अग्लो आर्ट घर

#क्याफे
सुरज कुँवर

काठमाडौं — काठमाडौंको मुटु ठमेल । ठमेलको मुटुचाहिँ कुन ठाउँ होला ? होटल आर्ट काठमाडौंको नौ तलामाथि छानामा पुगिहाल्नुभयो भने, ठमेलको मुटु सात घुम्ती पस्ने त्यही चाक्सीबारी मार्ग लाग्नेछ । जहाँ उभिएको छ क्यानभास र मोर्डन आर्टले सजिएको आर्ट काठमाडौं ।

 अग्लो आर्ट घर

आफूलाई पिस एन्ड क्वाइट सिकर भनाउने स्पेनिस वृद्ध केभिन सोरले ट्रिप एडभाइजरमा लेखेजस्तो अहिले यो थलोको छेउ रातको ३ बजेसम्म अशान्त भने देखिँदैन । उनले हालै लेखेको तात्तातो रिभ्युअनुसार छेउछाउका क्लब र पबबाट निस्किने बुम बुक म्युजिक भने अलिअलि डिस्ट्रभचाहिँ गर्छ । तर, रेस्टुरेन्टभित्र पसिहालेपछि आत्तिहाल्नु पर्दैन । कल्पना र कौशलको मिश्रणमा पोतिएका सुन्दर अनि महत्त्वपूर्ण भावनाहरूले पूरै नौतले भवन नै सिँगारिएको छ । अर्थात् यहाँभित्र पसेपछि टिपिकल नेपाली कलाले कतै न कतै पछ्याइरहन्छ । पाकिस्तानमा प्रख्यात मानिने झुलाले सजाइएको रेस्टुरेन्ट र बारभित्र पसेपछि ठमेलभित्रै छु जस्तो भान हुँदैन ।


भूकम्पलगत्तै सञ्चालनमा ल्याइएको यो थलो करिब डेढ रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्किङ र लिफ्ट राखिएको यो भेन्युका एक्ला लगानीकर्ता हुन गोरखा जौबारीमा जन्मे, हुर्केका चित्रकारी चिरञ्जीवी भट्ट । यी ४१ वर्षीय कलाकारले ५० करोड लगानीमा थालेको यो आर्टघरको रुफटप पनि उस्तै आकर्षक छ । अझ बेलुकीपख पहेंलो बत्तीले उजेलिने स्वयम्भूको स्तूपा आँखै अगाडि ठोक्किन आइपुग्छ । त्यो अग्लो थुम्कोमा रहेको स्तूपा हेर्दै गर्दा धित मर्दैन । आसपासका रेस्टुरेन्ट, पब, बार र क्याफेमा चलिरहने लाइभ म्युजिक र गानाबजानाको ध्वनिले भने ‘ठमेलमै छु’ भन्ने आभास दिलाइरहन्छ ।


रेस्टुरेन्टमा बसेर नेपाली, कन्टिनेन्टल, इन्डियन कुन व्यञ्जन खाने, यो भने अतिथिको मुडमा भरपर्ने कुरा हुनेछ । तर, एउटा रमाइलो पक्षचाहिँ के छ भने कला र खानामा रुचि भएकाहरूका लागि यो थलो उपयुक्त छ । कन्टिनेन्टल खानामा पारंगत सेफ अजय पुडासैनीको नेतृत्वमा तीन जना सेफ छन् । जसले आर्ट स्पेसल रेसिपी डिजाइन छ । पर्यटकहरूले यहाँको ब्रेकफास्टको भने खुबै तारिफ गरेका छन् । ब्रेकफास्टदेखि राति अबेरसम्म डिनरका लागि खुला रहन्छ । ‘हामी यस्तो विधामा चलाइरहेका छौं,’ लगानीकर्ता भट्टले भने, ‘२४ घण्टा नै हाम्रो किचन चलिरहन्छ ।’ ललितकलामा स्नातकोत्तर सकेका भट्टलाई भान्साबारे अनुभव छैन । तर, उनी अतिथिहरूको सन्तुष्टिका लागि भने आफैं खट्छन् । ‘कोलाहल ठमेलभित्र यस्तो शान्त भेन्यु अन्यत्र कतै छैन,’ हाल काठमाडौं नयाँबजारका बासिन्दा भट्टले भने ।
खासमा यो ब्यागप्याकर र काठमाडौं घुम्न आउने उपत्यका बाहिरका अतिथिका लागि फोकस गरिएको छ । काठमाडौं बाहिरबाट घुम्न आउने जो ठमेल क्रेजी छन्, तिनका लागि आर्ट काठमाडौं सजिलो छ । नाइट लाइफको मज्जा लिन चाहनेहरूका लागि यहींभित्र बस्नलाई पनि सुविधा छ । यहाँ रहेका ६० वटा कम्फर्ट कोठा टुरिस्ट लक्षित छन् । जसको मूल्य ७ देखि १० हजारसम्म छ ।
२ वर्ष अघिदेखि सञ्चालनमा ल्याइएको आर्टका प्राय: कोठामा बार्दली छ । ठमेलको केन्द्रविन्दुमा रहेको यो घरको बार्दलीबाट उत्तरतर्फ हिमाल हेर्नुमा बेग्लै आनन्द अनुभूत हुन्छ । फर्किंदा कुनै पेन्टिङ वा क्यानभास मन परिहाले सपिङ गर्न मिल्छ । तर, वालेट भने बलियो हुनुपर्छ । किनकि एउटै आर्ट १० हजारदेखि १० लाख रुपैयाँसम्मका छन् ।


facebook.com1stnepali

प्रकाशित : भाद्र ३०, २०७४ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?