२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

हार्ड क्वेसन

सामाजिक सञ्जालहरुलाई गलत जानकारीको प्रचारले हैरान पारेको छ । त्यस्ता कार्यविरूद्ध केही कम्पनीले नीति नै बनाउन थालेका छन् ।
विजय तिमल्सिना

काठमाडौं — सामाजिक सञ्जालमा घृणा फैलाउने खालको सामग्री कसरी रोक्ने ? मानिसको मृत्युपछि एकाउन्ट के हुन्छ ? सोसल मिडिया कम्पनीहरू मिडिया कम्पनीजस्तै हुन् कि होइनन् ?

हार्ड क्वेसन

के यिनलाई कुनै कानुन लाग्दैन ? यी र यस्तै प्रश्नहरू पछिल्ला समय सोसल मिडिया कम्पनीहरूले सामना गरिरहेका छन् । यस्ता प्रश्नहरूको उत्तर एउटै हुँदैन । त्यसैले यस्ता प्रश्नहरूलाई ती कम्पनीको भाषामा ‘हार्ड क्वेसन’ अर्थात् कडा प्रश्न भनिँदै आइएको छ ।

यस्ता प्रश्न भोग्नेमध्ये अग्रपंक्तिमा फेसबुक पर्छ किनकि संसारकै सबैभन्दा धेरै मानिस सदस्य रहेको ‘भर्चुअल संसार’ भएका कारण पनि उसप्रति यस्ता प्रश्नहरू धेरै लक्षित छन् । २०१७ को जनवरीको तथ्यांकअनुसार मासिक २ अर्ब मानिसले फेसबुक चलाउँछन् । यस आधारमा भन्ने हो भने फेसबुकको जिम्मेवारी धेरै छ किनकि जति धेरै मानिसलाई उसले प्रभाव पारेको छ उत्तिकै धेरै जिम्मेवारी त्यस व्यक्ति वा संस्थाको काँधमा हुन्छ । फेसबुकले आफ्नो ब्लगपोस्टमा यो जिम्मेवारीलाई स्विकारेको पनि छ ।
हार्ड क्वेसन भनिएका कतिपय प्रश्नको जवाफ फेसबुकले दिन नसके पनि ऊ पछिल्लो समय आफूलाई मिडिया कम्पनीकै शैलीमा प्रस्तुत हुन खोजिरहेको भान हुन्छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा मुख्य मिडियाहरू डोनाल्ड ट्रम्पको विपक्षमा उभिए पनि फेसबुकमै भएको प्रचारका कारण उनको विजयी भएको हो भन्ने धेरैको दाबी छ ।
फेसबुकमार्फत सेयर हुने गलत जानकारी (फेक न्युज) लाई रोक्न उसले पछिल्लो समय हरसम्भव प्रयास गरिरहेको छ । अहिले निर्वाचन हुने माहोल भएका देशमा फेसबुकमा सेयर हुने गलत जानकारीलाई रोक्न विशेष सावधानी नै अपनाउन थालिएको छ । र, कम्पनी आफैंले पनि यसको विरुद्धमा कडा नीति अपनाउन थालिएको छनक दिएको छ । उसले गलत जानकारीविरुद्ध कडा कदम अपनाउने छनक दिएको छ । गलत जानकारी सेयर गर्ने पेजलाई विज्ञापन नदिने उसको पछिल्लो नीति यसैको संकेत हो । यो कामका लागि गुगल र ट्वीटर पनि उत्तिकै सक्रिय छ ।
तर, जति गर्दा पनि उसले फेसबुकबाट हुने गलत जानकारी रोक्ने सफलता हात पारेको छैन । किनकि यसको प्रयोगमा कुनै सुरुवाती बन्देज छैन । यस्तै गाह्रो प्रश्नहरूको समाधानका लागि फेसबुकले भर्खरै मात्रै एक जना पूर्वपत्रकारलाई जिम्मा दिएको छ । न्युयोर्क टाइम्सकै पब्लिक एडिटर रहिसकेकी लिड स्पेडलाई फेसबुकले कसरी काम गर्छ भनेर बुझाउने जिम्मा दिइएको कम्पनीले जनाएको छ । यस्तो जिम्माले प्रयोगकर्तालाई ती फैलिएको गलत जानकारीमा कम्पनीको हात नरहेको सन्देश दियोस् र अन्य नीतिगत अन्योलता हटाउन पनि काम लागोस् भन्ने नै हो ।
अन्योलको माहोलमा बहस गर्न फेसबुकका कर्मचारी आफैंले ब्लग सिरिज लेख्न थालेका छन् जसलाई नाम दिइएको छ– हार्ड क्वेसन । जसमा मानिसको मृत्युपछि उसको अनलाइन आइडेन्टिटी के हुने ? सोसल मिडियामा आतंकवादलाई कसरी रोक्ने ? गलत जानकारीको फैलावटलाई कसरी रोक्ने ? यस्ता विषयमा बहस सुरु गरिएको छ । 
जस्तो हेट स्पिच (लाञ्छना) सम्बन्धी ब्लगमा लेखिएको छ– ‘यस्ता सामग्री रोक्न सबैभन्दा गाह्रो काम भनेको यस्ता सामग्रीको पहिचान हो किनकि कोही व्यक्तिका लागि सोही कुरा अति अनुपयुक्त हुन सक्छ भने कसैका लागि त्यो सामान्य ।’
कुनै देशमा सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेख्नु सामान्य हो भने कुनैमा गैरकानुनी । जस्तो : जर्मनीमा सामाजिक सञ्जालमा आपत्तिजनक कुरा लेख्दा प्रहरीले पक्राउ गर्ने सम्भावना हुन्छ भने अमेरिकामा जतिसुकै अशिष्ट कुरा लेख्दा पनि प्रहरीले पक्राउ नगर्न सक्छ ।
फेरि अर्को उदाहरण, कुनै आफन्त वा परिवारजनको मृत्युपछि हामी उनीहरूको फेसबुक एकाउन्ट बन्द गर्न चाहन्छौं वा त्यतिकै राख्न ? कसैलाई मृतकको एकाउन्ट रहिरहँदा त्यसले दु:ख सम्झाउन सक्छ भने कसैलाई ती एकाउन्ट हेर्दा पुराना यादहरू ताजा भएको महसुस हुन सक्छ । एकै परिवारका दुई सदस्यबीच यस्तो मतान्तर भएमा के गर्ने ?
यस्ता अन्योलता सामाजिक सञ्जाल कम्पनीका लागि मात्रै होइन, प्रयोगकर्ताको 
अघि राखिए पनि उनीहरू भन्ने छन्– हार्ड क्वेसन । 

[email protected]

प्रकाशित : भाद्र २३, २०७४ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?