कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

निश्चल र आशिफको परीक्षा

सुशील पौडेल

काठमाडौं — ‘लुट’ बाट निर्देशकका रूपमा उदाएका निश्चल बस्नेत अचेल निर्देशक कम हिरो ज्यादा लाग्न थालेका छन् । गीत गाउने, नाच्ने सबैमा आफूलाई पस्किसके र सफलता पनि पाए । गेस्ट रोलदेखिको उनको अभिनय यात्रा यतिबेला ‘दुई रुपैयाँ’ सम्म आइपुग्दा मुख्य कलाकार नै भएका छन् ।

निश्चल र आशिफको परीक्षा

भदौ २३ देखि उनको हिरोइज्मको अग्निपरीक्षा सुरु हुनेछ । फिल्ममा निश्चल जुरेलीको भूमिकामा देखिँदैछन् ।

आफ्नै निर्देशनको फिल्म ‘कर्कश’ बाट हिरो हुने जमर्को गरेका आशिफ शाह उक्त फिल्मको असफलतासँगै केही वर्ष सुषुप्त बसे । यतिबेला आफ्नै भाइ असिमले निर्देशन गरेको ‘दुई रुपैयाँ’ मा दाह्रीको भूमिकामा निश्चलको समानान्तर भई देखिँदैछन् । ‘दुई रुपैयाँ’ यिनै दुई जुरेली र दाह्रीको एउटा पाँचदिने मिसनको कथा हो ।
‘एउटा सानो समस्याले गर्दा निम्त्याउने अरू ठूल्ठूला समस्या, जसमा पात्रहरू पर्दै जाने र निस्कन प्रयास गर्ने तर नसक्ने’ फिल्मको कथाकार समेत रहेका आशिफले सुनाए, ‘दाह्री र जुरेली जुन अवस्थामा पीडित हुँदै जान्छन्, दर्शकलाई त्यही नै कमेडी लाग्छ ।’ डार्क कमेडी फिल्मले दर्शकमा एक लेभलको मनोरञ्जन दिनेमा निश्चल विश्वस्त छन् । भन्छन्, ‘हामीले फिल्म लेख्दा, बनाउँदादेखि नै रमाइलो गरेका थियौं । भयंकर नै होला/नहोला तर एक लेभलको मनोरञ्जनचाहिँ फिल्मले दिन्छ दिन्छ ।’
‘जति पनि घटनाहरू देखाइएका छन्, ती सबै पहिल्यै समाजमा घटिसकेका छन् भन्ने लाग्छ । नर्मल दर्शकका लागि केवल त्यो मनोरञ्जन हो । डेप्थमा बुझ्न चाहनेका लागि प्रमाण । हामीले मिडियामा आएका घटनालाई स्क्रिन सट गरेर राखेका थियौं,’ फिल्ममा निर्माण साझेदारीसमेत गरेका निश्चलको कुरामा आशिफले थपे, ‘धेरै घटना हाम्रो रियल लाइफसँग रिलेटेड छ ।’
निश्चलले धेरै कमेडी जानराका नेपाली फिल्महरू हेरे तर ‘जात्रा’ ले जति कमेडी स्वाद अरूले दिएन रे । आधारभूत जीवन शैलीका घटनामै आउने कमेडीमा दर्शकले बढी इन्जोए गर्ने उनको मान्यता रहेछ । ‘दुई रुपैयाँ’ पनि धेरै हदसम्म त्यस्तै हो । ‘हाँसेरै सुरु हुने फिल्म हाँसेरै सकिन्छ । ट्ेरलरभन्दा फिल्म धेरै रमाइलो छ । रमाइलो हुँदाहुँदै राम्रो लाग्न सक्छ,’ उनी दर्शक बनेर बोले ।


निश्चल र आशिफ फिल्मका निर्माता भए पनि ‘दुई रुपैयाँ’ का पहिलो रोजाइका कलाकार भने हैनन् । सुरुमा केही चलेका कलाकार राख्न चाहन्थे उनीहरू नै । तर चाहना पूरा भएन । चल्तीका कलाकारले समय दिन नसकेपछि जुरेली र दाह्रीको चरित्रमा ज्यान फालेर भिडे उनीहरू आफैं । फिल्म हेरेपछि भने आशिफ दंग छन् । यतिसम्म कि निश्चलको एक्टिङले उनलाई हायलकायल नै पारेछ । भन्छन्, ‘उसको एक्टिङ हेरेर मेरो कलाकार रूप फ्रस्टेड नै भयो । त्यो रूप उसको आजसम्म कसैले स्क्रिनमा देखेको छैन ।’ आखिर के देखे त त्यस्तो ? एउटा दृश्यबारे आशिफ फेरि बोले, ‘उसले केटीलाई साइड हान्ने बेला मनपर्ने हिरो दयाहाङ राई भनेपछि निश्चलले कता हो सोल्टिनी चिटिक्क परेर भन्दै दयाको क्यारिकेचर गरेको देख्दा दर्शकलाई लुटपुट नै बनाइदिन्छ ।’ त्यस्ता धेरै छन् रे फिल्ममा ।
निश्चललाई पनि हिजोआज स्क्रिनको चमकले तानिरहेको छ । बालबालिकाले पनि काले दाइ भनेर बोलाउँदा उनलाई निर्देशक भएर बनाएको भन्दा भिन्न सर्कलमा पनि चिनिन पाएकोमा खुसी रहेछन् । तर जुरेली बन्ने सोच पहिले भने थिएन भन्छन् उनी । ‘जसका लागि सोचिएको थियो, उहाँहरूले समय दिन नसकेपछि आफैं भिडेको हो । फेरि यी चरित्रका लागि हामीले जति अरूले बुझेको छैन भन्ने पनि लाग्यो । दोस्रो विकल्प हामी नै थियौं,’ पछि निश्चलको आँटमा आशिफ पनि सामेल भइदिए । 
कलाकारलाई अर्डर गर्दै आएका निश्चल आफैंलाई एक्टिङ अनुभव कस्तो रह्यो होला ? उनले भने, ‘आफ्नो क्यारिकेचर आफैं कसरी गर्ने भन्ने नै कलाकारलाई सबैभन्दा गाह्रो हुने रहेछ । एक्टरलाई साँच्चै नै समय दिनुपर्ने रहेछ । ल रेडी है भनेर फ्याट्टै सट लिने भन्ने हुँदैन रहेछ ।’ उनले अब निर्देशन गर्ने फिल्ममा कलाकारलाई पूरा समय दिने वाचा पनि गरे । ‘पहिले कलाकारले एकछिन पर्खनु न मलाई क्यारेक्टरमा आउन टाइम दिनुस् भन्दा नाटक देखायो भन्ने लाग्थ्यो,’ आशिफले थपे, ‘हैन रहेछ । अब त हामीले पनि कलाकारको मर्म बुझ्यौं नि ।’
निश्चललाई कहिलेकाहीं निर्देशन छोडेर अन्यत्र बहकिएको आरोप पनि लाग्छ । तर उनले जता हात हाल्यो, त्यतै सफलता पाइरहँदा आरोपहरू स्वत: फिक्का भइरहेका छन् । उनले भने, ‘डाइरेक्सनको काम नै छोडेर अरूचाहिँ गर्दिनँ । खाली समयमा केही गरौं भन्ने प्रयासमा यो सबै गरिरहेको हुँ । दर्शकलाई पनि इन्जोए दिइरहेको छ भने किन नगर्ने ?’ पछिल्लोपटक ‘लुट २’ ल्याएका निश्चल तिहारलगत्तै नयाँ फिल्मलाई फ्लोरमा लाँदैछन् । 
‘लुट’ को गुडविलले चर्चित बनाएको निश्चललाई लाग्दोरहेछ । ‘कत्ति कामहरू बिगारेको छु मैले,’ निश्चल थप्छन्, ‘तर बिग्रेको काममा पनि होसियार हुनु है, अर्कोचाहिँ राम्रो गरेर आउनु, पर्खिरहेका छौं है भन्ने खालका प्रतिक्रियाले मलाई सहज भएको छ । यति माया सबैले पाउँदैनन् ।’
निश्चलकै ‘लुट’ बाट राइज भएका हुन् सौगात मल्ल, दयाहाङ राई र खगेन्द्र लामिछाने । अहिले उनी आफैं पनि एक्टिङमा छिरेपछि अरूका अभिनयप्रतिको मूल्यांकन कस्तो होला निश्चलको ?
‘कसैले मेरो कमजोरी बताइदिएन भने सुधार्ने मौका नै पाउँदिनँ । भन्ने नियत भने सफा हुनुपर्छ,’ भूमिका बाँधेर निश्चल विषय प्रवेश गरे, ‘एक्टरको हिसाबले पूरा स्क्रिनमा छाउने मामिलामा नयाँ कलाकारमा डेप्थ छैन । दर्शकलाई चरित्रसँगै डोर्‍याउने मामिलामा बढी प्राक्टिस र अध्ययन चाहिन्छ । एक्टिङ फिक्सनल हुन सक्ला तर एक्टरले दिने इफोर्ट पूरै ओरिजिनल हुनुपर्छ । आफूले गर्ने फिल दर्शकसम्म ट्रान्सफर गर्न सक्नुपर्‍यो । तर अहिलेकाले धेरै मिहिनेत गरेजस्तो लाग्दैन ।’
सौगात, दया वा खगेन्द्रको काम चित्तबुझ्दो लाग्छ त ? ‘दया दाइको काममा एकदम सानो सानो भिन्नता मात्रै देखिइरहेको छ । यस्तो भइसक्यो कि दया दाइ भन्नेबित्तिकै हँसाउने हो भन्ने टाइपकास्टमा पुगिसके । इमेज नै त्यो बनिसकेको छ । सौगात दाइले क्यारेक्टरअनुसार लुक्स र बोल्ने टोन भिन्न गर्नुहुन्छ, जुन इन्टेनसिटी पुर्‍याउनुपर्ने हो, त्यो पनि पुर्‍याउनुभएको हुन्छ तर ती सबै कुरा उतारदिएर एक्टिङ गर्न लगाउने हो भने उहाँमा पनि लगभग टाइपकास्ट नै देखिन्छ । त्यत्ति धेरै भिन्नता लागेको छैन,’ उनले भने ।
आफ्नै क्यारेक्टरबारे उनले भने, ‘मैले धेरै चेन्ज गरेको छैन । मेरो इमेज जुन बनिरहेको छ, त्यही लुकमा धेरै नबदली फाइदा लिने हो । म प्रोफेसनल्ली ट्रेन्ड एक्टर पनि हैन । क्यारेक्टरअनुसार सोच्ने शैलीलाई चेन्ज गर्ने हो । मैले त्यसमै ध्यान दिएँ ।’
कलाकारबाट हन्डर खाएका आशिफ र निश्चल फेरि अरू कलाकार खोज्दै हिँडेनन् । जसलाई क्यारेक्टरको आन्द्राभुँडी सबै थाहा छ, उसैले किन नगर्ने ? आशिफले यस्तो निर्णय सुनाउँदा निश्चल र उनलाई मात्र कन्फिडेन्ट थियो । निश्चल बोले, ‘दाह्री र जुरेली क्यारेक्टर नभई हिरो भइदिएको भएचाहिँ हामी खेल्न आँट्दैनथ्यौं । एकदमै हिरोइज्म देखाउनुपर्ने फिल्म गर्नुपर्‍यो भने म दसचोटि सोच्नुपर्ला । यसमा नाम मात्रैका हिरो हुन् तर फिल्मभरि दु:ख पाउने यिनै हुन् । जसले पनि कुट्छ । पीडित क्यारेक्टर हुन् । फिल्ममा हामीलाई उड्नु थिएन । एक्सन छ तर त्यो पनि परिस्थितिअनुसार ।’ 

[email protected] 

प्रकाशित : भाद्र २३, २०७४ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?