कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्लासिक अन–प्लग्ड

हिमेश

काठमाडौं — एमटीभी अन–प्लग्ड, फेरि फर्कंदै छ । कुनै समय थियो, यो कार्यक्रमले खुबै वाहवाही लुटेको । धेरै अगाडिसम्म एमटीभी जेनेरेसन भनिन्थ्यो, नयाँ पुस्ताको परिचय दिन । यही एमटीभीले तयार पारेको एउटा बेजोड कार्यक्रम हो, अन–प्लग्ड ।

क्लासिक अन–प्लग्ड

भनिन्छ, एमटीभी अन–प्लग्ड आएपछि यसले पश्चिमेली संगीतको स्वाद फेर्ने काम गरेको थियो । यसैलाई पछ्याएर अरू धेरै कार्यक्रम पनि तयार भए, भारत र नेपालमै । यी कार्यक्रम पनि उत्तिकै लोकप्रिय भए । ठूला लाइभ कन्सर्ट ‘प्लग्ड’ हुन्छ, यो भने अन–प्लग्ड । अर्थात् यस्ता कार्यक्रममा इलेक्ट्रिक गितार र सिन्थेसाइजर प्रयोग हुन्न । हुन्छ त, खालि इलेक्ट्रिकल्ली नजोडिएका । 

निर्वाना
निर्वाना भनेपछि झट्ट अल–प्लग्ड सम्झिन्छ भने अन–प्लग्ड भनेपछि निर्वाना । यो ब्यान्डले यही कार्यक्रमबाट आफ्नो वास्तविक परिचय दिएको हो भन्दा पनि फरक पर्दैन । निर्वानाको यो सन् १९९३ को अन–प्लग्ड जत्तिको कन्सर्ट विरलै देख्न पाइनेछ । निर्वानाका गायक तथा फ्रन्टम्यान कर्ट कोबिनले आत्महत्या गरेयता यो ब्यान्ड रहेन । कोबिनले आफ्नो अन्तिम दिनको झल्को यही कार्यक्रमबाट गरिसकेको थियो । त्यसैले कोबिनले यस कार्यक्रममार्फत आफ्नो अन्तिम ‘स्टेटमेन्ट’ दिएको थियो भन्दा पनि फरक पर्दैन । कार्यक्रमका लागि तयार पारिएको स्टेज र प्रयोग भएको प्रकाश नै यस्तो छ कि कोबिनकै भाषामा यो कुनै मृत्युमा आयोजित अवसर जस्तो छ । कार्यक्रममा निर्वानाले आफ्ना सबै हिट गीत प्रस्तुत गरे, जस्तो, ‘द म्यान हु सोल्ड द वल्र्ड’ देखि लिएर ‘कम एज यु आर’ र ‘अल एपोलोजिज’ सम्म ।

पर्ल ज्याम
सन् १९९२ मा पर्ल ज्याम अन–प्लग्डमा देखिए र खुबै ख्याति कमाए । लाग्छ, कतै अन–प्लग्ड निर्वाना र पर्ल ज्याम जस्तो अल्टरनेटिभ ब्यान्डका लागि बनेको अवसर त थिएन ? जे होस, पर्ल ज्याम विश्व प्रसिद्ध ग्रन्ज ब्यान्ड बनेको नै यही कार्यक्रमबाट हो । खासमा ब्यान्डले यो कार्यक्रमका लागि खासै मिहिनेत पनि गरेको थिएन । युरोपमा कन्सर्ट गरेयता सीधै यो कार्यक्रमका लागि ब्यान्ड उत्रेको थियो । तर कार्यक्रम गज्जब बन्यो । यो पनि पर्ल ज्यामका लागि माइलस्टोन नै साबित बन्यो । खासमा यस्तो अविश्वसनीय कार्यक्रमका लागि पहिले नै स्क्रिप्ट तयार हुने गर्दैन । ब्यान्डलाई खालि एउटै तथ्यको के गुनासो छ भने सायद आफूले पनि निर्वाना जत्तिकै कन्सर्ट दिन पाएको भए कति राम्रो हुने थियो । 

एरिक क्लाप्टन
एरिक क्लाप्टनको प्रसिद्ध गीत हो, ‘टियर्स इन हेभन’ । धेरैभन्दा धेरैले रुचाएको यो गीत खासमा उनका चार वर्षका छोराको ट्ेरजिक डेथमा आधारित छ । सुरुमा आउँदा यो गीतले खासै चर्चा पाएन । यो गीत ‘रस’ नामको फिल्ममा राखिएको थियो । सन् १९९२ मा क्लाप्टनले जति बेला अन–प्लग्डमा यो गीत गाए, यसले लोकप्रियता पाउन कत्ति पनि समय लागेन । क्लाप्टन लिजेन्ड हुन्, यसमा कुनै शंका छैन । उनका अरू धेरै गीत पनि छन्, उत्तिकै राम्रा । तर अहिले पनि सम्झिने गरिन्छ, ‘टियर्स इन हेभन’ । क्लाप्टनले यो गीतमा आफ्नो छोरा गुमाएको सबैखाले पीडा र दु:ख पोखेका छन् । यो गीतलाई अझ विशेष बनाएको हो, यही अन–प्लग्डले ।

मरिया क्यारी
यी अमेरिकी गायिका मरिया क्यारीमाथि लाग्ने गरेको ठूलो आरोप हो । यिनी खालि स्टुडियोकी मात्र गायिका हुन्, कन्सर्टकी होइनन् । उनी अन–प्लग्ड कार्यक्रममा आउनु अगाडि उनका दुई एल्बम हिट भइसकेका थिए, तर केही न केही मिलिरहेको थिएन । सन् १९९२ मा उनी के अन–प्लग्डमा देखा परिन्, बाँकी इतिहास बन्यो । अहिले पनि उनले त्यस कार्यक्रममा गाएको गीत ‘आई विल बि दियर’ सुन्नुपर्छ, मन छुन्छ । क्यारी आफैंले भनेकी छन्, यही कार्यक्रमले हो उनलाई वास्तविक गायिका बनाएको । स्टुडियोको मात्र नभएर कन्सर्टको पनि ।

रड स्टेवार्ट
रड स्टेवार्टको हस्की भ्वाइस कति मीठो सुनिन्छ भने यसलाई भनेर साध्य छैन । सन् १९९३ मा आउँदासम्म उनी हराएका जस्तै भइसकेका थिए । उनको गायिकी जीवनमा केही विशेष र नयाँ चाहिएको थियो । यही काम पूरा गर्ने काम गरेको थियो, यही अन–प्लग्डले । सन् १९९३ मा स्टेवार्टले पनि अन–प्लग्ड गरे र फेरि चर्चामा छाए । यस कार्यक्रमको विशेषता हो, गितारिस्ट रन उडसँगको पुनर्मिलन । कुनै बेला थियो, उनीहरू सँगसँगै ‘फेस’ जस्ता ब्यान्डमा थिए । 

– एजेन्सीको सहयोगमा

तस्बिरहरु: एजेन्सी

[email protected]

प्रकाशित : भाद्र ३०, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?