कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बुलेट चढ्ने केटो

विश्वकै उच्च स्थानमा हुने बाइक राइडरको प्रतियोगिता ‘रेड डी हिमालय’ मा दीपककुमार शाहले यसपालि प्रतिस्पर्धा गर्दैछन् ।
किरण पाण्डे

बाइक राइडरका लागि ले–लद्दाख मक्का बराबर हो । जो–कोही बाइक राइडर पनि ५,३५९ मिटरको उचाइस्थित ले–लद्दाख पुग्न चाहन्छन् । विश्वकै अग्लो स्थानमा हुने मोटर स्पोर्ट्स …रेड डी हिमालय’ यसपालि अक्टोबर ६ मा सुरु हुँदै छ । विश्वमै चर्चित यसमा पहिलो नेपालीका रूपमा दीपककुमार शाह यसपालि सहभागी हुँदैछन् ।

बुलेट चढ्ने केटो

रेड डी हिमालयको बाइक राइड दिल्लीदेखि लद्दाखसम्म हुनेछ । मुख्य इभेन्टको अघि प्राक्टिस पनि गराइन्छ । र, दीपक काठमाडौंबाटै ४११ सीसीको रोयल एन्फिल्ड हिमालयन हाँक्दै जाँदैछन् । प्रतिस्पर्धा सकेर स्वदेश पर्कंदासम्म उनले ७ हजार किमि बढी बाइक चलाइसकेको हुनेछ ।
सोह्र टिमको सहभागितासँगै १८ वर्षअघि सुरु भएको यस प्रतियोगितामा यसपालि १ सय ५० बढी स्पर्धामा राइडहरू सहभागी हुँदैछन् । यामाहा, होन्डा, मारुती, पोलारिस, रोयल इन्फिल्ड, बीएमडब्लूलगायत बाइकको ब्रान्डअनुसार स्पर्धामा राइडरले प्रतिस्पर्धा गर्छन् । स्कुटर क्याटेगोरीलाई पनि समावेश गरिन्छ ।
नौ दिने रेड डी हिमालयको रेस निकै एडभेन्चरस मानिन्छ । यसमा राइडरले भारतका विभिन्न स्थानको चर्को गर्मी मात्र झेल्नु पर्दैन, माइनस २० डिग्री सेल्सियसको चिसो तापक्रममा पनि बाइक हाँक्नुपर्छ । त्यसैले यस प्रतियोगितामा सहभागी हुनुलाई मात्र पनि बाइक राइडरको सफलताका रूपमा लिइन्छ ।
मेडिकल फिटनेस टेस्ट पास गरी फेडरल अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डियाको लाइसेन्स लिएपछि उनी प्रतियोगितालाई योग्य भएका हुन् । सेफ्टीका लागि स्पेसल जुत्ता, हेल्मेट, ग्लोब्स, ज्याकेटलगायत सामग्री पनि अनिवार्य छ, जसले दुर्घटनामा पनि सुरक्षित राख्न सक्छ । यस प्रतियोगितामा सहभागी हुँदा ५ लाख रुपैयाँ बढी खर्च लाग्ने उनले बताए । प्रतियोगितामा सहभागी हुनेलाई इन्स्योरेन्स पनि अनिवार्य छ तर नेपालमा एडभेन्चर स्पोर्ट्सका लागि अहिलेसम्म इन्स्योरेन्स पोलिसी नै छैन । 
त्यसैले उनलाई ले–लद्दाखमा आफ्नो यात्रा सुनिश्चित गर्नलाई मुस्किल परेको थियो ।
‘आफ्नै सौखका लागि सहभागी हुन लागेको हो,’ उनले भने, …बुलेट (बाइक) र एडभेन्चरमा एकदमै रहर छ ।’ गृहनगर जनकपुरमा उनलाई धेरैले नामले चिन्दैनन्, त्यहाँ उनको परिचय नै ‘बुलेट चढ्ने केटो’ बनेको छ । त्यसैले पनि उनी बुलेट छाड्न चाहँदैनन् । र, लक्ष्य नै एडभेन्चर टुरमा निस्कने बनाएका छन् ।
करिब १६ वर्षअघि बाइक हाँक्न थालेका उनी अध्ययनका लागि भारत पुगेका थिए । उनी एमबीए सकेर बैंक अफ न्यूयोर्क मेलनको पुनेस्थित शाखामा चार वर्ष जागिर खाएपछि सन् २०१२ मा नेपाल फर्केका थिए । ‘नेपालमै केही गरौं भनी फर्किएका उनले लेमिनेट फ्लोरिङको व्यापार गर्न थाले । व्यापारिक पृष्ठभूमिमा भए पनि उनको मन भने बुलेट र एडभेन्चर स्पोर्ट्सतिरै आकर्षित भइरह्यो । त्यसैले चार वर्षअघि फेरि बुलेट किनेर एक्लै मुस्ताङ हान्निएका थिए ।
‘त्यो यात्राले प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र बाइक टुरिजमतर्फ मेरो ध्यान तान्यो,’ पहिलो मुस्ताङ टुरबारे उनले भने । त्यसबेला राजधानी फर्केपछि उनले ‘मुक्ति राइड’ अभियान नै सुरु गरे । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै साथीहरूलाई रमाइलो गराउन र आफ्नै साहसिक यात्रालाई निरन्तरता दिन उनी बारम्बार बाइकमा मुस्ताङ गइरहन्छन् । उनी हरेक वर्ष फेब्रुअरीलाई मुस्ताङ यात्राको क्यालेन्डर बनाउने उल्लेख गर्दै उनले भने, …फेब्रुअरीमा मुस्ताङमा हिउँ पर्छ । अनि अफ–सिजन पनि हो र यस सिजनमा पर्यटक भित्र्याउन पाउनु अर्को राम्रो कुरा हो । अफ–सिजनमा त्यहाँ पुग्दा होटल मालिकहरू निकै उत्साहित हुने गर्छन् ।’ 

प्रकाशित : भाद्र ३०, २०७४ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?