर्वक कालमा मानिसहरू जब तीर्थयात्रामा निस्किन्थे, उनीहरूको बासस्थानको रोजाइ रूखको फेदी बन्थ्यो । अहिले जस्ता होटलको सुविधा हुँदैनथे रे । त्यही पुरातन अवस्थाका फिरन्ते तीर्थयात्रुहरूको रोजाइमा पर्ने बासस्थानको भान दिन यसको नामकरण र लोगो पनि रूखबाट जुराइएको छ । र, यो रूख किम्बुको हो । जसलाई अंग्रेजीमा मल्बेरी भनिन्छ ।
यो मल्बेरी लक्जरी पनि छ । facebook.com1stnepali

तस्बिरहरू : इलिट जोशी

प्रकाशित : भाद्र २३, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?