१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नम्बर १ नङ्सल

सुबास हुमागाईं

नङ्सल । यस तामाङ शब्दको अर्थ ‘ज्योति’ हो । भोजपुरका दानबहादुर तामाङलाई छोरी नङ्सल कडा स्वभावकी लाग्छिन् । ‘कडा व्यवहारकी छिन्,’ छोरीबारे उनले भने ।

 नम्बर १ नङ्सल

उनी ठूली छोरी सरा र नङ्सललाई लिएर २०५८ सालमा विराटनगरमा क्षेत्रीय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन पुगेका थिए । त्यसबेला १२ वर्षीया नङ्सलले र्‍याकेट समात्न थालेको २–३ महिना मात्र भएको थियो । ब्याडमिन्टन इन्डोर खेल हो तर भोजपुरमा कभर्ड हल थिएन । त्यसैले छोरी र आफ्ना चेलाहरूलाई प्रतियोगितामा लिएर जाँदा उनले ‘आउटडोरमा खेल्ने पनि खेलाडी हुन्छ भनेर हेपेको’ क्षण अहिलेसम्म भुलेका छैनन् ।
उनलाई गेम इन्डोर हो थाहा थियो र घामपानीले डिस्टर्भ गर्छ भन्ने पनि थाहा थियो । उनी तैपनि खेल्न–खेलाउन कोसिस गर्थे । ती शब्दहरूले उनमा ईख जन्मायो । आफ्नै उमेर चालीसको दशकमा थियो । त्यसैले आउटडोरको ट्रेनिङले के गर्न सकिँदैन भनी देखाउन उनले आफ्नै सन्तान सरा, नङ्सल, रत्नसहित विकास श्रेष्ठलगायतलाई अझ बढी मिहिनेत गरी प्रशिक्षण दिन थाले । हावाको बहाव कम हुन्छ भनी बत्ती बालेर रातको १० बजेसम्म ट्रेनिङ दिए ।
त्यसैले आउटडोरकै सीपले अघि बढेका सरा, विकास नेपालकै च्याम्पियन बने । उनीहरूपछि दिदी–भाइ नङ्सल र रत्नले बुबा दानबहादुरको च्याम्पियन बन्ने सपना पूरा गरिरहेका छन् । केही वर्षयता नेपाली ब्याडमिन्टनमा पुरुषतर्फ रत्न र महिलातर्फ नङ्सलले एकछत्र राज गरिरहेका छन् । दिदीको अनुपस्थितिमा नङ्सल पहिलोपल्ट छैटौं राष्ट्रिय खेलकुद २०६८ सालमा सिंगल्समा च्याम्पियन बनेकी थिइन् । त्यसमा चार स्वर्ण जितेकी उनी स्पोर्ट्स अवार्ड २०६८ को उत्कृष्ट ५ खेलाडीको मनोनयनमा परेकी थिइन् तर अवार्ड चुम्न भने सकेकी थिइनन् । त्यसको ६ वर्षपछि अवार्ड जित्ने उनको सपना सोमबार साकार भयो ।
नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित स्पोर्ट्स अवार्ड २०७३ मा वर्षका उत्कृष्ट महिला खेलाडी घोषित भएपछि उनी नर्भस भएकी थिइन् । हातले मुहार नै छोपिन् । सफल खेलाडीहरूबीच उत्कृष्ट हुँदै अवार्ड जित्नुको हर्ष अर्कै हुने गर्छ । ओलम्पियन संगीना वैद्यले अवार्ड थाप्न बोलाउँदा पनि उनलाई जितेको विश्वास लागिरहेको थिएन । अवार्ड पाएपछि उनले दिएको अभिव्यक्तिले पनि त्यस्तो देखाएको थियो ।
नङ्सल र रत्नको जोडीले गत वर्ष योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्समा स्वर्ण पदक जितेका थिए । नेपालले अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा जितेको यो नै पहिलो स्वर्ण हो । उक्त प्रतियोगितामा नङ्सलले वुमेन्स सिंगल्समा कांस्य पदक पनि हात पारेकी थिइन् । उनले गत वर्ष राष्ट्रियस्तरमा सिंगल्समा चारसहित सात उपाधि कब्जा गरेकी थिइन् । त्यसैको आधारमा उनी वर्ष खेलाडी चुनिएकी हुन् ।
उनी दुई वर्षयता स्वदेशी खेलाडीसँग हारेकी छैनन् । माथिल्लो स्तरको १२ वर्षे ब्याडमिन्टन करिअरमा उनले स्वदेशी खेलाडीसँग जति हारेकी छन्, ती सबै दिदी सरासँग हारेकी हुन् । सरालाई घुँडाको चोटले सताएपछि नङ्सल नम्बर १ बनेकी हुन् । उनले सिलोङमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि वुमेन्स सिंगल्समा नेपाललाई कांस्य दिलाएकी थिइन् ।
सानोमा उनी खेलभन्दा पढाइमा ध्यान दिने गर्थिन् । तर बुबा र दिदी ब्याडमिन्टन खेल्न बारम्बार विराटनगर गइरहँदा उनलाई पनि त्यसरी नै जाने रहर जागेको थियो । उनले आउटडोरको ट्रेनिङपछि विराटनगरको हलमा क्षेत्रीय प्रतियोगिताबाट सुरु भएको यात्रालाई नम्बर १ खेलाडी स्थापित हुँदै अहिले निरन्तरता दिइरहेकी छन् ।


उनको उचाइ ५ फिट पनि छैन तर त्यसले नेपालमा उनको प्रतिभालाई छेकेको पनि छैन । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भने कोर्ट कभरेजमा निकै समस्या हुने गरेको उनले बताइन् । ‘नेपालमा त समस्या छैन तर अन्तर्राष्ट्रिय खेलाडीले प्लेसिङ खेल्दा मलाई कोर्टमा भ्यान गाह्रो हुन्छ । सामान्यतया अग्ला खेलाडीले १ कदममा भ्याउने सटका लागि मैले कुद्नैपर्ने हुन्छ । त्यसले खेलमा चाँडै थाकिन्छ,’ उनले भनिन् ।
गेममा ‘रिचिङ’ लाई आफ्नो बलियो पक्ष मान्ने उनी नियमित प्रशिक्षण नै सफलताको सूत्र मान्छिन् । सरा र रत्नसँगै प्रशिक्षण गर्दा निकै फाइदा पुगेको उनको अनुभव छ । ‘प्रशिक्षणमा एक–अर्कासँग खेल्दा कमजोरी पत्ता लाग्छ, त्यसले सुधार गर्न सजिलो हुन्छ,’ उनले भनिन् । विभागीय टिममा आबद्ध नभए नेपालमा खेलाडी भएर बाँच्न असम्भवजस्तै रहेको उनी बताउँछिन् ।
त्रिभुवन आर्मी क्लबमा करारमा रहेकी नङ्सल पढाइमा पनि अब्बल छिन् । उनले एमबीएस उत्तीर्ण गरेकी छन् । स्कुलदेखि नै उनले छात्रवृत्तिमा अध्ययन गरेकी हुन् । उत्कृष्ट खेलाडी भएकीले नै उनलाई सिटिजन्स बैंकले पनि जागिर दिएको छ । स्टार खेलाडी भएकीले नै उनका लागि प्रतियोगिता र प्रशिक्षणमा बैंक व्यवस्थापन केही लचिलो बनेको छ । बिहान सातदोबाटोमा प्रशिक्षण गरेपछि उनी सीधै बैंक पुग्छिन् । उनीसँग साँझमा घर गएर आराम गर्नुको विकल्प छैन । त्यसैले उनी शनिबार आउँदा निकै खुसी हुन्छिन् र बिदामा विरलै घरबाहिर निस्कन्छिन् ।
१३ औं सागमा स्वर्ण जित्ने उनले सपना बुनेकी छन् । तर लक्ष्यमा पुग्न उनलाई सजिलो छैन । ‘दक्षिण एसियामा हामी भारत, श्रीलंकाभन्दा पछाडि नै छौं । कमजोर देशले पनि तीव्र गतिमा विकास गरिरहेका छन् । हामी जहींको त्यहीं छौं । यसले खेलाडीलाई निरुत्साहित गर्छ,’ उनले भनिन्, ‘हामीसँग थुप्रै प्रतिभावान् छन् । उनीहरूलाई राम्रो प्रशिक्षण दिने हो भने नेपालले पनि सफलता प्राप्त गर्ने छ ।’
नङ्सलको गृहनगरमा अझै कभर्ड हल निर्माण पूरा भइसकेको छैन । नेपालमै खेलको पूर्वाधारको अवस्था उस्तै छ । तर उनी आत्मविश्वासी छन् । उच्च प्रदर्शन गर्दै लक्ष्यमा पुग्न चाहन्छिन्, जसले आउटडोरको ट्रेनिङले इन्डोरमा च्याम्पियन बन्ने आफूसँगै बुबाको सपना साकार होस् । 

Twitter: @SubasTheOne

प्रकाशित : भाद्र ३०, २०७४ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?