कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

योङ ट्राभलर्स

पर्वत पोर्तेल

एसएलसी सकेर प्लस टु गर्न राजधानी छिरेका थिए, सुदूरपूर्वी काँकडभिट्टाका अभय (म्याक्स) पोख्रेल । उनी सुकेधाराको वाग्मती मोडर्न कलेजबाट होटल म्यानेजमेन्टमा प्लस टु सिध्याएपछि ब्याचलर गर्ने योजनामा थिए । यसैबीच उनी देश चिनाउने अभियानतर्फ मोडिए ।

 योङ ट्राभलर्स

फोटोग्राफीका सौखिन अभयले ‘फस्ट फेज’ मा मुलुकका केही जिल्ला मात्रै घुम्ने योजना बुनेका थिए । उनको भ्रमणको लक्ष्य ‘देशलाई विश्वसामु चिनाउने’ थियो । योजना त बन्यो तर साथमा खर्च नहुँदा निकै समय पिरोलिए । २१ वर्षीय उनले भने, ‘पैसाबिनै पनि किन नघुम्ने ?’
पहिला आफू मात्रै घुम्ने योजनामा रहेका अभयले नजिकका साथी सुमन कार्कीलाई पनि कुरा सेयर गरेछन् । वैदेशिक रोजगारबाट भर्खरै हन्डर खाएर फर्किएका सुमनले योजना सुनेपछि एकै वचनमा भनिहाले, ‘ओके, आई एम रेडी ।’


यी दुईले घुम्ने योजना परिवारसँग पहिला त सेयर गरेका थिएनन् । अहिलेचाहिँ परिवारवाट पनि राम्रो सपोर्ट पाएका छन् । पढ्न काठमाडांै जान्छु भनेर पूर्वबाट हिँडेका अभय र सुमन एक्कासि हानिए, सुदूरपश्चिमको दोधारा–चाँदनी । पछिल्लो भ्यालेन्टाइन डेको दिन पारेर उनीहरूले यहींबाट यात्रा थाले । सुदूरपश्चिमका केही जिल्ला घुमेपछि उनीहरूले २–४ जिल्ला घुमेर देश बुझ्न नसक्ने निष्कर्ष निकाल्दै ७५ वटै जिल्ला घुम्ने योजना बनाए ।
पाँच महिनादेखि देश दौडाहामा रहेका उनीहरूले ३१ जिल्ला घुमिसके । यात्राले ९० दिन पुग्दा अर्का साथी करण पनि थपिए । विदेश जाने तयारीमा रहेका करणलाई साथीहरू घुमेको देखेर उनीहरूसँगै घुमौघुमौ लागेछ । ‘साथीहरूको ट्राभलले मलाई पनि ईष्र्या लाग्यो अनि तिमीहरूसँगै घुम्छु म पनि भनेको वेलकम गरिहाले,’ उनले भने ।


उनीहरूले यात्रालाई ‘अन्त्यको सुरुआत’ नाम दिएका छन् । यही नामले वेबसाइट खोलेका छन् । उनीहरू यात्राका अनुभवदेखि विभिन्न जिल्लाका प्राकृतिक सुन्दरताका मनमोहक तस्बिरहरू वेबसाइटमा अपलोड गरिरहेका छन् । ‘देशको अनुपम सौन्दर्यतालाई विश्वसामु चिनाउने हाम्रो मूल उद्देश्य हो,’ यात्राका मुख्य योजनाकार अभय भन्छन्, ‘वर्ष दिनभित्रमा ७५ वटै जिल्ला घुम्ने योजना छ ।’
अभयका अनुसार नेपालीहरूमा अझै पनि घुम्ने संस्कारको विकास भएकै छैन । आफ्नो यात्रालाई उनले त्यो संस्कारको सुरुआत मानेका छन् । ‘नेपाल त देश मात्र होइन रहेछ, स्वर्गै रहेछ,’ उनले भने, ‘स्वदेशी–विदेशीलाई नेपाल घुम्न प्रोत्साहित गर्ने हाम्रो योजना हो ।’
ट्राभल गर्नु त्यो पनि सिंगो देशकै, चानचुने कुरा होइन । उनीहरूले यात्राका क्रममा धेरै चुनौतीको सामना गरिसकेका छन् । ‘अझै कति चुनौती व्यहोर्नुपर्ने हो, थाहा छैन,’ सुमन थप्छन्, ‘चुनौतीहरूबीचको आनन्द नै यात्रा हो ।’ यात्राका क्रममा केही दिन भोकै पनि हिँडेका छन् उनीहरू । केही जिल्लामा उनीहरूलाई स्थानीयले खाने/बस्ने व्यवस्था पनि गरिदिए । ‘योजना बनाएर अघि बढेपछि सफल भइने रहेछ,’ अभयको अनुभव छ । 

[email protected]

तस्बिरहरू : अन्त्यको सुरुवात

प्रकाशित : भाद्र ३०, २०७४ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?